२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सहुलियतकाे के भर !

सुनसरीकाे धरान–१७, तल्लाे फाेकल्याण्डस्थित घरमा ज्वराेले सिकिस्त डेढ वर्षीय नाति काखमा च्यापिरहेका वजबहादुर सार्की। तस्बिरः राेहित रार्इ

नेपालगन्ज– बाजुरा, ढाडाकोटका जंग नेपाली ऋण काढेको पैसाले बिहीबार बिहान जहाज चढेर नेपालगन्ज झरे । र, खानासमेत नखाई सिधै भेरी अञ्चल अस्पताल पुगे । यति हतार गर्नुको एउटै कारण थियो– अप्रेसन गरेपछि बिग्रिएको छोराको हातको उपचार ।

मध्याह्न अस्पताल पुगेका जंग त्यतिबेला निराश भए, जब अस्पतालका कर्मचारीले ‘आज ढिलो भइसक्यो, भोलि आउनू’ भन्दै उनलाई फिर्ता पठाए ।

सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गरे पनि बिरामीले सरकारी अस्पतालमा भरपर्दो सेवा पाउन सकेका छैनन्

‘भोलि हुन्या भया त आजै प्लेन चढिकन किन आउन्या छियाँ, भोलि गाडी चढिकन पुगिजान्या छियाँ,’ उनले भने, ‘छिटो औषधि होला भनेर प्लेन चढेर आयाँ, पैसाको मात्तै सत्यानास भयो ।’ बाजुरामा गाडी पुगेको भए पनि छिटो उपचार गराउने आसमा ७ हजार रुपैयाँ खर्च गरेर जहाजमा आएको उनले बताए ।
बिहीबार दिउँसो करिब ४ बजे नागरिक प्रतिनिधि अस्पताल पुग्दा जंग हात भाँचिएर अप्रेसन गरिएको पाँच वर्षीय छोरा बिन्दासलाई काखमा समातेर ओपिडी हलमा टोलाइरहेका थिए । तीन महिनाअघि भेरीमै अप्रेसन गरिएको छोराको हात झन्–झन् बिग्रिएपछि यहाँ ल्याएको उनले बताए । सरकारी अस्पतालमा सस्तो हुन्छ भनेर आए पनि हालसम्म करिब ४५ हजार रुपैयाँ खर्च भइसकेको उनले दुःखेसो पोखे ।

छिटो–छरितो र सस्तोमा उपचार पाइने आस बोकेर अस्पताल आउने सर्वसाधारणको भोगाइ जंगको भन्दा भिन्न छैन । मध्य तथा सुदूरपश्चिमकै सुविधासम्पन्न भेरी अञ्चल अस्पताल आउने बिरामीले समयमा उपचार नपाउने, सेवा लिनका लागि विभिन्नखाले झन्झट व्यहोर्नुपर्ने र प्रयोगशाला तथा अन्य परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता झेल्दै आएका छन् । यसले भरोसा गरिएको अस्पतालमै जनताका लागि आधारभूत स्वास्थ्य बोझिलो बन्दै गएको छ ।

बिहान करिब ९ बजे अस्पताल पुगेकी बर्दिया, राजापुरकी सिकलसेलकी बिरामी सुष्मा चौधरीले डाक्टरसँग त भेट पाइन् तर त्यसपछिको प्रक्रियामा सघाउने मान्छे नहुँदा झन्डै साँभैmसम्म अलमलिरहिन् । ‘डाक्टरले चार पोका (पिन्ट) रगत चढाउने भन्नुभएको छ, यत्रो रगत कहाँबाट ल्याउने ?’ ससुरा विष्णुप्रसादले भने, ‘जता गए पनि हप्काउँछन् मात्रै, सहयोग कोही गर्दैनन् ।’

रगतमा हेमोग्लोबिनको मात्रा ५ दशमलब ७ प्रतिशत मात्र देखिएपछि डा. राजन पाण्डेले चार प्वाइन्ट रगत चढाउन ‘प्रेस्काइप’ गरेका थिए । उनी उपचार पूर्जा बोकेर अस्पताल परिसरमै रहेको रक्तसञ्चार केन्द्र गइन् । त्यहाँका कर्मचारीले रक्तदान गर्ने मान्छे ल्याएपछि मात्र आवश्यक रगत दिने भन्दै फिर्ता पठाए । त्यसपछि निराश बनेकी उनका लागि एकजना सहृदयीले रगत दिएपछि राति ९ बजे (१२ घन्टापछि) बल्ल शरीरमा रगत चढ्न सुरु भयो ।

