३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

हेपिएका पौष्टिक पदार्थ र उखान

‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेर उखान बनाउनेहरूलाई थाहा थिएन कि बेलको के चिकित्सकीय महत्व छ भनेर। बेलपत्रचाहिँ शिवजीलाई चढाइन्छ तर बेलको फलचाहिँ केही काम लाग्दैन भन्ठान्छौँ तर  बेल पौष्टिक तत्वले भरिपूर्ण फल हो र झाडापखाला लाग्दा आउँ पर्दा बेलको फल वा यसको फललाई सुकाएको धुलो बनाइएको वस्तुलाई पानीमा घोलेर खायो भने औषधिको काम गर्छ भने कुरा हाम्रा पूर्खालाई थाहा थियो । तर यसको महत्वबारे तथा पारम्पारिक ज्ञानलाई बुझ्नै नचाहेर हामीले यस्तो उखान बनाइदियौँ ।

‘जात फाल्नु गगतको झोलमा’– हाम्रो समाजमा प्रचलित अर्को उखान हो । योे उखानले पनि गहतचाहिँ केही काम नलाग्ने खानेकुरा रहेछ भन्ने ज्ञान दिएजस्तै लाग्छ । तर गहत प्रोटिन र सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ भन्ने कुरा हामीलाई विज्ञानले बताएको छ । यद्यपि सुदूरपश्चिममा चाहिँ गहत धेरै प्रयोग हुन्छ । गहतानी भने स्वादिष्ट भोजन गहत र मासबाट बन्छ र भातसँग खाँदा बडो मीठो हन्छ । यो पौष्टिकताले पनि भरिपूर्ण हुन्छ । मेरी हजुरआमाले र अहिले मेरी आमाले बनाउने गहतानीको अगाडि अन्य पकवान फिका लाग्छ   । जाडोको बेलामा मासको बटुको हालेर पकाएको पीरोपीरो गहतानीले त शरीरमा तातोसमेत गराउँछ भन्ने अनुभव अझै छ मलाई ।

कुनै युवतीको गालामा रहेको कालो तिलको वर्णन अनेक कविले आफ्नो कविता, कथा, गजल आदिमा धेरै पटक गरेका छन् तर वास्तविक हामीले खाने तिलचाहिँ स्वस्थ र सौन्दर्य बढाउन कति उपयुक्त हुन्छ भने कुरा छलफल नै हँुदैन । पूजाआजा, यज्ञमा चाहिँ भगवानलाई चढाउन तिलको प्रयोग गरिन्छ । तिलको लड्डु पनि खाइन्छ, आलुको अचार बनाउँदा वा भोगटे साँधेर खाँदा तिल हालेपछि त यिनको स्वादै ने दुई गुणा मीठो हुन्छ तर तिल क्याल्सियम, पोटासियम तत्वले भरिपूर्ण हुन्छ भनेर हामीले विचारै गरेनौँ । तिलको तेल पनि खाना बनाउन र छालालाई नरम बनाउन अति उपयुक्त हुन्छ । बरु तिलको तेलको सट्टामा बाहिरका महँगो महँगो क्रिम र लोसन लगाउन हामी तयार हुन्छौँ– घरको तिलको बेवास्ता गरेर । ‘नजिकको तीर्थ हेलाँ’ भनेको यही होला शायद ।

हात÷खुट्टा दुख्ने मानिसले तिलको तेल तताएर मालिस गरे दुखाइमा आराम मिल्छ भन्ने कुरा बज्यैहरूले गरेको गफ सुनेरै फाइदा लिएकी हुँ । तिलको तातो तेल मालिस गरेर आराम लिनुहोस् भनेर धेरैलाई सल्लाह पनि दिन्छु । यसरी दुखाइ हुँदा तिललाई बेलुका भिजाएर बिहान उठेर पानी मिसाएर पिउँदा पनि फाइदाजनक  हुन्छ भन्ने बूढापाकाको भनाइ छ । यसमा शायद उहाँहरूको अनुभवले काम गरेको होला ।

‘हरे राम, कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छौँ हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी छु । तर यदि फर्सीको पौष्टिकताबारे थाहा पाउने हो भने यस्तो विचार बदलेर हामीले ‘वाह कस्तो फर्सी जस्तो पौष्टिक !’ भन्थ्यौं होला ।

