१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दुई दशकपछि नयाँ नेतृत्व

काठमाडौं- कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको प्यानलविजयी गराउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सोमबार सम्पन्न भएको छ। एन्फा इतिहासमै व्यावहारिक रूपमा पहिलोपटक सम्पन्न निर्वाचनले पछिल्लो एक वर्षदेखि कार्यवाहक अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेका श्रेष्ठलाई अध्यक्ष तथा उनको प्यानलका मणि कुँवरलाई उपाध्यक्षमा चयन गर्‍यो। अध्यक्षमा श्रेष्ठले ३६ मत हासिल गर्दा कुँवर ३४ मत ल्याएर विजयी भएका हुन्। अध्यक्ष पदका प्रत्याशी वर्तमान उपाध्यक्ष कर्माछिरिङ शेर्पाले ३१ मत ल्याए भने उपाध्यक्षमा तीन जनाको उम्मेदवारी पर्दा शेर्पा प्यानलका दीपक खातीले २५ तथा राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले ८ मत ल्याए।

एन्फाका ४५ जिल्ला, 'ए' डिभिजनका १२ क्लब, 'बी' डिभिजनका ५ क्लब तथा 'सी' डिभिजनका ३ क्लबसँगै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघका एक/एक गरी कुल ६९ मतदाता भएको एन्फा निर्वाचनमा ६७ मत खसेको थियो। विवादका कारण झापा जिल्ला फुटबल संघ र 'बी' डिभिजनको श्रीकुमारी क्लबका प्रतिनिधि निर्वाचनमा सहभागी हुन पाएनन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा १० वर्षका लागि निलम्बन गर्दै तत्काल निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न दबाब दिएपछि भएको चुनावमा श्रेष्ठ प्यानल थापाकै लिगेसी धान्ने उद्देश्यसाथ प्रतिस्पर्धामा उत्रिएको थियो। श्रेष्ठ लामो समयदेखि थापानिकट फुटबल पदाधिकारी हुन् भने कुँवर थापाका नजिकका आफन्त हुन्। थापाको प्रभावका कारण विगतमा सधँै औपचारिकतामा सीमित हुँदै आएको एन्फा साधारणसभामा पहिलोपटक वास्तविक प्रतिस्पर्धा हुँदा पनि उनी आफूले चाहेकै नेतृत्व स्थापित गर्न सफल भए।

ठिक विपरीत झन्डै दुई वर्षदेखि तत्कालीन अध्यक्ष थापाविरुद्ध आन्दोलनको नेतृत्व गरेका शेर्पाको उम्मेदवारी थापाको त्यही लिगेसीविरुद्ध थियो। नेपाली कांग्रेसको राजनीतिबाट खेलकुदमा प्रवेश गरेका हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पालाई उनको दलको साथ थियो। उपाध्यक्षमा शेर्पा प्यानलबाट आन्दोलनमा लागेका पूर्व खेलाडी खातीलाई उम्मेदवार बनाइँदा राष्ट्रिय टोलीका पूर्व कप्तान सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

थापालाई फिफाको निलम्बनमा पर्दा अध्यक्ष पद रिक्त भएको थियो। यसैगरीकार्यवाहक अध्यक्षका रूपमा एन्फाको नेतृत्व गरिरहेका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गतवर्ष करेन्ट लागेर मृत्यु भएपछि पाँचमध्ये एक उपाध्यक्ष पद पनि खाली भएको थियो। सोमबार एक अध्यक्ष र एक उपाध्यक्ष पदपूर्ति गर्न बाँकी एकवर्षे कार्यकालका लागि चुनाव भएको हो।

बाँकी रहेको एकवर्षे कार्यकालका लागि भएको निर्वाचनबाट चुनिएपछि श्रेष्ठले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाए। 'प्रजातान्त्रिक अभ्यास भएको छ। यहाँ कोही हारेको छैन। मेरो पहिलो प्राथमिकता सबैलाई समेटेर अघि बढ्नु हुनेछ,' पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, 'फुटबलमा हामीले यसअघि गर्दै आएका सबै कामलाई निरन्तरता दिँदै विकासको काममा अझै एकजुट भएर अघि बढ्नेछौं।'

