१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

हिउँ चितुवाको राजधानी

मुस्ताङ अर्थात हिमालपारीको जिल्ला । धौलागिरी हिमाल पर्तिर पर्छ मुस्ताङ । अर्को हिमाल निलगिरीलाई मुस्ताङको श्रीपेच भन्ने कि ! त्यही निलगिरीको फेदमा छ एउटा सुन्दर बस्ती, ठिनी । जोमसोम बजारको पारिपट्टि । थकाली समूदायको आदिभूमी । जोमसोम गाविसका १ देखि ४ नम्बर वडालाई ठिनी भनिन्छ । जहाँ थकालीका सय घर छन् ।

कालीगण्डकी किनारमा उब्जाइएका खेती बाली र स्याउ बगान हेर्दै गाउँ पुग्दा आनन्द हुन्छ । ढुँगा, माटो र काठबाट बनेका घर । सेतो रङले पोतिएका । छानामा सजाइएका दाउरा । नाँगा पहाडमा टाँसिएका घर । सफा घर, आँगन र घोडेटा । खुल्ला दिशामुक्त गाउँ । घरघरै शौचालय । 

ताल, प्राचीन गुम्बा, नमखुलेक र थकाली संस्कृतिले भरिपूर्ण मुस्ताङको ठिनी गाउँ खुल्ला संग्रहालय हो । गुम्बामा गुरु पद्मसंभवले प्रयोग गरेका सामान छन् ।

आत्मिय गाउँले । मिठो खाना । मुस्ताङको ठिनी गाउँमा आँखा रमाउँछन् । प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम । थाक पाँच गाउँ मध्ये पुरानो । उहिल्यै ठिनी मास्तिर घरपझोङमा थकाली बस्ती थियो । जहाँ राजा ठोकरचेन शासन चलाउँथे । घरपझोङ किल्लाको भग्नावशेष अझै छ ।

 निधारको तल्लो भाग (दुई आँखी भौं बीच)मा उनको कालो कोठी थियो । त्यही भएर उनलाई तीन आँखे राजा भनिन्थ्यो । ती राजा शक्तिशाली थिए । घरपझोङमा पानी अभाव भएपछि बस्ती ठिनीमा स¥यो । राजा ठिनी बसे, कतिपय गाउँले स्याङ, जोमसोम, मार्फा लगायत ठाउँमा सरे । ठोकरचेनले थाक ५ गाउँ मार्फा, चिमाङ, ठिनी, छैरो र स्याङ गाउँमा शासन चलाएको इतिहास ठिनीका पत्रकार निरज थकाली सुनाउँछन् ।  
 

मनाङको तिलिचो ताल भएर मेसो कान्तो भञ्ज्याङ पार गरेर ओर्लिँदा ठिनी गाउँ पुगिन्छ । ठिनीबाट तिलिचो जान भने पहिलो दिन याक खर्कमा बास बस्नु पर्ने हुन्छ । खर्कमा होटल छैनन्, क्याम्पिङ गर्नु पर्छ । ठिनी अन्नपूर्ण क्षेत्रको बैकल्पिक पदमार्गमा पनि पर्छ । मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्ने बैकल्पिक पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले खुलाएको छ । त्यसैले बेला बेलामा गाउँमा गोरा आइपुग्छन् । पछिल्लो समय ताल र ठिनी गाउँ घुम्ने आन्तरिक पर्यटक पनि बढ्दै गएका छन् ।

गाउँमा तीन वटा होटल छन्, होटल तिलिचो पिक, होटल निलगिरी भ्यू र होटल रोयल भिलेज । नरेन्द्र थकाली नेतृत्वको जनमुक्ति युवा क्लबको अगुवाइमा गाउँका १० घरमा होमस्टे थालिएको छ । थकाली समुदायको १२ बर्षे मेला (चैत–वैशाख)का अबसरमा होमस्टेको औपचारिक उद्घाटन गर्ने तयारी हुँदैछ । होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ ।      

