आज भोली राजनैतिक अभिष्टको लागि जातीयताको विषयलाई उछालिदैछ, परापूर्वदेखिको जातीय सद्भाव सौहार्द खलबल्याईदैछ, विभाजनका रेखा कोरिदैछ । विदेशीको प्रभावमा राजनीतिक रङ् दिने प्रयास गरिएको छ। जातीय राज्यको मूल सवाल उठाएर भनिदैछ कि जातिनै राष्ट्र हो, जातीयता नै राष्ट्रियता हो। आदिम युगको परिभाषालाई आधुनिक सभ्य स्वत्रन्त समाजमा लागु गरेर वीषको बीउ छर्दै जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको छ। साच्चै यो परिभाषा आधुनिक युगमा कुनै सभ्य देशमा पनि लागु हुनसक्दैन। जतिसुकै वितर्कका जाल रचे पनि वा सर्वसत्तावादमा सुहाए पनि सयभन्दा बढी जातजाति भएको हाम्रो जस्तो स्वतन्त्र देशमा आदिम युगको यो परिभाषा मिल्दैन। यो परिभाषा लाउने हो भने सय जातिमा सय वटा नै राष्ट्र बन्ने भए? एउटा मात्र जाति भएको देश संसारमा कही पनि नभेटिएला। अहिले मात्र हाम्रो देशमा यतिका धेरै जातजाति भएका पनि होइन्। इतिहास कालदेखि नै अनेकौ जातजातिको फूलबारी हो, यो। पुरानो इतिहासतिर फर्केर हेर्दा जुनसुकै शासन व्यवस्था भएका देशमा पनि सबै जातजातिको समूह सम्मिलित भएकै देखिन्छ।
दशौ शब्तादीतिर पश्चिम कर्णालीको मानसखण्डमा मल्लवंशको राज्य स्थापना भयो। यस राज्यमा रहने जनता खश बाहुल्य भएपनि राज्यशाक्तिमा सबै जातिको सहभागिता थियो। वीर लडाकु खस सैनिकको सहयोगले यस राज्यको विस्तार पूर्व नेपाल दूनदेखि दक्षिण तराई पश्चिम केदार खण्डसम्म पुगेको थियो। त्यस राज्यभित्र बस्ने अनेक जाति थरका मानिस थिए। शासक वर्गमा कार्की, खड्का थापा, बूढाथापा, अधिकारी, भण्डारी, विष्ट, महरा आदि पर्थे। यस राज्यमा बाहुन, क्षेत्री, खश, मगर सबै वर्गको सहभागिता थियो।
पन्ध्रौं शताब्दीमा पाल्पामा सेन राजाको बढोत्तरी गर्नमा मगरहरुको ठूलो हात थियो। मगर पनि वीर लडाकु हुदा खश र मगर सैन्यवलले नै मुकुन्दसेनले आफनो पाल्पा राज्य बढाएर सुखीमसम्म पुर्याहएका थिए। दरबारमा मगर सरदारको प्रभुत्व थियो। सेन राजाहरु म्ागर राजाका रूपमा चिनिन्थे भने जनतामा पनि घुलमिल भएर बस्ने यिनको सरल स्वभाव थियो। यसैलाई लक्ष्य गरेर सुख पाए शहर पस्नु दुख पाए मगरात पस्नु भन्ने उखान नेपालमा चलेको छ।
सेनपूर्वका चौदण्डी विजयपुर राज्यमा राई लिम्बूको सहभागिता थियो। राजकाजमा उच्च पदमा यी नै नियुक्त हुन्थे। शाह एवं सेनका राज्यमा काजी सरदार अन्य जातका भए पनि चौतरिया चाहि राजाका भाइ छोरा मात्र बन्थे। पूर्वका सेन राज्यमा गजबको नौलो कुरा भयो- चौतरिया देवान राईहरु नै हुने चलन आयो। पृथ्वीनारायण शाहको एकीकरण पछि पनि सेनका पालादेखि चलिआएको रीतिथिति यथावत् राखी सम्मानका साथ शान्ति कायम गरियो।
मगरहरु सैन्य नेतृत्व मात्र होइन, देवीथानका पुजारीका रुपमा पनि छन्। वागलुङ्मा खड्का पुजारी भए जस्तै मनकामनामा मगर छन्। विजयपुरका बूढा सुव्वाका पुजारी पनि मगर नै हुन्। पूर्वका प्रसिद्ध देवीथानहरुमा राईहरु नै पुजारी छन्। पुरानो मैना स्थानको उमा महेश्वरको पुजारी पनि राई नै छन्। जातीय सद्भाव सौहार्द वढाइरहेका यी उदाहरण पनि हुन्। गोरखा राज्य स्थापना छ थरी जनताको सहयोगवाट सम्भव भएको थियो। छ थरीमा वाहुन छेत्रीदेखि रानामगरसम्मका जात थिए। धार्मिक कार्य र न्यायसम्पादनमा बाहुनको हात थियो भने अन्य राजकाज र युद्धकार्यमा खसमगर, गुरूङ आदिकै प्रबलता थियो। छ थरीका परम्परा शाह राजाहरुको शक्ति रहुन्जेल रह्यो। मुख्यतः सवै राजाहरुले काजी र सरदार पदमा मगर, गुरूङ्लाई छुटाउदैनथे।
