१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अपांगको दसैं

जब हरेक वर्ष दसैं नजिकिँदा हुनेखानेहरू निकै सक्रिय हुन्छन्। खासगरी कर्मचारीलाई सरकारले एक महिनाको तलबसमेत थपेर दिने भएकाले उनीहरू पनि यो पर्व पर्खिरहेका हुन्छन्। राम्रो लाउने, मीठो खाने, विभिन्न ठाउँ डुल्ने र मनोरञ्जन गर्नेजस्ता कार्य प्रतिस्पर्धाकै रूपमा हुन्छ। त्यसैले धन हुने नेपालीका लागि दसंै निकै सुन्दर र आकर्षक पर्व हो। जसलाई नेपालमा सबैभन्दा ठूलो चाडका रूपमा समेत लिइन्छ।

यही देश हो, जहाँका अपांग कहिल्यै दसैं मनाउने अवसर जुटाउन सक्दैनन्। एकातिर बेरोजगार, अर्कोतिर आफैँ केही जुटाउन नसक्ने अवस्था। अझ खासगरी गम्भीर प्रकृतिका अपांग त हर्ष उल्लासका साथ दसैं मनाउने कल्पनासमेत गर्न सक्दैनन्। हो, सरकारले केही भत्ता त दिन्छ तर त्यो चियानास्ताका लागि पनि पर्याप्त छैन। भातभान्साको कुरा त परै जाओस्। यस्तो अवस्थामा न अपांगता भएको व्यक्ति वा न त उसको परिवार नै, कहिल्यै पनि दसैं उसका लागि आउँदै आएको छैन भन्दा पनि फरक पर्दैन।

पूर्वजन्मको पापले भनिए पनि नेपालमा धेरै जना काम गर्ने क्रममा अंगभंग भएर पनि अपांग बन्न विवश छन्। तर, समाजको यही नकारात्मक धारणाका कारण उनीहरूले अपमानित जीवन जिइरहनुपर्ने अवस्था छ। एकातिर घर परिवार र समाजबाट अपहेलित अर्कोतर्फ राज्यको सौतेनी व्यवहारबीच अपांगता भएकाहरू सधैँ पिल्सिरहेका छन्। त्यसैले दसैं मात्र हैन, उनीहरुका लागि कुनै पनि चाडपर्व 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हुँदै आएको छ।

जो अपांगता भएको व्यक्ति छ, उसैलाई रोगव्याधिले बढी पछ्याउँछ। उसैले पढ्ने अवसर गुमाउँछ। राज्यप्रदत्त सुविधा दिने निकाय अपांगमैत्री नभएकाले उसले सहजतवरले त्यस्ता सुविधा ग्रहण गर्ने सम्भावना हुँदैन। त्यसैले नेपालको सन्दर्भमा अपांग हुनु भनेको सबै कुराबाट ठगिनु हो। यस्तो अवस्थामा अपांगता भएका व्यक्तिलाई सधैँ दुई छाक कसरी जुटाउने भन्ने चिन्ता मात्र हुन्छ। जसको मुख्य चिन्ता नै बाँच्नका लागि छाक जुटाउनुसँग हुन्छ, त्यस्तो मान्छे अन्य प्रगति कसरी गर्न सक्छ? खासगरी सरकारी पक्षले यही गाँठी कुरा बु‰न नसक्दा अपांगता भएका व्यक्ति कहिल्यै पनि चाडपर्वका साथी बन्न नसकेका हुन। त्यति मात्र हैन, अझै धेरै वर्ष उनीहरुले चाड पर्वलाई अरुसरह मनाउने अवस्था देखिन्न यस्तै पारा कायम रहे।

जुन देशको सरकारसँग अपांगको तथ्यांकसमेत एकिन छैन उसले के देला सुविधा? जुन देशको सरकारले आफैँ बनाएको नियमसमेत अपांगका सवालमा पूर्णतः लागु गर्न सकेको छैन यस्तोबाट के गर्ने थप अपेक्षा? तर, पनि अपांगता भएकाहरू सरकारसँग आशा गर्न विवश छन्। कारण– उनीहरुसँग अन्य विकल्प नै छैन। यही विकल्प अभावमा जति अपहेलित भए पनि सरकारसँग याचना गरिरहनुपर्ने बाध्यताबीच उनीहरु गुजि्ररहेका छन्।

कम्तीमा पनि दसैंमा एक पटक अपांगता भएका व्यक्तिलाई दसैं मान्न पुग्ने गरी केही रकम सहयोग गर्ने नीति ल्याउने हो भने वर्षमा एक पटक नै किन नहोस्, उनीहरुले पनि परिवारसँग बसेर राम्रोसँग दशैँ मान्न सक्थे। राम्रो लाउने, मीठो खाने चाहना पूर्ति गर्न सक्थे। अनि दसैं भनेको यस्तो हुने रहेछ भन्ने स्वाद पनि लिन सक्थे। तर, यहाँ त सक्नेलाई ३ सय ६५ दिन नै दसैं छ, नसक्नेलाई एक दिन पनि छैन। त्यसैले हुनेलाई नै आइरहने र नहुनेको नजिकै नपर्ने दसैंको अपांगता भएकालाई के मतलव?

प्रकाशित: ४ आश्विन २०७३ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App