यो सुन्दर गाउँ पर्दा पछाडी छ । नेपालीले मुक्तिनाथ यात्रा गर्दा एक रात ठिनीमा बस्ने योजना बनाए बेस हुन्छ । त्यहाँ हेर्ने, सिक्ने र रमाउने धेरै कुरा छन् । जुनेली रातमा निलगिरीको चमक बेग्लै देखिन्छ । त्यहाँको कुछप तेरेङगा गुम्बा धेरै महत्वपूर्ण छ । ढुम्बा ताल पर्तिरको गुम्बामा गुरु पद्मसंभवले प्रयोग गरेका केही सामान सुरक्षित छन् । उनको कपडा, जुत्ता र कपाल त्यहाँ छ । बौद्धमार्गी यो गुम्बा दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् ।     गाउँमा बोन गुम्बा पनि छ ।
 

गाउँ भन्दा माथि कैशाङ क्याम्प छ । जुन नेपाली सेनाको कब्जामा छ । त्यहाँबाट सेनाले तिब्बती खम्पा बिद्रोहीलाई विसं ०३२ मा परास्त गरेको थियो । नेपाली सेनाको कब्जामा आउनु पूर्व त्यहाँको जमिनमा खम्पा खेतीपाती गर्थे र, ठिनीबासीलाई कुत तिर्थे । सेनाले हाई अल्टिच्यूड टे«निङस्थलका रुपमा क्याम्प प्रयोग गर्दै आएको छ । अधिग्रहण गरिएको जग्गा फिर्ता पाउनु पर्ने स्थानीयको माग छ । गाउँबाट क्याम्प पुग्न ३ घन्टा हिँड्नु पर्छ ।
  

ठिनी क्षेत्रको अर्को बिशेषता हिउँ चितुवा । तिलिचो बेस क्याम्प नमखुलेकतिर हिउँचितुवाको बसोबास छ । एक्यापको क्यामेरा ट्रयाकिङमा ४ वटा हिउँ चितुवा परेको पत्रकार थकालीले सुनाए । त्यसैले ठिनी क्षेत्रलाई हिउँ चितुवाको राजधानी घोषणा गर्नु पर्ने गाउँलेको माग छ । नयाँ ढँगले गाउँको ब्राण्डिङ गर्न सके पर्यटक लोभ्याउन सकिन्छ ।  
    

दृश्यावलोकनका लागि यारुझु भ्यू प्वाइन्ट (३७५०मिटर) छ । ०७३ कात्तिक ६ गते उद्घाटन गरिएको भ्यू प्वाइन्टबाट निलगिरी, धौलागिरी, मेसोकान्तो हिमाल, तिलिचो पिक र नाँगा पहाडको लर्कनै देखिन्छ । त्यस्तै कालीगण्डकी भ्यालीका गाउँहरु, जोमसोम, मार्फा, स्याङ, कागवेनी पनि । मुक्तिनाथ पनि देखिन्छ । त्यस्तै कालीको बगर हुँदै कागबेनी देखि लोमन्थाङ जाने बाटो र कोरला रेञ्जसम्म । भ्यू प्वाइन्ट पुग्न गाउँबाट ३ घन्टा हिँड्नु पर्छ ।
    

पर्यटक तान्ने अर्को आकर्षण हो ढुम्बा ताल । करिब सय मिटर चौंडा र चार सय मिटर लामो तालको पानी निलो देखिन्छ । ताल करिब १० मिटर गहिरो छ ।  बिहानीपख तालमा निलगिरीको छायाँ टलक्क टल्किन्छ ।  
    १२ वैशाख ०७२ को भुकम्पपछि तालको पानी घटेको छ । पत्रकार थकालीका अनुसार मुहान सुकेपछि ताल संरक्षण तथा व्यवस्थापन समितिले नजिकैका खोल्सा खोल्सीबाट पानी ल्याएर तालको सौन्दर्य बढाएको छ । तालमा हाँस र माछा छन् । जंगली जनावर पानी खान आउँछन् ।
  

 ठिनीबाट आधा घन्टा पदयात्रामा पुगिने तालको फन्को मार्दा मज्जै हुन्छ । त्यसबाहेक सामुदायिक स्याउ खेती छ । ठिनी, जोमसोम र ढुम्बा गाउँका गाउँले मिलेर ४ वर्ष अघि सार्बजनिक जमिनमा हजारौं बोट स्याउ रोपेका छन् ।
    सरकार थाकका ५ गाउँ समेटेर निलगिरी गाउँपालिका बनाउँदै छ । ठिनीको पर्यटकीय संभावना प्रचुर देखिन्छ । राम्रो प्रचार हुन सके जोमसोम बजार नजिकैको यो गाउँमा स्वदेशी तथा विदेशीको भिड लाग्न सक्छ । जोमसोममा भन्दा धेरै सस्तोमा बास र खानाका साथै भिडभाड भन्दा बाहिर बस्न पाइन्छ ।  
    

