६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

संकटमा युवा संगठनको भूमिका

पार्टीका भातृसंगठनका जुझारु युवा विद्यार्थी र तरुणहरुले लोकतन्त्रको संस्थागत विकासका लागि सडकमा उत्रिएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ढिलो भइसकेको छ।
देशमा चरम राजनीतिक संक्रमण बढ्दैछ, अस्तित्वमा रहेका दलमध्येको सत्ता गठबन्धन दल मुठभेडको राजनीति उन्मुख हुँदै मोर्चा निर्माणमा ब्यस्त छ। सत्ता गठबन्धन दलको मोर्चा निर्माण र निरंकुशता उन्मुख राजनीतिले जनतामा निराशा पैदा भएको छ। संविधान निर्माण प्रक्रिया अवरुद्ध भई संक्रमणकालीन अवस्था सिर्जना भएका बखत सत्ता र प्रतिपक्षबीचको अविश्वासको खाडल गहिरिँदैं गएको छ। यही बेला सत्तारुढ प्रमुख घटक एमाओवादीबाट सहकार्यका अलवा धम्कीपूर्ण भाषा प्रयोग हुँदै जानुलाई निरकुंशताको प्रयोग या अदूरदर्शी सोचबाहेक के मान्ने? इतिहासको यो अन्यौलग्रस्त र गम्भीर मोडमा सत्तारुढ दलले सत्ता केन्द्रित राजनीतिभन्दा पनि सहकार्यको हात फैलाउन सक्नुपर्थ्याे भने यतिबेलाको विषम राजनीतिक परिस्थितिमा नेपाली युवा विद्यार्थी र तरुणले दबाबमूलक, नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्थ्याे। दुर्भाग्य, यी दुवै हुन सकेका छैनन्। अबको आन्दोलन मूलतः लोकतन्त्रको संस्थागत विकासका लागि पनि चुनाव गराउन केन्द्रित हुनुपर्छ। स्थानीय निकाय, संविधान सभा र संसदको निर्वाचन गराउँदामात्र राज्यले व्ययभार व्यहोर्नसमेत सक्छ। त्यसका लागि राष्ट्रिय/अन्तर्राष्ट्रियरुपमा पत्याइएको नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण पनि उत्तिकै जरुरी छ।

यसअघि ०३६, ०४६ हुँदै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनहरुमा नेपाली युवाले आफूलाई उत्सर्ग गरे। आन्दोलनको वलिबेदीमा आफूलाई होमे। ती आन्दोलन वास्तवमा युवाहरुको विद्रोहको बिष्फोटसमेत थियो। यसरी विभिन्न कालखण्डमा जनताका पक्षमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने युवा विद्यार्थी र तरुण आज किन खुम्चिए? किन भूमिकाविहीन देखिन पुगे? नेपाली राजनीतिमा युवा विद्यार्थी र तरुणको भूमिका गर्व गर्न लायक छ। तर, पछिल्ला वर्षमा आफंैंभित्रको बेमेलका कारण युवा विद्यार्थी र तरुणका भेला रोकिए, सम्मेलन सारिए, अनि आफैंभित्र विवाद र भिडन्त बढ्दै गएका छन्। यो आफंैंमा एउटा उदेकलाग्दो पाटो हो। परिवर्तनका लागि ब्यग्र युवा शक्तिका लागि अबको आन्दोलन कहिल्यै र कसैले खोस्न नसक्ने पूर्ण लोकतन्त्रका लागि हुनुपर्छ।

