५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

निराशाको मौन क्रान्ति

नेपाली समाज निराशाको अँध्यारो सुरुङमा फस्दैछ। राजनीति झन् झन् अन्यौलग्रस्त हुँदैछ। यो क्षेत्र भ्रष्ट, अनैतिक र गैरउत्तरदायी देखिँदैछ। विवेक, तर्क र सम्झौताको स्थान दम्भ, ढिपी र मुठभेडले लिँदैछ। अर्थतन्त्र तन्नेरी पसिनाको 'रेमिटेन्स' मा निर्भर छ। महँगीले जनताको ढाड सेकिएको छ। बौद्धिक वर्ग विभिन्न कित्तामा विभक्त भई आग्रही उपदेश पस्कनमा ब्यस्त छ। नागरिक समाज राजनीतिक दलका 'डमी' भएका छन्। गैरसकारी संस्थाहरू डलरको खेती गर्ने 'ब्रिफकेस एनजीओ' हुँदैछन्। कर्मचारी वर्ग अवसरवादी, भ्रष्ट र कामचोर भइरहेछ। निजी क्षेत्र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु त परको कुरा, नाफाका लागि नालीको फोहोर नेपालीहरुलाई वितरण गर्दैछ। समाजको असल छिमेकीपनमा साम्प्रदायिकताको विष घोलिँदैछ। समग्रमा समाजका सबै अवयव र पात्रले निराशामात्र बढाइरहेका छन्। गल्ली, चोक, पसल र चौतारी जमघट कहीँ पनि सकारात्मक कुरा सुन्न पाइँदैन। अझ विडम्वनाको कुरा त सरकार पनि आन्दोलन गर्ने रे! विपक्षीहरु संघर्षको आँधी ल्याउने कुरा गर्छन् भने सकारात्मक सोचको आशा कसबाट गर्ने? यस्तो स्थिति कुनै पनि देशका लागि शुभसंकेत हुँदै होइन।
ग्रिक दार्शनिक सोक्रेटिसले भनेका थिए- 'सबै चिजहरु त्यसको विपरित रुपबाट उत्पन्न हुन्छन्।' कमजोरबाट बलियो, खराबबाट असल, निराशाबाट आशाको जन्म हुन्छ। यसलाई मान्ने हो भने अहिलेको अस्थिर, अन्योल र अराजकताको अन्त यसैको पराकाष्टाबाट हुनेछ। नेपालीहरु भाग्यमानी भए यो कम क्षतिमा हुनेछ र विपरित स्थितिमा निकै पीडादायी हुन सक्छ। नेपालीहरुको मनमा उकुसमुकुस असन्तोषको लाभा ज्वालामुखीका रुपमा बिस्फोट भयो भने यसले धेरैलाई सोतर पार्न सक्छ, धेरै संरचना ध्वंश हुन सक्छ। नेतृत्वमा रहनेहरु समयमै सचेत नभए यस्तो चरम स्थिति चाँडै आउनेछ। किनकि समाज जडतामा अड्दैन र जनतामा सधैँ परिवर्तनको उत्कट अभिलाषा रहन्छ। झन् अहिलेको 'साइबर पुस्ता' लाई यथास्थिति मान्य हुँदैन।
यस्तो निराशा र नकारात्मक सोचका लागि जिम्मेवार को हो त? समाजलाई नेतृत्व दिने हौं भन्नेहरू सबै नै धेरथोर दोषी भए पनि मुख्य दोषी जनतालाई सपना बाँड्ने राजनीतिज्ञ नै हुन्। जनताले परिवर्तनका लागि लडेको लामो लडाइँ नेताहरुकै झेली खेल र स्वार्थले संस्थागत हुन नसकेको घामजस्तै छर्लङ्ग छ। एकतन्त्रीय शासन फालेर राजतन्त्र स्थापित गराउँदा तानाशाहीमा