५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

पुर्खाका गौरवलायक काम

कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको भूमरीमा अकल्पनीय मानवीय क्षति बेहोर्नुपरेको जगजाहेर नै छ। मानव जातिलाई यो कोभिड–१९ ले एउटा अविश्मरणीय पाठ सिकाउँदैछ भन्दा दुई मत नहोला। मानव जाति उत्पत्तिदेखि नै प्रकृतिको नियममा जीवन व्यतीत गर्दै आइरहेको छ। ऊ बाह्रमासे मौसमसँग खेल्दै, बढ्दै र हुर्कँदै आफूलाई समयसापेक्ष अनुकूल बनाउँदै आइरहेको छ। प्रकृतिलाई बुझ्न सक्नु नै हालसम्मको उसको सफलता पनि हो। विगत केही समयअघिदेखि पृथ्वीको वातावरणीय उष्णतामा तापमान वृध्दि हुँदै, मौसमी फेरबदल हुँदै जानुलाई हामी मानव जातिले कत्तिको अनुभूत गरिरहेका छौँ त ?

आज कोभिड–१९ ले हामी मानवमाझ यो एउटा यक्ष सवालको जवाफ खोजिरहेको छ। कोभिड–१९ का कारण विश्वव्यापी मानवलाई स्वघोषित क्वारेन्टाइन, निजी क्वारेन्टाइन, सामुदायिक क्वारेन्टाइन, सरकारी क्वारेन्टाइन र राज्यद्वारा घोषणा नै गरिएको ‘लकडाउन’ मा खुम्च्याएको छ। यही कारण आमनागरिक ‘होम क्वारेन्टाइन’ मा बस्न विवश छन्। यसरी मानव जातिलाई आफ्नो जीवनकालमा बिरलै मात्र यस्तो क्षणको अनुभव लिने मौका मिल्छ। जुन हामी भोगिरहेका छौँ। मेरी हजुरआमा, मेरो बुबाले सुनाउनुभएको एउटा संस्मरण यहाँ सान्दर्भिक ठानेँ–मल्लकालीन समयदेखि हाम्रो व्यापार भोट, तिब्बत र ल्हासासँग हुने गथ्र्याे। यहाँका नेवार समुदायभित्रका सम्पन्न व्यापारीले नेपाल मण्डलमार्फत देशभर व्यापार गर्दै आइरहेका थिए। यसरी महिनौँ दिन लगाएर हिमालपारि भोट, तिब्बत र ल्हासाबाट व्यापारका सामग्री लिएर फर्कने क्रममा सिधै आफ्नो घरमा प्रवेश कहिल्यै गर्दैनथे रे !

बरू असनमा रहेको एउटा घर जसलाई ‘यताचप्पा’ भन्ने गरिन्थ्यो, त्यो घरमा करिब १३–१४ दिनसम्म त्यहीँ गुजारा गरी ‘ख्वपिंहिति’ मा पूरै शरीर स्नान गरेपश्चात बल्ल आफ्नो घर जाने गर्थे रे। किन आफ्नो घर नगई बाहिरै बसेको भन्ने जिज्ञासामा भन्नुहुन्थ्यो– ‘नेपाल मण्डलबाट त्यतिका टाढा हिमालपारि पुगेर, कहाँ कहाँ, को को, कस्तो कस्तो मान्छेसँग संगत गरेर, बसेर, के के, कस्तो कस्तो खानेकुरा खाएका होलान् ? यी कारण मात्र नभएर यहाँको हावापानीमा एकाएक त्यहाँको हावापानीबाट फर्केकाहरूको स्वास्थ्यमा अनुकूलता भन्दा बढी प्रतिकूलता पुग्न सक्छ भनी यसरी केही दिन बाहिरै बस्ने गरेका रे। जसबाट नयाँ जीवाणु पनि आफ्नो घरमा प्रवेश गर्न पाउँदैनथे। हाम्रो देश विविध जातजाति, भाषाभाषी, धर्म/संस्कृति र विभिन्न सामाजिक संस्कारका साथै आफ्नै मौलिकता बोकी विश्वमा परिचित छ। यिनीहरू हरेक आआफ्नै भेषभूषामा सजिएका पनि छन्।

सनातनदेखि चल्दै आएको जन्मदेखि मृत्युसम्मको बीचमा गरिने खानपिनदेखि कर्मकाण्डसम्मको व्याख्या/विश्लेषण गर्नमा अब विज्ञहरू चुक्नुहुँदैन। ताकि नेपालीले आफ्नो जीवनचर्यामा गर्ने कार्य विज्ञानसम्मत छन् भनी पुष्टि होस्।

