१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

फराकिलो दशैं

नेपालीहरु सकेसम्म स्वदेश विदेशमा रहेकाहरु दशै मनाउन आ–आफ्नो घर फर्कन्छन्। वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौढन सक्छ। वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन्। ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपासक हुन्। मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवी–देवताको सम्झना गरेको हुन्छ। पाञ्चायन देवतामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ। पाञ्चायत देवी–देवताको आराधनाको आ–आफ्नै समय हुन्छ। घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आरधाना गर्ने समय हो। हामी सबै हिन्दु तथा बौद्धहरु नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गछौं।

दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदिजस्ता चाडपर्व हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन्।

हिन्दु तथा बौद्धहरु दशैंलाई राष्ट्रिय चाडका रूपमा मान्छन्। बौद्ध स्तुपमा बौद्ध धर्मवलम्वी परिवारमा उत्साह र उमङ्गसाथ दशैं मनाउँछन्। उनीहरु भन्छन्– 'भगवान बुद्धले सनातन धर्मलाई मुख्य धर्म भन्नुभएको छ। पुखौंदेखि मनाउँदै आएका चाडपर्वमा धर्म र राजनीति छिर्न हुन्न।' बौद्ध धर्मावलम्वी चन्द्रमुखी लामा भन्छिन्– 'दशै राष्ट्रिय धरोहर हो। बौद्ध धर्मावलम्वीले रातो र कतिपयले सेतो टीका लगाउँछन्। जे लाए पनि असत्यमाथि सत्यको विजयको संकेत हो।' तर केही क्रिस्चियन प्रभावमा परेका केही भने अनेकौं काल्पनिक, झुटा किंवदन्तीका तर्क अगाडि सारेर दशैं बहिस्कार गराउने विवाद झिक्ने गर्छन्। माओवादीका नेता प्रचण्डले पनि तीन वर्षअगाडि दशैं बहिस्कार गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए तर त्यसको खास सुनुवाइ नभएकाले माओवादीले पनि दशैलाई नेपाली जगतको स्थापित मिलन दिवसका रूपमा मनाएको देखिन्छ।

हिमवतखण्ड नेपालभित्र र विश्वमा छरिएर बसेका नेपाली तथा भारत, बर्मा, श्रीलंका, इण्डोनेस्यिा, हङकङ्गलगायत विश्वका अनेकौं देशका हिन्दु बासिन्दाले आआफ्नै प्रकारले दशैंलाई ठूलो मान्यताका साथ मनाउँछन्। दशै धनी र गरिब सबैको साझा चाड हो। निधारभर टीका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन। लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू आदिले वारपार निधारभर दहीसँग मुछेर  सेतो अक्षताको टीका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आफूभन्दा ठूला आमा, बाबु, ससुरा, सासू, गुरु र अन्य मान्यजनसमक्ष टीका थापेर आशीर्वाद ग्रहण गर्ने गर्छन्। काठमाडौं उपत्यकामा अबिर मिसाएर राता टीका लाउने चलन कहिलेदेखि चलेको हो एकीन गर्न सकिएको छैन। उता भारतमा टीका नलगाएर पनि दशैको उत्सव मनाउँछन्। नेपालका केही केही क्रिस्चियन समर्थकसमेतले व्यवहारमा खाएर, लगाएर, रमाइलो गरेर बिताउँछन्। पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि कुमारीको टीका ग्रहण गरेर दशैमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट फूलपातीका दिन काठमाडौ ल्याउने चलन चलाए। गोर्खाबाट फूलपाती भित्रयाउँदा मगर जातिको पूजारीले मात्र भित्र्याउने चलन छ।

विशेष गरेर काठमाडौं उपत्यकामा दशैंलाई ठूलो उत्सवका रूपमा मनाइन्छ। विदेशमा भएकाहरु पनि आआफ्ना ठूलाबडाको आशीर्वाद थाप्न दशैंको निहुँमा घर आउने गर्छन्। आपसमा झगडा गरेर बोलचाल बन्द भएका नातागोता दशैंको निहुँमा टीका थापेर बोलचाल फुकाउने साइनो बन्ने गर्छ। वर्ष दिनको यो चाडका लागि गच्छेअनुसार साँचेर भए पनि राम्रो लाउने, राम्रो खाने र खुसी मनाउने गर्छन्। तर दःखको कुरा कतिपय बाढीपिडित, पैहिरोपीडित, खोलाले लखेटेका, अपहरणमा परेका, विदेशबाट आउन नपाएका, बाटोको सुविधा नपाएकाहरु, गरिबीबाट ग्रसितहरुका लागि दशै दशाका रूपमा पनि चित्रित हुन्छ। तर यस्ता घटना हामी सबैको नियन्त्रणबाहिरको कुरा हो।

दशैंमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ। कृष्ण प्रणामी, वैष्णव, जैन धर्मावलम्वीहरु पशुबलिलाई अमानवीय विकृति ठान्छन्। यस विषयमा सुरुदेखि नै मतभिन्नता छ। तापनि दशैमा पशुपक्षीको बलि चढाउने क्रम जारी छ। हिन्दु धर्मले पशु बलि चढाउने कुरा नगरे पनि एकथरीले आफैँ जान्नेसुन्ने भएर यस्तो बलि चढाउँदै आएका छन्। जसको विरोध गर्ने क्रम पनि बढिरहेको छ।

शिव र बौद्धलाई बराबरी मान्यता गरेर पूजाआजामा सहभागी हुने परम्पराले नेपालमा हिन्दु र बौद्धबीच कहिले पनि तनाव मच्चिएन। दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदिजस्ता चाडपर्व हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन्। दशैको यस महान् चाडमा असंख्यौं इच्छुक हिन्दु, बौद्ध र कतिपय मुसलमानसमेत दशैंप्रति आत्मीयता देखाउँछन्। दशै तिहार जस्ता जीवन पद्धति बनिसकेका चाडपर्वलाई  विदेशी पयर्टकले पनि बडो महत्व दिन्छन्। अमेरिका, बेलायत, अस्ट्रेलिया, केनडा, जापान, जर्मन वा विश्वका कुनै पनि राष्ट्रमा रहेका नेपाली बाहुन, क्षत्री, गुरुङ, तामाङ, मगर, लिम्बू, राई, थारू जो हुन्, उनीहरु दशैं र तिहारलाई बडो हर्षोल्लासपूर्वक मनाएर आफ्नो देशप्रतिको आत्मीयता जगाउँछन्। यो हामी नेपालीको ठूलो विशेषता नै हो।

प्रकाशित: २० आश्विन २०७३ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App