१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

वालिङमा तीन दिन

साँझ ६ बजे काठमाडौंको सोह्खुट्टेमा हामीले ५ वटा साइकल जीपमा बाँध्यौं । शरीर काठमाडौंमै भए पनि मन उडेर वालिङ पुगिहाल्यो। रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, एलन राना र म निश्पट्ट अध्याँरो चिर्दै लाग्यौं पोखरातिर।

हामी विहानको ३ बजे वालिङ पुग्दा बजार गहिरो निन्द्रामा थियो। वालिङ नगरपालिका र स्थानीय पर्यटन अभिन्ताको निम्तोमा हामी साइक्लिङ पर्यटनको संभावना खोतल्न त्यहाँ पुगेका।  

पहिलो दिन
सखारै दिनकर नेपालले साइकल पर्यटन, साहसिक खेलकुद सम्बन्धि योजना सुनाए। केहि क्षणमै हामी यात्राको तयारीमा लाग्यौ। वालिङबाट जगत भञ्ज्याङ हुँदै १२ किमि दूरी तय गरेर केवरे भञ्ज्याङ पुगियो। नगरपालिकाका सल्लाहकार लक्ष्मिकान्त रेग्मी लगायतको स्वागतले हामीमा हौसला बढ्यो।

साइकलको अबस्था जाँच ग-यौं, यात्रा सहज बनाउन।  भञ्ज्याङबाट साइकल यात्रा शुरु ग-यौं। केवरे भञ्ज्याङबाट करिव २ किमि उकालो र हल्का तेर्सो बाटो काटेर काटेर बनकट्टा पुग्यौं।

पहाडी जिल्ला स्याङ्जामा  साइकल पर्यटनको प्रचुर संभावना देख्यौं हामीले।

बनकट्टाबाट १ किमि उकालो कटेर चिहान डाँडा पुगे पछि आशिष खाँडले अर्को गन्तव्य पारीपट्टिको डाँडा देखाए। उनीसहितका स्थानीय साथीहरु हाम्रो यात्रा सहज बनाउन मोटर साइकलमा थिए। डाँडाको टुप्पोबाट बाटो नियाल्यौ, आँखाले भ्याएसम्म।

अहा! बाटो त निकै रोमाञ्चक । रञ्जनजी ओरोलामा अगाडि हुँइकिए। हामी एक पछि अर्को धुलो उडाउँदै पछि लाग्यौ । २ किमि ओरालो, ४ किमि उकालो, वस्ती र वनको बाटो छिचोल्दै काफल डाँडाबाट गह्रौसुरको टुप्पोमा पुगियो।

गह्रौंसुर (१५८६ मिटर) पुग्दा माछापुच्छ्रे हिमाल बादलको बर्को ओढेर बसिसकेको थियो। त्यहाँ भगवतीको मन्दिर छ । चैते दशैं र बडा दशैंमा ९ दिन पूजा गरिन्छ। दुवै दशैंमा मेला लाग्ने मन्दिरका पूजारी एकनारायण शर्माले बताए। भगवतीको भाकल गरे मनले चिताएको पुग्छ।

गह्रौंसुरबाट पूर्वमा पित्लेक, उत्तरमा स्वरेक मैदान, फेदिमा आँधिखोला र वालिङ उपत्यका मनमोहक देखियो। मन्दिरमै मिठो खाना खायौं। काफल डाँडाको ५ किमि ओरालो  काटेर अरजाङ्गदी पुग्यौं। सुख्खा मौसम, चर्को घाम, उकालो, धुलोको चुनौंती पार गर्दै लाखुडाँडा हुँदै बजाकोट पुग्यौ। लाखुडाँडा ठकुरीहरुको पुरानो बस्ती, बजाकोट मगर बस्ती। त्यहाँ होमस्टे सुविधा छ।

अबको गन्तव्य दाङ्ग स्यागाँउ हो, मगर बाहुल्य। आषिशजीले गाउँ र ठाउँको जानकारी दिंदै गए। अरजाङ्गदीबाट बजाकोट आइपुग्दा ५ किमि तय गरिएछ। बजाकोटबाट गोरेटो हुँदै हामी दाङ्गस्यातर्फ लाग्यौं। खरले टम्म ढाकेको भिर। पहरोमा देखिने ढँगाका अनेकन आकृति।  

