१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनचेतनापछि जरिवानाको तयारी

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमपछि अब यातायात नियम मिच्ने सवारीचालक र यात्रुलाई जरिवाना गर्ने अभियान चलाउने भएको छ।

महाशाखाले साउन ९ यता पैदलयात्रुले जेब्राक्रसबाट बाटो काट्नुपर्ने र सवारीचालकले जेब्राक्रसमा सवारीको गति घटाउनुपर्ने चेतनामूलक अभियान सञ्चालन गरेको थियो । ‘जथाभावी सडक वारपार गर्दा दुघर्टना बढेपछि जेब्राक्रसबाटै बाटो काट्नुपर्ने र चालकले पनि जेब्राक्रसमा सवारीको गति घटाउनुपर्ने तथा पैदलयात्रुलाई बाटो काट्न दिनुपर्ने जनचेतना फैलाएका थियौं,’ महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले भने, ‘एक महिना हामीले चेतनामूलक कार्यक्रम चलायौं । अब अझै नियम पालनामा अटेर गर्ने पैदलयात्रु र चालक दुवैमाथि कानुनी कारवाही गर्नेछौं।’

भट्टका अनुसार जेब्राक्रसमा सवारीको गति नघटाउने चालकमाथि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। अब भने जथाभावी बाटो काट्ने पैदलयात्रुमाथि समेत कारबाही गर्ने तयारी गरेको हो । यातायात व्यवस्था ऐन २०४९ मा तोकिएका ठाउँबाट बाटो नकाटेर जहाँ पायो त्यहीँबाट बाटो काट्ने पैदलयात्रुलाई २ सयदेखि हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

अभियान सञ्चालनमा जनशक्ति नपुगेपछि महाशाखाले राजधानीका १४ विद्यालयबाट स्काउट विद्यार्थी र ४ कलेजका सामाजिक कार्य अध्ययन गर्ने ६ सय २७ विद्यार्थीसमेत परिचालन गरेको थियो । एकदिने तालिमपछि परिचालित विद्यार्थीले जेब्राक्रसबारे चेतना जगाउन ३ दिन स्वयंसेवा गरेका थिए । स्वयंसेवक विद्यार्थीलाई मंगलबार महाशाखाले प्रमाणपत्र वितरण गरेको छ । नेपाल स्काउटले महाशाखालाई फेरि यस्ता अभियान देशभर नै सञ्चालन गर्नुपरे पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

अभियानपछि अधिकांशले जेब्राक्रसबाट बाटो काट्न थालेको महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले बताए । ‘अभियान सुरु गर्दा पहिलो चरणमा चेतना फैलाउने र दोस्रो चरणमा नियम मिच्ने यात्रुमाथि समेत कारबाही गर्ने तयारी गरिएको थियो,’ अर्यालले भने, ‘अब भने अटेर गर्नेमाथि कारबाही नै थालिनेछ।’ उनका अनुसार गत आर्थिक वर्षमा उपत्यकामा भएका दुर्घटनामा १ सय ६६ जनाले ज्यान गुमाएका र तीमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यस्ता दुर्घटना शून्य पार्न महाशाखाले अभियान चालेको हो ।

तर उपत्यकाका कैयौं सडकमा जेब्राक्रसका सेता धर्सा मेटिइसकेका छन् । सडकमा जेब्राक्रस बनाउने काम सडक डिभिजन कार्यालयको हो । सडक डिभिजन कार्यालय १ का प्रमुख धमेन्द्र झाका अनुसार जेब्राक्रस बनाउन ठेक्का दिइसकेकाले अब केही दिनमै रङ लगाइने र आवश्यक ठाउँमा नयाँ जेब्राक्रस बनाइनेछ।

 

 

 

प्रकाशित: ८ भाद्र २०७३ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App