१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेवार वस्तीमा भेटिएनन् लिपि सिक्नेहरू

भक्तपुर – २०६८ सालको पछिल्लो राष्ट्रिय जनगणणा अनुसार भक्तपुर नगरपालिका क्षेत्रभित्रको जनसंख्या ८३ हजार ६ सय ५८ छ। भक्तपुर नगर कार्यपालिकाको कार्यालयको तथ्यांकअनुसार जातीय हिसाबले ती सबै नेवार हुन्। तर यति धेरै जनसंख्या भए पनि नेपाल भाषाको लिपि सिक्न चाहनेहरू कोही भेटिएनन्।

नगरपालिकाअन्तर्गतको महिला बालबालिका तथा समाज कल्याण समितिबाट महिला तथा युवा लक्षित तालिम सञ्चालन हुने क्रममा नेपाल भाषा लिपिको पनि निःशुल्क तालिम राखिएको थियो। आठ कक्षा उत्तीर्ण नगरभरिबाट २० जना प्रशिक्षार्थीको आह्वान भएकामा विद्यार्थी संख्याको अपुगमा हालसम्म कक्षा सुरु हुन सकेको छैन।

भक्तपुर नगरपालिका वडा नं ७ को कार्यालय भवन गोल्मढीमा हुने तीन महिने तालिम विद्यार्थी अभावमा सुरु हुन नसकेको नगरपालिका महिला बालबालिका तथा समाज कल्याण समितिकी संयोजक रोशनमैयाँ सुवालले बताइन्। ‘एउटा वडाबाट दुई–दुई जना गरी २० जना प्रशिक्षार्थीको माग गरेका थियौं,’ उनले नागरिकसँग भनिन्, ‘एउटा वडाबाट दुई–दुई जनाको निवेदन आएन भने इच्छुक वडाबासीलाई तालिम दिन्छौं।’ भक्तपुर नगरपालिकामा १० वटा वडा छन्।

नेपाल भाषाका लिपिहरु लोप हुने अवस्थामा पुगेकाले त्यसलाई जोगाउन तालिम सञ्चालन गर्न लागेको संयोजक सुवालले जनाइन्।

समितिकी संयोजक सुवालले सकेसम्म वैशाखभित्र तालिम सञ्चालन गरिसक्ने बताइन्।

तालिमका लागि दरखास्त दिन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। सार्वजनिक सूचनामा दरखास्त आह्वान गर्ने अन्तिम मिति २०७४ माघ २५ गते राखिएको थियो। तालिमका लागि माघ २६ गते बिहानै अन्तर्वार्ता हुने र तालिम फागुन १ गतेदेखि सुरु हुने जारी सूचनामा उल्लेख थियो। तर विद्यार्थी अभावकै कारण तालिम सुरु हुन सकेन।

तर, संयुक्त रुपमा सार्वजनिक सूचना प्रकाशित भएका अरु तालिमहरु भने सञ्चालन भइसकेका छन्। सशुल्क चीनियाँ भाषालगायतका अन्य तालिममा विद्यार्थीको चाप अत्याधिक रहेको छ। तर निःशुल्क भनिएको नेपाल भाषा तालिममा भने विद्यार्थी अभाव भए।

नगरपालिकाको भाषा मात्र नभई लिपि कक्षा सञ्चालन गर्ने योजना हो। भक्तपुर नगरमा अहिलेसम्म पनि झन्डै शतप्रतिशत नेवार छन् र उनीहरूको बोलिचालीको भाषा पनि अधिकांशले नेवारी भाषा नै बोल्छन्। त्यसकारण भाषा नभई लिपिको तालिम दिन लागिएको हो। नेपाल भाषामा रञ्जना र देवनागरी गरी दुई वटा लिपि छन् । भाषा जाने पनि निकै थोरैलाई मात्रै यो लिपि लेख्न आउँछ।

नेवा देय दवू (नेवार राष्ट्रिय संगठन) बाट देशभरिका ६७ जिल्लामा पुगरे नेपाल भाषाका लिपि प्रशिक्षण दिँदै आएका कृष्ण प्रजापतिले लिपि सिकेपछि पनि खासै उपलब्धि नहुने भएकाले तालिम लिन चाहने नभेटिएको बताए। ‘चाइनिज, जापनिज सिकेपछि जस्तो विदेश जान पाइने, गाइड हुन मिल्ने, जागिर पाइने अवसर नहुने भएकाले यसप्रतिको आकर्षण घटेको हो,’ उनले भने।

प्रकाशित: ६ चैत्र २०७४ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App