भिरको गोरेटोमा साइकले देखेर स्थानीय भाईबहिनी कान्ला कान्ला हाम्फाल्दै आए। उनीहरुकै हुलमा मिसिएर हामी दाङ्गस्यागाँउ पुग्यौ। सफा, चिटिक्क घर भएको झुरुप्प गाउँ।

रातो माटोले लिपेको सफा आँगनमा चिसो पानी, भुटेको मकै खुवाएर साइकले पाहुनाको स्वागत गरे गाउँलेले। न्यानो स्वागत, र आत्मीय सत्कारमा डाँडा पारी पुगेको घाम खलपात्र बन्यो। दाङ्गस्यागाँउ ५ किमि ओरालोे झरेर सिद्धर्थ राजमार्ग आइपुग्यौ। होटल आइ पुग्दा साँझ झमक्कै भैसकेको थियो।

दोस्रो दिन
वालिङबाट करिव ८ किमि सिद्धार्थ राजमार्ग पार गर्दै बाँयाटारीबाट यात्रा शुरु ग-यौं। आँधिखोला किनारमा आशिषजीले हामीलाई बाटोको जानकारी दिए। उनले जानकारी दिँदै गर्दा एक जोडी चराले उडान भरे, सायद जलेवा हुनुपर्छ। चराको उडानले आँधीखोलामा निकै माछा भएको अनुमान लगाएँ। नदीको पानी पिंधसम्मै देखिने कञ्चन।

हामी साइकलेको मनोबल र उर्जा उच्च छ। डाँडा डाँडामा बान्कि मिलाएर बनाएका घरले भरिएको रमाईलो गाउँ हेर्दै उकालियौं। उकालिदै जाँदा घाम पनि छिप्पिदै गयो । कपुरादि गाँउ नजिक चौतारीमा आरामगर्दै मोही मागे सुदिपजीले।

मैले मूल्य सोधें। ‘पानी र मोहीको पैसा लाग्दैन’, जवाफ सुनेर म निशब्द भएँ। धित मर्ने गरि पानी खुवाउन नसक्ने काकाकुल काठमाडौंबासी म लाजले भुतुक्क भएर उकालो लागें। सहयात्रीहरुले भने मोहीले धित मारे।  

कपुरादि, डाँडाकाझुरुप्प परेको गाउँ। सुन्तलाका बोटले सजिएका सुन्दर बगैंचा, निकै लोभ लाग्दा। कपुरादि कटे पछि मेलछापको उकालोको गुरुङ गाँउ सुन्दर छ। मेल छापबाट मन्दिर नजिकै छ। आँधिखोलाबाट अकलादेवी मन्दिरसम्म आइपुग्दा करिब १३ किमि तय गरियो।

मनोकामना पुरा भएकाहरु मन्दिरमा भाकल चढाउन आउँछन्। प्रसवको समय आमा र बच्चाको जीवन जोखिममा नपरोस भनि भाकल गरेकाहरु पाठी चढाउँछन्। थोरै बिश्राम पछि हामी सिर्सेकोटतर्फ लाग्यौं । यहाँबाट देखिने हिमालचूली, पहाडी श्रृंखला र फेदिका स–साना उपत्यकाको सौन्दर्य हेरेर तृप्त हुन सकिँदैन।

आँधिखोलाबाट १८ किमि उकालो लागेर सिर्सेकोट पुगे पछि वालिङ नगरपालिका–१२ का वडाध्यक्ष दानबहादुर गुरुङले स्वागत गरे। भलाकुसारी, दिवा खाना पछि हामी रवाना भयौं करिब स्वरेक मैदान (१५९० मि) तिर।

सिर्सेकोटबाट करिब २ किमि रोमाञ्चक ओरालो पछि डुम्रे भञ्ज्याङ पुगिन्छ।  भञ्ज्याङबाट शुरु उकालो ४ किमि माथि हुक्दिगाँउ सम्मै छ। आधा दिनको उकालोको अनुभव संगालेपछि सिल्डाँडा सिर्कोट आए पछि भने तेर्सो नै मान्नु पर्छ। करिब करिब अर्को ४ किमि कटेपछि हामी स्वरेक मैदान पुग्यौ। मैदानको सौन्दर्यमा हरायौं हामी।  

