४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

लोक संस्कृतिमा सवाल्टर्न

काठमाडौँमा भर्खरै सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनमा झण्डै नब्वे कार्यपत्र प्रस्तुत गरिए। थुप्रै देशका लोकवार्ता तथा लोकजीवनसम्बन्धी विविध स्वाद र स्वरूप समेटेका कार्यपत्र कम महत्वका थिएनन्। तर परम्परागतरूपमा केन्द्रमा आयोजना गरिने यस्तो सम्मेलन लोकजीवन उत्थानका लागि कति व्यावहारिक छ ?

बेल हक्सका अनुसार स्थापित मान्यताअनुरूप प्रतिनिधित्वले निर्धानिमुखा सवाल्टर्नलाई अधीनस्थ बनाइरहेको हुन्छ। अनेक आवरण ओढेको दमनकारी संरचनाबाट लोक संस्कृति कति मुक्त छ ? के लोक संस्कृति सवाल्टर्न मुक्तिमैत्री छ ? सहभागी विज्ञका कार्यपत्र यस्ता विषयको विश्लेषणभन्दा प्रलेखीकरणमै बढी केन्दि्रत देखियो।
लोक संस्कृतिमा सवाल्टर्न अध्ययन प्रभावकारी बन्नेमा दुई मत नहोला। इतिहासलाई टुप्पोबाट हेरियो। यसका पानामा सधाै शासककै स्तुति लेखिँदै आयो। अहिले यसलाई तलबाट पनि हेर्नुपर्ने आवाज उठेको छ। नेपाली संस्कृतिको इतिहासमा यस्ता नवीन दृष्टिकोण अँगाल्ने संस्कारको अझै अभाव छ भने लोक संस्कृतिमा स्थापित मानकको पुनःविश्लेषण गर्नुपर्ने देखिन्छ।
लोक गतिविधिको जमघटले संगठित चेतनाको विकास होला भन्ने डर थियो तत्कालीन राणा शासकलाई। यसर्थ राजगुरुको परिचालन गरी 'तल्लो स्तर'को आरोप लगाउँदै लोक संस्कृतिलाई निरुत्साहित गरियो। तैपनि लोक संस्कृति बाँचिरह्यो। अहिले लोक संस्कृतिका लिपिबद्ध कृति प्रशस्त छन्। विश्वविद्यालयमा समेत अध्ययन अध्यापन भइरहेछ।
लिपिबद्ध नेपाली लोक साहित्यमा पनि सवाल्टर्न स्वतन्त्र छैैनन्। नेपाली लोकवार्तामा सवाल्टर्नको दुःख, र आँसुमात्र देखिन्छ। तिनीहरूको रोदन-क्रन्दनमात्र सुनिन्छ। तिनीहरू बोल्छन् तर सामन्ती संरचना र संस्कारकै नीति, नियम र संस्कारभित्र आफूलाई कुँज्याउन बाध्य देखिन्छन्। ती अरूकै चाहनाअनुसार चल्छन् र आफ्नाभन्दा शासककै लागि लड्छन्। सामन्ती संस्कारका अघिल्तिर झुक्छन्, भाग्य सराप्दै रुन्छन् र भाग्छन्। कठोर सामन्ती संस्कारले तिनलाई थिचेको छ र शासककै प्रभुत्वमुनि निरीह बन्न बाध्य छन्। नेपाली प्रसिद्ध लोक साहित्यिक कृतिमा विद्रोहको प्रभावकारी आवाज सुनिदैन, क्रान्तिकारी पात्र देखिँदैनन्। तिनीहरू केवल अधीनस्थ र पलायनवादी छन्।
पतिलाई सानी आमाले विष खुवाएर मारेपछि सरुमाई रानी सती जान तयार हुन्छिन्। दागबत्ती दिने छोरो नहुँदा चिता जल्दैन। धर्मपुत्र बनाएर उनी आफूलाई जिउँदै जलाएर आत्मदाह गर्छिन्। त्यहाँ विद्रोहको कुनै आवाज निस्कादैन। केवल भाग्यलाई सराप्दै पतिको चितासागै रुँदैरुँदै जिउँदै जल्छिन्, सरुमाई। अबोध बाल विधुवा कलसा विधाताले लेखिदिएको भन्दै आफ्नै दाजुको अघिल्तिर सती जान्छिन्। गोजीबाट चिउरा झिकेर राम्ररी खान नजान्ने अबोध कलसा सती जान भने स्वतःस्फुर्त तयार भएको देखाइएको छ। गहना-कपडा र कोसेली बोकी बहिनी भेट्न आउँदै गरेका दाजु सती जाँदै गरेको बहिनीलाई बाटोमा भेट्दा मर्माहत हुन्छन्। दाजुले यति सानै उमेरमा सती जान कसरी जान्यौ भनी सोध्दा कलसा जवाफ दिन्छिन्-'भाविनीले लेखिइन्/भगुवान्ले इच्छयाया/तबु जान्यू सती जानबार।' त्यसैगरी, अर्को लोकवार्तामा एक्लीछोरी बाबुआमा भेट्न जाने अनुमति नपाएपछि सासू-ससुराको आज्ञाबिना माइतीगाउँ पुग्छिन्, तर बाटामा आमाबुबाको दाहसंस्कार गरेर फर्किरहेको मलामी भेटेपछि उनीहरूकै अगाडि आत्महत्या गर्छिन्। उनको विद्रोही व्यक्तित्व आत्महत्यासागै अन्त्य हुन्छ।
पुरूष मुख्य पात्रको अवस्था पनि अधीनस्थ र पलायनवादी देखिन्छ। एउटा उदाहरण हो नवलसिङ बानियाँ। 'क्षेत्रीको छोरो सधाै छुरा खान तयार' भन्दै उनी जङ्गबहादुको फौजमा भर्ती भएर बि्रटिस इण्डियन शासकलाई सहयोग गर्दै गर्दा पहिले हात गुमाउँछन् र त्यसपछि छातीमा गोली लागेर उनको मृत्यु हुन्छ। आमाको इच्छाविपरीत बहादुरी देखाउने क्रममा आफूलाई साम्राज्यवादी शासकको निरीह सेवक तथा आफाैजस्ता भारतीय अधीनस्थ जनताविरोधी बन्दै अन्ततः मृत्युको मुखमा धकेलिन पुग्छन्, उनी।
यी कस्ता प्रमुख पात्रहरू हुन् जो आफ्नो नायकत्व आफाै भत्काउँछन् ? यिनीहरु प्रभावकारी नायक हुन् तर सबैले आत्मघाती बाटो स्वीकार्दै आफाैलाई समाप्त पार्छन्। यी वीर छन् तर वीरताको कुनै पगरी गुथ्नलायक छैनन्। के यस्ता प्रसिद्ध कृतिले वास्तविक सवाल्टर्न वर्ग चेतनालाई स्वतन्त्ररूपमा प्रतिनिधित्व गरेको छ भन्न मिल्छ ? बहुरूपी सामन्तवादी संस्कारको कठोर संरचनाबाट सवाल्टर्नको मुक्तिको मार्ग प्रशस्त कसरी गर्न सकिन्छ ? विज्ञहरू बोलून्।

प्रकाशित: २४ असार २०६६ २२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App