२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सेनाको हातमा राष्ट्रपतिको चप्पल

राजविराज- राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन्। बिहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उनका छोरीहरू दर्शनका लागि मन्दिर छिरे। दर्शन गरिसकेर अर्को द्वारबाट बाहिर निस्किए।

खाली खुट्टामा रहेका उनीहरुका जुत्ता–चप्पल बोकेर त्यहाँ खडा थिए नेपाली सेनाका जवान। 

बर्दीमा रहेका सैनिक राष्ट्रपतिलगायत अन्य व्यक्तिहरूको जुत्ता–चप्पल हातमै लिएर एक ठाउँबाट अर्कोबाट ओसार्दा त्यहाँ रहेका सेनाका उच्चअधिकारी मौन देखिन्थे।

सेनाका दुई जवान (एक महिलासहित) ले राष्ट्रपति भण्डारी, छोरीहरू उषाकिरण र निशाकुसुम, राष्ट्रपतिसँगै रहेका एमाले नेत्री एवं सांसद रञ्जु झा, राष्ट्रपतिका स्वकीय सचिवलगायतको जुत्ता–चप्पल मन्दिरको प्रवेशद्वारबाट निस्कने द्वारसम्म ओसारेका थिए।

 हजारौंको भिडमा बर्दीधारी सेनाका जवानले यसरी उनीहरूको जुत्ता–चप्पल उठाएर ल्याइरहेको देख्दा त्यहाँ उपस्थित अधिकांशले मुलुकमा गणतन्त्रण आए पनि राजतन्त्रात्मक सामन्ती व्यवहार अझै पनि हाबी रहेको टिप्पणी गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याएलगत्तै छिन्नमस्ता दर्शन गर्न आउँदा  यस्तै दृश्य देखिएको स्मरण गर्दै, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय किशोरकुमार यादवले भने, ‘जनआन्दोलनले व्यवस्था परिवर्तन गर्‍योे तर व्यवहारमा गणतन्त्र आएन।’

२०६२/६३ को जनआन्दोलनपछि मुलुकमा सदियौं पुरानो राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापनापछि  एकै परिवारमा सीमित रहेको राज्यसत्ता जनतामा हस्तान्तरण भयो तर व्यवहार उस्तै छ। संसदीय व्यवस्थाअनुरुपको कार्यकारी प्रमुखसँगै राष्ट्राध्यक्षसम्मको जिम्मेवारीमा सर्वसाधारण नेपाली पुग्नसक्ने व्यवस्था थालनी भए पनि 'राजतन्त्रको ह्याङ्ओभर' गएको छैन।

संवैधानिक व्यवस्थाअनुरुप सेनाको सर्वोच्च कमान्डरको  रूपमा रहेकी  राष्ट्रपतिबाट यस्तो प्रचलनले निरन्तरता पाउनु व्यवहार उपयुक्त नरहेको राजनीतिक विश्लेषक डा. हेमकुमार मिश्र बताउँछन् ।

 ‘नेपाली सेनाको मनोबल हरेक प्रकारले उच्च राख्ने दायित्व सर्वोच्च कमान्डरको हो,' उनले भने, ‘महामहिमज्यूको यस्तो व्यवहारले पक्कै सेनाको मनोबल उच्च हुँदैन होला, यसप्रति महामहिमज्यूले विचार गर्नुपर्ने हुन्छ।’

खुट्टामा लगाउने जुत्ताचप्पल आफ्नो छोराछोरीलाई पनि कसैले बिरलै बोकाउने गरेको बताउँदै डा. मिश्रले राष्ट्रपति वा अन्य कुनै विशिष्टको जुत्ताचप्पल सेना पुलिसले बोक्ने कार्य 'सामन्ती सोच' को द्योतक तथा निन्दनीय भएको टिप्पणी गरे।

 वरिष्ठ पत्रकार तथा अधिवक्ता विष्णुकुमार मण्डल गणतन्त्रको स्थापनापछि पनि विशिष्ट व्यक्तिको व्यवहारमा परिवर्तन आउन नसक्दा यो पद्धति संस्थागत गर्न कठिनाइ आइरहेको बताउँछन्। ‘एउटा राजपरिवार ढाल्यांै तर हामीकहाँ थुप्रै 'राजपरिवार' सक्रिय भए,' नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका मण्डलले भने, ‘जनता महिनौंसम्म आन्दोलनको नाममा मरिरहँदा चुप लागेर बस्ने, जनताको दुःख–पीडाको ख्यालै नगर्ने, आफ्नो जुत्ता–चप्पल राष्ट्रसेवक सेना, प्रहरीलाई बोकाउनेजस्तो व्यवहार सामन्ती शैली नभए के हो?’

 यस्ता कार्य कानुनले भन्दा पनि विभिन्न विशिष्ट व्यक्तिले आफैं व्यवहारमा परिवर्तन ल्याउनुपर्ने मैथिल महिला परिषद्की पूर्वअध्यक्ष तथा महिला नेत्री साधना झाको भनाइ छ।

‘यस्ता कुरा दैनिक व्यवहारका हुन्,' उनले भनिन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, ठूला नेता, विशिष्ट व्यक्तिलगायतकाको अनुसरण मुलुकले गर्छ, उनीहरूमै सामन्ती सोच र व्यवहार हाबी भए समानताको कुरा कसरी आउँछ?’

नेपाली सेना राष्ट्रकै गौरव रहेको बताउँदै झाले भनिन्, ‘नेपालीहरूको स्वाभिमानको प्रतीक मानिने सेनाको हातमा जुत्ताचप्पल सुहाउँदैन, चाहे जोकसैको किन नहोस्।’

प्रकाशित: ७ कार्तिक २०७३ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App