१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हस्तकलाले गाउँमै रोजगारी

चितवन – भरतपुर महानगरपालिका–२८ गोलाघाट लौखरी टोलकी ३७ वर्षीय रामकुमारी कुमाल चार वर्षदेखि हस्तकला उद्योगमा काम गर्छिन्। त्यसअघि मेलापात र जंगल गएर घाँस, दाउरा ल्याएर उनले जीविका चलाउनुपथ्र्यो। घर नजिक हस्तकला उद्योग खुलेपछि रामकुमारीले उद्योगमा काम गरेर ब्लक लगाएर टिनले छाएर चार कोठे घर बनाएकी छिन्। 

कामले तीन छोरालाई पढाउन, समूहको ऋण तिर्न सजिलो भएको उनले बताइन्। मुटु दुखेर श्रीमान् मजदुरीमा जान छाडेपछि घर चलाउने जिम्मा आफ्नो काँधमा आएको उनले बताइन्। ‘दाउरा लिन जंगल जानुको साटो ग्यास ल्याउँछु,’ उनले भनिन्, ‘मेरो कमाईले घर व्यवहार चलेको छ, सक्दासम्म यहीँ काम गर्छु।’ 

गोलाघाटको परियार टोलकी ४५ वर्षीय माया परियार मेलापात गरेरै जिविका चलाउँथिन्। आफ्नो जग्गा थोरै हुँदा अधियाँ कमाउँथिन्। हस्तकला उद्योगमा काम गर्न थालेपछि उनलाई घर खर्च चलाउन सहज भएको छ। आफ्नै कमाईले टिनले छाएर घर बनाएकी छिन्। उनले भनिन्, ‘घर नजिकै काम गर्न पाउँदा धेरै सजिलो छ।’ 

रामकुमारी र मायाजस्तै मेघौलीका एक सय ५० महिला हस्तकला उद्योगमा काम गर्छन्। उनीहरु उद्योगमा फेल्ट (भेडाको ऊन)बाट ड्रायर बल, पेट टोयज, जुत्ता, ब्याग, ह्याट, पर्सलगायत सामग्री बनाउँछन्। ४८ वर्षीय विशाल कुमाल र ३७ वर्षीय शान्ति बुढाथोकी (कुमाल) दम्पतीले गोलाघाटमा लस्ट होराइजन इन्टरनेसनल ह्यान्डिक्राफ्ट इन्डस्ट्री सञ्चालन गरेपछि स्थानीय महिलाले रोजगारी पाएका छन्। 

उद्योगमा सामग्रीको अर्डर अनुसार एक सय ५० देखि २०० जना महिला हस्तकला सामान बनाउने काममा सहभागी हुन्छन्। उद्योगमा कार्यरत कर्मचारीमध्ये दुई जनामात्र पुरुष छन्। कुमाल, तामाङ, चौधरी, माझी तथा दलित समुदायका महिला उद्योगमा कार्यरत रहेको सञ्चालक विशाल बताउँछन्। विशालले चितवनको सौराहा साझेदारीमा ११ वर्ष रेस्टुरेन्ट र सोभेनियर पसल चलाए। द्वन्द्वको समयमा पर्यटक आवागमन कम भएपछि उनी परिवारसहित काठमाडौं गए। त्यो बेला उनले साझेदारीमै हस्तकलाका उत्पादन संकलन गरेर विदेश निर्यातको काम गरे। 

‘त्यही काम गर्दा नै फेल्टको बजार राम्रो रहेछ भन्ने थाहा पायौं,’ उनले भने, ‘साझेदार विदेशिएपछि फेल्टमै केन्द्रित रहेर उत्पादनमा समेत सहभागी भयौं ।’ चार वर्षअघि नै कुमाल दम्पतीले काठमाडौंको थानकोटमा उद्योग खोले। त्यहाँ एक सय महिला कार्यरत छन् । फेल्टका सामग्रीको माग धेरै भएपछि कुमाल दम्पतीले आफ्नो जन्मथलो गोलाघाटमा उद्योग सञ्चालनमा ल्याए। 

चितवन राष्ट्रिय निकुञ्जसँग नजिकै रहेको बस्तीका महिला घाँस, दाउरा गर्न जंगल जाँदा वन्यजन्तुको आक्रमणमा घाइते भएका, ज्यान गुमाउनुपर्दाको दुःख देखेकै कारण गाउँमा उद्योग खोल्ने उनीहरुले योजना बनाए। वरिपरिका महिला उद्योगमा व्यस्त हुने र आर्थिक आम्दानी पनि गर्ने भएकाले आफ्नै गाउँमा उद्योग खोलेको विशाल बताउँछन्। कच्चा पदार्थ काठमाडौंबाट ल्याएर सामान बनाएर काठमाडौं लैजान बाटोको समस्याले गाह्रो हुने भएपनि आफ्नो ठाउँको मायाले उनीहरुलाई गाउँमै उद्योग खोल्न हौस्यायो। दुई छोरासँग काठमाडौं बस्ने कुमाल दम्पती उद्योग व्यवस्थापनका लागि महिनामा दुईपटक चितवन आउँछन्।