‘अस्पतालका मान्छेलाई त सोधपुछ गर्नै डर लाग्छ, बोल्दै बोल्दैनन्, बोलेपछि हकार्छन्,’ सुष्माले भनिन्, ‘एकजना मान्छे आएर रगत दिएपछि भगवान आएजस्तै भयो ।’

आधारभूत स्वास्थ्य सेवा झन्झटिलो र ढिलो मात्र छैन, अस्पतालको लापरबाहीले महँगो पनि उत्तिकै छ । विशेषगरी अस्पतालमै हुनसक्ने विभिन्नखालका प्रयोगशाला परीक्षण (रगत, खकार, दिसापिसाब) र एक्स–रेका लागि बिरामीले बाहिर जानुपर्दा महँगीको मार खेप्नुपर्छ । त्यहाँ कार्यरत कर्मचारीका अनुसार भिडियो एक्स–रेका लागि दैनिक करिब सय बिरामी आउँछन् । अस्पतालले भने एक दिनमा २० जनाको कोटा तोकेको छ ।

‘जो अगाडि आउँछ, उसको भिडियो एक्स–रे हुन्छ, २० नम्बरपछि आएका सबैले बाहिर गएर एक्स–रे गर्नुपर्छ,’ एक्स–रे शाखाका एक कर्मचारीले भने, ‘काम गर्ने मान्छे नभएपछि हामीले चौबीसै घन्टा सेवा दिन सकिरहेका छैनौं ।’ अस्पतालभित्र ५ सय रुपैयाँमा हुने भिडियो एक्स–रे बाहिर ८ सय ४० मा हुने उनले बताए ।

सरकारी अस्पतालमा सस्तो हुने भनेकै उपचार र विभिन्नखाले ल्याब शुल्क हो । भेरी अस्पतालमा साँझ ८ देखि बिहान १० बजेसम्म आएका बिरामीले ल्याब परीक्षण बजारमा गर्नुपर्छ । ल्याब शुल्क अस्पतालको तुलनामा बाहिर ३० देखि ४० प्रतिशत महँगो पर्छ । अस्पताल स्रोतका अनुसार रात्रि सेवा सुरु नगर्दा दैनिक करिब ५० हजार रुपैयाँ बाहिरिइरहेको छ ।

‘यसको मार ऋण जोहो गरेर सस्तो सेवा–सुविधा लिने आशा बोकेर आएका गरिब जनतामाथि परिरहेको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘अस्पताल प्रशासन र व्यवस्थापनलाई भने यसबारे कुनै चासो छैन ।’

ल्याब र भिडियो एक्स–रेमा जनशक्ति थपेर सेवा सुरु गर्नेबित्तिकै सरकारी अस्पतालमा आएका बिरामीले अनेकखाले परीक्षणको नाममा महँगी खेप्नु नपर्ने उनले बताए ।

अस्पताल पुग्दा पनि समयमा उपचार नपाउने र पाइहाले पनि अनेकखाले परीक्षणका लागि बाहिरै धाउनुपर्ने कारणले सर्वसाधारण बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा उपचार गर्न बाध्य छन् । मध्य तथा सुदूरपश्चिमको ‘स्वास्थ्य हब’ नेपालगन्जमा यही कारण सरकारीमा भन्दा निजीमा बिरामीको चाप बढ्दो छ । सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गरे पनि बिरामीले सरकारी अस्पतालमा भरपर्दो सेवा पाउन सकेका छैनन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादव भने सरकारले सहयोग नगर्दा समस्याको गहिराइ बढिरहेको बताउँछन् । जनशक्ति अभावले रात्रिकालीन ल्याबसेवा बीसौं वर्षदेखि अस्पतालबाहिरबाट हुने गरेको उनको भनाइ छ । ‘समस्या त कति छन् कति तर सरकारले जनशक्ति दिँदैन,’ उनले भने, ‘हामीले मात्र के गर्न सक्छौं र !’ यद्यपि पछिल्लो समय यी समस्यालाई समाधान गर्न पहल भइरहेको उनले बताए ।