पार्टीका भातृसंगठनका जुझारु युवा विद्यार्थी र तरुणले लोकतन्त्रको संस्थागत विकासका लागि सडकमा उत्रिएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ढिलो भइसकेको छ। एकीकृत माओवादीको संगठन निर्माणको आधार रहेका वाइसिएल र हिजोका छापामार पनि युवा नै हुन्। एमाओवादी राजनीतिकभन्दा सैन्य बलद्वारा जनतामा आफूलाई स्थापित गर्न रुचाउँछ। तर, लोकतान्त्रिक विधि र पद्धतिमा विश्वास राख्ने तथा विभिन्न काललखण्डमा राणा, राजा र माओवादीको निरकुंशतामा नेपाली समाज चेपिएका बखतसमेत समाजमा राजनीतिक जीवन दिने आधार भनेकै युवा विद्यार्थी र तरुण हुन्। तिनै युवाले आज पुनः एकपटक हिजो संयौं वर्ष राज गर्नेलाई सडकमा ल्याएझैं 'आगामी २५ औंं वर्ष राज गछर्ौं' भन्ने सपना देख्नेलाई पनि आफ्नो असली हैसियत र ताकत देखाउने बेला आएको छ। तर, आन्दोलनरत् दलबीच राजनीतिक प्रतिबद्धता, उद्देश्यको निरन्तरता र कार्यसूचीमा स्पष्टता हुन भने जरुरी छ।

त्यसो त नेपाली कांग्रेसमा युवा पंक्ति केन्द्रीय नेतृत्वमै पुगिसकेको सन्दर्भमा ती युवा पंक्तिमाथि आशा राख्ने ठाउँ धेरै छ। कांग्रेसभित्रका युवाले मुलुकको मार्गदर्शनका लागि स्पष्ट मार्गचित्र पहिल्याउन जरुरी छ। लोकतन्त्रमा विश्वास राख्ने युवा विद्यार्थी र तरुणका सामु अहिले आन्दोलनका लागि उठाउने दर्जनौं मुद्दा छन्। चाडवाडको मुखमा कालो बजारी र मूल्य वृद्धि ढाडै सेक्नेगरी आकासिएको छ। राष्ट्रियता दिनानुदिन कमजोर बन्दैछ। संवैधानिक निकाय रिक्त छन्। स्थानीय निकायको निर्वाचन नहुँदा ती निकाय अहिले भ्रष्टाचारको अखडामा परिणत भएका छन्। प्रशासनमा सरुवा बढुवा र नियुक्तिमा करोडौंको खेल हुने गरेका छन्, जुन बेलावखत सार्वजानिक पनि हुँदै आएको छ। माओवादी लडाकुहरूले नै छापामार शिविरमा करोडौं भ्रष्टाचार भएको भन्दै छानविन माग गरेका छन्। यी र यस्ता दर्जनौं मुद्दा ओझेलमा पारेर युवा विद्यार्थी र तरुण रमितेमा परिणत भएका छन्। आज सुशासनको कुरा उठाएर समाजका सबै तह र तप्कामा भए/गरेका भ्रष्टाचारको निश्पक्ष र स्वतन्त्रपूर्वक छानविनको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगअगाडि जो/कोही युवा सत्याग्रहको आह्वान गर्दै अनशन बस्यो, त्यही युवाले मुलुकप्रति उत्तरदायी भूमिका खेलेको ठहरिनेछ। ।

युवा नेता तथा कार्यकर्ताले बदलिँदो राजनीतिक परिदृश्यमा आफ्ना उत्तरदायी भूमिका कसरी निर्वाह गर्न सक्छन् र आफूलाई परिवर्तनकारी भूमिका कत्तिको खरोरुपमा उतार्न सक्छन् भन्ने हेर्न बाँकी छ। जुझारु संगठन निर्माण गर्दै र त्यसलाई गति दिँदै समतामूलक समाज निर्माण तथा न्यायमूलक राज्यको नारालाई घनिभूत बनाउँदै आ-आफ्नो राष्ट्रिय महाधिवेशनको झण्डासमेत बोकेर एकसाथ जनताबीच जानैपर्छ। लोकतन्त्रको संस्थागत विकास गरी स्वतन्त्रताको पहरेदारका रुपमा कांग्रेसका युवा संगठनले आफूलाई उभ्याउन सक्नुपर्छ। अन्यथा प्राविधिकरुपमा महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि लोकतन्त्रको भविष्यप्रति युवा पंक्तिबाट आशा गर्ने ठाउँ हुने छैन।
लेखक कांग्रेस महासमिति सदस्य हुन्।

प्रकाशित: २० आश्विन २०६९ २३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App