महिला दिदीबहिनीलाई बटुलेर उद्योग चलाउन थाल्दा विशाललाई कुमालको छोरोले के गर्न सक्ला र भन्थे। ‘गाउँका दिदीबहिनीलाई रोजगारी दिन सकेको छु,’ उनी भन्छन्, ‘उद्यमले गाउँमा सबैलाई फाइदा भएको देख्दा खुसी लाग्छ।’ गोलाघाटमा उद्योग चलाउँदा सुरुमा सातजनाले काम थालेका थिए। काम गर्न आएकाले नै आफन्तलाई ल्याएर बनाउने सीप सिकाए। यसरी उद्योगमा महिला सहभागिता बढ्दै गएको शान्ति बताउँछिन्। बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म काम गर्न सक्नेले तलबमा तथा पूरै समय दिन नसक्नेले सामग्री उत्पादनको गोटाअनुसार काम गर्छन्। कामदारले कच्चा पदार्थ घरमै लगेर सामग्री बनाउन पनि पाउँछन्। 

‘घर नजिक काम पाउँदा महिलाहरु खुसी छन्, समूहबाट लिएको ऋण तिर्न सजिलो पनि भएको छ,’ उनले भनिन्, ‘घर खर्च, छोराछोरी पढाउन, आफूलाई चाहिने सामान किन्नका लागि श्रीमानको भर पर्न परेको छैन।’ उद्योगमा काम गर्ने महिलाले मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताइन्। काम गर्न रमाइलो मानेकै कारण शनिबार उद्योग बन्द गर्ने नियम भएपनि दिउँसोको केही घन्टा काम गर्न महिलाहरु आउने शान्ति बताउँछिन्। 

कामदारलाई आवश्यक पर्दा हौसला दिन र सहयोग गर्न कुमाल दम्पती सधैं तयार हुन्छन्। त्यसैले कामदार उद्योगलाई आफ्नो माइती मान्छन्। दम्पतीले अहिले थानकोट र गोलाघाटका दुई कामदारका दुई सन्तानको पढाइको जिम्मेवारी पनि लिएका छन्। पढाइलाई प्रोत्साहन गर्न कामदारका सन्तानले विशिष्ट श्रेणीमा कक्षा १२ उत्तीर्ण गर्दा साइकल दिने, प्रथम श्रेणी ल्याउँदा नगद सहयोग गर्ने व्यवस्था गरेका छन्। विशालले आफू पढेको स्कुल सरस्वती माविमा विज्ञान प्रयोगशाला बनाउने योजना बनाएका छन्। मेघौलीका तीन विद्यालय सरस्वती मावि, जानकी मावि र साझापुर माविका कक्षा १२ उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थीलाई साइकल सहयोग गर्छन्। 

व्यापार तथा प्रवद्र्धन निकासी केन्द्रको सहयोगमा निर्यातक संघमार्फत कुमाल दम्पतीले यही वर्ष चितवन र काठमाडौंमा फेल्टको सामग्री उत्पादन तालिम सञ्चालन गरे। काठमाडौंमा एक सय ५० र चितवनमा एक सय ५० जनालाई तालिम दिइएको उनले बताए। ‘काठमाडौंमा पालो गरेर सिकाउनुप-यो,’ विशाल भन्छन्, ‘यहाँ उद्योग ठूलो एरियामा भएकाले एकैपटक तालिम दिन सक्यौं।’ फेल्टको सामग्री बनाउन सामग्रीअनुसार आवश्यक ऊन जोखेर छुट्याइन्छ। 

त्यसलाई साबुन पानीको घोलमा हातले मिचेर साइजमा ढालिन्छ। त्यसपछि रगडेर आवश्यक आकारको बनाइन्छ। बनाइएको सामग्रीलाई ड्रायरमा निचोरेर घाममा सुकाइन्छ। चितवन गर्मी ठाउँ भएकाले बनाइएका सामग्री काठमाडौंको तुलनामा चाँडै सुक्ने विशालले बताए। बर्सेनि करिब सात करोड रुपैयाँको कारोबार गर्ने लस्ट होराइजन ह्यान्डिक्राफ्टका धेरैजसौ उत्पादन गोलाघाटमै गरिन्छ। 

नेपालमा करिब एक सयको संख्या फेल्टका उद्योग छन्। काठमाडौं उपत्यका बाहिरको पहिलो र व्यवस्थित उद्योगमा कुमालको उद्योगलाई ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघले यही वर्ष सम्मानित गरेको थियो। न्युजिल्यान्डबाट ल्याएको फेल्टबाट बनाएको सामग्री अमेरिका, युरोप, क्यानडा, अस्ट्रेलिया, साउथ कोरिया, जापानलगायत देशमा पठाउँछन्। अर्डर लिने, सामग्री अर्डर दिनेसँग लेनदेनको काम विशालले र उत्पादन, उद्योग व्यवस्थापनको जिम्मेवारी शान्तिले पूरा गर्छिन्। 

उद्योगमा कार्यरत कर्मचारीका लागि तीजमा दर कार्यक्रम तथा वर्षमा एकपटक पिकनिक गरेर मनोरञ्जन गर्नुका साथै हौसला बढाउने काम कुमाल दम्पती गर्छन्। ‘पहिला आउँदा बोल्न हिचकिचाउने गर्थे,’ शान्ति भन्छिन्, ‘अहिले निर्धक्क आफ्ना कुरा राख्ने सक्ने भएका छन्।’ उद्योगमा काम गर्दा आम्दानी मात्र नभई महिलाहरुको आत्मबल समेत बढेको छ। नेपालमै ऊन उत्पादन हुनसक्यो भने रोजगारी धेरै बढ्ने ऊनका लागि खर्च हुने पैसा देशभित्रै रहने विशाल बताउँछन्।

प्रकाशित: ९ चैत्र २०७४ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App