१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सिक्ने सकसक

(यहाँ वाग्नर कोदाली खनिरहेका छन्, सेक्सपियर हलो जोत्ता हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन न लेखिनेछ।) –महाकवि लक्ष्मीप्रसाद देवकोटा (के नेपाल सानो छ?)

महाकवि देवकोटाले भनेजस्तै संसारले नसुनेका र संसारले नचिनेका साहित्यका पुष्पहरू आफूलाई फक्रक्क फक्राउन नयाँ बानेश्वरको थापागाउँमा भुर्भुराउँदो उज्यालोमा एउटा घरभित्र छिर्छन्। उनीहरूको साझा उद्देश्य भन्नु नै आफूभित्रका सेक्सपियर र वाग्नरीय कला फक्राउनु हो। चार वर्षयता यसरी सिक्न चाहनेको एउटा बेग्लै समूह यहाँबाट निस्किरहेको छ। जुन उत्साहका साथ उनीहरू निस्किरहेका हुन्छन्, त्यसले लक्ष्मीप्रसाद देवकोटाको निबन्ध सम्झाउँछ। यही भीडमा कोही किट्स बन्लान्, यही भीडमा सेक्सपियर उदाउलान् भनी यहाँका शिक्षकहरू अपेक्षा गर्छन्।

यो हो, सिर्जनात्मक लेखन कार्यशाला। र, यसका कक्षा सञ्चालक विप्लव ढकाल लेखनीमा जन्मजात सिर्जनशीलतालाई शिल्प तिखार्दा त्यसले धेरै राम्रा कुरा निकाल्छ भन्ने कुराका पक्षपाति पनि हुन्। 'जसरी हरेक व्यवसायमा थोरबहुत जानकारी चाहिन्छ, उसैगरी लेखनमा पनि केही तालिम आवश्यक पर्छ,' ढकाल सिर्जनात्मकता निखार्न तालिम लिनुपर्ने कुराको पैरवी गर्दै भन्छन्, 'प्रतिभा हुनु एउटा कुरा हो, प्रतिभालाई निखार्नु अर्को कुरा हो। निखार्न यस्ता तालिम आवश्यक पर्छन्।'

पछिल्लो समय सिर्जनात्मक लेखनमा धेरैको चासो बढेको छ। धेरै मान्छे लेखक बनेर नाम कमाउन चाहन्छन्। ग्ल्यामर भएकाले पनि अधिकांश युवा वा अर्धबैँसे व्यक्ति लेख्न सके हुन्थ्यो भन्ने चाहना राख्न थालेका छन्। विश्वविद्यालयले राम्रो नपढाउने, तालिम दिनेले पनि उति राम्रो नदिने हुनाले धेरैजसोले निकास खोजिरहेका छन्।

अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा सिर्जनशील लेखनीका लागि दुई वर्षे कक्षा हुने गरेको उदाहरण दिँदै फाइनप्रिन्ट प्रकाशन संस्थाका अजित बराल यस्ता 'कोचिङ क्लास'लाई सिर्जनशील लेखनसम्बन्धी परिपूर्ण अध्ययनशाला भन्न रूचाउँदैनन्। उनी आफैले सिर्जनशील लेखन पढेर आएकाले नेपालका कुनै पनि संस्था सिकाउने मापदण्डमा पर्ने मान्दैनन्, तथापि त्रिभुवन विश्वविद्यालय र घोस्ट राइटिङले गरेको प्रयासलाई उनी ननिको मान्दैनन्। 'केही नहुनुभन्दा पनि सिक्न पाइनु, अनुभव लिन पाउनु पनि नयाँ सर्जकका लागि ठूलो विश्वविद्यालय बन्ने गर्छ,' उनी भन्छन्। सिर्जनशीलता मानिसमा जन्मँदै हुने भए पनि लेखपढ र तालिमले शैली तिखारिने र यस्ता पठन तथा तालिमले भाव अभिव्यक्तिको तरिकामा नै फरक ल्याइदिने उनको अनुभव छ।

