१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सेतो कमिजको सकसक

दैनिक प्रयोगका सामान्य शब्दबाहेक प्रत्येक अभिव्यक्तिलाई कम्तीमा दुईटा अर्थ बोक्नुपर्ने हुन्छ। भन्नेले आफ्नो आशय व्यक्त गर्न आफूले जानेका शब्दमध्ये सबभन्दा उपयुक्त उक्ति छनोट गर्छ। सुन्नेहरूले त्यही कुरालाई आफ्नो ज्ञान, अपेक्षा र अनुभवको आलोकमा अर्थ्याउँछन्। कुराकानीका क्रममा असमझदारी मेटिँदै जान्छन्। कहिलेकाहीँ नयाँ अन्योक्ति, उपमा, रूपक वा बक्रोक्ति जन्मन्छन्। यदाकदा भएकै शब्दहरूले सर्वथा नवीन निहितार्थ पनि भेट्टाउँछन्।

बिपी कोइरालाले सुकिलामुकिला शब्दावलीलाई हिन्दी भाषाको ‘सफेदपोस' भाव दर्शाउनेगरी प्रयोग गरेपछि खाइलाग्दो जिउ भएका सबै चहकिला एवं धवल वस्त्रधारी राजनीतिकर्मीहरू स्वघोषित क्रान्तिकारीका लागि शंकास्पद चरित्रका भए। सन् १९६० दशकको अन्त्यतिर मधेसमा त्यस्तालाई ‘टिनोपाल नेता' भन्ने चलन थियो। तिनताक ‘ब्रासलेट' एवं ‘सेनगुप्ता' ब्रान्डका ‘धोआ' भनिने धोती लगाउने सामर्थ्य धनीमानीहरूको मात्र हुने गर्थ्याे। सत्ता तथा प्रतिरोध, दुवैथरी राजनीतिमा हालीमुहाली पनि त्यस्तै पृष्ठभूमिबाट आएका व्यक्तिहरूको थियो तर भारतीय स्वतन्त्रता संग्रामको प्रभावले गर्दा राजनीतिकर्मीहरूले घरबुना वा खादीको कपडा लगाउनुपर्ने मान्यता स्थापित भएको थियो। नेताको स्तर र जनताको अपेक्षाबीच तालमेल मिलाउन सामान्य सेतो कपडालाई धोआ जत्तिकै चम्किलो बनाउन टिनोपाल विधि निकै चलेको थियो। सीमापारि आफ्नो लुगा आफैँ धुनुपर्ने मान्यतामा हुर्केका राममनोहर लोहिया तथा जयप्रकाश नारायणका अनुयायीहरू टिनोपाल नेतालाई ‘सफेदपोस समाजवादी' भन्ने गर्थे।

देश त जसरी भए पनि चलिरहेछ र चली नै रहनेछ। सेतो कमिजले हुट्टिट्याउँले नै आकाश थामेको चिन्ता परित्याग गरिदिए हुन्छ।

लुगा टल्काउने टिनोपाल प्रक्रिया सहज भने थिएन। सेतो कपडालाई सबभन्दा पहिले नरम बनाउन लुगा धुने सोडा मिसाइएको पानीमा धोबीहरूले भकभकी उमाल्थे। त्यसपछि नदी वा पोखरीको घाटमा काठको फलेकमा पिटपाट गरी धुने काम हुन्थ्यो। ऊ बेला चलनचल्तीमा रहेको सनलाइट वा ५५५ ब्रान्डको साबुन दलेर पानीको दाग मेट्ने काम त्यसपछि हुन्थ्यो। राम्रोसँग पखालेर कपडालाई पहिले नीलको झोलमा चोपिन्थ्यो। त्यसपछि टिनोपालको झोलमा कपडालाई पुनः एकपटक पखालिन्थ्यो। कडा पार्न माड हालिन्थ्यो। हल्का पानी र बास्नाका लागि अत्तर छर्केर पित्तलको इस्त्रीले श्वेत वस्त्रमा कलप लगाएपछि बल्ल त्यो पोशाक जनताका स्वघोषित सेवकहरूले लगाउने हैसियत प्राप्त गर्ने गर्थ्याे। अनि त्यस्तो ‘सादा खादी' लुगामा सजिएर साँझपख सदरमुकामको चोकतिर जर्दा र किमाम हालेको मगही वा बनारसी पत्ताको पान चपाउँदै समाजवादीहरू प्रजातन्त्र, साम्यवादीहरू सर्वहारा मुक्ति एवं राजावादीहरू राष्ट्रवादका गफ दिन्थे।

