१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समरमा ‘मक टेल’

गर्मी मौसम सुरु भइसकेको छ । यो बेला पसिना बढी आउने भएकाले छालामा पानीको मात्रा कम हुन सक्छ । तसर्थ सबै उमेर समूहका व्यक्तिले आवश्यक पानी पिउन जरुरी हुन्छ । यो बेला शरीरमा ८० प्रतिशत पानीको मात्रा आवश्यक हुने विज्ञ बताउँछन्। 

शरीरमा पानीको कमीले स्वास्थ्यमा नराम्रो असर गर्छ । चिकित्सकका अनुसार शरीरमा पानीको कमीले छाला तथा आँखामा विभिन्न समस्या देखिन्छन्। 

पानीको विकल्पमा विभिन्न प्रकारका पेय पदार्थ खान सकिन्छ । सादा पानी खान मन नपराउनेले घरमै सर्वत बनाएर पिउन सक्छन्। 

‘मक टेलमा लेमोनेड खाने धेरै छन्, यो सबै उमेरका ग्राहकहरूको मन पर्ने पेय पदार्थ हो ।’

गर्मी मौसमको सुरुवातसँगै चिसो पेय पदार्थ पिउन रुचाउने ह्वात्तै बढेको बताउँछिन्, म्यांगोचिलीकी बरिस्ता श्रेष्ठ। 

प्रचलित मक टेलहरू
फ्रेस लेमोनेड

गर्मी समयमा कागती शरीरका लागि अत्यधिक लाभदायी हुने चिकित्सक बताउँछन् । पोषणविद् डा. अरूणा उप्रेती भन्छिन्, ‘यो मौसममा दिनमा दुई कागती खानु शरीरका लागि राम्रो हुन्छ।’ 

सहरका रेस्टुरेन्ट, क्याफेहरूमा हिजोआज लेमोनेड पिउनेहरूको जमात बढेको बताउँछन्, रोजहाउस पिजेरियाका सिनियर इन्चार्ज रञ्जित श्रेष्ठ । ‘मक टेलमा लेमोनेड खाने धेरै छन्, यो सबै उमेरका ग्राहकहरूको मन पर्ने पेय पदार्थ हो,’ उनले भने । लेमोनेडका फ्लेबर अनुसारका पारखी आउने उनी बताउँछन्।

सोडा लेमोनेड
सोडामा कागतीसहित नुन र चिनी राखेर सोडा लेमोनेड बनाइन्छ। यो गर्मी मौसमको चल्तीको पेय पदार्थ रहेको श्रेष्ठ बताउँछन् । ग्राहकहरू रिफ्रेस हुन यो पेय पदार्थ पिउने गरेको उनले बताए। 

मिन्ट लेमोनेड
गर्मी मौसममा रुचाएको पेय पदार्थ हो, मिन्ट लेमोनेड । यसमा मिन्ट (पुदिना)को फ्लेबर मिक्स गरेर तयार गरिने श्रेष्ठ बताउँछन् । यो पेय पदार्थमा टिनएजर्सको आकर्षण बढी रहेको उनले बताए। 

आइस टी
चिसो मौसममा तातो चिया पिउने पारखी भएजस्तै गर्मीमा आइस टी पिउने पनि असंख्य छन् । यस मौसममा चिसो चियाको स्वादमा रमाउने पहिलाको तुलनामा निकै बढेको म्यांगो चिलकी श्रेष्ठ बताउँछिन् । उनका अनुसार आइस टी विभिन्न फ्लेबरमा पाइन्छ। 

नेपालमा विशेष गरेर ग्रिन मिन्ट, पिइच, एप्पल, लेमनलगायत फ्लेबरको माग बढी रहेको उनको अनुभव छ । नेपालमा आइस टीको माग बढिरहेको उनले बताइन् । उनी भन्छिन्, ‘आइस टी ट्राइ गर्नेको संख्या पछिल्लो चार–पाँच वर्षमा नै बढेको छ । चिया भन्नेबित्तिकै तातो सम्झनेले आइस टी स्वादिलो मानेर पिउँछन्।’

लस्सी
नेपालीले गर्मी मौसममा निकै पिउन रुचाउने पेय पदार्थ हो, लस्सी । सजिलै उपलब्ध हुने र सबै उमेरलाई खान मिल्ने भएकाले लस्सीको माग निकै राम्रो रहेको म्यांगो चिलीका म्यानेजर शिव तिम्सिना बताउँछन् । उनका अनुसार सादा, स्विट तथा फलफूल मिसाइएको लस्सीको माग राम्रो छ। 