रुपान्तरण हुन पुग्यो। जनआन्दोलनको बलमा पुनर्स्थापित गरिएको बहुदलीय व्यवस्था क्रमशः द्वैध शासन हुँदै निरंकुशतामा बदलिन पुग्यो। आमूल परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्र अराजकतामा परिणत भइरहेको छ। जनताको चाहना नयाँ सुन्दर, शान्त र समृद्ध नेपाल थियो। यस्तो शान्ति जहाँ युद्ध र घृणाको स्थान आपसी प्रेम र सौहार्द्धताले भरियोस्, यस्तो सुख जहाँ नेपालीहरुले ढुक्क भएर गरिखान पाउन्। युवाहरु देशमा नै भविष्य निर्माण गर्न सकून्। तर परिवर्तनको छ वर्षमा जनतामा आशाको सञ्चार हुने कुनै कामै भएन। सत्ताको पौठाजोरी र अनैतिक कामबाहेक केही हुन सकेन। सपनाका यी व्यापारी नेताहरुको स्वार्थी खेलले राष्ट्र आक्रान्त छ, सबै क्षेत्र अन्यौलग्रस्त छ र समाज वास्तविक र धारणागत भयले असुरक्षित भइरहेछ। यस्तो स्थितिमा नेपालीहरुमा सकारात्मक सोच विकास कसरी हुन सक्छ?
प्रसिद्ध लेखक स्यामुयल पी हन्टिङ्गटनले दुईथरी क्रान्तिको चर्चा गरेका छन्- 'उर्लंदो आकांक्षाको क्रान्ति र चुलिँदो निराशाको क्रान्ति (रिभोल्युसन अफ् राइजिङ्ग एक्सपेक्टेसन एण्ड रिभोल्युसन अफ राइजिङ्ग फ्रस्ट्रेसन)'। जनआन्दोलन पहिलोखालको क्रान्ति थियो र यसले बढाइदिएको महŒवाकांक्षा पूरा नभएपछि अहिले निराशाको क्रान्ति सुरु भएको छ। यो पछिल्लो क्रान्ति बढी डरलाग्दो हुने गर्छ। अहिलेसम्म यो 'मौन क्रान्ति' का रुपमा छ र यसको समयमै सम्बोधन गरिएन भने यसको भयानक बिस्फोट हुन सक्छ। यस्तो स्थितिबाट मुक्ति दिन दीर्घकालीन सोच भएका राजनेता जन्मिनुपर्छ। साहस, संयम, सौर्य र निस्वार्थीपन भएका नेताहरुले नै राष्ट्रलाई नयाँ जीवन दिन सक्छन्। तर यहाँ न कुनै नेल्सन मन्डेला जन्मिए न त सत्तालाई तिलाञ्जली दिएर देशलाई दिग्दर्शन गर्ने गान्धी नै जन्मिए। सरकारमा रहनेहरुका अनुहारमा निरंकुशताको छ्याकटाहरु प्रष्टै देखिन थालेको छ भने सरकारलाई ठीक बाटोमा हिँडाउनुपर्ने विपक्षीहरुमा सत्ताप्रति पागलपन देखिएको छ।
मेकियावेलीले आफ्नो प्रसिद्ध कृति प्रिन्समा लेखेका छन्- 'असल नेता त्यो हो जसलाई कि त गर्वसाथ समर्थन गर्न सकियोस् वा होसियारीपूर्वक विरोध गर्नु परोस्।' नेपालका अहिलेका कुनै नेताहरु पनि यस्ता छैनन्, जसलाई खुलेर समर्थन गर्न सकियोस्। बरु, कमजोरी र गल्तीका डंगुर छन् र आलोचनाका लागि कुनै बहाना खोज्न आवश्यक छैन। जनआन्दोलनको म्याण्डेट र राष्ट्रिय कार्यभार भनेको शान्ति र संविधान थियो, यसबाहेक अरु चमत्कार यी नेताबाट हुन्छ भन्ने कुनै आशा