३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

दलदलमा एनआरएनए

एनआरएनएको सम्मेलनताका नेपालको चुनावभन्दा डरलाग्दो गरीप्रचार हुन्छ, त्यसको । भ्रष्टाचारको गन्ध व्यापकै हुन्छ । कुनै पनि सम्मेलनमा भाग लिनेहरूले कुन उम्मेदवारले मेरो पैसा हालिदिन्छ भनेर आश गर्ने स्थिति छ । परिस्थिति यति धेरै विकराल हुँदै गयो कि कुरा गरिसाध्य छैन। 

जसले पैसा हालिदिन्छ उसलाई नै भोट हाल्छु भन्दै च्याँखे थापी सम्मेलन स्थलमा दाउ खोज्दै हिँड्छन् त कोही कमाउने मौकाको रूपमा प्रयोग गर्न खोज्छन्। जसको प्रमुख दोषी एनआरएनएका नेताहरू नै हुन्। विभिन्न देशबाट आएका नेपालीहरूका लागि भोटको आशामा बग्रेल्ती खर्च गरेर चुनाव जितेकै अवस्थामा पनि त्यो खर्च उठाउने आधार के हो र कसरी ? पैसाको असुली हुन्छ अथवा गर्छु भनेर अन्धाधुन्द खर्च गरिरहेका हुन्छन् उम्मेदवारहरूले! यो सोचनीय विषय छ। 
अर्कोतिर नयाँ कार्यसमिति आएपछि विधानको खिल्ली उडाउँदै यसले गरेका मनोनयनहरू संस्था सुदृढीकरणको सोचले भन्दा पनि राजनीतिक पार्टीको भर्ती केन्द्रकारूपमा विकसित गर्ने कुण्ठित मनस्थितिले गरिएको देखिन्छ जुन विषयमा अभियानलाई राम्रोसँग बुझ्ने केहीव्यक्तित्वहरूले खण्डन पनि गरिसक्नुभएको छ भने यसको प्रभाव केही राष्ट्रिय समन्वय समितिहरूमा पनि परिसकेको अवस्था छ। पछिल्लो समय एकपछि अर्को गर्दै संस्थाको बारेमा आएका नराम्रा खबरले संस्थाप्रति निःस्वार्थ लगाव राखेका सम्पूर्ण नेपालीहरूलाई चिन्तित बनाएको अवस्था छ। 

योजना, समग्र संस्था र राष्ट्रको अहितमा आएका कुराहरूको सत्यतथ्यको विषयमा अध्यक्ष भवन भट्ट र कार्यसमितिले कुनै ढाकछोपको नियत नराखी छर्लंग पार्नुपर्छ । एनआरएनएको धमिलिन खोजेको छविलाई संग्लो बनाउँदै अझ बलियो बनाउनुपर्छ । एनआरएनएजस्तो स्वयंसेवी संस्थामा बसेर काम गर्छु भन्दा मानिसहरूको खिचातानी, रस्साकस्सी, पैसा र राजनैतिक शक्तिको प्रदर्शन धेरै मानिसहरूले नबुझेको कुरा हो भन्नु अत्युक्ति नहोला । पदमा जान पाए संसारै जिते जस्तो, नपाए आकासै खसे जस्तो मानसिकताले ग्रस्त मानिसहरू एनआरएनए विश्व सम्मेलनको आसपासमा यत्रतत्र भेटिन्छन् ।आखिर यो सबै केका लागि ?

राजनैतिक पृष्ठभूमि र आर्थिक रूपमा सम्पन्न नहुने मानिसहरू यो संस्थामा अट्नै नसक्ने हो ? त्यसै हो भने एनआरएनएको स्थापित मान्यताअनुरूप यो अभियान धेरै अगाडि जानै सक्दैन । एनआरएनएलाई रंगीविरंगी फूलहरूको रमणीय बगैँचा जस्तो एउटा समावेशी चौतारी बनाउन सबै जिम्मेवार एनआरएनहरू सतर्क हुनुपर्छ र सोहीअनुसारको नीति नियम बनाउनुपर्छ अन्यथा संस्थाले लिएको उद्देश्य पूर्ति हुने देखिन्न त्यसैले यस विषयमा हामी बेलैमा सतर्क हुनु जरुरी छ।
(लेखक एनआरएनए जापानका सल्लाहकार हुन्)

प्रकाशित: १४ चैत्र २०७४ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App