लस्सी घरमा नै बनाउन सकिन्छ । दहीलाई फिटेर इच्छा अनुसार फलफूल, चिनी, ड्राइ फुड राखेर बनाउन सकिन्छ । लस्सीको प्रयोगले स्वास्थ्यमा फाइदा पु¥याउने जानकार बताउँछन्। 

मिल्क सेक
मिल्क सेक आइसक्रिम, दूध, बटर स्कट्च, क्यारामेल, चक्लेट वा फ्रुट सिरपको मिक्सबाट बनाइन्छ । विभिन्न फ्लेवरमा मिल्क सेक पाइने गरेको तिम्सिना बताउँछन् । उनका अनुसार ओरियो, चक्लेट, भेनिला, बटर स्कट्च, स्ट्रबेरीलगायत फ्लेबरमा उपलब्ध छ। 

उनी भन्छन्, ‘गर्मी मौसममा चिसो र आफ्नो स्वाद अनुसारको मिल्क सेक खानेको जमात धेरै छ ।’ गुलियो मन पराउनेहरूका लागि मिल्क सेक राम्रो रोजाई बन्ने उनी बताउँछन्।

आइस अमेरिकन कफी
आइस अमेरिकन कफी चिसो कफी हो, जसमा आइस क्युब राखिन्छ । कफीका पारखीहरूका लागि गर्मी समयमा चिसो कफी र आइस क्युब राम्रो विकल्प हुन सक्छ । गर्मी मौसममा तातो कफीको विकल्पमा चिसो कफीको प्रयोग गर्न सकिन्छ । कालो कफीमा आइसको क्युब राखेर तयार गरिन्छ । आइस अमेरिकन कफीलाई स्वाद अनुसार गुलियोको मात्रा, कफीको स्वाद लिन सकिन्छ। 

आइस लातेमा भने दूध अनिवार्य नै हुन्छ । दूधको कफी पिउन मनपराउनेहरूले आइस लातेको स्वाद लिन सकिन्छ । आइस लाते आइसको क्युब, कफी, दूध र स्वाद अनुसारको चिनी राखेर तयार गरिन्छ।

थाई टी
थाइल्यान्डको चियापत्तीलाई कालो वा दूधको चियाको रूपमा प्रयोग गरिन्छ । गर्मी मौसममा चिसो चियाको रूपमा थाई टी बनाउने गरेको श्रेष्ठ बताउँछिन् । उनका अनुसार यो कफी म्यांगोचिलीमा मात्र पाइन्छ । थाइल्यान्डको चियापत्तीको प्रयोग गरेर हट र कोल्ड दुवैमा उपलब्ध हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘म्यांगो चिलीको विशेष चिया हो, यो अन्यत्र पाइँदैन।’

स्मुथी
स्मुथी विभिन्न प्रकारका मौसमी फलफूल र काचै खान योग्य तरकारीलाई मिसाएर बनाइन्छ । यसमा फलफूल र तरकारीको मिश्रण भएकाले निकै स्वास्थ्यबद्र्धक हुने चिकित्सक बताउँछन् । यसमा दूध, बदाम समेत राखिने फलानोका सुपरभाइजर प्रशान्त कार्की बताउँछन् । आँप र केरा राखिएको स्मुथीे विशेष रुचाउने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘आइसक्रिम, आइस क्युब, मौसम अनुसारको फलफूलको प्रयोग गरेर दूध वा दहीमा बनाइन्छ ।’ गर्मी मौसममा स्मुथी खान मनपराउने निकै बढेको उनी बताउँछन्।

मोजिता
मोजिता गर्मी मौसममा दिमागलाई ताजा बनाउन मद्दत गर्ने फलानोका सुपरभाइजर प्रशान्त कार्की बताउँछन् । अत्यधिक गर्मी बढेसँगै यो पिउन आउनेको संख्या बढ्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रोमा अफिसमा काम गर्नेहरू बढी आउनुहुन्छ । दिउँसो अल्छिपन हटाउन पनि मोजितो मगाउने गर्छन् ।’ मोजितोमा लेमन, पुदिनालगायत सामग्री प्रयोग गरिने उनी बताउँछन्।

ब्लेन्डेड भेनिला मोका
ब्लेन्डेड भेनिला मोकामा कफीको मात्रा धेरै हुन्छ । यो भेनेला आइसक्रिम, आइस क्युब, कफी क्रिमेरको मिक्स गरी बनाइन्छ। ब्लेन्डेड क्यापाचिनो, ब्लेन्डेड भेनिला मोका, कोको पाउडरलगायत फ्लेबरका कफी उपलब्ध रहेको म्यांगो चिलीकी श्रेष्ठ बताउँछिन्।

प्रकाशित: ९ चैत्र २०७४ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App