नेपालमा पहिलो पटक सिर्जनात्मक लेखन त्रिभुवन विश्वविद्यालयमा भिœयाउने प्राध्यापक मोहनराज शर्मा यस किसिमका कक्षा र पठनले सिर्जनशील व्यक्तिको प्रतिभालाई गति दिने बताउँछन्। 'यस्ता कक्षाले धेरै नअल्मलिइ लेख्ने क्षमता वृद्धि गर्छ,' उनी भन्छन्, 'त्यसैले प्रतिभा भएकाहरूलाई यसले स्पष्ट दिशा दिन्छ।'

भर्खरै बेलायतबाट सिर्जनशील लेखन पढेर घोस्ट राइटिङमा केही कक्षा दिइसकेका भीएस राई सिकेर लेख्नुपर्ने कुरामा जोड दिन्छन्। 'प्रतिभा भनेको कुरा जन्मजात हुन्छ, तर तालिमले यसलाई अझ बढी निखारिदिन्छ,' उनी भन्छन्, 'देवकोटा र पौड्यालले कुनै तालिम लिएनन् तर लिएको भए झन् कस्तो हुन्थे होला! तालिमले देवकोटा बनाउन सकिन्न, तर राम्रो साहित्यकार बनाउन सकिन्छ।'

कवि तथा समीक्षक हरि अधिकारी जन्मजात प्रतिभा केही प्रतिशत हुने भए पनि त्यसलाई पाइन चढाउन र उच्च तहमा पुर्‍याउन जीवन र जगतका सूक्ष्म अध्ययन र राम्रो लेखनका लागि आवश्यक सीपचाहिँ सिक्नैपर्ने बताउँछन्। देवकोटा र पौड्यालले उम्दा शिक्षा लिएर आएका थिए र शिक्षा नै उनीहरूको तालिम बन्न पुग्यो।

के हो सिर्जनात्मक लेखन?

कसरी लेख्ने भन्ने विषयमा आधारभूत साक्षरता प्रदान गर्नु सिर्जनात्मक लेखनको विषय हो। जसले सिर्जनात्मक लेखन पढ्छ, उसको लेखनीमा आवश्यक सुधार हुने मोहनराज शर्मा बताउँछन्। आफूले त्रिभुवन विश्वविद्यालमा सिर्जनात्मक लेखन सुरु गर्दाका दिन स्मरण गर्दै उनी भन्छन्, 'पहिलाको हाम्रो शिक्षण समीक्षात्मक, समालोचनात्मक मात्र थियो। फलानोले के लेख्यो र त्यसले भन्न खोजेको कुरा के हो भन्नेतर्फ हाम्रो पढाइ केन्द्रित थियो। त्यसमा मैले थोरै परिवर्तन गरेर के लेख्ने र कसरी लेख्ने भन्ने पाठ्यक्रम बनाएँ। यसले विद्यार्थीमा भएका प्रतिभालाई प्रष्फुटित गराउन मद्दत गर्‍यो।'

जसले जे लेख्ने हो, उसलाई के लेख्ने भन्ने नै सुरुवाती समस्या हुन्छ। त्यस्ता समस्या सिर्जनात्मक लेखनले निमिट्यान्न पारिदिन्छ। विप्लव भन्छन्, 'विषय चयन, सन्दर्भ सामग्री संकलन, विधागत ढाँचा निर्माण, शैली निर्माण तथा स्फुरण प्रतीक्षाजस्ता कुरा सिकाइने हुनाले सिर्जनात्मक लेखन पढेका विद्यार्थीको लेखनी अन्यको भन्दा स्तरीय हुन्छ।'

उनको भनाइमा सामान्यतः जसले पनि के विषयमा लेख्ने भनेर चयन गरेको हुन्छ, तर त्यो विषयलाई आवश्यक पर्ने सन्दर्भ सामग्री संकलन गर्ने कुरामा ध्यान पुगेको हुँदैन। जसका कारण लेखनी सतही हुन पुग्छ। ढकाल भन्छन्, 'तपाईं राउटेबारे लेख्दै हुनुहुन्छ, तर कोठामा बसेर तपाईंले तिनको जीवनबारे लेख्न सक्नुहुन्न। अनुसन्धान गर्न सम्बन्धित ठाउँमा जानु हुन्छ। सामग्री संकलन गर्नुहुन्छ। अनि मात्र तपाईंले लेख्नु हुन्छ। यसो गर्दा तपाईंको लेखनी बढी पठनीय बन्न सक्छ।'