सहुलियत सुविधाबारे बेखबर

सरकारले गरिब, असहाय, ज्येष्ठ नागरिकलगायत विभिन्न १२ लक्षित क्षेत्र तोकेर औषधि–उपचारमा सहुलियत दिँदै आएको छ । तर, भेरी अस्पताल आउने अधिकांशलाई यस्तो सुविधाबारे जानकारी हुँदैन, भएकाले पनि विभिन्न प्रक्रियागत झन्झटले यस्तो सुविधा उपभोग गर्न सक्दैनन् ।

अस्पतालको तथ्यांक केलाउने हो भने उपचारका लागि आउने बिरामीमध्ये करिब पाँच प्रतिशतले मात्र यस्तो सुविधा उपभोग गर्दै आएका छन् । अस्पतालको सामाजिक सेवा इकाइका अनुसार २०७३ सालको वैशाख, जेठ र असारमा १ हजार ३ सय बिरामीले सहुलियत सुविधा लिएका छन् । यो अवधिमा अस्पतालमा भने झन्डै २३ हजार बिरामीले उपचार गरेका छन् । ‘सरकारी अस्पतालमा आउने अधिकांश बिरामी गरिब तथा विपन्न हुन्छन्,’ बर्दिया सानोश्रीबाट आएका बिरामी कुरुवा राजेन्द्र शर्माले भने, ‘यहाँ त अनुहार हेरेर सहुलियत दिइन्छ, वास्तविक गरिबलाई अनेक बहानामा फिर्ता गरिन्छ ।’ अस्पताल परिसरभित्र एउटा सहायता कक्ष स्थापना गरेमा अलमलमा परेका र सेवाग्रहणमा समस्या परेका बिरामीलाई राहत मिल्ने उनले बताए ।

सामाजिक सेवा इकाइ प्रमुख शोभा पौडेल भने लक्षितवर्गका बिरामीलाई सकेसम्म सहुलियत सेवा प्रवाह गरिएको बताउँछिन् । उनका अनुसार लक्षित बिरामीले सुविधाबारे जानकारी पाएकै हुन्छन्, उनीहरू कागजपत्र बोकेर इकाइमै आउँछन् । ‘कतिपय बिरामीलाई त डाक्टर आपैmँले सिफारिस गरेर पठाउनुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले अस्पतालले सहुलियत दिएन भन्नु गलत हो ।’
 

आइसियुका बिरामी फिर्ता

भेरी अञ्चल अस्पतालमा आइसियु सुविधा छ तर गम्भीर अवस्थाका बिरामी सुविधाबाट वञ्चित छन् । बिहीबार राति मात्र बर्दिया र सुर्खेतबाट आएका दुई शिशुलाई अस्पतालले फिर्ता पठायो । ‘बच्चालाई गाह्रो भएपछि राति अस्पताल पु¥यायौं तर अस्पतालले ठाउँ छैन भन्दै फिर्ता पठायो,’ पाँच दिने शिशुकी आफन्त हरिमाया श्रीसले भनिन्, ‘रातारात गरेर त्यति टाढाबाट आइयो, अस्पतालले त राम्ररी कुरै नसुनी फिर्ता पठाइदियो ।’

भेरीको तुलनामा निजी अस्पतालमा आइसियु सेवा झन्डै चार महँगो छ । भेरीले फिर्ता गर्दा उनीहरू निजी अस्पतालको ढाड सेक्ने महँगोमा पर्छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादव भने आइसियु कक्षको क्षमता कम हुँदा बिरामी फिर्ता गर्नुपरेको बताउँछन् । उनका अनुसार अस्पतालमा आठ बिरामीको मात्र क्षमता छ । ‘क्षमताले नभ्याउँदा आइसियुमा राख्नुपर्ने बिरामीलाई दैनिकजसो फिर्ता गरिरहनुपरेको छ, कति फिर्ता हुन्छन् भन्ने यकिन तथ्यांक छैन,’ उनले भने।

प्रकाशित: २५ भाद्र २०७३ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App