६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

नयाँ जनादेशको अर्थ

नेपाली राजनीतिमा पटक पटक ठूला ठूला आन्दोलन भए तर ती आन्दोलनहरूले जनताका भावना समेट्न नसक्दा नेपाली राजनीतिमा स्थायित्व आउन सकेन । जसका कारण विभिन्न समयका आन्दोलनले रूपमा परिवर्तन दिए पनि सारमा नेपाली राजनीति  अस्थिरतामा नै रह्यो । नेपाली राजनीतिको पछिल्ला दुई दशकमध्ये एक दशक युद्धको चपेटामा रह्यो भने त्यसपछिको एक दशक युद्धपछिको  शान्ति स्थापना, युद्धले उठाएका परिवर्तनका आवाजहरूको सम्बोधनमा समय व्यथित भयो । सम्भवतः तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासन सत्ता हातमा नलिएको भए युद्धरत तत्कालीन नेकपा (माओवादी) र अन्य राजनीतिक पार्टीबीच सहमति र सहकार्यका लागि वातावरण अवश्य पनि हुने थिएन । युद्धको भुमरीबाट भूमिगत पार्टीले लगाएको नारा र अन्य दलको भाषणमा मात्रै सीमित बनेको गणतन्त्रको नाराले कार्यान्वयनको रूप लिन पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जननिर्वाचित सरकारको अपदस्त गर्ने कदम नै दलहरूबीचको मिलनविन्दु बनेको थियो । त्यसपछि गणतन्त्र, संविधानसभाको गठन र त्यसबाट निर्मित संविधान कार्यान्वयनको चरणसम्म नेपाली राजनीति निकै दाउपेच, चुनौतीपूर्ण यात्राबाट अगाडि बढ्यो । २०६४ बाट सुुरु भएको संविधान निर्माणको यात्रा पूरा हुन ठीक एक दशक लाग्यो । २०७४ साल मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त्य गरिदिएको छ ।
राजनीतिक स्थिरता
नेपाली राजनीतिको पछिल्लो सात दशकको अवधि विभिन्न खालका राजनीतिक उतारचढावमा नै बिते । पटक पटकका राजनीतिक आन्दोलनका मागहरूलाई सम्बोधन गर्न नसक्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । राजनीतिक अस्थिरताका कारण मुलुकमा विकास र समृद्धिको यात्राले गति लिन सकेन । पछिल्लो ११ वर्ष (जसलाई नेपाली राजनीतिको संक्रमणकालका रूपमा लिइन्छ) यतामात्र १० पटक सरकार परिवर्तन भएको थियो । यस्तो अस्थिर राजनीतिक वातावरणमा देशले कहिल्यै विकासको फड्को मार्न सक्दैन । नेपाली राजनीतिमा संक्रमणकालको अन्त्य भएसँगै अब राजनीतिक स्थिरता कायम हुनेमा विश्वास लिइएको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको सुरुवात तीन तहको निर्वाचन सम्पन्न भएपश्चात् एक कदम अघि बढेको छ । आन्दोलनले उठाएका धेरै राजनीतिक मुद्दाहरूको सम्बोधन भइसकेको र बाँकी मुद्दाहरूको पनि सम्बोधन हुँदै जाने हुँदा यस निर्वाचनपश्चात् मुलुकमा राजनीतिक स्थिरता कायम रहनेछ भन्नेमा आशा गर्न सकिन्छ । संसद्मा यसअघि दर्जनौँ पार्टीको अस्तित्व रहेको थियो तर अहिलेको निर्वाचनमा विशेषतः दुईवटा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जनताको नयाँ जनादेशले पनि आगामी दिनमा स्थिर राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गरेको छ ।

