२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

एकीकृत सैनिक तालिमको आवश्यकता

एकीकृत तालिम केन्द्र अर्थात् युनिफाइड ट्रेनिङ सेन्टर नेपालका सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का लागि अत्यावश्यक छ। गृहयुद्ध, प्राकृतिक प्रकोप, विश्व शान्ति सेना, खबर सङ्कलन तथा बाह्य आक्रमणविरुद्ध गरिने कारबाहीका लागि नेपालजस्तो गरिब देशले आफ्ना बन्दुके फौजको न्यूनतम प्रयोग गरी अधिकतम फाइदा लिनैपर्छ। गरिब र कमजोर क्षमता राख्ने देशले असाधारण अवस्थामा युनिफाइड कमान्डअन्तर्गत खुफिया एजेन्सी, सेना, प्रहरी, अर्धसैनिक फौजको प्रयोग गर्छ। यी सबै भगिनी संस्था हुन्।

युद्धकला, हतियार र बारुदी सुरुङको प्रयोगमा यी संस्था जानकार हुन्छन्। तीमध्ये सेनाले बढी जान्नु स्वाभाविक नै हो। विगतको माओवादी गृहयुद्धविरुद्ध नेपालका सुरक्षा अंगहरू सुरुमा एक्लाएक्लै लडे। मारिए-मारे। ती संस्थाका तालुकदारबीच जुँगाको लडाइँ पनि भए। त्यसबखत नेपाल सरकारले पनि सबै सुरक्षा अंगलाई एकै नासले विश्वास गर्न सकेन।

अन्त्यमा नेपाली सेना माओवादी गृहयुद्ध नियन्त्रण गर्न परिचालित भयो। अनि ‘युनिफाइड कमान्ड’ को अवधारणा जन्म्यो। त्यसै बेला नेपाल सशस्त्र प्रहरी बल पनि जन्म्यो। राअविसमेत युनिफाइड कमान्डमै काम गर्‍यो। तर, पूर्व एकीकृत तालिम र समन्वयबिना चलाइएका ती युनिफाइड कमान्डअन्तर्गतका सैनिक कारबाहीले खासै परिणाम दिन सकेनन्। ती अंगभित्र संस्थागत संस्कार, रासन व्यवस्था, नियम–कानुन, तालिम हतियार लगायतमा विविधता थिए। भन्नैपर्दा बडो सकसमा चलेका थिए ती एकीकृत सैनिक कारबाहीहरू। माओवादी नियन्त्रण युद्धमा ती सबै अवस्था भोगेको, देखेको र युनिफाइड अप्रेसन कमान्डर भई धेरै सैनिक कारबाहीमा भाग लिएको अनुभवमा समेत पंक्तिकारले यो लेख तयार गरेको छ। किन चाहिन्छ एकीकृत तालिम केन्द्र र के के फाइदा छन् ? भन्ने बारेमा यहाँ संक्षिप्त चर्चा गरिएको छ।

पहिलो, आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ। त्यसैगरी बाह्य दुस्मनविरुद्धको युद्धमा सेना अगाडि लाग्छ भने प्रहरीलगायत अन्य भगिनी सुरक्षा अंगले सेनालाई साथ दिन्छन्। आन्तरिक द्वन्द्व पनि सैनिक पाराले उत्कर्षमा पुग्छ भने मात्र युनिफाइड कमान्डअन्तर्गत सेना अघि लाग्न सक्छ। तसर्थ, नेपालले आफ्ना न्यूनतम जनशक्ति र हतियारको प्रयोग गर्नका लागि करिब ५० प्रतिशतभन्दा बढी प्रहरीको पेसागत ज्ञान सेनाले र सेनाको पेसागत ज्ञान प्रहरी र राअविले सिक्नुपर्दछ। अर्थात् हाम्रा सुरक्षा अंगहरू बिजुलीका ‘मल्टिपल प्लग’जस्तै देशलाई पर्दा टु पिन वा थ्रि पिन छिराउन सकियोस्। सेना, दुवै प्रहरी र राअविको समन्वय र सद्भाव बढाएर मात्र पर्दाखेरि एकता कायम हुने छ।