थापाप्रति बफादारश्रेष्ठले अगाडि थपे, 'उहाँ (थापा)ले फुटबलमा एकदमै योगदान गर्नुभएको छ। फुटबलमा उहाँले गुन लगाउनुभएको छ। उहाँको योगदानको निरन्तरता दिँदै नयाँ काम थाल्नेछौं।'

न्युरोड टिम (एनआरटी) बाट २०२८ सालदेखि व्यावसायिक फुटबल खेलेका श्रेष्ठले २०३२ सालमा खेलाडी जीवन टुंग्याएका थिए। एनआरटीलाई 'बी' डिभिजनबाट 'ए' मा उकाल्दाका मिडफिल्डर श्रेष्ठ तीनपटक टोली सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन हुँदा महŒवपूर्ण खेलाडी थिए।

राष्ट्रिय टोलीमा नपरे पनि क्लबबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागिता जनाएका श्रेष्ठ फुटबल विकासमा ३० वर्षभन्दा लामो समय योगदान गरेवापत एसियाली फुटबल महासंघ (एएफसी) को एएफसी गोल्ड सर्भिस अवार्डबाट सम्मानित फुटबलकर्मी हुन्।

खेल्न छोडेपछि फुटबल प्रशासनमा एकोहोरिएका श्रेष्ठले २०४२ देखि २०६४ सालको अवधिमा एनआरटीमासचिव र महासचिव भएर काम गरेका थिए। २०६४ देखि २०७० सम्म एनआरटीमा अध्यक्षको जिम्मेवारी सम्हाले। यसैगरी निर्वाचित अध्यक्ष श्रेष्ठसँग यसअघि एन्फामा दुईपटक उपाध्यक्ष र एकपटक महासचिवको भूमिकामा काम गरेको अनुभव छ।

उनी एन्फामा २०५८ देखि २०६२ सम्म उपाध्यक्ष, २०६२ देखि ०६६ सम्म महासचिव र २०६६ देखि २०७० सम्म पुनः उपाध्यक्ष भएका थिए। २०७२ कात्तिक २२ देखिश्रेष्ठले एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। आफू अध्यक्ष हुँदा एनआरटीले आर्थिक कारण बताउँदै फुटबल नखेल्ने निर्णय गरेपछि श्रेष्ठले २०७० मा क्लबबाट राजीनामा दिएका थिए।

श्रेष्ठले एएफसीको स्ट्यान्डिङ कमिटी, अपिल कमिटी, युथ फुटबल डेभलपमेन्ट कमिटी जस्ता महŒवपूर्ण जिम्मेवारी बहन गरेका श्रेष्ठ हालएएफसीको मिडिया एन्ड कम्युनिकेसन कमिटीका सदस्य हुन्।

शेर्पाले आफू पराजित भए पनि प्रजातान्त्रिक प्रक्रियाको जित भएको प्रतिक्रिया दिए। 'म हारे पनि एन्फामा पहिलोपटक चुनाव भएको छ। एन्फा नयाँ युगमा प्रवेश गरेको छ। म यो नतिजास्विकार्छु र फुटबल विकासमा अझै समर्पित भएर लाग्नेछु,' शेर्पाले भने, 'एन्फामा सामूहिक नेतृत्व होस, आएका पैसा सम्बन्धित शीर्षकमै खर्च हुन्। कसैको घर चलाउन एन्फाको पैसा उपयोग नहोस्। एन्फामा सुधारको अभियानमा निर्वाचन एउटा आवश्यकता थियो। जो जिते पनि यसले नयाँ सन्देश दिएको छ। मेरो पहिलो काम प्रजातान्त्रिक निर्वाचन गराउने थियो, त्यसमा मैले धेरै भूमिका खेलेको थिएँ। अहिले सफल भएको छु।'

यसैबीच एन्फाको मानार्थ अध्यक्षमा कार्यसमितिले टासी घलेलाई चयन गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७३ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App