१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मेलम्ची दुई दशकमा पनि नबन्ने

काठमाडौं– काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाकाम सुरु भएको झन्डै दुई दशकसम्म पनि पूरा नहुने अवस्था देखिएको छ । सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ र गत वर्ष आएको भूकम्प तथा भारतले गरेको नाकाबन्दीको असर निर्माणमा देखिएको हो ।सरकारले दुई वर्षअघि नै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडे पनि सोअनुसार उपलब्धि भएको छैन ।

पछिल्लो संशोधित तालिकाअनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपथ्र्यो । तर, अहिलेसम्मको भौतिक प्रगति जम्मा ८५ प्रतिशत छ । यही गतिमा अबको डेढ वर्षभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ । २०६४ सालको अन्तसम्म उपत्यकामा पानी ल्याएर बाँड्ने महŒवाकांक्षी योजना सहित आर्थिक वर्ष २०५५÷०५६ मा आयोजनाको काम सुरु भएको थियो । सुरुङ तथा अन्य भौतिक पक्षको निर्माणमा १८ वर्ष पूरा भइसकेको छ । अहिलेकै अवस्थामासबै काम सकिएर पानी आउन अझै डेढ वर्ष कुर्नुपर्ने अवस्था देखिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सञ्जय शर्माले भने २०७४ असोजसम्म आयोजना पूरा हुने दाबी गरे । ‘सरकारको वार्षिक बजेट तथा कार्यक्रममा पनि यो विषय उल्लेख छ,’ उनले भने, ‘मन्त्रालयले त्यसैलाई आधार मानेर कामलाई तीव्रता दिएको छ । लक्ष्य राखिए पनि प्रशस्त समस्या देखिएकाले त्यसको पहिचान र समाधानमा मन्त्रालय लागेको छ ।’

ठेकेदारको कमजोर कार्यक्षमता, निर्माण सामग्री आयात तथा कमजोर भौगोलिक अवस्थाले केही ठाउँको काम लक्ष्यअनुसार नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । ‘अर्को वर्षको असोजसम्म काठमाडौंमा पानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले सोमबार नागरिकसँग भने, ‘सुन्दरीजलबाट महांकालसम्म ल्याउन सके तत्काल पुरानै संरचनाबाट पनि वितरण गर्न सकिन्छ ।’

साढे २७ किलोमिटर सुरुङ निर्माण, सुन्दरीजलमा साढे ८ करोड लिटरबराबरको पानी प्रशोधन केन्द्र र त्यहाँदेखि महांकालसम्म पाइप बिछ्याउने सबै काम अर्को वर्ष असोजसम्म पूरा हुन गाह्रो देखिएको आयोजनाकै अधिकारी बताउँछन् ।‘पानी प्रशोधन केन्द्र र पाइप बिछ्याउने काम सकिए पनि सुरुङको काम पूरा हुन गाह्रो छ,’ एक अधिकारीले भने ।

भौगोलिक अवस्था कमजोर रहेकाले सुरुङ खन्ने कामले लक्षित गति लिन नसकेको भट्टराईले समेत स्वीकार गरे । ‘सुन्दरीजलबाट सुरुङ खन्दा यसअघि ८ सय मिटर सुरुङ खुम्चिएको र त्यसको पुनर्निर्माण गर्दा बढी समय लागेको छ,’ उनले भने, ‘साढे ६ किलोमिटर सुरुङ खन्न बाँकी छ । यो धेरै होइन तर कमजोर ठाउँ आयो भने समय बढी लाग्न सक्छ ।’

२०५६ मा आयोजनाको काम सुरु गर्दा लागत ४६.४० करोड अमेरिकी डलर अनुमान गरिएको थियो । योजनाअनुसार काम नभएपछि विश्व बैंक, नर्वे र स्विडेनले दिन कबोल गरेको १३.३० करोड डलर फिर्ता लगेका थिए । त्यसपछि लागत ३१.७० करोडमा झरेको थियो ।

