२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सैनिक आँखाबाट देखिएको युद्ध इतिहास

इतिहास

नेपालको इतिहासमा लेखिँदै आएका, देखिँदै र सुनिँदै आएका इतिहासहरूको शुद्धीकरण गर्नुपर्ने छ। यहाँ दिएका इतिहासका तीन पाटाहरू लेखकले स्थलगत भ्रमण गरेर र प्रकाशित इतिहास पढेर अनि स्थानीय जनतासँग सोधपुछ गरेर तयार पारेको हो। यसमा सुधार गर्नुपर्ने हुन सक्छ। सुझावको अपेक्षासमेत गरेको छु।

पहिलो नेपाल: अंग्रेज युद्ध अर्थात् सिन्धुलीको लडाइँ

सिन्धुली गढीको १ किमिजति दक्षिण भिरालोमा रहेको यो स्थान भिर र अप्ठ्यारो पहाडबाट हिँड्नुपर्ने गोरेटो बाटाको घाँटीमा बनेको सुरक्षा र भन्सार जाँच गर्ने अनि अध्यागमन नियन्त्रण गर्ने थलो थियो। यसलाई आडा पनि भनिन्छ, अर्थात् परेका बेला सानो तिनो लडाइँ लड्न मिल्ने गरी बनाइएको सानो गढी अर्थात् आड। जहाँ पनि मुख्य गढीलाई बचाउन दुष्मन आउन सक्ने बाटोतर्फ सानातिना आडहरू बनाइन्थे। तसर्थ, यो पौवागढी अर्थात् आडा (आड) सिन्धुलीगढीको सहायक गढी हो। मुख्य कर्मचारी र सेनाहरू सिन्धुलीगढी र त्यस आसपासमा काम गर्थे भने काममा रहेका कर्मचारी, पालेहरू यहाँ रहेर काम गर्थे।

नेपाल एकीकरणपूर्व यो मकवानपुरका सेन राजाको थियो। नेपाल एकीकरणको इतिहासमा यो गढीको नाम भेटिन्न। जब १८२४ असोज १५ गते बृटिस इस्ट इन्डिया कम्पनी (अंग्रेज) का सेना कान्तिपुर पुगेर पकड जमाई बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकीकरण बिथोल्न चाहेर अगाडि बढ्दै गर्दा उक्त दिन अंग्रेज विरुद्ध लडाइँ भयो। त्यसपछि यो पौवा गढीको इतिहास चम्कियो। यो पहिलो नेपाल–अंग्रेज युद्ध हो। यो लडाइँको सङ्क्षिप्त रूपरेखा निम्न छ:

(क) अंग्रेजतर्फ १ बाहिनी सेना लिएर क्याप्टेन जर्ज किनलक पटनाबाट अघि बढी कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सैनिक सहयोग दिन चाहन्थे।

(ख) बडामहाराज पृथ्वीनारायण शाह सिन्धुलीको खनियाखर्क गाउँमा मुकाम गरी आफैले लडाइँ सञ्चालन गरेर ती अंगे्रज सेनालाई सिन्धुलीमाढीदेखि सिन्धुली गढी रहेको ठाडो डाँडासम्म (पैदल १० किमिजति) को जमिनमा अंग्रेज सेनालाई धराप (एम्बुस) मा पारी मार्न चाहन्थे। जसबाट उनको एकीकरण अभियान नरोकियोस् भन्ने उनको उद्देश्य थियो।

(ग) उस बखतको गोर्खाली सेनालाई अंग्रेजले एकदमै कमजोर र उनका अगाडि तुच्छ ठानी बेवास्ता गरी सिन्धुलीमाढीबाट सिन्धुलीगढी हुँदै खुर्कोटतर्फ बढ्दै थिए।