नेपाल सरकारले मध्य पहाडी हावापानी भएको क्षेत्रमा एकपटकमा दुई हजारसम्म जनशक्तिलाई सैनिक तथा गैरसैनिक तालिम दिन मिल्ने सुविधायुक्त तालिम केन्द्र बनाउनुपर्छ। त्यहींबाट तराई तथा हिमाली खण्डका लागि तालिममा समेत लग्न सकिन्छ। माथिल्ला कमान्डरभन्दा पनि तलदेखि सुबेदार तहसम्मका सेना, प्रहरी, राअविका जवानबीच चीन जान र पेसागत अनुभव साटासाट गराउने अवसर दिनैपर्छ। एकपटकमा १० हप्तासम्मको तालिम गराई वर्षमा ५ हजार सेना–प्रहरीलाई संयुक्त तालिम गराउन सकिन्छ।

तालिमको पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी गुरिल्ला युद्ध कला र बारुदी सुरुङको प्रयोग गर्ने कला सिकाउनैपर्छ। विगतमा किन माओवादीले श्री ५ को सरकारको सत्ता पल्टाए? किन युनिफाइड कमान्ड सफल हुन सकेन त? प्रस्टै छ– सेना–प्रहरी अमेरिका, बेलायत, भारतबाट दीक्षित शक्तिशाली देशका स्रोत र साधन चाहिने युद्धकलामा भर पर्थे भने माआवादी गुरिल्ला युद्धकलामा। बडामहाराज पृथ्वीनारायण शाहले १८२४ साल असोज १५ गते सिन्धुलीको लडाइँमा अंग्रेज क्याप्टेन जर्ज किनलककी एक बाहिनी फौजविरुद्ध पहिलोपटक बनाएको रणनीति ‘जाई कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने सिद्धान्त माओवादीले भरपुर अपनायो।

पहाडी युद्ध कलाका लागि नेपालको चुरेको फेददेखि हिमालसम्म एकैपटक २०० जनाले हमला गर्ने जमिन छैन। किन बडामहाराज, राजकुमार बहादुर शाहलगायतले त्यत्रो ठुलो सैनिक संख्या भएर पनि सैनिक संरचना कम्पनी १५० जना जतिको बनाए? अहिले हामी सोचौं त? उनीहरू कत्ति वैज्ञानिक र व्यावहारिक रहेछन्। किन उनीहरूले मुलसमान मिर कासिमविरुद्ध, अंग्रेज क्याप्टेन किनलकको फौजविरुद्ध, पछि नेपाल–अंग्रेज युद्धमा समेत सानो सानो संख्यामा गुरिल्ला युद्ध लडे–लडाए? के हामी अमेरिकी, पश्चिमा र अन्य शक्ति राष्ट्रका सैनिक आँखाबाट सैनिक, प्रहरी सशस्त्र बलको संरचना बनाएर देशलाई मूर्ख त बनाइरहेका छैनौं? हाम्रा सेना–प्रहरीका तालुकदार मन्त्रालय र ठुला ठुला फुलीदारहरूले विचार गर्नैपर्छ कि फेरि पनि किन सात–आठ हजार सेना पनि नभएको माओवादी गृह युद्धलाई नियन्त्रण गर्न सकेनौं र सरकार ढल्यो? एउटा सत्य कुरो के हो भने यदि सत्ता बचाउने र सत्ता ढाल्ने शक्तिका बीचमा शान्तिपूर्ण वा रक्तपातपूर्ण क्रान्ति हुन्छ र सत्ता ढल्छ भने त्यसबखत सत्ता पक्षको हार हुने छ।

त्यहाँ सेना–सेनाबीचको लडाइँको जितहारले कुनै अर्थ राख्दैन। हामी युद्धमा हारेको भन्न लाज मान्छौं। अनि नेपाल अंग्रेज युद्धका मलाउ, नालापानी, कुमाउ युद्ध हारेको भनेनौं। युद्ध सुरु गराउने अदूरदर्शी सरकार प्रमुख तथा त्यो युद्धका हरूवा कमान्डरहरूलाई के के सम्मान दियौं। इतिहारलाई कसले कसी लगाउने ? नेपाल चीन युद्ध पनि हारेको भन्न लाज मान्छौं। देशभित्रको माओवादीसँगको युद्ध श्री ५ को सरकारले हारेको भन्न लाज लाग्छ भने जितेनौं भन्न किन लाज लाग्ने? जब हामी युद्धको परिणामलाई लुकाउँछौं तबसम्म यो देशका सुरक्षा अंगहरूले देशलाई परेको बेलामा माखो मार्न सक्दैनन्। लडाइँको पाठबाट भाबी युद्धको तयारी गरेर मात्र सफलता प्राप्त हुन्छ।