फर्सीको प्रयोगले आँखा बलियो बनाउँछ भन्ने कुरा सबैलाई थाहा भए पनि तराईतिर धेरै बालबालिकालाई फर्सीको परिकार धेरै ख्वाइँदैन तर आँखाको समस्याबाट बच्न भिटामिन ‘ए’ चाहिँ दिइन्छ ५ वर्ष मुनिका बालबालिकालाई । तर यसरी औषधि दिँदा घरका छानामा राखेका फर्सी बालबालिकालाई खान देऊ, यसले उनीहरूलाई स्वस्थ र सबल बनाउँछ भनेर न कसैले भन्छ । न त त्यसबारे छलफल नै हुन्छ । फर्सी वास्तवमा पौष्टिकताले भरिपूर्ण हुन्छ । यसमा भएको सूक्ष्म पोषक तत्वबारे धेरै अध्ययन÷अनुसन्धान भएका छन् । फर्सीको सुप धेरै प्रयोग गरिन्छ । नेपालमा चाहिँ फर्सीको पनि सुप हुन्छ र भनेर नाक खुम्चाउने चलन छ । तर अब फर्सीलाई हेर्ने दृष्टिकोण बदलेर भिटामिनका चक्की, भिटामिन ए क्याप्सुल होइन कि फर्सीको सुप, फर्सीको तरकारी खाने गरे फाइदा हुन्छ भनेर विचार गर्ने बेला भएन र ?

‘आलु खाएर पेडाको धाक’ अर्को त्यस्तो उखान हो जो नेपाली जनजिब्रोमा धेरै पहिलेदेखि नै जरा गाडेर बसेको छ । यो उखानले आलुभन्दा पेडा खानु राम्रो भन्ने आशय जगाउँछ  । तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने वास्तविकताचाहिँ योभन्दा ठीक उल्टो छ । आलु निकै पौष्टिक पदार्थ हो जबकि पेडा चिनीले बनाएको एकछिन खाँदा स्वाद लाग्ने तर दाँत र पेट बिगार्ने वस्तु हो । हामीकहाँ बिहान बेलुका भात खाएझैँ कति युरोपली मुलुकमा आलु प्रयोग गरिन्छ । बच्चालाई उसिनेर, भुटेर, आलुलाई पिसेर हाम्रो भाषामा हलुवा बनाएर दिइन्छ । आलुमा शक्ति दिने तत्वका साथै केहीमात्रामा म्याग्नेसियम लौह तत्व, रेशादार पदार्थ पनि हुन्छ । नेपालका केही भागमा काँचो आलु कोतरेर अचार बनाएर खाने चलन पनि छ । जाँचमा आलु खायौ भनेर असफलता दर्शाउन प्रयोग गरिने कारण पनि आलुको महत्व नबुझेरै हो । त्यसैले आलुको विषयमा अब घोत्लिएर सोच्ने बेला आएको छ । योचाहिँ राम्रो भोजन हो भन्ने विचारले आलुलाई प्रयोग गर्ने कि ? अब त पेडा खाएर आलुको धाक भन्ने भनाइ अधि बढाउने हो भने आलुको महत्व जनमानसमा अझ घुस्थ्यो कि ?

‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’– अर्काे चर्चित उखान हो । जसको अर्थ हुन्छ ब्राह्मणले च्याउन खानुहुदैन । यो उखानले च्याउको महत्वलाई कम आँकेको वा नबुझेको प्रस्टिन्छ । वास्तवमा च्याउ पौष्टिकताले भरिपूर्ण हुन्छ ।  च्याउमा रहेको विशेष रसायन लेन्टिनानले पनि रोगसँग लड्ने शक्ति बढाउँछ। चिनियाहरूको भान्छामा च्याउले महत्वपूर्ण स्थान पाएको हुन्छ । अहिले त धेरै बाहुनले पनि च्याउ खान थालेका छन् । यसबाट पनि यो राम्रो कुरा रहेछ भन्ने पुष्टि हुँदै जान थालेको छ ।

त्यसैगरी ‘भटमास वा कोदो खाने बुद्धि’ भनेको पनि सुनिन्छ कहीँ कहीँ त । कुनै मानिसले मूर्खतापूर्ण कुरा ग¥यो भने यस्ता शब्द प्रयोग गरिन्छ । वास्तवमा भट्ट अर्थात भटमास र कोदो दुवैले मानसिक र शरीरिक स्वास्थ्य राम्रो पार्छ । भट्टमा त धेरै प्रोटिन, क्याल्सियम र र कोदोमा पनि शरीरलाई ऊर्जा दिने वस्तुका साथै लौह तत्व रेशादार पदार्थ वस्तु पाइन्छ । यी वस्तुको प्रयोग गरियो भने बालबालिकालाई कुपोषण हुन पाउँदैन । त्यसैले अब ‘भट्ट  वा कोदो खाएर तेजिलो भएछ’ भन्नेतर्फ पोमोड्नुपर्छ कि यो भनाइलाई !

 

प्रकाशित: २० असार २०७४ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App