कहिलेकाहीँ सार्वजनिक खपतका लागि अञ्चलाधीशले पक्राउ पुर्जी जारी गरेपछि त्यस्ता सफेदपोस नेताहरू रिक्सा चढेर हिरासतमा जान्थे र बाहिर निस्केर राजाको शासन सोचिए जति निरंकुश नरहेको वक्तव्य जारी गर्ने गर्थे। छरछिमेकतिर भने अर्को पटक ‘नेताजी' पक्का मन्त्री, नभए अञ्चलाधीश, नत्र  कम्तीमा भूमि सुधार अधिकारीमा त पक्का मनोनीत हुने हल्ला प्रायोजितरूपमा फैलाइन्थ्यो। त्यसपछि मालअ•ा, भूमि सुधार, प्रहरी, प्रशासन र अदालततिर तिनको दलाली व्यवसाय झन् फस्टाउँथ्यो। सन् १९९० पछि तीमध्ये अधिकांश मूलधारका राजनीतिक दलमा हाबी भए। बिपीको शंका बिल्कुल सही साबित भएको छ। औपचारिक पोशाक मयलपोस–सुरूवाल एवं सामान्य पहिरन डिजाइनर कुर्ता–पाइजामा भएका सुकिलामुकिलाहरूको पूर्ण कब्जामा नेपाली कांग्रेस सन् १९९० दशकको मध्यतिर नै पुगिसकेको थियो। माले–मण्डले–मसालेका बाहुबलीहरूले पनि देखासिकी गर्ने राष्ट्रिय सम्भ्रान्तकै हो। अब त सबै सफेदपोस नै हुन चाहन्छन्।

कुनै बेला हेय अर्थ अंगीकार गर्न पुगेको सुकिला–मुकिला विशेषणयुक्त बहुवचन संज्ञा काठमाडौंका मध्यम वर्गको आदर्श भइसकेको यथार्थसँग माओवादी अध्यक्ष पुष्पकमल दाहालको साक्षात्कार उनी सन् २०१० तिर बालुवाटारबाट बाहिरिन बाध्य बनाइएपछिमात्र भयो। समाजको ‘वैश्यकरण' (शीघ्र र अधिकतम नाफाबाहेक अन्य सवै विवेचन बेकार हो भन्ने मान्यताको व्यापकता), अर्थराजनीतिमा विप्रेषणको बहुआयामिक प्रभाव तथा संस्कृतिको तीव्र अमेरिकीकरणले गर्दा कुनै बेलाका सुकिलामुकिलाहरूको स्खलन अब ‘सेतो कमिज' समुदायमा भइसकेको छ। बिपीले इंगित गर्ने गरेका भुइँफुट्टा वर्गका व्यक्तिहरू सँगसँगै वर्चस्वशाली समुदायका केही प्रतिभाशाली पेसाकर्मी एवं सफल व्यवसायीसमेत हाकाहाकी आफू ‘सेतो कमिज' भएको सगर्व घोषणा गर्छन्। त्यस अर्थमा सेतो कमिजलाई सामन्ती युगका सुकिलामुकिलाहरूको बजारीकृत संस्करणका रूपमा बुझे पनि हुन्छ।