सिर्जनात्मक लेखनमा ढाँचा पनि उत्तिकै महŒवपूर्ण हुन्छ। उपन्यास लेख्दा ढाँचामा लेखिएन भने त्यो जतिसुकै मेहनत गरिएको भए पनि पात्र, पृष्ठभूमि, उठान र बैठान नमिल्दा सम्भावना भएर पनि राम्रो हुन सक्तैन। ढाँचा निर्माणका क्रममा आन्तरिक रचना प्रक्रिया पनि उत्तिकै महŒवपूर्ण हुन्छ। त्यस्तै ध्यानको अवस्थामा पुगेर लेखिएका वा गर्भयात्रा पूरा गरेपछि निस्किएका रचना उम्दा हुने कारण बन्न पुग्छन्। यसपछि जब लेख्न बसिन्छ, त्यसपछि लेखनको पहिलो चरणमा मस्यौदा लेखनी र दोस्रो चरणमा परिमार्जन र तेस्रो चरणमा अन्तिम साफीको क्रमबाट गुजि्रएपछि मात्र उम्दा सिर्जना बन्ने ढकालको धारणा छ।

अन्तिम साफी हुँदा आफ्नो लेखनीमाथि लेखकलाई पूर्णविश्वास हुन्छ किनभने यो एउटा प्रक्रिया पूरा गरेर आएको हुन्छ। यी सबै कुरा थाहा हुँदा सर्जकले थाहा नहुँदाभन्दा राम्ररी लेख्ने ढकालको विश्वास छ। भन्छन्, 'नाच्ने मान्छेलाई तालिम चाहिन्छ, गाउने मान्छेलाई तालिम चाहिन्छ, खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न तालिम चाहिन्छ भने लेखकलाई मात्र तालिम चाहिँदैन भन्नु मूर्ख्याइँ हो।'

शर्माको धारणा पनि तालिमबिनाको सर्जकले सबै पक्ष मिलाएर लेख्न गाह्रो हुने बताउँछन्। उदाहरण दिँदै भन्छन्, 'पहिलेका लेखकलाई ज्वरो आयो भन्दा पुग्थ्यो। हिजोआज त्यतिले मात्र पुग्दैन। ज्वरो आयो भने त्यो मलेरियाको हो कि अथवा मौसमी ज्वरो हो। सिकिस्त छ भने औषधि खुवाउने कुरा आउँछ र औषधि पनि कस्तो खायो भन्नेसमेत पाठक जान्न चाहन्छन्। लेखनीको वृहत्तम पक्ष बढ्दै जाँदा लेखकले चनाखो भएर धेरै कुराको अध्ययन वा विचार पुर्‍याउनुपर्ने हुन्छ।'

संसारभरि नै सबैभन्दा पेचिलो प्रश्न बन्दै आएको कुरा हो– आखिर राम्रो लेख्ने कसरी? भीएस राई भन्छन्, 'पढाइ र लेखाइ एक अर्काका पूरक हुन्। हामी जति धेरै पढ्छौँ त्यसले हाम्रो लेखनलाई त्यति नै धेरै सघाउँछ। अध्ययन–पठनले हामी नयाँ स्टाइल, नयाँ शैली आदिसँग परिचित हुन्छौँ।'

अजित बराल भन्छन्, 'धेरैलाई तालिम लिएपछि वा विश्वविद्यालयमा सिर्जनात्मक लेखन पढेपछि खतरा लेखक भइन्छ भन्ने भ्रम छ। त्यसो हुँदै होइन। राम्रो र उम्दा लेखक वा लेखनी वर्षमा एकचोटि वा वर्षौंवर्षमा बल्ल एकचोटि फेला पर्छन्। यस्ता तालिम वा पठनले चाहिँ बाटो देखाउँछ। के पढ्ने, कसरी पढ्ने भन्ने चाहिँ यस्ता तालिम वा औपचारिक शिक्षणले सिकाउँछन्।'

