४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

वैकल्पिक शक्तिको बिगबिगी

मेरो बूढा बाबा गोरा जातिका थिए
र, मेरी बूढी आमा काला जातिका...
बाबाले सुन्दर विशाल घरमा प्राण त्याग गर्नु'भो
मेरी बूढी आमा अभावमयी झुपडपट्टीमै मर्नु'भो
आश्चर्यमा छु, मचाहिँ कहाँ कसरी मर्छु होला?
विडम्बना, म न पुरै गोरा हुँ, न त पुरै काला π
(लङ्स्टन ≈युज, क्रस)

आदिवासी जनजाति महासंघको अगुवाईमा भएको राष्ट्रिय राजनीतिक सम्मेलनले आदिवासी जनजाति दिवसलाई अवशर पारेर नयाँ पार्टी खोल्ने विचार पारित गरेपछि यसले नेपाली राजनीतिमा अलगै तरंग ल्यायो। आदिवासी जनजाति नामधारी नयाँ पार्टीको भूत, वर्तमान र भविष्यवादी पूर्वानुमानको लेखाजोखा गर्न सोह्रश्राद्धको पुरेतलाई झैँ अहिले नेपाली राजनीतिक पण्डितहरूलाई भ्याइनभ्याई छ। अस्तिसम्म नेपाली मिडियाले जनजातिका मुद्दालाई 'मुसाका पुछार' जसरी अवमूल्यन गरी (अ) प्रतिनिधित्व गरिआएको भन्दै रोष प्रकट गर्ने आदिवासी जनजातिका अगुवा भनाउदाहरू राजनीतिक पार्टी खोल्ने अवधारणा ल्याउनेबित्तिकै भने रातारात मिडियाका केन्द्रमा छाएका छन्।

आदिवासी जनजाति पार्टीको विधाता बन्न तल्लीन नेताजनले सोच्नैपर्छ : एक्काइसौँ शताब्दीमा जातिवाद टिक्ला कि जातिविहीन समाज? जनजाति पार्टी बहुलतामा टिक्ला कि एकल पहिचानका आधारमा? अन्तर-घुलनबाट जन्मिएका माथि उल्लिखित काव्यिक व्यक्तित्वहरू जस्ता क्रस यस्तो समाजमा कहाँ अटाउँछन्? नया" जनजाति पार्टीले पनि टुप्पाकै (जन)जातिवादी हैकम लादेर सम्भ्रान्तकै पक्षमा बढी समर्पित भई सबैभन्दा पि"धमा रहेका दलित तथा आदिवासी जनजाति जस्ता उपेक्षित समुदायको उपेक्षा गर्दैन भन्ने के ग्यारेन्टी? मधेसवादी दलजस्तै सत्ताका जुवामा तुरुपका रुपमा स्थापित हुन सक्ने हैसियतमा जनजाति पार्टी उदाएमा आदिवासी जनजातिभित्रकै नवसम्भ्रान्तको हातमा त्यो सत्ता पुग्दैन भनी ढुक्क हुने आधार के?

एक शताब्दीभन्दा अघि नै उर्लिएर अहिले साम्य भइसक्नुपर्ने जातिवादी महारोगको हुरी नेपालमा यतिबेला उत्कर्षतिर पुग्दैछ। प्लेगले पश्चिमा समाजलाई पिर्नु पिर्‍यो र त्यसलाई उहिल्यै निर्मुल पार्‍यो। नेपाली समाजलाई भने जातिवादी महारोगले अझैँ गाँजिराखेको छ। जसरी अमेरिकी काला नागरिक अधिकारको समस्या गोराको विवेकसँग मात्र होइन, हृदयसँग पनि जोडिएको छ। त्यसैगरी नेपाली जातिवादी समस्या आम नेपालीको हृदयसँग पनि जोडिएको छ। संविधानको धारासँग मात्र होइन, नेपाली समाजका विकट कुनाकन्तराका हरेक कलधाराका पानीसँग पनि जोडिएको छ, नेपाली जातिवाद। यो जातिवाद भन्ने यस्तो संवेदनशील आगो हो, जुन जब दन्कन्छ तब यस आगो सिर्जनात्मक कम विध्वंसक बढी बन्ने गर्छ।