अपेक्षाकृत सम्पन्नता, सूचना प्रविधिको सहजता तथा पर्याप्त फुर्सदको उपलब्धताले सेतो कमिजवालाहरूलाई उकुसमुकुस भइरहने रहेछ। अधिकांश सेतो कमिज सामान्यतः सुकिलामुकिला पारिवारिक पृष्ठभूमिबाटै आएकाले तिनलाई कामको खोजीमा विदेशिने बाध्यता छैन। बजार सानो र प्रतिस्पर्धा न्यून रहेकाले देशभित्रै जुनसुकै पेसा वा व्यवसायमा लागेका चल्तापुर्जाहरू छिट्टै धुरी चढ्न सफल हुन्छन्। हिजोका सुकिलामुकिलाको व्यवहार जति नै निकृष्ट भए पनि ती समाजिकरूपले जरासँग जोडिएकाहरू हुने गर्थे। सत्ताको दलाली सामान्यजनसँग संगत नगरी फस्टाउँदैन। सेतो कमिजवालाहरूमा भने माटोसँग सम्बन्ध टुटिसकेकाहरूको बोलवाला छ। तिनलाई आफ्नै प्राथमिकता सबभन्दा आवश्यक लाग्छ। पुष्टि पूर्वाग्रह एवं प्रतिध्वनि प्रभाव (एको अफेक्ट) व्यक्तिवादी सञ्चार उपयोगमा व्यापक भएकाले सेतो कमिजलाई आफ्नो मताग्रहबाहेक हरेक कुरा अरूहरूको अर्घेल्याईं लाग्न थाल्छ। र, अन्ततः ती भ›गोल राजनीति तथा अस्तव्यस्त राज्यव्यवस्थाबाट छिटो मुक्ति पाउन छोटो बाटो खोज्न थाल्छन्।

व्याकुल जमात

अतीतका कल्पित गौरवगाथाहरूलाई बेवास्ता गर्ने हो भने नेपालको इतिहासले अलिकति गति लिएको सन् १९५० पछि मात्रै हो। त्यसभन्दा अघि 'तीन सहर नेपाल' बाहिरको राजनीतिक–सामाजिक अवस्था पाषाण युगभन्दा खासै फरक थिएन। गोर्खा भर्तिको प्रक्रिया दोस्रो विश्वयुद्धताका सम्म पनि राज्य प्रवर्धित दास व्यापार जस्तै थियो। राजा र राजपरिवारका नातागोतासमेत देउतासरह हुने गर्थे र तिनका बफादार सेवकजति जम्मै बाँकी सबै रैतिहरूका लागि यमदूत! यो एकादेशको कथा होइन। कतिपय भोग्ने र देख्नेहरू यद्यपि जिउँदै छन्। वर्णाश्रम व्यवस्थाले राजकीय मान्यता पाएकाले 'जनैजाति' र जनजातिबीचको खाडल पुर्नै नसकिने किसिमको थियो।

तानाशाहीको गर्भबाट सामान्य विधिले प्रजातन्त्र जन्मन गाह्रो हुने रहेछ भन्ने कुरा बिपीले महसुस गर्ने बेलासम्म ढिलो भइसकेको थियो। त्यसबेलाका सफेदपोसहरूको असन्तुष्टि औल्याउँदै राजा महेन्›ले सन् साठीको शाही सैनिक 'कु' गरेका थिए। नारायणहिटी हत्याकाण्डपछि सुस्तरी असर गर्ने सत्तापलट (क्रिपिङ कु) मञ्चन गर्ने आँट तत्कालीन राजा ज्ञानेन्›मा सेतो कमिजबीच फैलिँदै गएको विरक्ति र रोषले गर्दा नै पलाएको थियो। सन् २००६ पछिको सेतो कमिज जमात भने मूलतः सन् १९८० दशकको अन्ततिर नेपाल भित्राइएको नवउदारवादी अर्थराजनीतिको सन्तान हो। यही अधिर र व्याकुल (रेस्टलेस एन्ड फिजिटी) जमातले पुनः प्रजातान्त्रिक व्यवस्थाका प्रयोगहरूलाई धरापमा पारिदिन सक्छन्। दैवीप्रकोपका बेला अनावश्यक हतार गरेर ›ुत मार्गबाट लागु गर्नै नसकिने संविधान सेतो कमिजको उकुसमुकुसले गर्दा नै जारी गरिएको हो। तिनको आकुलताले अर्को विपत्ति निम्त्याउन पनि बेर छैन।

