७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

२ सय १४ वर्ष पुरानो पुरातात्विक मन्दिर भेटियो

पाल्पा – वगनाशकाली गाउँपालिकाले पर्यटन नीति निर्माणको कार्यलाई तिव्रता दिएको छ। गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन नीति बनाउने अभियान थालनी गरेको हो।

बुधबारबाट गाउँकार्यपालिका सदस्य तथा पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्था तथा व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै पर्यटन क्षेत्रको विकासको लागि आधार तय गर्ने बताईएको छ। गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्रहरुको पहिचानमा आफूहरू लागिपरेको बताए। उनी भन्छन्, ‘गाउँपालिका भित्रमा भएका पर्यटकीय गन्तव्यस्थलको अध्ययन, अनुसन्धान, खोजी तथा संरक्षण कार्य सुरु गरिएको छ। केही दिन भित्रमै नीतिलाई मूर्त रुप दिईन्छ।’

पर्यटन नीतिको सहजीकरण गर्दै पर्यटनविद् चेतनाथ कंडेलले पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएको बताए। ‘वगनाशकाली गाउँपालिका भित्र भएका सम्भावनाहरुको खोजीगरी संरक्षण र स्थानीय बासिन्दाको आयआर्जन वृद्धि हुने गरि कार्यक्रम बनाईने छ,’–कंडेलले भने।

गाउँपालिकाले सरोकारवालाहरू सहित जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रानीमहल, ऐतिहासिक मठमन्दिर, लोपोन्मुख समुदाय, प्राचिन सम्पदाहरुको अनुगमन गरेको छ। यस क्रममा गाउँपालिकाको खानिगाउँ दैतालुङ्गमा २ सय १४ वर्ष पुरानो मन्दिर देखिएको छ। मन्दिरको संरक्षण स्थानीय बासिन्दाले अन्नपूर्णेश्वर मन्दिरका नाममा गरिरहेका थिए तर मन्दिरमा भएका शिलालेख अवलोकनका क्रममा ऋषिकेशेश्वर महादेव लेखिएको भेटिएको छ। जुन मन्दिर १८६१ मा निर्माण भएको उल्लेख छ। यस मन्दिर २०६४ सालमा स्थानीयहरुले श्रमदान गरि बाहिरी भागमा केही मर्मत गरेको समेत देखिएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले वगनासकाली गाउँपालिकाको एउटा राम्रो सम्भावना यहाँको धार्मिक पर्यटन भएको बताए। पुरात्तात्विक मठमन्दिरहरूको यथोचित् संरक्षणको आवश्यता देखिएको छ। जीर्णोद्धारसहित प्रचार प्रचारमा ध्यान दिन सके यहाँको धार्मिक पर्यटनले राम्रो गति लिन सक्छ।’

यो मन्दिर वि.सं. १८६१ सालमा रामशाली पण्डितले निर्माण गरेको इतिहास छ। यहाँ दैनिक पुजाआजा हुने र यस क्षेत्रकै विशिष्ट पहिचानको रुपमा मन्दिर रहेको स्थानीय पदमराज बस्यालले बताए। वगानशकाली गाउँपालिकाले वैशाख महिना भित्रमै गुरुयोजना सहितको पर्यटन नीति बनाउने बताईएको छ।

प्रकाशित: २ चैत्र २०७४ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App