'पढ्नेबित्तिकै देशमा सयौँ किरण मानन्धर जन्मिनुपर्ने हो नि,' अजित उदाहरण दिँदै भन्छन्, 'तर उहाँजस्तो कलाकार देशले वर्षौंवर्षपछि मात्र पाउँछ। सिर्जनशील क्षेत्र भनेकै यस्तो हो। उहाँजस्तो कलाकार नजन्मिए पनि उहाँको तहमा नपुगे पनि अन्य कैयौँ कलाकारले कम्तीमा ढंग पुर्‍याएर काम गर्न सक्छन्।' उनी उदाहरणका रूपमा मञ्जुश्री थापा, सम्राट उपाध्यायलाई देखाउँछन्।

भीएस राईचाहिँ तालिमबेगर पनि सिर्जनशील हुन सकिने तर्क गर्छन्। 'तालिम लिनैपर्छ भन्ने छैन, तर साहित्य पढ्ने सोख र चलन कम भएकाले नेपालमा संसारमा पुराना भएपछि मात्रै हामीकहाँ आइपुग्छ। तर, वर्तमान पुस्ताका हाम्रा साहित्यकार यसबारे सचेत छन् र संसारका अरु भाषाका साहित्य विशेषगरी अंग्रेजीमा अनुदित साहित्यसँग परिचित छन्, उनी भन्छन्, 'अध्ययन बढ्दै गए विचार र सीपको क्षेत्र पनि फराकिलो हुँदै जान्छ। सर्जकले आफूलाई अरुभन्दा फरक देखाउन सक्छ। सिर्जना भनेकै अरुभन्दा फरक हुनु हो। उही कुरा उही किसिमले लेख्यो भने त नक्कल भइहाल्यो नि!'

विप्लवको धारणामा एकलव्यको उदाहरण लिएर आफैले सिक्ने पनि छन्। देवकोटा, पौड्यालजस्ता व्यक्ति समर्पण र निरन्तरको प्रयासले जन्मिएका हुन्। हरकोही देवकोटा हुन सक्तैनन् अनि हरकोही पौड्याल पनि हुन सक्तैनन्। 'यस्तो अवस्थामा आफ्ना सीमा र शक्तिका आधारभूत जानकारी लिँदा घाटा पर्छ र,' ढकाल प्रश्न गर्छन्।

जसमा प्रतिभा छैन, त्यस्तालाई यस्ता तालिम वा पढाइले सिर्जनशीलता घुसाउन नसकिने मोहनराजको भनाइ छ। 'कुनै बालक ताते गर्दै हिँड्न खोज्यो भने मात्र उसलाई हिँडाउन सकिन्छ। अनि जो राम्रो दौडन्छ, उसलाई मात्र प्रतियोगितामा उम्दा धावक बनाउन सकिन्छ,' उनी भन्छन् 'सिर्जनात्मक लेखनसम्बन्धी पठनले यस्तै काम गर्छ।'

पहिलेका धेरैजसो साहित्यकारले गल्ती गर्दै सच्याउँदै अघि बढे। उसबेला आत्मविश्वास दिने, तरिका बताइदिने माध्यम नै थिएन। अहिले त्यस्ता माध्यम विविध छन्। सिर्जनात्मक लेखनबारे पढाइ गर्ने संस्था छन्। शर्मा भन्छन्, 'हामीले यस्ता कुरा पढ्न पाएनौँ। त्यसैले नयाँ पुस्ताले यस्ता कुरा पढ्न पाउन् भनेर कक्षा सुरु गरेको थिएँ र त्यसले फाइदा पनि दिलायो भन्ने लाग्छ।'

त्यो बेला त्रिविमा केही व्यक्ति छनोट गरेर, पहिल्यै केही साहित्य लेखिसकेकामध्येबाट चयन गरेर पढाएको उनी सम्झन्छन्। त्यो बेला सिर्जनशील लेखन पढेका आफ्ना विद्यार्थीमा अविनाश श्रेष्ठ, मञ्जुल, नवराज कार्की, कृष्णहरि बरालजस्ता प्रतिभाले लेखनमा ठूलो प्रगति गरेकामा शर्मा सन्तोष मान्छन्। 'यी त मेरो सम्झनामा भएका केही नाउँ मात्र हुन्, अरु पनि छन् जसले आफ्नो क्षेत्रमा नाम कमाएका छन्।'