अन्तर्राष्ट्रिय परिदृश्यमा पनि चिनियाँ 'फैवलेट' बोक्ने र बूढी औला चलाएर 'क्रान्ति' गर्न चाहनेहरूको अनपेक्षित प्रभाव फैलिँदै गएको छ। त्यस्ता सप्ताहन्तका क्रान्तिकारीहरूको नियत सफा भए पनि ती प्रायशः प्रतिगमनका मतियार भएर निस्कन्छन्। इजिप्टमा उद्देश्य थियो– सैनिक शासनको अन्त। भयो– त्यसभन्दा कैयौं गुणा निरंकुश धार्मिक अतिवादको प्रादुर्भाव! त्यसपछि इजिप्टका सेतो कमिज बेपत्ता छन्। नेपालका सेतो कमिज जस्तै थाइल्यान्डका पहेंलो कमिज (एलो सर्ट्स) प्रजातान्त्रिक गठबन्धनका नाममा उदाएका थिए। काम भने तिनले राजनीतिमा सेनाको भूमिका सुनिश्चित गर्नेखालको संविधान जारी गराउने फत्ते गरेका छन्। भारतका गेरूवा वस्त्रधारी गोरक्षकहरू पनि बहुमतकै दुहाई दिन्छन्। तिनका गतिविधिले भारतीय अल्पसंख्यकहरूको अवस्थामा के/कस्तो असर पुर्‍याएको छ, जगजाहेर छ।

तानाशाहीको विरासत बोकेका देशहरूमा सेतो सर्टको अवस्था त जे छ, छँदैछ। स्थायित्व प्राप्त राज्य एवं समाजहरूमा समेत नवउदारवादको उत्पाद रहेको असन्तुष्ट एवं निरन्तर असुरक्षित रहने निम्न मध्यम वर्ग (लुम्पेन बुर्जुवा) त्यहाँका धूर्त पुँजीपतिहरूको छद्म निर्देशनमा उथलपुथल मच्चाइरहेका छन्। राष्ट्रवादको उन्मादले बेलायतलाई 'ब्रेक्जिट' बाटोको अँध्यारो गल्लीतिर डोर्‍याएको छ। अमेरिकामा डोनाल्ड ट्रम्पले उत्पात मच्चाउँदैछन्। कुनै बेला प्रजातन्त्रका योद्धा रहेकी बर्माकी नेतृ आङसाङ सुकीलाई त्यहाँको स्थायी सत्ताको अह्रनखटनमा चल्नुपर्ने बाध्यता उत्पन्न भएको छ। विशाल जनसमर्थनका बलमा सैनिक सत्तापलटको प्रयत्न असफल पार्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान निर्वाचित तानाशाह हुने दिशामा बढिरहेका छन्। समानताको खोजीमा पनि अतिवादी अभ्यास हुन सक्छ भने कुरा जनतन्त्रकी जननी मानिने फ्रान्सको मुसलमानहरूप्रतिको नीतिमा देखिँदैछ जहाँ प्रहरीले महिलालाई सार्वजनिक ठाउँमा 'बुर्किनी' भनिने पहिरन फुकाल्न लगाउँछन्। सेतो कमिज जमातमा व्याप्त हुँदै गएको तत्काल समाधानको तडपले अनपेक्षित परिणामहरूप्रति बेखबर राजनीतिक निर्णय र नाराहरूको स्वीकार्यता बढाउँदै लगिरहेको छ।

निश्चिन्त निश्चितता

नवउदारवादले सचेत नागरिकलाई अभ्यस्त उपभोक्तामा रूपान्तरण गर्न मनग्गे लगानी गर्छ। त्यसपछि आफ्नै आदतले मजबुर बनाइएकाहरू स्वतन्त्र चिन्तन गर्ने क्षमता गुमाउँछन्। सोडा र चिनी मिसिएको झोल स्वास्थ्यका लागि हानिकारक हो भन्ने कुरा सामान्य ज्ञानका रूपमा स्थापित भइसकेको छ। तापनि केटाकेटी पाहुनाको स्वागतसमेत त्यही तरल पेयले गरिन्छ। चाउचाउ र बिस्कुट जस्ता खाजाले स्कुले बच्चाहरूको पोषण आवश्कता पुग्दैन। स्कुल जाने बेलामा सबभन्दा बढी बिक्री त्यस्तै प्लास्टिकमा पोको पारिएका खाद्य पदार्थको हुन्छ। बानीबेहोराको हानि जतिसुकै भए पनि तत्कालिक लाभ के हो भने अभ्यस्तताले निश्चिन्त बनाउँछ। हरेक पटक नयाँ निर्णय लिनुपर्ने दबाबबाट मुक्त भइन्छ। त्यस अर्थमा यथास्थितिवादी राजनीति नवउदारवादको जुडवाँ सहोदर (सिब्लिंग्ज) होभन्दा फरक पर्दैन।

