१७ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’

दीपेन्द्र के. खनालद्वारा लिखित एवम् निर्देशित चलचित्र ‘आमा’ले स्वास्थ्य क्षेत्रको बेथिति उजागर गर्ने क्रममा निजी अस्पतालहरूको आर्थिक तरक्कीको एउटा पाटो उदांग पारेको छ। सुधार हुने कुनै सम्भाव्यता नभएको बिरामीलाई भेन्टिलेटरमा राखेर कसरी हस्पिटलले आर्थिक शोषण गर्छन् भन्ने परिदृश्य उतारिएको छ उक्त चलचित्रमा। सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।

रोग निदानका लागि दरकार नै नपर्ने प्याथोलोजिकल जाँचबुझ र महँगा स्क्यान गराई अनैतिक आर्थिक लाभ हासिल गर्ने प्रवृत्ति नयाँ होइन। कमसल ओखती सिफारिस गर्ने र रोगीको लाभ/हानिको ख्याल नगरी दबाइ खाने सल्लाह दिने प्रवृत्ति उकासियो। खाना परिमार्जनको सल्लाहको बदला भिटामिन, प्रोटिन तथा सप्लिमेन्ट भिडाउने अभ्यास बढ्दो छ। स्वास्थ्य क्षेत्रमा देखिएका धेरै विसंगतिमध्ये चिकित्सकले रोगीलाई बेरोकतोक भिटामिन चक्की तथा प्रोटिन पाउडरलगायतका सप्लिमेन्ट सिफारिस गर्ने बढ्दो प्रवृत्तिका सम्बन्धमा भएका अन्वेषणको प्रस्तुति यो आलेखको लक्ष्य हो।

उचित परामर्श दिन चिकित्सकले आयुर्विज्ञान क्षेत्रका अनुसन्धानबारे आवधिक जानकारी राख्नुपर्छ। जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीलाई सही उपचार गर्न मेडिकल साइन्सका नवीन प्रवृत्ति र अभ्यास आवश्यक पर्छ। 

मेडिकल जर्नलहरूको अध्ययन नगरी आयुर्विज्ञानका नवीन संहिताका जानकारी पाइँदैन। विद्यार्थी बेलामा अबल सावित चिकित्सकले पछिल्ला दिनमा आफूलाई स्वास्थ्य क्षेत्रमा भएका अनुसन्धानसँग अद्यावधिक राख्न नसके रोगीलाई सही सल्लाह दिन सक्दैन।

केही दशकअघिसम्म पनि रोगले शिथिल भएकालाई छिटो तड्ग्रन्छ भनेर भिटामिन दिने चलन थियो। थोरैले राम्रो गर्छ भने बढीले झन असल गर्छ भन्ने मान्यताका आधारमा जीर्ण शरीरलाई थप पोषण तत्त्व दिइन्थ्यो। पछिल्ला अध्ययनले त्यस्तो प्रयोगलाई घातक भन्यो। 

उदाहरणका लागि भिटामिन ए अति आवश्यक तत्त्व भएकाले मानिसलाई दैनिक २५०० युनिटको हाराहारीमा यो आवश्यक पर्छ। तर शरीरमा लामो समयसम्म भिटामिन एको मात्रा उकासिए ही भाँचिने अध्ययनले देखाएको छ। त्यस्तै पेटको बच्चाको विकासमा मद्दत गर्ने भएकाले गर्भवतीलाई फोलिक एसिड सेवन गर्न दिने संहिता बन्यो। गर्भावस्थामा फाइदाकारक यो पोषणको बेरोकतोक सेवन गर्ने महिलालाई केही चरित्रका क्यान्सर लाग्ने जोखिम आकासिने देखाए अनुसन्धानहरूले।

