२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो इनिङमा न्युजिल्यान्ड हाबी

अकल्यान्ड – तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र टिम साउथीले एकआपसमा १० विकेट बाँडेपछि न्युजिल्यान्ड बिहीबार इङ्ल्यान्डविरुद्धको पहिलो दिवा–रात्रि टेस्टको पहिलो इनिङमा पूर्ण रूपमा हाबी भएको छ।

पहिलो दिनको खेल समाप्तिमा न्युजिल्यान्ड १७५–३ मा खेलिरहेको छ । टोलीले १ सय १७ रनको अग्रता लिएको छ । कप्तान केन विलियम्सन अविजित ९१ र हेनरिक निकोलाज अविजित २४ रनमा खेलिरहेका छन् । १ सय ७७ बल खेलेका विलियम्सनले १० चौका र १ छक्का प्रहार गर्दा ६७ बल सामना गरेका निकोलाजले २ चौका प्रहार गरे।

यसअघि टोलीको स्कोर ८ रन हुँदा जित रावल (३) लाई जेम्स एन्डरसनले विकेटकिपर जोनी बेयरस्टोबाट क्याच गराएपछि न्युजिल्यान्ड सुरुमै दबाबमा परेको थियो । त्यसपछि ब्याटिङका लागि आएका विलियम्सनले अर्का ओपनर टम लाथमसँग दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरेका थिए । १ सय १२ बल खेलेका लाथमले ३ चौका मद्दतमा २६ रनको योगदान दिँदा तिघ्राको चोटबाट मुक्त हुँदै मैदान फर्किएका रस टेलरले ३५ बलमा ३ चौका मद्दतमा २० रन जोडे ।
इङ्ल्यान्डका जेम्स एन्डरसनले २ र स्टुवार्ट ब्रोडले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्ड पहिलो इनिङमा २०.३ ओभरमा मात्र ५८ रनमा सीमित भएको थियो।

इङ्ल्यान्डका दुई ब्याट्सम्यानको स्कोरले मात्र दोहोरो अंक छोएको थियो । क्रायग ओभरटनले ३३ र ओपनर मार्क स्टोनम्यानले ११ रन जोडे । इङ्ल्यान्डको इनिङ सस्तोमा समेट्ने क्रममा बोल्टले  १०.४ ओभरमा ३२ रन खर्चंदै ६ र साउथीले १० ओभरमा २५ रन खर्चंदै ४ विकेट लिए।

‘सुरुमै विकेट निकाल्दा हामीलाई खेलमा हाबी हुन सहज भयो,’ बोल्टले भने, ‘साउथीले पनि मलाई दरिलो साथ दिँदा इङ्ल्यान्डको पहिलो इनिङ सस्तोमा समेट्न सफल भयौं।’

पाँचौं ओभरको दोस्रो बलमा ओपनर एलेस्टर कुक (५)लाई बोल्टले लाथमबाट क्याच गराउँदै इङ्ल्यान्डलाई पहिलो झड्का दिएका थिए । सातौं ओभरको दोस्रो बलमा कप्तान जो रुटलाई खाता नखोल्दै बोल्ड गरेका बोल्टले नवौं ओभरको पहिलो बलमा डेभिड मालन(२) लाई विकेटकिपर बिजे वाट्लिङबाट क्याच गराउँदै भ्रमणकारी टोलीमाथिको दबाब कायम राखेका थिए ।
त्यसपछि ब्याटिङका लागि आएका अन्य तीन ब्याट्सम्यानसमेत खाता नखोल्दै पवेलियन फर्के । अलराउन्डर बेन स्टोक्सलाई बोल्टले बोल्ड गरेका थिए भने बेयरस्टोलाई कट एन्ड बोल्ड गरेका साउथीले मोइन अलीलाई बोल्ड गरेका थिए।

यता निरन्तर खेलमा दबाब बनाएको न्युजिल्यान्डका बोल्टले क्रिस ओक्स (५) र साउथीले ब्रोड (०) लाई पवेलियनको बाटो देखाएपछि इङ्ल्यान्ड २७–९ को कठिन स्थितिमा आएको थियो । ओभरटनले एन्डरसनसँग दशौं विकेटका लागि ३१ रनको साझेदारी गरेपछि इङ्ल्यान्डले आफ्नो टेस्ट इतिहासको न्यून स्कोर पार गरेको थियो।

इङ्ल्यान्ड यसअघि १८८७ मा अस्ट्रेलियाविरुद्धको खेलमा ४५ रनमा सीमित भएको थियो । आक्रामक ब्याटिङ गरेका ओभरटनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। न्युजिल्यान्डले १९५५ मा इङ्ल्यान्डविरुद्ध जोडेको २६ रन टेस्ट क्रिकेटकै न्यून योगफल हो।

प्रकाशित: ९ चैत्र २०७४ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App