सेतो कमिजका अर्थराजनीतिक आस्थाहरू सक्षमको उत्तरजीविता (सर्वाइबल अफ द फिटेस्ट) अवधारणाबाट सुरू भएर फेरि त्यहीँ टुंगिन्छ। राजा पृथ्वी 'राष्ट्र निर्माता' छन्। इतिहास विजेताको हुन्छ। बाँच्नका लागि आत्मसमर्पण हारेकाहरूको नियति हो। राष्ट्रका 'आदिकवि' भानुभक्त छन्। त्यो किनभने वर्चस्वशाली समुदायको भाषाको प्रमुखता इतिहासको अकाट्य नियम हो। शासकको धर्म सनातन कहलिन्छ। तिनका परम्परा संरक्षणयोग्य ठहराइन्छन्। त्यस्ता सबै कुरा स्वाभाविक लाग्छन्। बिहान उठेर कफीको साटो चिया पिउने बानी भएकालाई आफ्नै छनोट ठीक लाग्छ। तर्क त जस्तोसुकै कुराको पक्ष/विपक्षमा जान्नेसुन्नेले मनग्गे उत्पादन गर्न सक्छन्।

राष्ट्रवादको मूल अवधारणा समर्पणको सिद्धान्तबाट जन्मिएको हो। राजा र राज्य दैवी सिर्जना जत्तिकै परमपावन (सैक्रड) ठहर्‍याइएपछि प्रजातन्त्र, समानता वा सामाजिक न्याय जस्ता मान्यता त के, सामान्य मानवाधिकारसमेत वर्चस्वशाली समुदायका स्वनिर्मित 'हामीहरू' ले 'अन्य' सबैलाई प्रदान गरेको अनुमोचन (कन्सेसन) सरह ठहरिन्छ। यथास्थितिको शक्ति सन्तुलनले एकथरी समुदाय आर्थिकरूपले जतिसुकै कमजोर भए पनि तिनलाई सांस्कृतिक पुँजीमा झण्डै एकाधिकार प्रदान गरेको हुन्छ। तथाकथित सक्षमतन्त्र (मेरिटोक्रेसी) सांस्कृतिक पुँजी प्रयोग गर्ने माध्यम हो। त्यसैले सेतो कमिजलाई समानुपातिक समावेशिता जस्ता अवधारणा आयातीत एवं 'म्लेक्षहरूको षड्यन्त्र' जस्तो लाग्ने गर्छ। परिपूर्ति परको कुरा भयो, सामान्य आरक्षणको व्यवस्थासमेत सक्षमतन्त्रमाथि गरिएको नांगो आक्रमण जस्तो लाग्छ।

राज्यका संयन्त्रमध्ये जुनसुकै देशका सेतो कमिजको सबभन्दा मनपर्ने अवयव सेना र अदालत हुने गर्छ। परिभाषाले नैं अदालत मूलतः स्थायी सत्ता, स्थापित व्यवस्था एवं यथास्थितिको संरक्षक हो। अपवादवस कहिलेकाहीँ कुनै फैसला अग्रगमन वा जनहितको पक्षमा देखिए पनि क्रान्तिकारी परिवर्तनको सूत्रपात गर्नु अदालतको कार्यक्षेत्रभित्र पर्दैन। सन् २०१२ देखि तीव्र बनाइएको सेतो कमिज सक्रियताको उक्साहटमा अदालती हस्तक्षेपद्वारा अन्तरिम संविधानको अन्तर्ध्वंश स्वाभाविक जस्तै प्रक्रिया थियो। अदालत यथास्थितिको अन्तिम संरक्षक हो भने त्यसको प्रवर्धनको जिम्मा सेनाको हुन्छ। त्यसैले सेनाले जेसुकै गरे पनि सेतो कमिजले सामान्यतः तिनलाई शंकाको घेराभित्र तान्दैनन्। कोठाभित्रको हात्तीलाई नदेखेको जस्तो गर्नु सेतो कमिज नीतिभित्रै पर्छ।