प्रकृतिले नै यसलाई जातीय मौलिकताका साथ विभक्त गरेको जस्तो छ। समय सान्दर्भिक यहाँ उल्लेख गर्न खोजिएको नेवार समुदायमा माथि उल्लिखित हिमालपारि भोट, ल्हासा र तिब्बतसम्म व्यापारको सिलसिलामा पुगी फर्केर आउने क्रममा सरासर आफ्नो घर नगई केही दिन घरबाहिरै बस्ने चलनले हामीलाई गौरवान्वित तुल्याएको छ आजको समयमा। त्यो समयमा वैज्ञानिक पुष्टि हुन नसकेको भए पनि आज आएर कोभिड–१९ ले हामीलाई यसबारे सोच्न बाध्य बनाइदिएको छ। सयौँ वर्षपूर्वदेखि हाम्रा पुर्खाले आफू, आफ्नो परिवार र समाजप्रतिको दायित्व तथा कर्तव्य कसरी निर्वाह गरिरहेका रहेछन् त ! आज कोभिड–१९ ले सामाजिक दूरी कायम गर्दै ‘होम क्वारेन्टाइन’ मा बस्न बाध्य बनाएको छ। आदिमकालमा व्याख्या/विश्लेषण नभएको मात्र हो। यो हाम्रा पुर्खाद्वारा गरिँदै आएको विधि र शैलीको निरन्तरता हो। आज आएर हामीलाई चेत भएको छ। आजको जस्तो वैज्ञानिक भौतिकतावादी समय पनि थिएन। यो सबै प्रकृतिले मानव जातिलाई पृथ्वीमा जिउनका लागि  दिएको जीवनकला मात्र हो।

हामी मानव जाति कुन समय कुन रोगबाट संक्रमित हुने हो कुनै टुङ्गो छैन। मौसमी फेरबदलका साथसाथै नयाँ नयाँ रोगका जीवाणुले हामीमाझ समय समयमा आक्रमण नगरेको पनि होइन। आज विश्वव्यापी कोभिड–१९ बाट जनसमुदाय संक्रमित हुन पुगेको छ। वैज्ञानिकहरूले हालसम्म यो रोगको प्रतिरोधात्मक भ्याक्सिन/औषधि पत्ता लगाउन सकेका छैनन्। झण्डै संसार नै ‘लकडाउन’ को अवस्थामा पुगेको छ। कोभिड–१९ ले मानव जातिलाई अनुशासित बनाउँदैछ। प्रकृतिलाई आत्मसात गर्न आग्रह गरिँदैछ। पुर्खाद्वारा गरिँदै आएका कर्मको वैज्ञानिक पुष्टि गर्न अनुसन्धानमा जुट्न विलम्ब नगर्नू भन्ने सन्देश दिँदैछ हामीलाई। हामीमाझ सबै छ। तर पहिचान र पहिल्याउन सकिएको भने छैन। जसका कारण अरूको मुख ताक्न वा आश्रयमा बाँच्न विवश बनिरहेका छौँ। सनातनदेखि चल्दै आएको जन्मदेखि मृत्युसम्मको बीचमा गरिने खानपिनदेखि कर्मकाण्डसम्मको व्याख्या/विश्लेषण गर्नमा अब विज्ञहरू चुक्नुहुँदैन। ताकि नेपालीले आफ्नो जीवनचर्यामा गरिने यी कार्य विज्ञानसम्मत छन् भनी विश्वव्यापीरूपमा पुष्टि होस्। 

यसरी चेतना कमीका कारण हामीसँग भएका सत्य, तथ्य संस्कृति र संस्कारलाई विश्वमाझ परिचित गराउन सकिएको छैन। व्यवहारमा ल्याउन सकिएको छैन। पुर्खाले अवलम्बन गर्दै आइरहेका र हामीले त्यसलाई बुझी/नबुझी निरन्तरता दिन खोजिएको बीचमा आवश्यकतानुसार वैज्ञानिक अनुसन्धान गर्नतर्फ हामी लाग्नुपर्ने देखिएको छ। नेतृत्वपंक्तिले यसतर्फ ध्यान दिन ढिलो गर्नुभएन। आज कोभिड–१९ ले देश ठप्पप्रायः छ। यसैबीच फेरि पनि हामी मानव जातिले आआफ्नो आवश्यकता पूर्तिमा जुट्नु नै पर्ने बाध्यात्मक परिस्थिति छ। एकातर्फ कोभिड–१९ को सामना गर्नु छ भने अर्काेतर्फ विविध रोगव्याधि, सुत्केरी, दुर्घटना तथा आकस्मिकलगायत अत्यावश्यक अवस्था सिर्जना हुन गई स्वास्थ्य उपचारार्थ रहेका कतिपय बिरामीका लागि मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको आवश्यकता पर्न सक्छ। 

कोभिड–१९ ले ल्याएको यो अवस्थाले रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पीडित पक्षलाई उपलब्ध कसरी गराउने भन्नेतर्फ कुनै सोच, नीति, योजना तर्जुमा गरी अघि सारिएको हालसम्म पनि पाउन सकिएको छैन। जसका कारण हामी स्वयंसेवी रक्तदाताहरू राज्यद्वारा घोषित ‘लकडाउन’ अन्तर्गत ‘होमक्वारेन्टाइन’ मा स्थिर भएर बस्न अनि पालना गर्न सकिएको छैन। हामी नेपाल स्वयंसेवी रक्तदाता समाज देशैभर ‘होमक्वारेन्टाइन’ देखि रक्त सञ्चार सेवासम्म आफ्नो परवाह नगरी रक्तदान गर्न/गराउन बाध्य अनि विवश भएका छौँ। जसको विकल्प छैन।
(अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज)

प्रकाशित: २५ वैशाख २०७७ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App