कुनै स्थापित स्पेसमा कोही अटाउन सक्दैन भने कि अस्तित्वबाटै विलिन हुन्छ कि भने अलग स्पेसको स्थापनामा ती लड्छन्। स्थापित शक्तिलाई चुनौती दिँदै प्रतिस्थापित शक्तिले अस्तित्व निर्माण गर्न खोज्छ। यही द्वन्द्वात्मक प्रक्रियाबाट अलग शक्तिको उदय हुन्छ। मार्क्सको वाद, प्रतिवाद र सम्वादको अवधारणाले पनि यही भन्छ। कुनै वादको मिति गुजि्रएपछि प्रतिवादको जन्म हुने यस द्वन्द्वात्मक प्रक्रियाबाट अलग्गै सम्वाद निर्माण हुने मान्यतालाई नै सही मान्ने हो भने हाम्रा कम्युनिस्ट दलका प्रमुख नेतृत्वकर्मी पनि प्रतिवादका अघि अधिनस्थ बन्दै गएको र नवीन प्रतिवादले तिनलाई किनारा लगाउँदै लगेर कुनै नयाँ शक्तिको उदयले आकार लिन लागेको प्रतिविम्ब थप प्रखर हुँदैछ। यो दुःखद् र सुखद् कुन अवतारको आगमन हुँदैछ, हचुवा र हतारमा यसै भन्न सकिन्न।

नेपाली समाजको सद्भाव यथार्थमा जातीय उच्चता र असमान व्यवहारमा आधारित थियो, छ र यसलाई नै आजसम्म सहिष्णुताको आवरण ओढाइ आएकै हो। नेपाली समाज यस्तरी बनेको छ कि भौगोलिक र क्षमताको आधारमा राज्यको आमूल पुनर्संरचना गर्न खोजिएमा दलित, मधेसी तथा जनजातिको ठूलो हिस्सालाई उपेक्षा गरिएको ठहरिन्छ। यदि दलित र जनजाति अधिकारको मुद्दालाई चर्कोरुपले उचालिएमा राज्यको सहिष्णुता नै खलबलिन सक्ने खतरा देखिन्छ, देखाइन्छ। युटोपिया निर्माणको लक्ष्य बोकेका नेता कार्यकर्तासमेत यस्तो विषम अवस्थाको चेपुवामा पर्दै आएका छन्। वर्ग सङ्घर्षको देवतालाई जातिवादी दानवले पिरोल्न थालेपछि अहिले युटोपियावादी नेताजन पनि नाजवाफ बनेका छन्।

यति भने स्वतन्त्र नागरिकले अहिले स्पष्ट बोल्नैपर्छ, एक्काइसौँ शताब्दीमा कुनै निश्चित जातिवादी राजनीतिक दलको जन्म हुनु शुभसंकेत हुनै सक्तैन। थोकमा कुनै जाति विशेष सबै सामन्ती हुन्नन्, न त उत्पीडित नै। नवजनजातिवादी राजनीतिक पार्टीको जन्म कुन कुन शासक वर्गको अप्राकृतिक सुक्रक्रिटबाट जन्मिँदैछ भनी सहजै आरोप लगाउन सक्ने अवस्था पनि छैन। यद्यपि, मुलुकमा नवजातिवादी दलको स्थापनाले शक्ति केन्द्रलाई कुनै ठूलो प्रभाव पारे पनि वा नपारे पनि यसले मुलुकलाई दीर्घकालीन नकारात्मक असर पारेमा सबैभन्दा ठूलो भूकम्प त ठूला दलका ठूला पार्टी प्यालेसभित्र नै जाने निश्चित छ। यसले मुलुकको अग्रगमनको बाटो अझ कति वर्ष छेक्ने हो, यसै भन्न सकिन्न।

