१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सद्भावको पञ्चदान

भक्तपुर-बौद्ध धर्मावलम्बीले मंगलबार पञ्चदान पर्व उत्साहपूर्वक मनाए।  भाद्रकृष्ण तृतीयाका दिन मनाइने यस पर्वमा हिन्दूको समेत सौहाद्र्रपूर्ण सहभागिता रह्यो। बौद्ध र हिन्दूको साझा आस्थाको केन्द्र बनेको पर्वले साँस्कृतिक नगरी भक्तपुरलाई धार्मिक सहिष्णुताको अनुपम नगरीको परिचय थप्यो।

भक्तपुरका पाँच विहारबाट निकालिएको दीपंकर झाँकीलाई हिन्दूले पाण्डवको अवतार मान्दै दर्शन गरे भने बौद्धले भगवान बुद्धको स्मरण गर्दै पञ्चदानमा सहभागिता जनाए ।

‘हामीले सानैदेखि पाँच दिपंकंरलाई पाँच पाण्डव मानेर दर्शन गर्दै आयौं,’ भक्तपुर–६ का निवर्तमान वडा अध्यक्ष  कृष्णगोविन्द साइजुले भने, ‘हामीले धेरैपछि मात्र दीपंकर हुन् भन्ने बुझ्यौं ।’ यहाँका सर्वसाधारणबीच सबै धर्मप्रति निकै आस्था रहेको उनले सुनाए । ‘हिन्दू दैनिक बिहान चैत्यको परिक्रमा गर्छन्,’ उनले भने, ‘बौद्ध साथीहरू पनि मन्दिर पुग्छन् ।’

दीपंकर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपलाई क्वाठन्डौको प्रसन्नशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, दरबारक्षेत्रको चतुर्ब्रह्म महाविहार, दूधपाटीको थधुवही महाविहार र दूधपाटीकै  कथुवही महाविहारबाट निकालेर नगर परिक्रमा गराइएको स्थानीय रामसुन्दर भेलेले बताए । यीनै पाँच स्वरुपलाई हिन्दूले युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेवको प्रतीक मानेको उनले बताए ।

‘पाँच आकृति देखेर होला पाँच पाण्डव मानिएको,’ उनले भने ‘यो पर्वले दुवै समुदायलाई एकताबद्ध बनाएको छ ।’ बौद्धलाई पञ्चदान दिन पंक्तिबद्ध हिन्दू समूहले एकआपसमा श्रद्धापूर्वक दान दिने–लिने उनले सुनाए। एउटै पर्व यहाँका हिन्दू–बौद्ध दुवैको साझा आस्थाको केन्द्र बनेको उनको बुझाइ छ ।

पञ्चदानमा सहभागिता जनाउँदै गरेका रविकिरण बज्राचार्यले हिन्दूले देखाएको आस्थाले आफूलाई खुसी लागेको बताए । ‘उहाँहरूले जुन भगवान सम्झे पनि हाम्रो आस्थामा आफ्नो आस्था देखाउनु भएको छ,’ उनले भने, ‘हामी दुवै समुदायले धार्मिक क्रियाकलापमा आपसी सद्भाव राख्दै आएका छौं ।’

स्थानीयले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार दीपंकर बुद्धलाई पृथ्वीमा उत्पादन भएका खाद्यवस्तु धान, मकै, भटमास, गहुँ र विभिन्न फलफूल अर्पण गरेको भक्तपुरस्थित पर्यटक सूचना केन्द्रका दामोदर सुवालले बताए । नगर परिक्रमाका क्रममा बौद्धहरू भक्तपुरका चैत्यसँगै विभिन्न मन्दिरमा समेत पुगेको उनले जानकारी दिए ।  भक्तपुरसँगै काठमाडौं र काभ्रेलगायत विभिन्न ठाउँका बौद्ध नेवार समुदायले पञ्चदान पर्व मनाए।

 

 

प्रकाशित: १५ भाद्र २०७३ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App