प्रस्तुत भिटामिन ए र फोलिक एसिड झैँ करिब करिब सबै किसिमका भिटामिनका मात्रा आकासिँदा शरीरले क्षति बेहोर्नुपर्ने क्लिनिकल परीक्षण र ल्याब तथ्यांकले समेत देखाएकाले फार्मेसीबाट किनिएका पोषण चक्कीको सेवनअघि दुई पटक सोच्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय क्षितिजमा पैसा छाप्न सक्ने व्यवसायको बोलवाला छ । भिटामिन, प्रोटिन पाउडर अनि हेल्थ सप्लिमेन्ट व्यवसाय संसारको सबैभन्दा लाभप्रद्मध्येको पेसा हो। भिटामिन खाए फलानो रोग लाग्दैन भन्ने प्रचार गर्न सके व्यापार फस्टाउँछ नै । मानिसलाई अपुष्ट समाचार दिई भिटामिन किन्न हौस्याउने प्रवृत्ति बढ्यो।

नियामक निकायले ओखती र भिटामिन तथा प्रोटिन सप्लिमन्टलाई फरक आँखाले हेर्छ। कुनै पनि ओखती प्रचलनमा ल्याउनुअघि त्यसले रोगीलाई दिने फाइदा र जोखिमको परीक्षण दस्ताबेज पेस गर्नुपर्छ। 

ओखतीले पार्न सक्ने प्रभाव (साइड इफेक्ट)को दाँजोमा रोगीले पाउने स्वास्थ्य लाभ अत्यधिक देखिए मात्र अनुगमन निकायले उक्त दबाइलाई प्रयोगको अनुमति दिन्छ, ओखती प्रचलनमा आउँछ। शरीरमा दूषित ओखती पुग्दा व्यक्ति मर्न पनि सक्ने भएकाले दबाइको अन्तर्राष्ट्रिय नियमन हुन्छ।

दबाइ जस्तै देखिने भए पनि भिटामिन चक्की अनि प्रोटिन सप्लिमेन्ट अन्तर्राष्ट्रिय नियामकभन्दा बाहिर हुन्छन्। भिटामिनका चक्कीको दुरूपयोग भए पनि सेवनकर्ता तुरुन्तै बिरामी भइहाल्ने नभएकोले संसारभर यिनको बिक्री वितरण खुकुलो छ। भिटामिनको दुरूपयोग भए त्यसको असर लामो समयपछि मात्र देखिने भएकाले सप्लिमेन्टको उत्पादन र प्रयोगमा न्यून अनुगमनको व्यवस्था भएको हो। यद्यपि लामो समय भिटामिनको दुरूपयोग भए देखिने खतिका लागि भिटामिन ए र फोलिक एसिडको उदाहरण मननयोग्य छ।

ओखतीको मात्रा तल–माथि भए ठूलो मूल्य चुकाउनुपर्छ। भिटामिनमा कैफियत देखिए उत्पादकले खानाको मिसावटकर्ताले झैँ सामान्य सजायबाट उन्मुक्ति पाउँछ। यसरी ठूलो मुनाफा पाउने तर जोखिमको संभाव्यता न्यून रहने भएकाले भिटामिन तथा सप्लिमेन्ट व्यवसाय फस्टाउनु स्वाभाविक हो। संसारभर भिटामिन, प्रोटिन जस्ता पोषक पदार्थको बिक्री वितरण अकासियो। अबौँ डलरको व्यापार बन्यो भिटामिन चक्की।

संसारभर बिनाप्रमाण भिटामिनको पक्षमा प्रचार गरियो। क्याप्सुल प्रयोगकर्ता बढे। विश्वव्यापी भिटामिन प्रयोगको नाफा/घाटा आकलन गर्न थाले वैज्ञानिकहरूले। संसारभर धेरै अनुसन्धान भए, दर्जनौँ अन्वेषण प्रकाशित भए। 