भाग्य पनि चाहिन्छ

त्यसो त लेखकहरू सबै लोकप्रिय हुँदैनन्। लोकप्रिय हुने सबै उम्दा लेखक हुन् भन्न पनि सकिँदैन। अजितको धारणाचाहिँ लेखेर लोकप्रिय हुनु भनेको भाग्यको कुरा पनि हो। 'संसारभरि नै सिकेर, पढेर, जानेर लेखिएका सिर्जना उम्दा मानिए पनि लोकप्रिय नहुन सक्छन्। लोकप्रियता भाग्यकै कुरा हो,' उनी भन्छन्'

नेपालमा सिर्जनशील लेखनका कक्षाका कुराचाहिँ अजितलाई उति चित्त बुझ्दैन। यी सबै ऐच्छिक विषय भएकाले यहाँबाट थोरै अनुभव लिनेबाहेक अन्य कुरा केही नहुने उनको भनाइ छ। 'विदेशमा सिर्जनात्मक लेखन भनेपछि पूरै कक्षा लिनुपर्छ। अरुका अनुभव लिनुपर्छ। दुई वष पढेर निस्केपछि बल्ल आफ्नो हैसियत उसले थाहा पाउँछ,' उनी भन्छन्, 'नेपालमा चाहिँ अनुभव बाँड्ने कुरामात्र हो सिर्जनात्मक लेखनका कक्षा।'

पछिल्लो समय सिर्जनात्मक लेखनमा धेरैको चासो बढेको छ। धेरै मान्छे लेखक बनेर नाम कमाउन चाहन्छन्। ग्ल्यामर भएकाले पनि अधिकांश युवा वा अर्धबैँसे व्यक्ति लेख्न सके हुन्थ्यो भन्ने चाहना राख्न थालेका छन्। विश्वविद्यालयले राम्रो नपढाउने, तालिम दिनेले पनि उति राम्रो नदिने हुनाले धेरैजसोले निकास खोजिरहेका छन्।

नेपालमा सिर्जनात्मक लेखन व्यवसाय राम्रोसँग चलाउन सकिने सम्भावना देख्छन् हरि अधिकारी। यसले वातावरण दिने, हुटहुटी बढाउने मात्र नभई अहिले धेरै कुरा जानेबुझेका पुस्तालाई उनीहरूको ज्ञान र जानकारीलाई व्यवस्थित बनाउन सकिन्छ। उहिले यस्ता ज्ञान लिने कुनै सुविधा थिएन। अहिले प्रविधिको विकासले धेरै कुरा सिकाइसकेको छ। यस्ता ज्ञान, जानकारी र सीपलाई व्यवस्थित बनाउन सक्दा उम्दा साहित्यकार जन्माउन सकिने उनको विश्वास छ। यसका लागि उनले आफै पनि नयाँ प्रशिक्षणशाला खोल्ने प्रयास गरिरहेका छन्।

अहिलेको पुस्ता किन पहिलेको जस्तो प्रतिभासम्पन्न नभएको होला? मोहनराज भन्छन्, 'प्रतिभाशाली नभएका होइनन्, देवकोटा वा पौड्याल, जसलाई हामी उदाहरण मान्छौँ, उहाँहरू इतिहासमा परीक्षण भइसकेका हुनुहुन्छ। त्यसपछिको पुस्ताको परीक्षण भएको छैन। अहिलेको पुस्ताको परीक्षण उनीहरू बितेपछि मात्र हुनेछ। उनीहरू इतिहास भइसकेपछि मात्र कस्ता सिर्जना गरे, को उम्दा लेखक हुन्– को होइनन् भनेर इतिहास लेखनको काम बाँकी छ। त्यसैले हामीलाई देवकोटा, पौड्याल वा भूपि शेरचनजस्ता उम्दा सर्जक नभएको महसुस भएको हो।'