(घ) पृथ्वीनारायण शाहले १८१९ सालमा मुगल सेनालाई मकवानपुरमा हराए पनि अंग्रेज सेनालाई शक्तिशाली ठानी आफ्नो युद्ध रणनीति नै बदले। आफ्ना सेनालाई अगाडिबाट आक्रमण नगर्ने तर लुकी लुकी मार्ने आदेश दिए। त्यसैले ‘जाइ कटक नगर्नु, झिकी कटक गर्नु’ भन्ने आदर्श वाक्य बनाए। यही क्याप्टेन किनलकसँगको लडाइँका लागि जन्मिएको थियो–यो आदर्श वाक्य। यसको मतलब हो सिधा अगाडि नपरी लुकी लुकी दुस्मनलाई धरापमा पार्नु अर्थात् गुरिल्ला युद्ध गर्नु हो।

(ङ) एक बाहिनी अंग्रेज फौजमध्ये मुस्किलले १० जना अंग्रेज अधिकृत थिए। बाँकी सबै भारतीय मुलकै थिए। समथर र गर्मीमा जन्मेका अनि सैनिक तालिम गरेका साथै टाउकोमा भारी बोक्ने बानी परेका र पहाड उक्लन भनेपछि मरेजसो गर्ने ती भारतीय मधिसेहरूलाई सिन्धुलीको उकालो सजिलो थिएन। यिनीहरू भारी बोकेर एकदमै ढिलो उकालो चढिरहेका थिए।

(च) यता गोर्खाली (नेपाली) सेनाले भने कतै पनि आफ्नो हर्कत नदेखाई निम्न स्थानमा लुकेर एम्बुस (धराप) थापी बसे:

पौवागढी: यो स्थान पहरो भएको भिर र हिँड्ने बाटो त्यहींबाट जाने र त्यसको दायाँ बायाँबाट छलेर सिन्धुलीगढीको डाँडामा पुग्ने बाटो नै थिएन।

ढुंग्रे भन्ज्याङ: यहाँ भद्रकालीको मन्दिर छ। सिन्धुलीमाडीबाट ग्वाङ खोला हुँदै ठाडो उकालो चढेर यहाँ पुगिन्छ। थोरैसम्म ठाउँ छ। यहाँ पुगेपछि बाटो हिँड्ने जो कोही पनि आराम गर्छन्।

सिन्धुलीमाडी: यो सिन्धुली बजार र सम्म ठाउँ सकिएर ग्वाङ खोलैखोला ढुंग्रे भन्ज्याङ–पौवागढी सिन्धुलीगढी निस्कनका लागि हिँडाइ सुरु गर्ने इलाका हो। अंग्रेजको १ बाहिनी यही आएर केही दिन क्याम्प खडा गरी बसेको थियो।

(छ) बडामहाराज पृथ्वीनारायणको मुकाम खनिया खर्क थियो। उहाँकै आदेश लिएर माथि लेखिएका ३ ठाउँमा एम्बुस थापिए।

(ज) १८२४ साल असोज १५ गते सिन्धुलीमाडीबाट अंग्रेज फौज सिन्धुलीगढी हुँदै खुर्कोट बास बस्ने गरी हिँड्यो। २५०० जना जति फौज थिए। उकालोमा मुसे ताँती लाग्दा करिब ७ देखि १० किमि फासला ढाकेको थियो। पहिला समन्वय गरेर एम्बुसमा पार्ने निधो गरेअनुसार सिन्धुलीमाडी बासबाट अन्तिम सिपाही हिँडिसकेपछि र सबैभन्दा अगाडिको टोली पौवागढी नजिक पुगेपछि मात्र सबैभन्दा पहिला पौवागढीको एम्बुस टोलीले फाएर खोल्ने र त्यही बन्दुकको (फायर) आवाजमा ढुंग्रे भन्ज्याङ र सिन्धुली माडीको ग्वाङ खोलाको खोंचमा पछाडिको एम्बुसबाट एकै पटक फायर खोली अंग्रेज फौजलाई टाउको, ढाड र खुट्टा तिनैबाट एकैपटक गोलीको वर्षा गरी नेपाली सेनाले धेरैलाई काटे–मारे।