माओवादी युद्धताका श्री ५ को सरकारसँग त सेना, दुवै प्रहरी र राअवि गर्दा झन्डै दुई लाख जनशक्ति थिए त? सम्भाव्य दुस्मन र मित्रको किटानी नगरी बनाइने युद्ध रणनीति भनेको देशको राष्ट्रिय सुरक्षाको भविष्य कुहिराको काग बन्नु हो। तसर्थ, हामीले हाम्रो जमिन चिनौं, मौसम चिनौं, दुवै छिमेकी चिनौं, देशको आर्थिक अवस्था चिनौं, पूर्खाले विजय हासिल गरेका युद्धकला पढौं अनि मात्र युद्धकला बनाऔं। त्यसपछि हाम्रो सेना–प्रहरीले परेको बेला काम गर्न सक्ने छन्।

अर्को उल्लेख गर्नैपर्ने कुरो के हो भने हाम्रा सुरक्षा अंगका ठुला फुलीहरूलाई ठुला ठुला तालिमका लागि पश्चिमा र छिमेकी मुलुकमा समेत पठाउँदा धेरैजसोले आफ्नो देशको धरातल नै बिर्सेका छन्। तालिमबाट फर्केर आएपछि उनीहरूमध्ये धेरैले देश प्रेम र देशको धरातल गुमाउँछन्। नजिरका लागि हाम्रा कतिपय अवकासप्राप्त ठुला फुलीहरूले छिमेकी र शक्ति राष्ट्रका लागि ज्यान फालेर काम गर्ने तर राष्ट्रिय स्वाभिमान बेचिरहेका छन्। यो नै सबैभन्दा खतरा बनेको छ नेपालका लागि।

ती शक्ति राष्ट्रका ठुला खर्चबाट दिलाइएका तालिम र तालिमका नाममा प्रदान गरिने मोजमस्तीलाई नेपालमा हुने उपादेयताबारे कसले गर्छ मूल्याङ्कन? करोडौं लगानी गरेर तालिमबाट फर्कने अनि त्यो तालिमबाट नेपालमा एक सुकाको पनि फाइदा लिन नसकिने ? किनकि हाम्रो स्रोत र साधनले शक्ति राष्ट्रका युद्धकलालाई एक प्रतिशत पनि धान्दैन। तसर्थ, नेपालका सुरक्षा अंगहरूलाई परेका बेला नेपालको माटो बचाउन र जनताको जिउधनको रक्षा गराउने कामबाट प्रतिफल लिन नेपाललाई चाहिने युद्धकला, सामग्री, सोच, देशप्रेम, सेना र प्रहरीका संगठनको पुर्नसंरचनामा लानैपर्छ। लेखकले संख्याको कुरा गरेको होइन।

एकीकृत तालिम केन्द्र स्थापना गर्नका लागि कुन तहको ‘फाइटिङ युनिट’, कुन युद्ध कला, के के बारुदी सुरुङको प्रयोग गर्ने भन्ने कुरामा उपराष्ट्रपति नन्दबहादुर पुनलगायत पूर्वमाओवादीका कमान्डर तथा सेना, प्रहरी र राअविसमेत बसेर बृहत् छलफल गरी निक्र्योल गर्नैपर्छ। शक्ति राष्ट्रका युद्धकलाले नेपालको क्षमतामा माखो मर्नेवाला छैन। हामी हतियारधारी राष्ट्र सेवकहरूले ‘घिन्ताङ मादल’ देखाएर आँखामा छारो मात्र हाल्ने हो भने परेका बेलामा नेपालको अस्थित्व नै समाप्त हुने छ।