‘चाइना रेल्वे ब्युरो–१५ नामक चिनियाँ कम्पनी २०६५ सम्म काम गरेर छोडेपछि इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनासँग बाँकी काम गर्न सम्झौता भएको थियो । त्यतिबेला पुनः लागत संशोधन गरेर २८.७४ करोड डलरमा झारिएको थियो ।‘लागत योभन्दा बढी नहोस् भन्नेमा हामी सजग छौं,’ भट्टराईले भने ।

तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको थियो । यसको ठिक उल्टो ठेकेदारले बढी समय लगाए यही आधारमा क्षतिपूर्ति तिराउने प्रावधान छ ।तर, भूकम्प र नाकाबन्दीले काम असर पारेको भन्दै निर्माण अवधि ६ महिना थपिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको साढे १७ करोड लिटर पानी काठमाडौं सुन्दरीजलसम्म ल्याउन खन्नुपर्ने साढे २७ मध्ये २१ किलोमिटर खनिएको छ । ६ किलोमिटर यसअघि चिनियाँ ठेकेदारले खनेको थियो ।इटालियन ठेकेदारसँग २०७० असार ३१ मा ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंक (एडिबी) ले कुल आयोजनामा ८० प्रतिशत सहयोग उपलब्ध गराएको छ ।

दोस्रो चरणको काम सुरु

मेलम्ची आयोजनाको दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटरका दरले थप पानी काठमाडौंमा ल्याउने योजनाको अध्ययन सुरु भएको छ । मेलम्चीबाट ल्याइने १७ करोड लिटर पानी सन् २०१५ सम्मको मागलाई मात्र पूरा गर्ने योजना थियो । पानीको माग बढ्दै गएकाले ती दुई खोलाको पानी पनि काठमाडौं ल्याउन पूर्वनिर्धारित योजनामा संशोधन गरिएकोथियो ।

३४ करोड लिटर थप पानी काठमाडौं ल्याउन करिब २६ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । यस्तै, २१.७ किलोमिटर पहुँचमार्ग, स्थानीयको जीवनस्तरमा सुधार ल्याउन दर्जनौं सामाजिक काम गर्नुपर्नेछ । ५१ करोड लिटर पानी काठमाडौं ल्याएपछि यहाँको माग पूरा हुने अनुमान गरिएको छ ।
 

मेलम्चीको जग्गा अतिक्रमण

मेलम्ची खानेपानी आयोजनाले आफ्नो प्रयोजनका लागि खरिद गरेको जग्गा काठमाडौं र सिन्धुपाल्चोकमा स्थानीयले अतिक्रमण गरेको जनाइएको छ । केही सिन्धुपाल्चोक र अधिकांश उपत्यकाबासीले अतिक्रमण गरेको समितिका कार्यकारी निर्देशक भट्टराईले बताए ।
‘जोरपाटीमा मात्र एक रोपनीभन्दा बढी अतिक्रमण भएको छ,’ उनले भने, ‘खाल्डा र प्रयोगहीन जग्गा पुरेर सम्म बनाएपछि यस्ता दर्जनौं ठाउँमा स्थानीयको हस्तक्षेप बढेको छ । राजनीतिक तहबाटै दबाब दिएर आफ्नै जग्गा आयोजनालाई प्रयोग गर्न नदिने खेल भइरहेको छ । कतिपय ठाउँमा स्थानीयले घरसमेत निर्माण गरेको उनले बताए ।
 

पानी बाँड्न ९ पोखरी

मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्न उपत्यकाका विभिन्न ठाउँमा ९ वटा पोखरी निर्माण थालिएको छ । अहिलेसम्म ५ वटा निर्माण भइसकेको, ३ वटाको काम भइरहेको र एउटाको ठेक्का प्रक्रिया सुरु भएको काठमाडौं उपत्यका खानेपानी लिमिमटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार आरुबारी, महांकाल, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजुमा ७ हजारदेखि साढे ९ हजार घनमिटरसम्मका पोखरी निर्माण भइरहेका छन् । यस्तै, भक्तपुरको कटुन्जे, कीर्तिपुर र ललितपुरको टिंगनीमा ३ देखि ६ हजार घनमिटर पानी अटाउने पोखरी निर्माणको चरणमा छन् ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App