(झ) अंग्रेज फौज बेतर्तिव भागे। नेपाली इतिहासमा ११०० मरेको विवरण लेखिएको छ। ठाडो ओरालो–उकालोमा र साँगुरो गोरेटोमा गोलीको फायर असरदार हुन्न नै। जमिनको विश्लेषण गर्दा र क्याप्टेन किनलकको डायरी अध्ययन गर्दा बढीमा ५०० जनासम्म मारिएका हुन सक्छन्। झन्डै ७००/८०० नाल राइफल र केही तोप नेपाली सेनाले हात पारे। फौज भाग्दा हतियार फालेर भाग्ने चलन संसारभर नै हुन्छ।

(ञ) यसरी १८२४ साल असोज १५ गतेको दिनमा लुकीछिपी बसेर नेपाली सेनाले ‘जाइ कटक नगर्नु, झिकी कटक गर्नु’ अर्थात् सैन्य धराप अर्थात् एम्बुस थापेर अंग्रेज फौजलाई बर्बाद पारे।

(ट) युद्धमा विजयी भएपछि भोलिपल्ट असोज १६ गते बडामहाराज ढुंग्रे भन्ज्याङमा रहेको भद्रकाली मन्दिर पुगी दर्शन गरी पूजाआजा गरेका थिए। अन्त्यमा यो युद्धका मुख्य कमान्डर बडामहाराज पृथ्वीनारायण शाह आफै हुन् भने उनको मातहतमा काजी रणसिंह बस्न्यात (बांगे), काजी केहरसिंह बस्न्यात, काजी वंशराज पाण्डे, सरदार सिकारी वंशु गुरुङ, खजान्ची वीरभद्र सापकोटा उपाध्यायलगायत स्थानीय मगरहरू, थापा क्षत्रीहरूले लडेका थिए।

नेपाली साहित्यकारहरूले यो लडाइँमा बच्छयुँ र अरिंगालको गोला फुटाई अंग्रेज फौजलाई टोकाएर भगाएको भन्ने लेखे अनि ती साहित्य, कथा, उपन्यासलाई इतिहासमा मिसाइयो। यो गल्ती हो। अहिले पनि अरिंगाल, बच्छयुँ, गोरु, भैंसीलाई लडाइँ र अरू समयमा पनि आदेश दिन सकिन्न। यसलाई चलायो–जिस्कायो भने पहिला जिस्काउनेलाई टोक्छ, चिल्छ र हान्छ।

नेपाल–अंग्रेज युद्धमा खलंगा अर्थात् नालापानीको लडाइँ

नालापानी खलंगाको लडाइँमा नेपाली सेना, केही महिला र केटाकेटी (देहरदुनमा भेटिएको शिलालेखअनुसार) समेतले लडेको बहादुरीको उत्कृष्ट नमुना थियो। एक पृतना अर्थात् १ डिभिजन अंग्रेजविरुद्ध करिब ५५० जना नेपालीले लडेको। जसमा अंग्रेज डिभिजन कमान्डर जनरल जिलेस्पीसमेत मारिए। अंग्रेजले ३ पटक हमला गरी अन्ततः ठुला तोप र धेरै सेनाको प्रयोग गरी यो लडाइँ जित्यो। खलंगाको गढी भएको स्थानको उत्तरी भागमा अहिले स्थानीय सरकारको सहयोगमा ‘नालापानीको लडाइँको स्मारक’ बनाइएको छ।

हाल इँटाले गोलो पारेर घेरेको पुरानो ‘सागर दह’ अर्थात् गढीको पानीको मुहान हो। अहिले सिमेन्ट लगाएर अर्कै रूप बनाइएको छ। जुन किल्लाबाट १ किमिजति तल दक्षिणपट्टिको गहिरोमा पर्छ।

भारत देहरादुनको नालापानी इलाकाको सालघारी भएको डाँडोमा नेपाली सेनाले सेनाको तालिम गर्ने ‘खलंगा’ बनाएको थियो। ब्रिटिसले ‘कलंगा’ भन्न थाल्यो। नेपाल–अंग्रेज युद्ध हुने भएपछि त्यही खलंगामा गढी बनाउन थालियो र लडाइँ हुँदै गर्दा पनि गढी पूर्ण भइसकेको थिएन।