स्वरेक प्याराग्लाइडिङका लागि प्रख्यात छ। यहाँसम्म आए पछि सानो बाबु सुनुवारलाई नभेटि ओर्लन सकिएन। संसारकै साहसी मध्येका एक सुनुवारको जीवनगाथा प्रेरणादायी छ। सुनुवारले स्वरेकमा प्रशिक्षण केन्द्र नै खोलेका छन्। थौरै भेट, फोटो र केहि क्षणको आनन्द लिएर हामी ओरालो झ-यौं। रोमाञ्चक साइकल यात्रा गरेर साँझपख वालिङबजार पुग्यौं। यहाँसम्म आइपुग्दा करिब १५ किमि दुरी तय गरियो।

तेश्रो दिन
त्रियासीचोक (७७५मिटर)को स्वागतद्वारबाट माझकोट (१६७० मिटर) पुग्ने योजना अनुसार बिहान भेला भयौं । पत्रकार मोहन गुरुङले बाटोबारे जानकारी गराए। त्रियासीबाट सिमलचौतारी, ढिकी चौर, कल्लेरी हुँदै उकालो लाग्यौं। नयाँ क्षितिज पहिल्याउन हिँडेका साइकलयात्रीलाई करिब १५ किमि उकालो बाटोको चुनौती छ ।
उकालो लाग्दै गर्दा निधारबाट तरतरी पसिनाको धारा बगि रहेको थियो। पर नेपथ्यबाट आएको आवजले कान टाठो भयो। ‘ए बरै, ए बरै के साह्रो गरी आ को होला बरै साइकलमा!’ आँगनको डिलमा साइकले हेर्न स्थानीय जम्मा भए।

एक मनले रोक्किउँ जस्तो लाग्यो। अर्को मनले मानेन, लगातार अघि बढें। सहयात्री सुदिप, रञ्जन र गोपाल रोक्किएर गफिन भ्याए। अर्का भाई मेरो पछि लागे। उकालो लाग्दै गर्दा पल्लो मोडमा निकै ठट्टा र हाँसो बढ्दै गएको सुनियो। भिडबाट महिलाको आवाज सुनियो–‘हामीलाई पनि लैजान्छौ।’ लगत्तै अर्कीले भनिन्, ‘आफ्नै साइकल त घिच्याउन नसक्नेले के लैजान सक्नु तँलाई।’
 
हाँसो गुञ्जियो भिडमा । म एकनास उकालो लागिरहें माझकोटतिर।

माझकोटबाट नजिकै हिमश्रृंखाला देखियो। यहाँबाट देखिने सुन्दरताले आह्लादित बनायो। खानामाझकोटमै खायौं। माझकोटमा वडाध्यक्ष शुकबहादुर गुरुङले स्वागत गरे। बिदावारी भए हामी तल्लाथोक, बस्थानी, मलागिरी, डेल डाँडा जगत भञ्ज्याङ हुँदै पुन वालिङ फर्कियौं।

सहजै गाडी गुड्ने कच्चि बाटो। नयाँ गाउँ, नयाँ ठाउँ, नयाँ बाटो।  जतिजति पाउदान चाल्दै गयो अनेक जिज्ञासा, कौतुहलता र आश्चर्यका पर्दा खुल्दै गए। एक पछि अर्को घुम्ति र मोड पार गर्दा रोमाञ्चकता चुलिदै गए। हरेक गाउँमा मौलिक संस्कृती झल्किन्छ।

धुले बाटो उकालो ओह्रालो गर्दा विभिन्न जीवजन्तुका पदचिन्ह देखिन्छ। चरा, बाँदर, कुकुर, चितुवा लख काट्दै हिँड्दा थकान मेटाउछ। स्र्वगानुभूती गराउने बिछट्टै रमाइलो सौन्दर्य। स्थानीय बोलीबचनको मिठासले कान गुञ्जिरहन्छ। महिनौंसम्म त्यतै बसिरहन मन लाग्छ।

साँझ मेयर दिलिपप्रताप खाँडसँग अन्तरक्रिया भयो। उनले हाम्रो यात्रा अनुभव सुने। पहाडी नगरपालिकालाई साहसिक पर्यटन केन्द्र बनाउने उनको चाहनालाई शुभकामना दियौं हामीले।

कार्यक्रम पश्चात साइकल जीपमा बानबुन पारियो। र, राती नै फर्कियौं गएकै बाटो काठमाडौंको सोह्खुट्टेतिर।

प्रकाशित: १० चैत्र २०७४ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App