१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दराजमा हेरोइन भेटिएपछि सबैका साँचो खोसियो

काठमाडौं- औषधि ब्यवस्था विभागले औषधि उत्पादक र आयातकर्ताका लागि उपलब्ध गराएको दराजको साँचो खोसेको छ। विभागले उपलब्ध गराएको दराजमा लागुऔषध खैरो हेरोइन र डिजिटल तराजु भेटिएपछि विभागले सबैसँग साँचो लिएर आफैँले राख्न थालेको हो।

विभागले पछिल्लो १५ वर्षभन्दा अघिदेखि औषधि उत्पादक र आयातकर्ताका फाइल र नमूना राख्न भन्दै परिसरमै दराज उपलब्ध गराएको थियो। विभागले ७० वटा दराज औषधि उत्पादक र आयातकर्तालाई उपलब्ध गराएको थियो।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले घटनाअघि देखिकै योजनाअनुसार विभागले उपलब्ध गराएको सुविधा हाललाई बन्द गरिएको बताए। उनले विभाग र सेवाग्राहीसँग रहँदै आएको साँचो अब विभागसँग मात्र रहनेछ। उनले घटनाको पुष्टि गर्दै अब विभागले नै उत्पादक र आयातकर्ताका फाइल र अन्य सामाग्री सुरक्षित राख्ने ब्यवस्था मिलाउन थालेको बताए।

'हामीले धेरै पहिलादेखि यसरी दराज राख्नदिने निर्णयलाई सच्याउन खोजेका थियौं, घटना भयो, अब विभागकै नियन्त्रणमा सबै हुन्छ,' ढकालले नागरिकन्युजसँग भने। उनका अनुसार विभागले उत्पादक र आयातकर्ताका सामाग्री र फाइल राख्न मन्त्रालयले १३ लाख रुपैयाँ बजेट समेत उपलब्ध गराइसकेको छ।

विभागको परिसरमा रहेको गोप्य लकरमा मंगलबार लागुऔषध खैरो हेरोइन र तराजु बरामद भएको थियो। लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विभाग र सेवाग्राहीको रोहबरमा मात्र प्रयोग हुने लकरमा खैरो हेरोइनसहित कारोबारीलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार विभागले औषधी उत्पादकहरुलाई उपलब्ध गराउँदै आएको लकरमै हेरोइन फेला परेको पहिलो पटक हो। औषधि उत्पादक पानस फर्मास्यूटिकल्स प्रालि नेपालगञ्ज बाँकेका लाइजन अफिसर  सुनिल गुप्ताको सूचनाका आधारमा ब्युरोले विभागमा छापा मारेको हो। औषधि उत्पादकलाई विभागले उपलब्ध गराएको लकरमध्ये पानसको बन्द लकरमा २२ ग्राम हेरोइन फेला परेको हो। गुप्ताले नै बेचबिखनका लागि उक्त लागुऔषध लकरमा राखेको बयान ब्युरोमा दिएका हुन।

'पानसको कर्मचारीले दराजको लकरमा उक्त सामाग्री लुकाएकाले हाम्रो कर्मचारीले थाह पाउन सकेन, अन्यको समेत अब आवश्यकताअनुसार विभागले नै खोल्ने र दिने गर्छ,' ढकालले भने।

ब्युरोका एसपी वीरेन्द्र श्रेष्ठले एकजना लागुऔषध प्रयोककर्ता र फुटकर विक्रेता पक्राउ परेपछि शृंखलाबद्धरुपमा अन्य चार जना पक्राउ परेको बताए। उनका अनुसार प्रहरीले जय बागेश्‍वरीका सुर्य संगतलाई मंगलबार सात ग्राम हेरोइन र केही नगद सहित नियन्त्रणमा लिएको थियो। उनकै बयानका आधारमा नेपालगञ्जका सुनिल गुप्‍ताले बिक्री गरेको खुलेको थियो।

ब्युरोले गुप्ताकै बयानमा आधारमा मंगलबार बिभागको दर्ता महाशाखाअन्तर्गत उद्योग दर्ता शाखामा रहेको विभागले उपलब्ध गराएको स्टिलको दराजभित्र लुकाई छिपाई राखेको खैरो हेरोइन र डिजिटल तराजु फेला परेको हो। ब्युरोका अनुसार दराजमा पानस फर्मास्यूटिकल्स प्रालिको स्टिकर लगाइएको छ। ब्युरोस्रोतका अनुसार विभागले उद्योग कम्पनीका लागि उपलब्ध गराएको दराजको एउटा साँचो सम्बन्धित कम्पनीका आधिकारिक ब्यक्ति र अर्को विभागका कर्मचारीसँग रहने गर्छ।

ब्युरोका डिआइजी जयबहादुर चन्दले घटनामा औषधि उत्पादकको गोप्य र आधिकारिक स्थानको प्रयोग भएकाले उत्पादकलाई समेत अनुसन्धानको दायरामा ल्याएर कारबाही अघि बढेको बताए। उनले औषधि उत्पादकलाई ब्युरोले सोधपुछ गर्नेछ।

'हामी अनुसन्धान गर्दैछौ, संलग्नता वा सहयोगी भूमिका देखिए उत्पादकसमेत कानुनी दायरामा आउनेछन,' डिआइजी चन्दले भने।

प्रकाशित: १३ आश्विन २०७३ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App