खलंगा भनेको सेनाको तालिम गण–परेड खेल्ने ठाउँ हो। अहिले पनि नेपालका धेरै जिल्लाका सदरमुकाम खलंगाको नामले बनेका छन्। नेपाल अंग्रेज युद्धमा पहिलो लडाइँ यही खलंगामा भयो भने अन्तिम लडाइँ हाल सिन्धुलीको हरिहरपुर गढीमा भयो। त्यसपछि सुगौली सन्धि भयो।

विश्लेषण

यो लडाइँमा करिब ६०० मध्ये हामीले करिब ४१५ जना गुमाएर पनि लडिरहेका थियौं। अन्त्यमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। लडाइँ हामीले जितेनौं। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै। यो लडाइँ नेपालीको बहादुरीको उदाहरण हो।

देहरादुनको रिप्सना नदी छेउमा कप्तान बलभद्र कुँवरका बारेमा सन् २००५ मा भारत सरकारले राखेको शिलालेखमा समेत अमरसिंह थापाको नाति बलभद्र सिंह थापा लेखिएका शिलालेख छन् भने पुरानो शिलालेखमा ‘बुलबदर’ लेखिएको छ। दर्जा र थर समेत छैन।

यसरी एउटा बहादुर कमान्डरको नाम थर नै फरक भएको अवस्थामा नेपाल सरकारले भारतीय राजदूतावासमार्फत सही नामथर लेख्न अनुरोध गरी फेरि अर्को शिलालेख थप्नु जरुरी छ। अन्यथा लेखकले पाएका करिब ६ वटा जति शिलालेखमा कप्तान बलभद्र कुँवर नै हुन् भन्ने प्रमाण भेटिएन।

नालापानी खलंगाको गढीबाट करिब ८ किमि पश्चिम मैदानमा रिप्सना नदीको छेउमा ती शिलालेखहरू छन्। त्यो गढीमा पिउने पानी लगिने स्रोत सागर दह हो। जुन झन्डै १ किमि तल गहिरोमा छ। उकालोमा पानी बग्दैन। अर्को कुरा कति इतिहासकारले त नालापानीको पानी अंग्रेजले थुनेको लेखेका छन्। नालापानीमा सानो पानीको स्रोत छ। यो बर्खे खोलो हो भने ४ किमि जति तल गहिरोमा छ। जहाँबाट पानी लाने कुरो कथा मात्र हो।

उस बखतको लडाइँ ‘गढी युद्ध’ हो। गढी (किल्लाभित्र लडाइँका लागि पानी जम्मा गरेर ‘पानी भकारी’ राखिन्थ्यो। त्यही पानी छउन्जेल पिउने हो। नत्र अर्को उपाय हुन्न। यो उस बखतको युद्ध कला हो। दुस्मनले पानी भर्ने ठाउँ कब्जा गर्न पाउने अधिकार थियो, उस बेला। तसर्थ, हामीले यो सत्यलाई मनन गरौं। हारेको लडाइँलाई हारेको भन्न नसकी के के फुँदा भरेर हामी बहादुर बन्दा अहिलेको पुस्ताले पत्याउन्नन् भने हाम्रो इतिहासले अंग्रेज हाँसिरहेको छ।

अन्तमा, यो किल्लामा लड्ने कम्पनीहरूमध्ये पुरानो गोरख कम्पनी पनि थियो। उसबखत र पछि राणा कालसम्म पनि कम्पनी कमान्डर सुवेदार हुन्थे। तर पुरानो गोरख कम्पनीका कम्पनी कमान्डर क्याप्टेन बलभद्र कुँवर थिए र उनी पहिलो पुरानो गोरखको पहिलो कम्पनी कमान्डर भनिएको छ। त्यो सरासर गल्ती हो। उसबखत कप्तान अर्थात् सरदारले बाहिनी (बृगेड) तहको सैन्य कमान्ड गर्थे। कम्तीमा रेजिमेन्ट (पल्टन) तहको कमान्डर हुन्थे।

अन्तिम नेपाल (भोट युद्धका बझांगे बहादुरहरू)

