२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

तपाईंलाई मधुमेह पो छ कि ?

कसैको घर जाँदा चिया ल्याउने बेला सोध्ने चलनै भइसक्यो– ‘चिनी राख्ने कि नराख्ने ?’ कहिलेकाहीं भोजभतेरमा गुलियो खाइराख्दा– ‘होस गर है चिनीरोग होला’ भनेको पनि सुनिन्छ।

शौचालयभन्दा बाहिर कतै पिसाब गर्दा पिसाबवरिपरि कमिला जम्मा भयो भने मधुमेह भयो कि भनेर शंका गरिन्छ ।
कोही अधबैंसे व्यक्ति एकैछिन है भन्दै ट्वाइलेटतिर दुई/तीनपल्ट गएको देख्यो भने कसैले सोधिहाल्छ– ‘यार तँलाई सुगर भयो कि क्या हो ? अथवा प्रोस्टेट बढ्यो कि क्या हो ?’

कोही दुब्लायो भने पनि मधुमेहको शंका गरिन्छ। कसैको घाउ निको हुन अलि समय लाग्यो भने स्वास्थ्यकर्मीले ‘एकपल्ट सुगर जाँचौ कि भनिहाल्छन्। यी शंका र संवाद चलनचल्तीमा त्यसै आएका होइनन्। समाजमा मधुमेह अर्थात् डायबिटिज अर्थात् चिनीरोग बढेको छ र मानिसहरू सचेत पनि भएका छन्। त्यसैले जसलाई मधुमेहले सताएको छ, उनीहरू सजग हुन्छन् भने उनीहरूका लागि अरू पनि सचेत हुने क्रम बढ्दै छ। तर थाहा नपाएका वा वास्ता नगरेका जमात पनि ठूलै छ। थाहा पाएर नियमित उपचार गराउने, थाहा पाएर पनि वास्ता नगर्ने, थाहा पाइएला कि भनेर जँचाउँदै नजँचाउने, केही थाहै नपाउने– विभिन्न किसिमका समूह पाइन्छ।

अचेल केही नभईकन पनि रगतमा चिनीको मात्रा जाँच्ने चलन बढेको छ। यसबाट चिनीरोग छ/छैन, थाहा हुन्छ।

कसैलाई उमेरअनुसार वा केही कारण ‘एकपल्ट सुगर जँचाउनु न त’ भन्यो भने ‘किन ! मलाइ केही भएकै छैन’ भन्ने जवाफ आउन सक्छ। किनभने मधुमेहले पहिले नै कुनै लक्षण देखाउँदैन र केही भएजस्तै लाग्दैन। कसैकसैलाई मुख सुक्ने, छिटोछिटो पिसाब लाग्ने, प्यास लाग्ने, शिथिल महसुस हुने हुन सक्छ। तर सबैलाई यस्तो नहुन सक्छ। थोरै लक्षण हुनासाथ शंका गरेर रगत जाँच्यो भने समयमै मधुमेह पत्ता लगाउन सकिन्छ र उपचार पनि राम्रो हुन्छ। अलिअलि लक्षण भए पनि बेवास्ता गरियो भने यसबाट विभिन्न प्रकारका नराम्रा असर देखा पर्न सक्छन्।

मधुमेहले शरीरका विभिन्न अंगमा निकै नराम्रा असर पु-याउँछ। मुटुका ससाना धमनी साँघुरिएर हृदयाघात हुन सक्छ भने मिर्गाैला फेल (काम नलाग्ने)गराउन सक्छ। मोतिबिन्दुदेखि आँखाभित्रका धमनीहरू साँघुरो भई दृष्टिमै असर पुग्नेसम्मका समस्या आउन सक्छन्। मष्तिस्कमा रगत जमेर वा रक्तस्राव भएर मष्तिस्काघात भई प्यारालाइसिस हुन सक्छ। त्यस्तै शरीरका विभिन्न भागका रक्तनलीमा असर पु¥याई रक्तसञ्चारमा बाधा पुग्न सक्छ। सानै घाउ भए पनि निको नहुने वा ढिलो हुने हुन्छ। यी असर सबैलाई हुन्छन् नै भन्ने हुँदैन, तर मधुमेह नियन्त्रणमा राखिएन भने ढिलो चाँडो असर देखिन्छ।

