१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कत्रो छ चिनियाँ अर्थतन्त्र ?

बेइजिङ- अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो।

चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ ।

कोषका अनुसार सन् १८७२ मा अमेरिकाले बेलायतलाई उछिनेर संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । त्यसयता निरन्तर अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पहिलो पटक अमेरिकी अर्थतन्त्र दोस्रो स्थानमा झरेको हो । पछिल्ला दशक चीनमा तीव्र गतिले वृद्धि भएको औद्योगिकीकरणले अर्थतन्त्र मजबुत हुँदै आएको छ ।

तीन वर्षपछि चिनियाँ अर्थतन्त्र अमेरिकाको दाँजोमा २० प्रतिशतले ठूलो हुने कोषको प्रक्षेपण छ । त्यसबेला चिनियाँ अर्थतन्त्र १६ हजार ७ सय अर्ब डलरबराबर पुग्ने छ भने अमेरिकी अर्थतन्त्र १३ हजार ८ सय डलरबराबर मात्र हुने कोषको तथ्यांकले उल्लेख गरेको छ ।

कोषले तयार पारेको तथ्यांक ‘सर्वसाधारणको क्रय शक्ति’ मा आधारित छ । यसको अर्थ अमेरिकामा भन्दा चीनमा उपभोग्य सामान सस्तो रहेको बुझिन्छ । तर, निर्वाह खर्चलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अझै पनि अमेरिकाको भन्दा सानो रहेको कोषको भनाइ छ । यसबाट हेर्दा चिनियाँ अर्थतन्त्र ६ हजार ४ सय अर्ब डलरबराबर मात्र रहेको छ ।

यता विज्ञहरूले भने झन्डै डेढ सय वर्षपछि चीनले सर्वसाधारणको क्रय शक्तिका आधारमा अमेरिकालाई पछाडि धकेल्नु विश्व अर्थतन्त्रका लागि एउटा ‘सांकेतिक’ क्षण भएको बताएका छन् । विश्व अर्थतन्त्र ओरालो लाग्नुअघि चीनले तीव्र औद्योगिकीकरण र आर्थिक सुधार सिर्जना गरी लगातार ३० वर्ष दोहोरो अंकको आर्थिक वृद्धि दर हासिल गरेको थियो । जसबाट चीन पूर्वको नयाँ शक्तिशाली अर्थतन्त्र बनेको थियो ।

मुद्रा कोषले भने चिनियाँ आर्थिक वृद्धि दर पछिल्ला केही वर्षदेखि सुस्त रहँदै आएको भए पनि पश्चिमा मापदण्डअनुसार बलियो रहेको उल्लेख गरेको छ । गत वर्ष चीनको आर्थिक वृद्धि दर ७ दशमलव ४ प्रतिशतमा स्थिर रहेको र यो वर्ष २०१५ मा सामान्य घटेर ७ दशमलव १ प्रतिशतमा ओर्लने कोषले प्रक्षेपण गरेको छ ।

यसको ठिक विपरीत कोषले अमेरिकाको आर्थिक वृद्धि दर गत वर्ष २ दशमलव २ प्रतिशतले मात्र बढेको र चालु वर्ष त्यसमा केही सुधार भई ३ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सँगसँगै बेलायतको आर्थिक वृद्धि दर गत वर्ष ३ दशमलव २ प्रतिशतले बढे पनि यो वर्ष घटेर २ दशमलव ७ प्रतिशतमा अड्ने कोषले अनुमान गरेको छ ।

विश्व आर्थिक मन्दीबाट बाहिर निस्किएपछि अमेरिका र बेलायतले अर्थतन्त्रलाई माथि लैजाने प्रयास भने जारी राखेका छन् । तर मुद्रा कोषका प्रमुख अर्थशास्त्री ओलिभियर ब्ल्यांकार्डले ‘सम्भावित वृद्धि सन् २००० को सुरुतिरको भन्दा न्यून रहेको’ भन्दै सचेत रहन सुझाएका छन् ।

चीनले उच्च वृद्धि दरलाई कायम गर्दै गएका कारण आगामी वर्ष केही घटे पनि ६ र ७ प्रतिशतको बीचमा रहने भएका कारण त्यो ‘स्वस्थ’ हुने ब्ल्यांकार्डको भनाइ छ । अमेरिकाको वासिङटनस्थित पेटर्सन इन्स्टिच्युटका सिनियर फेलो तथा चीन विज्ञ अरविन्द सुब्रमनियनले ‘चीन धेरै ठूलो रहेको र अझै ठूलो हुँदै गएका कारण उसको अवमूल्यन गर्न नहुने’ बताएका छन् ।

मुद्रा कोषका अनुसार सर्वसाधारणको क्रय शक्तिका आधारमा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । उसलाई पछ्याउँदै जापान चौथो, जर्मनी पाँचौं, रुस छैठौं, ब्राजिल सातौं, फ्रान्स आठौं, इन्डोनेसिया नवौं र बेलायत दसौं स्थानमा आएका छन् ।

धेरै अर्थशास्त्रीले सर्वसाधारणको क्रय शक्तिलाई अर्थतन्त्रको आकार नाप्ने सबैभन्दा स्वच्छ मापदण्ड मान्ने गरेको छन् किनभने यसबाट विभिन्न देशको निर्वाह खर्च गणना हुने गर्छ । उदाहरणका लागि कम विकसित देशमा ज्याला विकसितको दाँजोमा कम हुने गर्छ । तर यो सँगै उपभोग्य सामान र सेवा भने सस्तो हुने गर्छ । जसले व्यक्तिगत हिसाबमा खर्च गर्ने शक्तिमा तलुनात्मक रूपमा प्रभाव पार्ने गर्छ । यता विश्लेषकहरू सर्वसाधारण कति धनी छन् र कति खर्च गर्छन् भनेर गणना गर्न नहुने तर्क गर्छन्  । चीनमा हाल १ अर्ब ३० करोड जनसंख्या छ । यो अमेरिकाको दाँजोमा चार गुणा बढी हो । तर चिनियाँ अर्थतन्त्र अहिले भर्खरै मात्र संसारकै ठूलो बनेको उनीहरूको भनाइ छ । यसको अर्थ प्रत्येक अमेरिकी प्रत्येक चिनियाँ भन्दा धनी छन् । अन्य उदीयमान बजारले भने ठूलो जनशक्ति र तीव्र वृद्धिबाट फाइदा लिइरहेको विश्लेषकको बुझाइ छ ।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App