जाडो महिना मँसिरदेखि माघसम्म धेरै चिसो हुन्छ । त्यस बाहेकका महिना ठिनी घुम्नु राम्रो । थकाली समुदायको १२ वर्षे मेला यसपाली लाग्दैछ, ठिनीमा चैत–वैशाखको बीचमा र कोबाङमा पुस–माघमा । संस्कृतिप्रेमी पर्यटकका लागि मेला राम्रो अबसर बन्न सक्छ ।  
    

ख्याल गरौं है, ठिनी सहित मुत्तिनाथ यात्रा गर्दा न्याना कपडा बोक्नु पर्छ । ज्याकेट, माकल टोपी, टाउजर, न्यानो जुत्ता, न्याना कपडा, क्यामेरा, डायरी, कलम, रुमाल, टुथ ब्रस, टुथ पेष्ट, साबुन, सनक्रिम, घाम छेक्ने टोपी, लौरो, पानी बोतल, थर्मस लगायत सामाग्रि चाहिन्छ । जोमसोम, कागबेनी, मुक्तिनाथ र जोमसोममा राम्रा होटल छन् ।
    

अनि साँच्चै फर्किंदा कोसेली ल्याउन भुल्नु हुँदैन नि । स्याउ, स्याउको सुकुटी, जिम्बु, शालीग्राम, खुर्पानीको सकुटी, आलु, स्याउ, स्याउको ब्राण्डी, सिमी मुक्तिनाथ, ठिनी र जोमसोममा किन्न पाइन्छ ।
    

कसरी पुग्नेः काठमाडौं–बेनी २८२ किमि । काठमाडौंको कलंकीबाट छुट्छन् मिनी र माइक्रो बस । बसमा ९ घन्टा । बेनी–जोमसोम ७५ किमि । बेनीबाट छुट्छन् जोमसोम जाने बस । पोखरा–जोमसोम उडान १८ मिनेट । जोमसोम–ठिनी २ किमि । जोमसोम–मुक्तिनाथ २२किमि । जोमसोम–मुक्तिनाथ जीप र बस चल्छन् । तिनले डेढ घन्टा लगाउँछन् । ठिनीसम्मै मोटर बाटो छ । मोटरबाइक, जिप र मिनिबस पु¥याउन सकिन्छ । जोमसोमबाट हिँडेर जाँदा ३० मिनेट ।
दजबमनबयलभि२नmबष्।िअयm

    थकाली होमस्टे
    निरज थकाली
    सचिव, जनमुक्ति युवा क्लब  
    आय आर्जन बढाउन र ठिनी गाउँलाई सुन्दर पर्यटकीय गन्तव्यका रुपमा चिनाउन हाम्रो क्लबको अगुवाइमा गाउँका १० घरमा सामुदायिक होमस्टे सुरु गरिएको छ । हरेक घरमा पाहुनाका लागि दुइटा कोठा छुट्टाएका छौं । एकैपटक होमस्टेमा ४० जना बास बस्न सक्छन् । हामी दुई बेड भएको कोठाको दुई सय रुपैयाँ र सादा खानाको २५० रुपैयाँ मात्र लिन्छौं ।
    सम्पर्क ः ९८५७६५०३११

मुक्तिनाथ     

मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो । हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।
मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् ।
बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन ।

हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए । पछि तिनै देवता त्यहीँ बसे ।
त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ । बौद्धमार्गीको भनाई चाहिँ फरक छ । उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए । फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए । त्यो जल मुक्तिनाथमा सञ्चय गरेछन् । त्यसबाटै १०८ धारा बनाइयो ।

मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्धमसंभवको मूर्ति छ । उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए । त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगै ढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ ।  

तिर्थयात्रीका लागि रानीपौवा बजारमा दुई दर्जन होटल र दुइटा धर्मशाला छन् । त्यहाँ सादा दालभातदेखि नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार समेत पाक्छ । त्यसैले घाम नडुब्दै गन्तव्य पुगेमा खाना र बासको समस्या पर्दैन ।

प्रकाशित: २० कार्तिक २०७३ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App