गरिएको पनि थिएन। तर नेताहरु यी कार्यभार बहन गर्न असक्षम सावित भइसकेका छन्। शान्ति प्रवि्र्कयामा लडाकुहरुको समायोजनबाहेक अरु काम थाँति नै छन्। संविधान निर्माणको काम दलका नेताहरुको छलकपटले हुन सकेन। संविधान लेख्न जनताले खटाएका सभासदको असक्षमताले संविधान सभाले मुत्युवरण गर्न पुग्यो। संविधानका विविध विषयमध्ये राज्यको पुनर्संरचना सम्बन्धमा जनताले दिएका सुझाव लुकाएर आफूअनुकूलको राज्यको ढाँचा प्रस्ताव गर्ने दुस्साहस सभासद्हरुले गरे। दलका नेताहरुको कठपुतली मात्र भएर जनताको विश्वासमाथि प्रहार गरे। अहिले यिनै व्यक्ति विभिन्न बहानामा संविधान सभाको पुनर्स्थापना गराउने नाटक मञ्चन गर्दैछन्।
दुर्गम भेगका जनता पाँच किलो नूनका लागि सात दिन पैदल हिँडेर सदरमुकाम धाउँदा पनि किन्न पाएका छैनन्, किसानले रोपाईको बेला मल खरीद गर्न पाउँदैनन्, सिटामोल नपाएर ग्रामीण भेगका जनता अकालमा मृत्युवरण गरिरहेका छन्। होनहार शिक्षित युवाहरु रोजगारी नपाएर अमिलो मन लिई विदेश पलायन हुँदैछन्। तर, नयाँ नेपालका कारिगर भनिनेहरु भने स्वार्थी खेलमा रमाइरहेका देखिन्छन्। संविधानलाई आफ्नो दलको घोषणापत्र बनाउन खोज्दा संविधान सभा असफल हुन पुग्यो, सत्ताको फोहोरी खेलमा अलमलिँदा देश राजनीतिक अन्यौलमा फस्दैछ। नेताहरुको बोलीमा अब कसैको विश्वास छैन। गाउँघरमा कसैले फट्याइँ गर्‍यो भने राजनीति गर्‍यो भन्ने गरिन्छ, नेताहरुको व्यवहारले राजनीतिप्रति जनताको धारणा यो हदसम्म पुर्‍याउने काम भएको छ। यस्तो स्थिति सिर्जना हुनुमा सबै नेता धेरथोर दोषी छन तर उनीहरु असफलताको दोष अरुलाई थोपरेर आफू चोखो हुन खोज्दैछन्।
अंग्रेजी उखान छ- 'घृणाविनाको असन्तोष (डिस्ग्रेस विदाउट ह्याट्रेड)।' नेपाली र नेताको अहिलेको सम्बन्ध यस्तै छ। विगतको त्यागले गर्दा उनीहरुलाई जनताले पूर्णतः बहिष्कार गरिसकेका छैनन्। उनीहरुको गुनासो नेताहरुले आफ्नो विगत बिर्सिए र जनतासँगको वाचा बन्धन तोडे भन्ने हो। उनीहरु अझ पनि सुधि्रएनन् भने जनता जागेको बेला अनर्थ हुन सक्छ। निराशाले कुनै लडाइँ जितेको छैन र त्यसैले नेताहरु जति असक्षम भए पनि नेपाली समाज स्वस्फूर्तरुपमा सकारात्मक गतिमा अगाडि बढ्दैछ। बढ्दो अराजकताबीच पनि गरिबीको रेखामुनी जीवन निर्वाह गर्ने नेपालीको संख्या उल्लेख्यरुपमा घटेको छ। शिक्षा र स्वास्थ्यका परिसूचकहरु सकारात्मक देखिँदैछन्। बिग्रिएको राजनीति र भद्रगोल शासकीय व्यवस्थामा सुधार हुने हो भने नेपालले चाँडै फड्को मार्न सक्छ। यसमा सुधार ल्याउन टालटुले पाराले होइन कि आमूल परिवर्तन आवश्यक छ।