अचेल आफूलाई केही नभईकन पनि रगतमा चिनीको मात्रा जाँच्ने चलन बढेको छ। यसबाट चिनीरोग छ÷छैन थाहा हुन्छ। रगत जाँच साधारणतया बिहान खाली पेटमा वा खाना खाएको २ घण्टापछि वा कुनै पनि समयमा रगतमा चिनीको मात्रा हेर्न मिल्छ। खाली पेट रगत जाँच्दा चिनीको मात्रा १०० मिलिग्राम/डेसीलिटरभन्दा कम भयो भने चिनीरोग नभएको मानिन्छ। १२६ भन्दा माथि भयो भने चिनीरोग भएको मानिन्छ। १०० देखि १२६ सम्म भयो भने चिकित्सकको सल्लाहबमोजिम फेरि जँचाउनुपर्ने हुन्छ। त्यस्तै खाना खाएको २ घण्टापछि १४० मि.ग्रा.सम्म भयो भने ठीक मानिन्छ। २०० भन्दा माथि भयो भने मधुमेह मानिन्छ।  

मधुमेह पत्ता लगाउन रगतमा एचबिए १ सी पनि जाँचिन्छ। यसले वर्तमान समयको मात्र नभई ३ महिनासम्मकै रगतमा चिनीको मात्राको असर देखाउँछ। यो हेरेर पनि मधुमेह लागे÷नलागेको भन्न सकिन्छ।

मधुमेह नियन्त्रण कसरी गर्ने त ?
–घरमा तयार गरेको गहुँ, मकै, कोदोजस्ता फाइबर भएका खाना, सागपात, फलफूल नियमित खाने, धेरै नखाने, बजारी तयारी खाना, बिस्कुट, चाउचाउ, गुलियो पेय पदार्थ परहेज गर्ने।
–नियमित व्यायाम गर्ने अथवा हिँड्ने, शरीर मोटो छ भने तौल घटाउने     
–धूमपान, मद्यपान त्याग्ने– जरूर त्याग्ने
–तनाव कम गर्ने; योग, ध्यान गर्ने
–चिकित्सकको सल्लाहबमोजिम औषधि नै आवश्यक भए नियमित सेवन गर्ने
–मधुमेह भएकाहरूले स्वास्थ्यकर्मी वा पोषण विशेषज्ञले तोकेका खानेकुरा निश्चित मात्रामा सेवन गर्ने
यी सबै कुरा हामीले हरेक दिन हरेक पल गर्नुपर्ने जीवनशैलीभित्र पर्ने विषय हुन्, जसलाई अतिरिक्त पैसा, समय र सामान अनि महँगा मेसिन केही चाहिँदैन। चाहिन्छ त केवल इच्छा शक्ति, दृढ संकल्प र अनुशासन। मनलाई दरिलो बनाउने हो भने गर्न सकिन्छ र मधुमेह नै भए पनि स्वस्थ रहन सकिन्छ।
गाह्रो यस मानेमा छ कि सधैं घरमा खानेकुरा पाक्दैन वा बजारिया खानेकुरामा अभ्यस्त हुने पनि छन्। धूमपान, मद्यपानको लत छाड्नै सक्दैन, व्यायाम गर्न अल्छी गर्छ। अनि औषधि सेवनमा लापर्बाही गर्ने, धेरै सोच्ने, तनाव लिने, चिन्ता गरिराख्ने।

हामीले के पनि थाहा पाउनुपर्छ भने मधुमेह लागेपछि मात्र यी कुरा गर्ने होइन, रोग लाग्नुभन्दा पहिला नै स्वस्थ जीवनशैली अपनायौं भने मधुमेह लाग्न सक्ने सम्भावना निकै कम हुन्छ।

कहिलेकाहीं मधुमेह लागेका व्यक्तिहरूले पनि चिकित्सकको सल्लाहअनुसार औषधि नखाई विभिन्न जडीबुटी, खानेकुरा खाएर नियन्त्रण गर्ने कोसिस गरेको पाइन्छ। आधुनिक चिकित्सा पद्धतिमा वैज्ञानिक तथ्यका आधारमा औषधि गरिने भएको हुनाले चिकित्सकको सल्लाह नै अति उत्तम हुन्छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App