पहिले नुवाकोटको अभियानमा गोरखाली सैन्यको नेतृत्व मगरहरुले गरेका थिए। पृथ्वीनारायण शाहले मूलकाजी नियुक्त गर्न विराज वखेती (मगर)लाई चाहेका थिए। तर, परराष्ट्रवाट सन्धि-विग्रहमा माहिर कालु पाडेले नियुक्ति पाए। पछि, मूलकाजीमा सर्वजित राना भए। त्यस वेलाका मूलकाजी अहिलेका प्रधानमन्त्री सरह हुन्। अरु जातिहरुको राजकाजमा ससहभागिताका यस्ता अनेक उदाहरण छन्। वूढाकाजी अभिमानसिंह राना कोतपर्वमा परेपछि भने राणाकालमा सैनिक पेशामा बाहेक राजकाजमा जातीय सहभागिताको क्रम टुट्यो।
राजकाजमा उच्चपदका अधिकारी कम हुन्थे। अरु कर्मचारी र सैनिकलाई जागीरमा खान्कीको रुपमा जग्गा नै दिइन्थ्यो। अरु केही सलामी लिएर वा केही रकम लिएर छाप, खर्क, किपट जग्गा दिइन्थ्यो। गाउ शहरमा पढाउने, ज्योतिष हेर्न, कर्मकाण्ड गर्ने भनेर बाहुन र लामालाई विर्ता जग्गा दिइन्थ्यो। त्यस्ता जागीर, छाप, खर्क, किपट, विर्ता जग्गामा सबै जातका पेशाकर्मी ल्याएर वस्ती वसाउनु आवश्यक पर्थ्यो। यसरी वस्ती बस्दै जाँदा सवै पेशाकर्मी उच्च वर्गकादेखि दलितवर्गसम्मका मानिस सवै गाउँ-गाउँमा र शहर- शहरमा छरिएर बस्दै आएका छन्।
राजधानी केन्द्रमा जमानादेखि नेवारहरु व्यापार व्यवसाय गरि आएका छन्। मुसलमानहरु शहरको मुटुमै ब्यापार गरेर बसेका छन्। नेवारहरु केन्द्रदेखि बाहिरका सवै गढी, गौडा, सदरमुकामका बजारमा भरिएका छन्। भोट-सीमा ब्यापारमा सुदूरपूर्वमा गोवा, सोलुमा शेर्पा र मनाङ-मुस्ताङमा थकाली रत्नको ब्यापारबाट सम्पन्न भएका छन्। त्यसैवाट शेरचन, तुलाचन, हीराचन, मोतीचन, गौचन आदि थकालीका थर बनेका छन्। लामा पुरोहित भएरै भट्टचन भनिन्छन्।
त्यस्तै न्ोपालमा शैव र वौद्ध धर्म मान्ने मान्छे पनि छन्। यहाँ धर्ममा कहिल्यै न भेदभाव भयो न वैमनस्य नै। गाउँ-गाउ-मा अनेक जातजातिका मानिस वस्छन्। परस्परमा मेलमिलाप सद्भाव र सौहार्दको वातावरण असाधारण नै छ। आपसमा सम्बोधन गर्दा बाहुनलाई गुरु वा बाजे, वज्राचार्यलाई गोभाजु, नेवारलाई भाजु वा साहु र खस-छेत्री-मगरलाई मुखिया, किरात-लिम्वूलाई सुव्वा, तामाङ-सेर्पालाई लामा, थारुलाइ चौधरीका साथै दमाइ-कामी-सार्कीलाई दजीर्, सुनार र मिजार भनेर बोलाइन्छ। यो पनि नेपालीको एक आपसको सौहर्दताको द्योतक नै हो।
सबै सँगै मिलेर बस्ने र सबैलाई समेट्ने नीति अनुसार नेपालले शरणको कहिल्यै मरण गरेन। परापूर्वदेखि शरणार्थी आउने क्रम पनि जारी छ। नेपालले तिनलाई कहिल्यै विमुख बनाएन। दुई सय वर्षअघिको कुरा हो, सुखीमबाट खेदिएर हजार आठ सय शरणार्थी लेप्चाको हुल आयो। नेपालले शरण दिएर समेटेरै राख्यो। भारतमा विप्लव उठेर युद्व, आतड्क मच्चिदा पनि हुलको हुल शरणार्थीलाई आश्रय दिएर तराई भरी वस्ती बसाउने काम भयो। यस्तो सहनशीलता र सौहार्द भएको देशको अवस्थालाई किन खलबल्याउने काम भइरहेको छ?
संसारको गरीव देशको श्रेणीमा रहेको देशवासीको गाँस वाँसको लागि केही भएको छैन। हिमाल, पहाड र तराईका अति विपन्न अवस्थामा गुज्रेका निम्नवर्गप्रति कसैको ध्यान गएको छैन। तिनको उन्नति, उत्थान र समृद्धिका लागि होइन, आफ्नै व्यक्तिगत र दलगत स्वार्थतिर लागिपरेकाहरू नेपालको धार्मिक सद्भाव विथोल्ने, जातीय क्षेत्रीय द्वन्द्व चर्काउने र अन्योलको स्थिती सिर्जना गर्दै छन्। गरीबै भए पनि हिमाल, पहाड र तराईका सबै वातावरण मिलेको र सबै साधनस्रोतले सम्पन्न मुलुकलाई अहिले खलवल्याउने काम किन गर्दैछन्? यो कस्तो विडम्वना, हिमाल र पहाड चाहिं जातीय आधारमा विभाजन हुनुपर्ने, उता समतल भूभाग जति वारपार एकताबद्ध रहनुपर्ने? यो कस्तो र कसकेा योजना हो? आगामी दिनमा प्रष्ट हुँदै जाने छ।
प्रकाशित: २२ जेष्ठ २०६९ ०२:४५ सोमबार