राजनीति र प्रशासनमा 'फ्रेस ब्लड' को सञ्चार गर्न सकियो भने स्थिति चाँडो सकारात्मक हुन सक्छ। राजनीति बिगार्ने यसको नेतृत्वमा रहने 'बेबी बुमर्स' हरु नै हुन्। पश्चिमी देशहरुमा सन् १९४५ देखि १९६४ सम्म जन्मिएकालाई 'बेबी बुमर्स' पुस्ता भन्ने गरिन्छ। यो पुस्ता बढी नै जिद्दिवाल, घमण्डी र परम्परावादी हुन्छ भन्ने मान्यता छ। अहिले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व यही पुस्ताको हातमा छ। यो नेतृत्वलाई युवा पुस्ताले विस्थापन गर्न सक्यो भने स्थितिमा सुधार आउने आशा गर्न सकिन्छ। भविष्य युवाहरुको हो र उनीहरु आफ्नो भविष्य बिगार्न अवश्य लाग्दैनन्। बेलायतमा यो पुस्ताको प्रधानमन्त्री हुन सक्छन् भने नेपालमा किन नहुने? पाका नेताहरु अभिभावकत्वको भूमिकामा सम्मानित हुनुपर्छ। प्रशासनिक नेतृत्वमा पनि खुल्ला प्रतियोगिताद्वारा युवा नेतृत्वको प्रवेश बढाउँदै लग्नुपर्छ।
समाजमा सकारात्मक सोच राख्ने र राष्ट्रका लागि केही गरौं भन्ने उत्साही व्यक्तिहरुलाई सबै क्षेत्रले साथ दिनुपर्छ। राजनीतिले केही गरेन तर यसले नागरिक अग्रसरतामा हुने असल कार्यका लागि बाधा दिनुहँुंदैन। यसका लागि सबैले सरकार र राजनीतिक दलका नेतालाई खबरदारी गरिरहनुपर्छ। जनताका प्रतिनिधि हौं भन्ने जनप्रतिनिधि, नेता र कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन गाउँ, शहर र टोलहरुमा सशक्त 'नागरिक सरोकार समाज' गठन गरिनुपर्छ। यसले सार्वजनिक काम कारबाहीको निगरानी र लेखाजोखा गर्नेछ। प्रत्येक वर्ष प्रत्येक गाउँ र टोलमा बस्ने स्थानीय बासिन्दाको बृहत् भेला बोलाई 'नागरिक सुनुवाईकर्ता (सिटिजन जुरी)' को निर्वाचन गर्ने र यसले आफ्नो गाउँ टोलका आवश्यकता पहिचान गर्ने, प्राथमिकता तोक्ने, सञ्चालित कार्यक्रमको अनुगमन/मूल्यांकन गर्ने र त्यहाँ बस्ने अति गरिबहरु पहिचान गरी सम्बन्धित निकायमा सिफारिस गर्ने काम गर्न सकिन्छ। यी व्यवस्था मात्र गर्न सकिए पनि अहिलेको बाटो बिराएको राजनीतिलाई ठीक गर्न सकिन्छ।
अन्तमा, मार्टिन लुथरकिङ्गका यी भनाई मननयोग्य छन्- 'राष्ट्र रुग्ण छ र सबैतिर अन्यौल छ, समाजमा कष्ट छ र सबैतिर अन्यौल छ। तर मलाई थाहा छ निष्पट अन्धकारमा मात्र तारा देख्न सकिन्छ।' आशा गरौं, नेपालमा पनि चाँडै अन्यौलको बादल हटेर आशाको प्रतीक तारा देख्न पाइनेछ।

प्रकाशित: ३० आश्विन २०६९ २२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App