अर्को कुरा एकीकृत तालिम केन्द्रमा सबै सुरक्षा अंगलाई शान्ति सेनाको तालिम गराउन केही गाह्रो छैन। यो तालिम भनेको पुलिसले गर्ने काम हो। एकै ठाउँमा बसेपछि एकअर्को अंगबीच चिनाजानी बढ्छ। त्यसभन्दा ठुलो कुरा प्रतिआतंकवाद, प्रतिविद्रोह, भीड नियन्त्रण, प्राकृतिक प्रकोप, महामारीसम्बन्धी काममा एकीकृत तालिम केन्द्र र संयुक्त कारबाहीले ठुलो महत्त्व राख्नेछ। एउटै काममा सबै सुरक्षा अंगको होडबाजीले गर्दा राज्यको खर्चसमेत बढेको छ भने विभिन्न बाहनामा संस्थाको संख्या थपेर एकले अर्कालाई उछिन्ने काम भएका नजिर छन्।

सबैभन्दा ठुलो बदमासी सबैलाई ठुला फुली चाहिने र ठुला फुली धेरै भएपछि तिनलाई कमान्ड गर्न दिन संख्या थप्ने गरिन्छ। एउटा सचिव र मन्त्रीको चाकडी गरेर यस्ता काम भइरहँदा यस्ता चोरी कामको कसैले नियन्त्रण गर्न खोज्दैनन्। नेपाल सरकारका प्रधानमन्त्री र मन्त्री नै बेइमानी भएका छन्। उनीहरू सुरक्षा अंगलाई खुसी पारेर आफ्नो भातृ संगठन बनाउँदै छन्। अनि खल्तीबाट ठुला फुली लगाइदिन्छन्। ठुला फुलीहरू देशको स्वार्थ होइन, नेताका स्वार्थ पूरा गरिरहेका छन्।

साह्रै उदेकलाग्दो कुरो त यो देशमा करिब २ लाख बन्दुकधारी छन्। किन देशले गोलीसमेत बनाउँदैन? किन हतियार बनाउँदैन? उनीहरूलाई हतियार विदेशीसँग किन्दाको मजा अर्कै छ। अनि त्यो मजाले हामी आफ्नै देश मार्दै छौं। यो बदमासी हतियारधारी संस्थाकै हो। किन सेना–प्रहरीहरू मिलेर देशमा हतियार, गोली–गट्ठा बनाउन पहल नगर्ने? पृथ्वीनारायणजस्ता गरिब राजाले बनारस पुगी हतियार किने अनि हतियार, बारुद र गोली बनाउने भेषा सिंह, मोहमद टाकी, सेख जरबरजस्ता मुसलमानहरू गोरखा ल्याए र हतियार एवम् गट्ठा बनाएका होइनन् त? त्यसपछि भयो नेपाल एकीकरण। यसरी मौलायो देशप्रेम।

अस्तिको माओवादी गृहयुद्धमा सरकारका बन्दुधारी परिचालित हुँदा छिमेकी मुलुकलगायत पश्चिमाले हामीलाई गोली, बन्दुक र एक्स्ल्पोसिवलगायतमा नाकाबन्दी गर्दा हाम्रा बन्दुक झन्डै झन्डै ‘लौरो’ बनेका थिए। भलै, शान्ति सम्झौताको नाममा छिमेकीले सो युद्ध रोकिदियो। के हामीलाई एक माघले जाडो गएकै हो त? हामीले देशमा केही नबनाई सबै सामान विदेशबाट झिकाएर, मजा गरेर मात्र अनि झन्डै २ लाख बन्दुकधारीलाई ‘घिन्ताङ मादल’ बनाएर राख्ने हो त? अनि छिमेकीले १५ दिन नाकाबन्दी लगाइदिए भने हाम्रा सुरक्षाकर्मीका हवाईसाधन, गाडी, जनेरेटर, अस्पताल, गोली गट्ठा बन्दोबस्त कसरी गर्लान् त? के हामी बडामहाराज पृथ्वीनारायण शाहको पालाका भन्दा कमजोर भएकै हौं त? उसबखत र अहिलेको नेपाल र छिमेकीको शक्ति तुलना गरौं त? अनि थाहा हुने छ हाम्रा बन्दुके शक्तिको वास्तविकता।