विकास र समृद्धिको चाहना
लामो समयदेखिको अस्थिर राजनीतिक वातावरणका कारण जहिले पनि राजनीतिक मुद्दा नै प्रमुखबन्दा त्यसैका लागि सधैँ नेपाली राजनीति केन्द्रित बन्न पुग्यो । कुनै पनि देशको विकास र समृद्धिका लागि ७ दशक भनेको पर्याप्त समय हो । यही बीचमा कम विकसित भनिएका मुलुकहरू पनि निकै विकसित र समृद्ध बन्न सफल भएका छन् । तर करिब ७ दशकयता हाम्रो मुलुक भने राजनीतिक अस्थिरताकै भुमरीमा फस्न पुगेको थियो । जसका कारण विकासका राम्रा योजना न त बन्न नै पाए, न त बनेका योजना राम्रोसँग सम्पन्न नै हुन पाए । देश झन्पछि झन् गरिबीको रेखामा धकेलियो । संक्रमणकालको फाइदा सीमित तप्का, ठेकेदार, कालाबजारी, व्यापारी, भ्रष्ट कर्मचारी, भ्रष्ट नेता लगायत समाजका अहितकारी तप्काले मात्रै फाइदा लिन सफल भए । अस्थिर राजनीतिका कारण देशमा न त नयाँ कलकारखाना पर्याप्त मात्रामा थपिन सके, न त विदेशी सहयोगमा खुलेका कलकारखाना टिक्न सके । देशमा व्याप्त बेरोजगारी समस्याका कारण लाखौँ युवाशक्ति बाहिरियो, त्यो क्रम अहिले पनि जारी छ । देशमा विकासको लहर बढ्नु त कता हो कता झन् वातावरण बिग्रिएको कारण जनता स्थिर राजनीतिमार्फत देशमा विकास र समृद्धिले गति लेओस् भन्ने चाहन्थे । स्थिर सरकार , समृद्धि र विकासको नारा वामगठबन्धनले जनतामाझ लगेपछि यो नाराप्रति आशा र भरोसा राख्दै जनताले उनैलाई भारी जनमत दिएका छन् ।
जनादेश  
नेपाली जनमत नेपाली राजनीतिक पार्टीले सोचेभन्दा बिल्कुल फरक छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै निर्वाचनमार्फत आफ्ना जनप्रतिनिधि चुन्नु हो । तर एकपटक जनमत प्राप्त गर्नु भनेको सदाका लागि जनादेश प्राप्त गर्नु होइन । कतिपय राजनीतिक दलका नेताहरू ठान्छन् ती क्षेत्र सधैँ आफ्नो खल्तीको हो तर जनमत कहिल्यै त्यस्तो हुँदैन । कसैले डर, त्रास र प्रलोभनमा जनमत बनाउँछु भन्दा त्यसले क्षणिक रूपमा त काम गर्ला तर अन्ततः जनमत लिनका लागि जनताको मन जित्नैपर्छ । हरेक निर्वाचनमा शीर्ष नेताहरू पनि सामान्य ठानिएका प्रतिस्पर्धीसँग हार व्यहोर्नुपरेका उदाहरण प्रशस्तै छन् ।
अहिलेको मुख्य प्रतिस्पर्धा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको थियो । देशमा स्थिर राजनीतिक वातावरणका लागि पनि धेरै पार्टीबीच भन्दा पनि दुई शक्तिबीच प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै समान विचार बोक्ने पार्टीहरूबीच चुनावी तालमेल र एकता निर्वाचन अघि भएको थियो । वामगठबन्धनले राखेको स्थिर सरकार, विकास र समृद्धिको नारालाई यस निर्वाचनमा अत्यधिक जनमत प्राप्त भएको छ । स्थानीय निर्वाचनमा फुटेर लडेका मधेस केन्द्रित दलले पनि २ नं. प्रदेशमा तालमेल गरेका छन्, यस क्षेत्रमा मधेस केन्द्रित दलको जनमत बलियो देखिएको छ ।
२०७० सालको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा ओर्लनुपरेको छ भने २०६४ मा तेस्रो र २०७० मा दोस्रो बनेको नेकपा (एमाले)ले पहिलो पार्टी बन्ने निश्चित भएको छ । त्यसैगरी २०६४ सालमा पहिलो र ०७० मा तेस्रो पार्टी बनेको नेकपा माओवादी (केन्द्र)ले अहिले प्रत्यक्षतर्फ दोस्रो स्थान हासिल गरेको छ । निर्वाचनबाट प्राप्त जनमतबाट न त अत्यधिक मत प्राप्त गर्ने शक्ति मात्तिनु ठीक हुन्छ, न त कम जनमत प्राप्त शक्ति आत्तिनु नै । जनताले पाँच वर्षका लागि विश्वास गरेर मत दिएका हुन् । यो मतको कदर गरेर वामगठबन्धनले काम गर्न सके, समृद्धिको सपनालाई साकार गर्न सके फेरि तिनैले जनमत पाउलान् । प्रतिपक्षमा बसेर पनि जनताका लागि अहोरात्र खटे भने अहिले हारेकाले पनि अर्को पटक जनमत पाउलान् । यसर्थ हार्ने र जित्ने दुवै पक्षका लागि जनताको मन जितिरहन अबको पाँच वर्र्ष मैदान हो । जनमतमार्फत जनताले दिएको नयाँ जनादेशको सम्मान गर्दै देशको यात्रा अघि बढ्न सकोस् । जनताको नयाँ जनादेश यसैमा निहित रहेको छ ।

प्रकाशित: १० पुस २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App