१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया युद्ध : हारेको क्षेत्र छोड्दै विद्रोही

दमास्कस – सरकारी फौजसँग पराजित भएपछि सिरियाली विद्रोही र उनीहरुका परिवारले पूर्वी गुटाको प्रमुख क्षेत्र छोड्न थालेका छन्।

सरकारसँग उक्त क्षेत्रलाई खाली गर्ने विषयमा भएको सहमतिअनुसार उनीहरुले उक्त क्षेत्र छोड्न थालेको बताइएको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार हालसम्म पूर्वी गुटाको हरास्ता क्षेत्रबाट मात्रै ८८ विद्रोही र चार सय ५९ सर्वसाधारण बाहिरिएका छन्।

सरकारी फौजसँग लडिरहेको विद्रोही पक्षअन्तर्गतको अहरार अल–साम समूहका करिब एक हजार पाँच सय लडाकु र करिब ६ हजार सर्वसाधारण नागरिक हरास्ताबाट विद्रोही नियन्त्रित उत्तरी प्रान्त इदलिबमा स्थान्तरण हुने भएका छन्। 

विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा एक महिना अघि सरकार समर्थित फौजले आक्रमण थालेपछि पहिलो पटक विद्रोही र सरकारी पक्षबीच उक्त क्षेत्रलाई खाली गर्ने विषयमा सहमति भएको बिबिसीले जनाएको छ। सिरिया युद्धको निरीक्षण गरिरहेको एउटा समूहका अनुसार हवाई र हतियार हमलाका कारण एक महिनाको अवधिमा मात्रै एक हजार पाँच सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने पछिल्ला केही दिनमा मात्रै कम्तीमा ५० हजार मानिस उक्त क्षेत्र छोडेर हिँड्दै अन्य क्षेत्र पुगेका छन्। 

सरकारी फौज समर्थित हतियारधारी सरकार समर्थित समूहका लडाकुले विद्रोही नियन्त्रणमा रहेको पूर्वी गुटालाई तीन क्षेत्रमा विभाजन गरेर करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिएपछि विद्रोहीले उक्त क्षेत्र छोड्नेबारेमा सहमति भएको छ। सरकार समर्थित फौजले नियन्त्रण लिएको मध्ये हरास्ता क्षेत्र पनि एक हो। क्षेत्र खाली गर्नेबारेमा भएको सहमतिको कार्यान्वयनको मध्यस्तता सिरियाली सरकारको प्रमुख सहयोगी रुसको पहल कदमीमा भएको थियो। उक्त सहमतिको कार्यान्वयन बिहीबार बिहान कैदी आदानप्रदान गरेर भएको थियो। राज्य सञ्चालित टेलिभिजनका अनुसार विद्रोही नियन्त्रणमा रहेका १३ मानिस मुक्त भएका छन्। रिहा भएका एक सैनिकलाई राज्य सञ्चालित टेलिभिजनमा अन्तर्वार्तासमेत लिएको देखाइएको थियो। त्यसलगत्तै सिरियाली रेड अरब क्रिसेन्टले आफ्ना मानिस हरास्ता प्रवेश गरेको पुष्टि गर्दै सर्वसाधारण नागरिकलाई बसमा चढ्न सहयोग गरिरहेको तस्बिर पोस्ट गरेको थियो। 

सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार बिहीबार स्थानीय समयअनुसार दिउँसो दुई बजेसम्ममा पाँच सय ४७ सर्वसाधारणले बसमार्फत हरास्ता छोडेका छन्। 

हरास्तालाई नियन्त्रणमा लिइराखेको विद्रोही समूह अरर अल–सामले विद्रोहीको बलियो पकड रहेको इदलिबतर्फ सुरक्षित तरिकाले आफ्ना लडाकुलाई जान दिने सरकारी निर्णयको बदला हरास्तामा हतियार बुझाएका थिए। यस सम्झौताले पूर्वी गुटाका अन्य क्षेत्रलाई नियन्त्रणमा राखेका अन्य विद्रोही समूहलाई समेत दबाब सिर्जना गर्ने बिबिसीले अनुमान गरेको छ। 

यस्तै प्रकृतिको सम्झौताका विषयमा पूर्वी गुटाकै उत्तरी क्षेत्र दोउमालाई नियन्त्रण राखिरहेको जेस अल–इस्लाम र अर्बिन र जमाल्काको  वरिपरि रहेको दक्षिणी भूभागमा नियन्त्रण गरिराखेको फेलाक अल–रहमानलाई पनि सरकारले प्रस्ताव गरेको छ । सरकारी फौजसँग लगातार हारिरहेको भए पनि दुवै समूहले युद्ध जारी राख्ने बताउँदै आएका छन्। यसैबीच पूर्वी गुटामा बिहीबार सरकार समर्थित फौजले गरेको हवाई हमलाका कारण कम्तीमा १९ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उधृत गर्दै बिबिसीले जनाएको छ।

बेलायत आधारित उक्त समूहका अनुसार २४ घण्टाभित्र अल–वाफिदिन चेकप्वाइन्ट हुँदै करिब चार हजार सर्वसाधारणले दोउमाबाट हिँडेरै सरकारी भूभाग प्रवेश गरेका छन्। जेस अल–इस्लाम र रुसबीच भएको सम्झौताअनुसार सर्वसाधारण नागरिकले दोउमा छोडेको उक्त समूहले जनाएको छ। विद्रोहीले बिहीबार पनि राजधानी दमास्कसस्थित सरकार नियन्त्रित विभिन्न जिल्लामा रकेट र मोर्टार प्रहार गरिरहेको बिबिसीले उल्लेख गरेको छ। व्रिदोहीले प्रहार गरेको बमका कारण दमास्कसको बार्जेह क्षेत्रमा बिहीबार दुई सर्वसाधारणको ज्यान गएको र चार जना घाइते भएको प्रहरी स्रोतलाई उधृत गर्दै सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ। कासकोल क्षेत्रमा विद्रोहीले गरेको रकेट आक्रमणमा मंगलबार कम्तीमा ३५ सर्वसाधारणको ज्यान गएको सरकारी टेलिभिजनले जनाएको थियो।

प्रकाशित: ९ चैत्र २०७४ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App