१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजावादी दलसँग पूर्वराजा असन्तुष्ट

दमक- सक्रिय शासन बितेको ११ बर्षपछी पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्थाप्रति आस्था राख्ने राजावादी पार्टीका नेताहरुसंग झापामा भेट गरेका छन्। उनकै चिया बगान दमकमा उनले राप्रपाका बिभिन्न समूहका नेताहरुसंग सामूहिक छलफल गरेका हुन्। शक्तिबाट टाढिएपछी शाहले राजधानी बाहिर पहिलो पटक समूहमा राप्रपा निकट राजावादीहरुसंग भेट गरेका हुन्।

आइतबार साँझ पूर्व राजाले दमकमा उनकै स्वामित्वमा रहेको हिमालय गुडरिकमा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका नेताहरुसंग सामूहिक भेट गरेका हुन् । भेटमा सहभागी राप्रपाकै एक नेताका अनुसार शाहले पार्टीबीच निरन्तरको फुटले गन्तब्यसम्म पुग्न नसक्ने भनेर राप्रपाका सबै समूहका नेताहरुलाई ‘थर्काएका’ थिए। ‘एउटा निश्चित उद्देश्य बनाउनुहोस्’, पूर्व राजाको भनाई उदृत गर्दै ती नेताले भने, ‘पदका लागि उद्देश्य र पार्टी फुटाउने काम तत्काल बन्द गर्नुहोस्।‘

उनले राजतन्त्रको माग ल्याएर आउने तर जनता माझ जान नसक्ने आरोप लगाउँदै नेताहरु प्रति आक्रोश पोखेका थिए।

भेटमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाड, पूर्व सांसद भाष्कर भद्रा र विराटनगरमा पूर्व मेयर प्रहलाद शाह सहभागी थिए। भेटमा सहभागी शाहका अनुसार पूर्व राजा ज्ञानेन्द्रले फुटका आधारमा गन्तब्यसम्म पुग्न नसक्ने बताएका थिए। उनले सुदृढ राजतन्त्रका लागि पार्टीको एकतामा जोड दिएका थिए। ‘पार्टी एक भएमा मात्रै राजतन्त्र र धर्मनिरपेक्षता सम्म पुग्न सकिन्छ’, शाहको भनाइ उदृत गर्दै प्रहलाद शाहले भने, ‘नभए यसरी पद र सत्ताका लागि निरन्तर पार्टी फुटाउन राम्रो होइन्।‘ पूर्व राजा शाहले मुलुकको विकासको बारेमा राप्रपाको भूमिकाका बारेमा समेत चासो राखेका थिए। शाहले बिगतको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तीन वटै राप्रपाले उल्लेखनीय स्थान ल्याउन नसकेको प्रति असन्तुष्टि जनाएका थिए।

उनले राजतन्त्रको माग ल्याएर आउने तर जनता माझ जान नसक्ने आरोप लगाउँदै नेताहरु प्रति आक्रोश पोखेका थिए। भेटमा सहभागी राप्रपाका केन्द्रीय सदस्य शाहले राजाले सक्रिय राजनीतिमा आउने चासो नदेखाएपनि राप्रपा एकताबद्ध भएको हेर्ने शुभेच्छा राखेको बताए। उनले पूर्व राजा शाहले अहिलेको अवस्थामा सबै शक्तिबीच एकता गर्न सुझाव दिएको बताए। ‘सबै राप्रपा विच एकता होस् भन्ने उहाँको भनाइ थियो’, विराटनगरमा पूर्व मेयर शाहले भने, ‘नभए तपाईहरुको एजेन्डा कामयावी हुँदैननन्, त्यसकारण एकता बद्ध भएर विचारको प्रतिस्पर्धामा अगाडि बढ्नुस्।‘

भेटमा सहभागी राप्रपा प्रजातान्त्रीकका महामन्त्री राजाराम श्रेष्ठले पूर्व राजा शाहले मुलुकको विकास र सम्बृद्धिका लागि चासो राखेको बताए। उनले शाहले मुख्य गरि शुसासन र विकासका निम्ती भएका कामको समिक्षा गरेका थिए। ‘पूर्व राजा शाहले मुलुकको सुशासनका लागि भएका कामको बारेमा हामीसंग जानकारी माग्नुभयो’, श्रेष्ठले नागरिकसंग भने, ‘त्यसपछी उहाँले पुन राजनीतिमा फर्कने सम्भावना नरहेको प्रष्ट पार्नुभयो।‘

पूर्व राजा शाह शाहीकालीन मन्त्री तथा राप्रपा अध्यक्ष कमल थापासंग असन्तुष्ट देखिएका छन्। भेटमा सहभागीका अनुसार शाहले थापाले सत्ता केन्द्रीत मात्रै काम गरेको आरोप समेत लगाए। ‘थापा राजतन्त्र र हिन्दु अधिराज्यका लागि गम्भीर भएर निर्वाचनमा प्रस्तुत हुन सकेनन्’, शाहको भनाई उदृत गर्दै ती नेताले भने, ‘सल्लाह र समझदारी अनुसार नचलेका कारण उनलाई पनि अहिले समस्या देखिएको छ।‘

भेटमै सहभागी अर्का नेताका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह कम्युनिष्ट पार्टीहरुले शासन सत्ता हातमा लिएको प्रति सन्तुष्ट छैनन्। उनले निकटहरुसंग कम्युनिष्टहरुले बस्न ठाउँ र सम्पति माथि समेत कब्जा जमाउने भय रहेको बताउने गरेका छन्।

पूर्व राजासंगको छलफलमा राप्रपा प्रजातन्त्रीकका नेताहरु श्रेष्ठ, सुरेस अचार्य र सगुन लावती सहभागी रहेका थिए। यसैगरि प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाका केशव श्रेष्ठ, तारा लुइटेल र डा. सुष्मा आचार्य सहभागी रहेका थिए। भेटमा सहभागी प्रजातान्त्रीकका महामन्त्री श्रेष्ठले अन्य सहभागीका बारेमा अनभिज्ञता प्रकट गरे।

प्रकाशित: ५ चैत्र २०७४ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App