बझाङका राजा पृथ्वी सिंहले १७२५ सालमा राज्यको प्रशासकीय काम गर्नका लागि कान्छा भाइ मेदनी सिंहलाई तलकोटको रजबारको पद र अंशसमेत दिए। मेदनीको काम भोटसँग व्यापार हुने नाका ताकला कोटको कर उठाई, स्थानीय क्षेत्रमा बझाङको नियमकानुनको पालना गर्न लगाई बझाङको राजालाई मद्दत गर्नुथियो। यो छुट्टै राज्य होइन। त्यसैगरी बझाङका राजा दिलीप सिंहले भाइ गान्ही (गान्धी) सिंहलाई १७७५ सालमा रनरामा प्रशासन चलाउनेगरी रजबार पद र अंश दिए।

यसै सिलसिलामा १९११/१२ मा अन्तिम नेपाल–भोट युद्ध भयो। प्रधानमन्त्री जनरल जंगबहादुर राणाले बझाङी राजा भुपेन्द्रबहादुर सिंहलाई भोट युद्धमा बझाङबाट सेना पठाई सहयोग दिन आदेश दिए। राजा भुपेन्द्रका रजबारहरू:

१. बस्तीका रजबार विचित्र बहादुर सिंह

२. रनदाका रजबार चेतु सिंह (बृगेडियर जनरल केदारबहादुर सिंह, महासेनानी अमूल्यबहादुर सिंहका पुर्खा) 

३. तलकोटका रजबार महेश्वर सिंह

हरेक रजबारले २०० सेनाको नेतृत्व (कमान्ड) गर्ने गरी जम्मा ६०० बझाङी सेना ताकलाकोट हुँदै जनरल धीर शमशेर राणाको मातहतमा काम गर्ने गरी कुती भोट पठाए। भोटमा ठुलो युद्ध भयो। तीमध्ये बझाङबाट खटिएका सेनाले धेरै भोटे सेना मारे। लडाइँ जितेपछि ७० नालभन्दा बढी भोटेका हतियार खोसेर बझाङ ल्याए।

यसबारेमा जनरल धीर शमशेरले जंगबहादुरलाई प्रतिवदेन गरे। यता बझाङी फौज बझाङ आइपुग्यो। भोटेका हतियार खोसी ल्याएका र विजय लडाइँ लडेका सेनालाई राजा भुपेन्द्रले सिँदुरे जात्रा गरी स्वागत गरे। सो सबै वृत्तान्त राजा भुपेन्द्रले श्री ३ जंगबहादुरकोमा काठमाडौं पठाए।

बझाङका सेनाको बहादुरी कामबारे श्री ५ सुरेन्द्रको आदेश लिएर उक्त लडाइँमा नेतृत्व गर्ने बझाङका ३ जना रजबार विचित्र बहादुर, रजबार चेतसिंह तथा रजबार महेश्वर सिंहलाई सरदारको पद तथा ‘बझाङी बहादुर’को सम्मान दिए। साथै ती तिनै रजबारले आफ्ना मातहतका फौजद्वारा भोटेसँग खोसेका हतियार सबै उनीहरूले नै राख्न पाउन अधिकारसमेत दिए।

यो बहादुरको सम्मान पाउने घटना पहिलो हो भने त्यसपछि १९१४ साल (सन् १८५७) को भारतमा भएको सिपाही विद्रोहमा प्रशासनिक काम गरेबापत लप्टन गम्भीर सिंह माझी (पछि राय माझी) ले पाएका थिए। लेखक २०७९ साल पुस १९ गते तलकोटका रजबार महेश्वर सिंहको सन्तानको घरमा पुगी इतिहास संकलन गर्दा उनीहरूले करिब २२ नाल बन्दुक र ५० आंै खुँडा, तरबार राख्दै आएकोमा माओवादीले प्रायः सबै लगेको र हाल एक नाल बन्दुक, खँुडा, तरबार मात्र बाँकी रहेको देखियो। यो तलकोट दरबारकोटकै रूपको छ तर सानो घर छ। हाल पनि त्यसको सैनिक महत्व उच्च छ।

प्रकाशित: १३ श्रावण २०८० ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App