धेरै अध्ययनले सर्वसाधारणमा भ्रम नल्याओस् भन्नका लागि भिटामिन चक्कीको प्रभावकारिता जाँच्न प्रकाशित झण्डै एक सय अनुसन्धानलाई सूक्ष्म अध्ययन गरी डा. एलिजावेथ ओकानरलगायतका विज्ञ समूहले सन् २०२२ मा एक अनुसन्धानात्मक लेख प्रकाशित गरे। उक्त अन्वेषणले सप्लिमेन्टबाट क्यान्सर, मुटुसम्बन्धी रोग तथा मृत्यु दर केही पनि घटाएको देखेन। भिटामिनको चक्की किन्नु बालुवामा पानी हाल्नुसरह देखिएको छ।

अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका इन्टर्नल मेडिसिनका विभागीय प्रमुख डा. जेफ्री लिन्डर बिरामीले कुन भिटामिन खाने भनी सल्लाह माग्ने गरेकामा आफूले सधैँ स्वास्थ्य विज्ञानले प्रमाणित गर्न नसकेकाले कुनै पनि बाह्य चक्की सेवन नगर्नू बरु उक्त पैसाले तरकारी र फलफूल किनेर खान सल्लाह दिने गरेको बताउँछन्।

फलफूलमा पाइने भिटामिनले फाइदा गर्ने तर त्यही पोषणलाई क्याप्सुलको रूपमा खाँदा किन लाभ हुँदैन त भन्ने सम्बन्धमा स्याउ खाँदा भिटामिनका अतिरिक्त त्यसमा पाइने अन्य रासायनिक पदार्थ अनि रेशासमेत पेटमा पुग्ने भएकाले फलफूलको तुलना चक्कीको भिटामिनसँग गर्न नमिल्ने बताउँछन् डा. लिन्डर। केही समयका लागि चिकित्सकीय परामर्शमा सप्लिमेन्टस सेवन गर्न फाइदाकारक भए पनि भिटामिनको चक्कीको लामो सेवनले रोग नलाग्ला अनि मानसिक क्षमता सबल होला भन्ने नसोच्न सबैलाई सल्लाह दिन्छन् युनिभर्सिटी अफ् पेन्सिलभेनिया मेडिकल स्कुलका क्षेत्रीय निर्देशक जेफ्री मिल्सटिन। भिटामिन क्याप्सुलले घाटा गर्छ/गर्दैन, त्यो भन्न कठिन भए पनि फाइदा गर्दैन भन्नचाहिँ हिच्किचाउनु पर्दैन भन्छन् मिल्सटिन।

सुर्यका किरणको सहयोगले छालामा सहजै बन्न सक्ने भिटामिन ‘डि’लाई अपवाद मान्ने हो कुनै पनि भिटामिन शरीरले बनाउन सक्दैन। भिटामिनका लागि खानामै भर पर्नुपर्छ। हाम्रो शरीरलाई स्वस्थ राख्न धेरै किसिमका भिटामिन आवश्यक हुन्छ। 

भिटामिनको आवश्यकता कसरी पुरा गर्ने भन्ने सम्बन्धमा धेरै घोत्लिन आवश्यक देखिएन बरू गाउँका मध्यम वर्गीय परिवारको भोजन भात, दाल, तरकारी, मौसमअनुसारको फलफूल, दही, दुध अनि कहिलेकाही माछामासु खानु नै पर्याप्त हुन्छ।

खदिलो मांसपेशी बनाउन जिमखाना धाउनेले विदेशबाट आयातीत प्रोटिन पाउडरको बदला स्थानीयस्तरमा उत्पादित ताजा कुखुराको अण्डा तथा मासु खादा पुग्छ। अनावश्यक रूपले भिटामिन प्रयोगको सिफारिस गर्ने चिकित्सक अनि पोषण चक्कीको लागि डाक्टरसँग आग्रह गर्ने प्रवृत्ति दुबै निरुत्साहित हुनुपर्छ। पोषणको आवश्यकता चक्कीबाट होइन खानाबाट पुरा गरौं।

– पोखरेल अमेरिकास्थित  इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्। 

प्रकाशित: ६ चैत्र २०८० ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App