३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

पिच्च पिच्च थुकिरहनेहरू

केही साताअघि बस र माइक्रो बसबाट थुके वा फोहोर फ्यालेमा जरिवाना गर्न सरकारले निर्देशन जारी गर्‍यो। तर, माइक्रो बसबाट प्लास्टिक फ्याल्ने  र थुक्ने काम रोकिएको छैन।

सरकारका अन्य नियम र कानुन जस्तै यो पनि पालना हुने छैन। पान खाएर बाटोमा पिच्चपिच्च थुक्दै हिड्नेले गरेको फोहोरबारे धेरैलाई हेक्का हुँदैन। नियम बनाएर पालना गराउन नसक्ने सरकार र पिच्च पिच्च थुक्ने जनता उस्तै छन्।

हाम्रा नेताले देशलाई सिंगापुर र स्विजरल्यान्ड बनाउने भाषण दिँदै आएका थिए। उनीहरू त्यहाँ गएर के कसरी सफा गर्ने भन्ने सिकेर पनि आए। आजकाल उनीहरूले नेपाललाई सिंगापुर जस्तै बनाउने सपना छोडे। किनभने उनीहरूले बुझे फोहोर गर्ने हाम्रो बानी हट्न नसक्ने हो भने सिंगापुर बनाए पनि स्थिति पुरानै हुनेछ। 

केहीअघि मन्त्री अर्जुन नरसिंह केसीले संसद बैठकमा मुखबाट कुनै पदार्थ हातमा थुकेर फ्यालेको दृश्य 'भाइरल' हुन पुग्यो। उनले त्यो दालचिनी भएको पनि बताए। यसले उनको निकै आलोचना भयो। तर आलोचना गर्नेहरूले यस्तो गर्ने अर्जुन मात्र होइनन् सबै नेपाली र नेताको साझा चरित्र हो भन्ने बिर्सिए।

धेरै सांसदले जताततै थुक्ने, फोहोर फ्याल्ने काम सजिलै गर्छन। उनीहरूको भिडियो अर्जुनकै जसरी सार्वजनिक नभएर मात्र जोगिएका छन्। नेताहरू मञ्चमा बस्दा नाक कोट्याइरहेको देखिन्छ। जुम्रा परेकोले हो वा बानी परेर कपाल कन्याइरहेका देखिन्छन्। कुनै भोजमा खाना खाएपछि सिन्कालिएर ठूलो मुख बाएर दाँत कोट्यारहेको दृश्य देख्नेलाई कम वाकवाकी लाग्दैन।

यसमा ती मेचमा आसिन नेताको के दोष? त्यो त नेपालीहरुको राष्ट्रिय चरित्र नै हो। धेरै सरकारी कर्मचारीहरू पनि त्यसै गर्छन् । मधेसका सरकारी अफिसका कुनाकुनामा पान खाएर पिच्चपिच्च थुक्नु स्वाभाविक हुन्छ। बरु कुनै अफिसमा यस्तो दृश्य देखिएन भने पो अचम्ममानु पर्ने हुन्छ। यसो भनिरहँदा पानखाएर जताततै थुक्नेहरुको चित्त दुख्ला। तर, त्यो चित्त दुखाइले थुक्न कम गरे धेरै राम्रो हुने थियो।

३० लाखको गाडी चढ्ने, ५० हजारको मोबाइल बोक्ने र ३० हजारको सुट लगाएर हिड्ने एकजना सरकारी अधिकारी गाडीमा बसेर खोक्छन् र हिडिरहेको गाडीबाट थुक्छन्। उनलाई बाहिर बाटामा हिड्ने मानिसलाई त्यो थुक पर्छ भन्ने वास्ता हुँदैन।

तिनै सरकारी अधिकारी आफ्नो घर भित्रको फोहोर रप्लास्टिकमा पोको पारेर आँगनमा फ्याल्छन्। उनी उनको आँगनको फोहोर अरु व्यक्तिले सफा गरिदेऊन। ३–४ तलाको घरमा बस्ने ती अधिकारी घरको फोहोर लिन आउनेलाई दुई सय रूपैयाँ दिन पनि मान्दैनन्। उनले भने, 'मेरो घरमा अरू परिवार पनि बस्छन्। उनीहरूको फोहोर धेरै हुन्छ, त्यतै माग्नुहोस्।'

उनीसँग कोही पनि विवाद गर्न चाहँदैनन् र घरमा बस्ने अरु परिवारले ती सरकारी अधिकारीको पनि पैसा तिरिदिन्छन्। ती अधिकारी थुकिरहन्छन्, प्लाष्टिकका पोको फ्याकिरहन्छन्। काठमाडौंमा यस्ता थुप्रै व्यक्तिको  मानसिकता त्यस्तै छ।

यिनै मानिस युरोप र अमेरिकामा जाँदा जथाभावी थुक्दैनन्। त्यसो गरे भने त उनीहरूलाई वरिपरिका मानिसले अपमान गर्छन्। त्यहाँको कानुनले पनि समात्छ। तर नेपालमा न त फोहोर फ्याक्नेलाई कसैले अपमान गर्छ,  न गाडीबाट थुक्ने व्यक्तिले सडकमा अरु पनि छन् भन्ने विचार गर्छ।

आफ्नो घरभित्र एउटा कागजको टुक्रा देखियो भने घर परिवारको सातो लिन्छन्। सड्क र पार्कमा मन फुकाएर फोहोर गर्ने किन? किनभने यस्ता सरकारी अधिकारी, चालक आदिलाई उनका मातापिताले सार्वजनिक ठाउँमा फोहर गर्न हुन्न भन्ने सिकाएनन्।

जुन दिन माइक्रो बसमा थुक्ने यात्रु, फोहोर फ्याल्ने चालक र कुना देख्नासाथ पिसाब फेरिहाल्नेलाई जरिवाना भएर उसको फोटो पत्रिकामा छाप्न र रेडियो तथा टेलिभिजनमा तीनपुस्ते आउँला त्यहि दिनमात्र यो प्रक्रिया रोकिएला।

प्रकाशित: २७ माघ २०७३ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App