चीरहरणजस्तो उपन्यास, ऐनाजस्तो कथासंग्रह अझै पनि निस्किरहेकाले पछिल्लो समय प्रतिभासम्पन्न सर्जकको अभाव भएको मान्न शर्मा तयार छैनन्। 'यो पुस्तापछिको अर्को नयाँ पुस्ताले पुरानो पुस्ताको मूल्यांकन गर्ने हुन्। यिनले कम राम्रो सिर्जना गरेका छैनन्,' उनको ठम्याई छ।

त्यसो त अहिलेका पुस्ताका लेखकलाई लेख्न गाह्रो छ। पहिले सीमित कुरा सिके वा लेखे पुग्थ्यो। लेखक पनि कम थिए, प्रतिस्पर्धा थिएन। पाठकले मिलाएर पढ्थे, बुझ्थे। अहिलेचाहिँ नयाँनयाँ कुरा आएका छन्, तिनलाई मिहिन तरिकाले लेख्ने सीप चाहिएको छ। उदाहरण दिँदै मोहनराज भन्छन्, 'पछिल्लो समय बहुलवादका कुरा आएका छन्। यो बुझ्न हामीलाई अन्तरविषयक पठन आवश्यक पर्छ। एउटा सानो कविता लेख्न पनि समाजको अर्थ–समाजशास्त्र सबथोक जान्नुपर्छ।' नेपालमा र नेपाली भाषामा यस्ता सामग्रीको सर्वथा अभावका कारण राम्रो सिर्जना हुन नसक्नेप्रति सचेत हुनुपर्ने उनको सुझाव छ।

नयाँ पुस्ताको चासो

मोहनराजलाई सबैभन्दा राम्रो लागेको चाहिँ पछिल्लो पुस्तालाई यी सबै कुरा जान्ने इच्छा छ। सिकाइ जटिल भए पनि नयाँ पुस्ता ती जटिलतासँग जुझ्ने चाहना प्रवल भएको पाउँछन्। फाइनप्रिन्टका अजित पनि पछिल्लो पुस्ताको जिज्ञासुपनप्रति आशावादी छन्। उनले पछिल्लो समय देखेका एक लेखकको नाम लुकाउँदै भने, 'मेरो नजरमा एक जना युवा लेखक छन्। तिनको लेखनीमा दम छ। उनले लेखेको उपन्यासमा राम्रो सम्भावना देखेको छु। कत्ति पटक पुनर्लेखन गराउँदा पनि उनले झिँजो मानेनन्। अहिलेको पुस्ताको राम्रो कुरा यही हो।'

आफूले सञ्चालनमा ल्याएको कार्यशालामा हरेक पटक आउने नयाँनयाँ जिज्ञासु देखेर आफूलाई गर्व लाग्ने घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल बताउँछन्। उनले सुरु गरेका कक्षामा सहभागी भएका चार जनाले पुस्तक नै प्रकाशित गरिसके। कतिपयले उनकै अघिल्तिर भन्ने गरेका छन्, 'गोस्ट राइटिङ नभएको भए म लेखक बन्ने थिइनँ।'

कमलको धारणामा प्रतिभा पाँच प्रतिशत र प्रोत्साहन तथा अभ्यास ९५ प्रतिशतको घोल नै सफल लेखकको द्योतक हो। झमक घिमिरे निरन्तरको प्रयासले लेखक बनेको उदाहरण कमल दिन्छन्। 'जसले सिकेर साहित्यकार बनिन्छ र? भन्ने प्रश्न गर्छन् उनीहरू ईर्ष्याले त्यसो भनिरहेका छन् भन्ने बुझ्नुपर्छ किनभने धेरैले यसलाई दुरुह बनाए। साहित्य भन्नेबित्तिकै कठिन बनाउँदा केही सीमित व्यक्तिको मात्र हालीमुहाली हुने भयो,' कमल भन्छन्। त्यही तोड्न आफूले संस्था नै खडा गरेको उनको दाबी छ।

प्रकाशित: १५ आश्विन २०७३ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App