आदिवासी जनजाति दल निर्माणका कलाकार तथा त्यसका पृष्ठपोषकहरूलाई एउटा गम्भीर प्रश्न भने गर्नैपर्छ : यस मुलुकको सबैभन्दा बढी उत्पीडित वर्ग समुदाय भनेको दलित नै हुन्। आदिवासी जनजाति समुदायभित्रका पनि दलित नै सबैभन्दा उत्पीडित उपेक्षित वर्ग समुदाय हुन्। सधैं बाहुनबाट पीडित भएको नाम र नाराका साथ नयाँ पार्टी खोल्न लागिएको हो भने किन जनजातिको उत्पीडनको मात्र कुरा गर्ने, सबैभन्दा बढी केन्द्रमा सबैभन्दा उत्पीडित दलित तथा अन्यलाई राखेर राजनीति किन नगर्ने? कर्णालीका दलित-महिला-विधवा-अपांग जस्ता सबैभन्दा तल्लो तहको सबाल्टर्न र तिनका मुद्दालाई केन्द्रमा राखेर किन राजनीति नगर्ने? तिनलाई केन्द्रमा प्रतिनिधित्व किन नगर्ने? मधेसी मुद्दा किन नबोक्ने? अनिमात्र जनजातिका कुरा आउलान्। सम्भ्रान्त आदिवासी जनजाति अझ त्यसपछि मात्र आउलान्। यसबाट हेर्दा आदिवासी जनजातिको एकल पहिचानवादी पार्टी नाम र घोषणापत्रभन्दा आम उपेक्षित-उत्पीडित सबाल्टर्न वर्ग समुदायलाई समेटेर समावेशी नयाँ पार्टी खोल्नु बढी सान्दर्भिकता देखिन्छ। वैकल्पिक विद्रोही शक्तिको बिगबिगीले मात्र मुलुक अघि बढ्न सक्तैन।

अहिले प्रत्येक दलभित्र दल र गुटभित्र गुटका रुपमा वैकल्पिक विद्रोही शक्तिको विगविगी बढेको छ। राजनीति भनेको प्रभावनीति हो। त्यो प्रभावनीति जनताको दैनिक जीवनसँग पनि जोडिनु आवश्यक छ। जब नेतृत्वको केन्द्र कमजोर हुन्छ तब वैकल्पिक शक्तिहरूको उदय हुने नै भयो। असमावेशी स्पेसको विरुद्ध काउन्टर स्पेसको निर्माण हुनु नराम्रै होइन। तर, असमावेशी शक्तिको विरोधमा थप असमावेशी अर्को विद्रोही वैकल्पिक शक्तिको जन्मले हिजोका अफ्रिकी समाजको जस्तो काला-गोराबीच कित्ताकाँटाकाँटको अपार्थिड ननिम्तिएला भन्न सकिन्न। कुनै जातिविशेषलाई बहिष्करण र कुनैलाई काखी च्याप्ने नीति एक्काइसौँ शताब्दीमा कदापि टिक्न सक्दैन। यो लोकतान्त्रिक विधि बन्नै सक्तैन। त्यस्ता शक्तिलाई टिकाउनु पनि हुन्न।

अन्तरघुलनमा जोड दिँदै सबैभन्दा बढी बहिष्करण र उपेक्षामा परेका वर्ग समुदायका पक्षमा हाम्रो बौद्धिक राजनीतिक शक्ति खर्चनुको विकल्प छैन अब। नश्लवादी सोचले आजको अन्तरघुलित विश्व एक क्षण पनि अघि बढ्न सक्दैन भन्ने कुरालाई बौद्धिक वर्गले बुझ पचाउनु पाखण्डपन हो। विद्रोही वैकल्पिक शक्ति निर्माण सिर्जनात्मकभन्दा बढी विध्वंसात्मक बन्दैछ। प्रत्येक शक्तिभित्रको विद्रोही शक्तिको बिगबिगीले मुलुकलाई कतातिर डोर्‍याउँदैछ भन्ने ख्याल राख्नैपर्छ। सबै जातिका अलग-अलग पार्टी अस्तित्वमा आएमा लङ्स्टन ≈युजले औल्याएझैँ क्रसहरू कता गएर शान्तिले मर्ने भन्ने गम्भीर प्रश्नको उत्तर खोज्नैपर्छ। नयाँ पार्टीका विधाता बन्न उत्साहित आदिवासी जनजातिका अगुवाले यस्ता सुक्ष्म आम उत्पीडित वर्गलाई समेटेर सृजनात्मक वैकल्पिक विद्रोही स्पेस निर्माण गर्न सक्लान्? प्रत्येक कट्टर जाति र जनजातिका पृष्ठपोषकले आफूले सन्तान-दरसन्तानदेखि ओडिआएका 'कास्टिस्ट कात्रो' मिल्काएर आत्मआलोचना गर्दै स्पष्टीकरण खोज्ने कि?

प्रकाशित: २५ श्रावण २०६९ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App