अदालत एवं सेना जत्ति नै उपयोगी हतियार खुला बजारका लागि स्वच्छन्द मिडिया एवं सतहमा अराजक जस्तो देखिने अन्तरजालका पाटीहरू तथा निर्वैयक्तिक सञ्जाल देखिन थालेका छन्। आवरण उदारताको भए पनि सेतो कमिजले खुलेरै पश्चगमनको पृष्टपोषण गर्ने सहज माध्यम आजभोलि अन्तर्जालका मञ्चहरू भएका छन्। नेपालको हकमा एउटामात्र उदाहरण पर्याप्त हुन्छ। सार्वजनिकरूपमा मधेसी र जनजातिको हुर्मत लिने मामिलामा नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका बोलीवचनको विषाक्तता सूचकांक (टाक्सिसिटी इन्डेक्स) अमेरिकाको 'ट्रम्पेट्री' भन्दा बढी नै विनाशक हुने गर्छ तर एकातिर 'ट्रम्पपेट्स' आफ्ना नेताका अभिव्यक्तिले लज्जित हुन्छन् भने नेपालमा ओलीका ढोलीहरू उनलाई राजा महेन्›पछिको सबभन्दा ठूलो 'राजनेता' घोषणा गर्न कति पनि लाज मान्दैनन्। र, त्यहाँ आएर जोडिन्छ सेतो कमिजले निर्क्याैल गर्न नसकेको एकातिर अतिराष्ट्रवाद भने अर्कोतिर बढ्दो अन्तर्राष्ट्रियवादबीचको अन्तरनिहित विरोधाभाष।

काठमाडौंका सेतो कमिजले चुस्की लिने हरेक कप्पुचिनो कपमा प्रत्यक्ष वा परोक्षरूपमा अलिकति भए पनि विप्रेषण रकमसँगै भित्रिने रगत र पसिनाको मिहिन अंश मिसिएको हुन्छ। झण्डै ३० लाख श्रमिक तेस्रो मुलुक र कम्तीमा त्यति नै भारतमा काम गर्छन् भन्ने अनुमान पत्याउने हो भने सामान्य नेपालीले स्वाधीनता र सार्वभौमिकताले देशाहंकार होइन, निरन्तर विनम्रता देखाउनुपर्ने बाध्यता छ। बालकृष्ण सम अभिजात थिए र त घोषणा गरे– 'देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि।' दिनहुँ अमेरिकी प्रवेशाज्ञाका झण्डै सात सय याचकमध्ये दरखास्त खारेज गरिएका नब्बे प्रतिशतभन्दा बढी निराश व्यक्तिलाई गएर सोधे हुन्छ– संसारको दरि›तम देशमध्ये एकबाट भाग्न नसकेको पीडा कस्तो हुन्छ? बिहान उठ्ने बित्तिकै हिमाल पनि हेर्न पाइएला र बुद्ध नेपालमैं 'जन्मिएका' हुन्। तर के गर्ने? त्यस्ता दाबीले न आफ्नो पेट भर्छ, न बच्चाको स्कुल फि तिर्न सकिन्छ।

आदर्शहरू खोज्न सेतो कमिजले मार्क्स, माओ वा म्याक्स वेवरको ठेली पनि पल्टाउनु पर्दैन। शीतयुद्धको उत्कर्षताकाका बिपी कमल थापाका नेता छन्। त्यसलाई पनि गम्दै बिपीको सन् १९५० दशकका अभिव्यक्तिहरूको अनुगुञ्जन ठम्याउन सक्ने हो राष्ट्र बन्ने क्रममा रहेको राज्यभित्रका अग्रणीहरूको जिम्मेवारी अलिकति भए पनि बुझिन्छ। देश त जसरी भए पनि चलिरहेछ र चली नै रहनेछ। सेतो कमिजले हुट्टिट्याउँले नै आकाश थामेको चिन्ता परित्याग गरिदिए हुन्छ।

प्रकाशित: १० भाद्र २०७३ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App