अन्तमा, सेना, दुवै प्रहरी र राअवि हाम्रा सम्पत्ति हुन्। यिनीहरूको काम गोली–बारुद–बम–बन्दुकसँग खेल्ने एकदमै खतराजनक पनि छ। देशले नेपालको सम्भावित दुस्मन र मित्रहरूको गोप्यरूपले एकिन गरेर मात्र हामीले युद्ध र सैनिक कुटनीति तय गर्न सक्छौं। हामीले शत्रु र मित्र एकिन गर्ने आँट गरेका छैनौं। हामी परेका बेला दुस्मन मार्ने कि फट्याङ्ग्रा मार्न खडा भएका छौं? खोइ त सिपाहीका लागि सम्भाव्य दुस्मनबारेको मूल नीति? अनि हाम्रा युद्धकला र ठुला फुलीधारी तालिम केका लागि? हाम्रा जमिनले खुट्टा टेक्न नदिने ठुला संरचना किन? हाम्रा लागि भियतनाम, अफगानिस्तानका जस्तो गुरिल्ला युद्धकला चाहिन्छ कि? अमेरिका, बेलायतले इराक–अफगानिस्तानमाथि हमला गरेको युद्धकला?

त्यसैले सेना, प्रहरी र राअविका कामबारे कम्तीमा ५० प्रतिशत पेसागत ज्ञान एक अर्को संगठनलाई सिकाएर परेका बेला प्रभावकारी प्रयोग किन नगर्ने? भारतले के ग¥यो, अमेरिकामा के भयो? भन्ने होइन। नेपालमा घाँटी हेरेर हाड निल्न के गर्ने भन्ने हो। हामीले संख्यात्मक वृद्धि गरेर ठुला ठुला फुली मात्र थप्ने कि पेसामा गुणात्मक वृद्धि गरेर युद्धभूमिमा रगत बचाउने? किन सेना–प्रहरीमा फ्रस्टेसन बढेको छ र किन राजीनामा दिएको भोलिपल्ट खाडी–मलेसिया उड्छन् हाम्रा सुरक्षाकर्मी? के हामीले तल्लो दर्जादेखि माथिल्लो दर्जासम्मको तलब, पेन्सन र कल्याणकारी काममा कहिलै सोचेका छौं? भारतीय सेनाको जवानदेखि माथिसम्मले के के सुविधा पाउँछन्? तलब र पेन्सन कति छ? के हामी बोल्न सक्छौं? नेपालका बहालवाला र अवकाशप्राप्त बन्दुकधारीहरूलाई मनोवैज्ञानिकहरू लगाएर उनीहरूको मनोभावना बुझ्ने प्रयास गरौं त? सबैभन्दा बढी विद्रोही यिनै संस्थाहरूमा पाइनेछ। तसर्थ मन, वचन र कर्मले देशप्रति समर्पित बन्दुकधारी बनाउन राज्यले छिमेकी मुलुकका कल्याणकारी योजनाको अध्ययन गरी आफ्नो देसलाई चाहिने युद्धकला र संरचनाको सुरुवात गर्ने काममा ढिला नगरौं।

हाम्रा सुरक्षा प्रमुखहरू तथा आफूलाई सुरक्षाविद् भनेर लेखाउनेहरूले के मनन गरून् भने नेपालीको रगत र वंशाणुगत गुण भनेको थोरै पढ्ने तर धेरै कर्म गर्ने हो। हामी घोकेर ९० अंक ल्याउन जन्मेका होइनौं। २० प्रतिशत पढ्ने ८० प्रतिशत लडाइँमा ठोक्ने जात हो। अनि ठुला कमान्डर अगाडि लगाएर लडाइँको नेतृत्व गरेपछि मात्र अरू सेनाले लडाइँमा झ्वाम्मै हाम फाल्ने जात हौं।

अहिले साना अफिसर अगाडि लगाएर ठुला अफिसर पछि बस्ने प्रचलन हामी नेपालीको युद्ध संस्कार विपरीत छ भने घोकेर ९० अंक ल्याउने तर लडाइँमा तिघ्रा कमाउनेलाई ठुला ठुला फुली (केहीबाहेक) दिने संस्कारले हाम्रो युद्ध गर्ने क्षमता ध्वस्त हुँदै छ, भइरहेको छ। लेखक सयौं प्रमाण दिन तयार छ। तसर्थ हामीले युनिफाइड ट्रेनिङ सेन्टरमा सबै सुरक्षा अंगलाई बहादुर बनाउने र नेपालीको संस्कारअनुसारको युद्धकला सिकाउन ढिला नगरौं।

प्रकाशित: ६ फाल्गुन २०७९ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App