६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

सहमतिको भजन

मुलुकको राजनैतिक परिस्थिती यतिवेला निकै जटिल मोडबाट अगाडी बढेको छ। राजनीतिक पार्टीहरु र त्यसका नेताहरुभित्रको आपसी घृणा अविश्वास, आन्तरिक मतभेदका साथै जातीय तथा क्षेत्रीय भावनाले गर्दा विषयवस्तुको पृष्ठभुमीमा राष्ट्रिय सहमती निर्माण हुन नसक्ने र मुलुक झनै अराजकता र अस्तव्यस्ततातिर गई कतै राष्ट्र नै असफल हुने त होइन भन्ने आशंका देखिन थालेको छ।
कुनै पनि समाज राजनीतिबाट निर्देशित हुन्छ। यदि राजनीति मर्यादित र स्वच्छ हुँदैन भने त्यसको प्रत्यक्ष असर समाजमा पर्दछ र त्यसको मार जनताले व्यहोर्नुपर्छ। सहमती, सहकार्य र राष्ट्रिय भावनाअनुसार मुलुक अगाडी बढ्न सकेन भने त्यो देश असफलतातर्फ जाने निश्चित छ। अहिले नेपाली राजनीतिको वास्तविकता भनेको नेतृत्वको स्खलन तथा निष्ठा, इमान्दारीता र विश्वसनीयताको अभाव हो। निरंकुशतन्त्रलाई परास्त गर्ने नेताहरु आफैमा चाहिं सामन्ती अहंकार र आडम्बर रहेको छ। जनताको नेतृत्व गर्ने नेताहरुभित्रको सामन्ती अहंकार यति धेरै देखियो कि उनीहरू नव सामन्तका रूपमा देखिन थालेका छन्।
राष्ट्रिय सहमतीविना मुलुकले निकास पाउँदैन् भन्ने कुरा सबैले बुझेकै छन्। तर। बु‰दा बु‰दै पनि एक आपसमा हिलो छ्यापाछ्याप र दोषारोपण नेताहरुको दिनचर्या बन्न पुगेको छ। दैनिक वैठक बस्ने, विना निष्कर्ष उठ्ने, राष्ट्रिपतिलाई समय थप्नको निमित्त अनुरोध गर्ने नेताहरुको दैनिकी नै बनेको छ। के यस्तो हिसावले लोकतान्त्रिक गणतन्त्र संस्थागत होला? के यस्तै हिसावले शान्ति र संविधानले पूर्णताका साथै राष्ट्रिय सहमती भइ संकटको निकास निस्केला? किमार्थ संभव छैन।
एमाओवादीभित्र अझै पनि अधिनायकवादी सोच छ। त्यही अधिनायकवादी सोच र चिन्तनले राष्ट्रिय सहमतीको मार्ग अवरोध हुने लक्षण देखिदैंछ। एमाओवादी सहमतीमा आउन चाहदैन। एमाले र कांग्रेस अझै पनि भ्रममा छन्। राष्ट्रिय सहमतीको सरकारको नेतृत्व गर्ने सपना साँचेका छन्। एमाओवादीको पृष्ठभूमी, लक्ष्य र उद्देश्य राष्ट्रिय सहमती निर्माण गरी शान्ति र संविधानको बाटोमा अगाडी बढ्ने हुँदै होइन। एमाओवादी कांग्रेस र एमालेको आँखामा छारो हाल्न मात्रै सहमतीको गीत गाउने गर्छ। यो सहमति गर्ने नभई सरकारको आयु लम्बयाउने प्रपञ्च मात्रै हो, माओवादीको।
आफु अनुकुलताको निर्णय भए राष्ट्रपतिले गरेको आव्हान ठिक हुने आफ्नो प्रतिकुल भए राष्ट्रपतिले गरेको कदमको विरुद्ध मन्त्रीपरिषदबाट निर्णय गराउने प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा न अडानमा स्थिरता छ न वचनमा विश्वसनियता। उनी त्यतिकै कांग्रेस वा अन्य पार्टीको नेतृत्व स्वीकार्ने पक्षमा छैनन्। उनीहरुको मुख्य चाहना त आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार हो। ढिलो चाँडो काँंगे्रस एमाले हिजो जस्तै यहि सरकारमा सहभागी हुन्छन् भन्ने मनोविज्ञानले एमाओवादी र प्रधानमन्त्रीमा घर गरेको छ। एमाओवादीको नेतृत्वले चुनाव समेत आफै गराउन पाइयोस भन्ने चाहन्छ। त्यसका लागि एमाले, कांग्रेस वाहेक अन्य जुनसुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न पनि माओवादी तयार नै देखिन्छ। अनि कांग्रेस-एमालेले राष्ट्रिय सहमतीको नेतृत्व गर्ने सपना देख्नुको के अर्थ?
जव राजनीतिक सिद्धान्तको आवरणमा व्यक्तिहरुका स्वार्थ र महत्वकांक्षा मुखरीत हुन थाल्छन् त्यतिबेला सहमती र सहकार्यको भजन किर्तन गर्नु एउटा पाखण्ड मात्र हुन जान्छ। लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्ने जिम्मेवार पार्टी भएको नाताले नेपाली जनताको पुर्ण सहभागिताबाट प्राप्त लोकतान्त्रिक मुल्य मान्यतालाई कुनै पनि हिसावले कांग्रेस र एमाले जस्ता जिम्मेवार पार्टीहरुले क्षय हुन दिनुहुँदैन। लोकतान्त्रिक तथा गणतान्त्रिक कार्यको सफलता अरुमा होइन त्यहि देशका नागरिकका कँाधमा निर्भर रहन्छ। राजनैतिक पार्टी र त्यसका नेताहरुमा निर्भर रहन्छ। स्वभाविक रुपमा यतिबेला जनतालाई विश्वासिलो नैतिकवान र मुलुकप्रति जिम्मेवार वहुआयामिक लोकतािन्त्रक मुल्य मान्यतालाई आत्मसाथ गर्ने शालिन र जिम्मेवार नेताको खाँचो छ। यस्तो नेताले आवेगमा होइन उत्प्रेरणाबाट जनताको आवाज र भावनालाई सम्बोधन गर्न सक्ने र मिलेर नै चुनौतीको सामना गर्न सक्नुपर्छ। यसको लागि नेतृत्वको सवलता र शालिनताको खाँचो छ। यसको नेतृत्व एमाले र कांग्रेसका नेताहरुले गर्न जरुरी छ।
राजनीतिक दलका नेताहरू विगतका वचनवद्धता र प्रतिवद्धता पुरा गर्ने अभियानमा गम्भिर बन्नैपर्छ। समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर उपाय खोज्नु नेतृत्वको कर्तब्य नै हो। सस्तो लोकप्रियताको लागि जे पनि बोल्ने, जे पनि गर्ने तथा व्यवहारमा केही पनि नगर्ने नेताहरुले सहमतीको गीत गाउनुको कुनै अर्थ रहँदैन। यति बेला नेतृत्वको कुशलता, राष्ट्रिय स्वार्थ, लोकतान्त्रिक मुल्यमान्यता प्रतिको बफादारिता हो। त्यो नेताहरुले देखाउन सकेका छैनन्।
समझदारी विपरितका अराजनीतिक क्रियाकलाप गर्दै जाने हो भने मुलुक सहमतीतिर होइन मुठभेडतिर जाने निश्चित छ। तसर्थ जति ढिला भए त्यति नै धमिलो पानीमा माछा मार्ने तत्वलाई फाइदा पुग्छ। त्यसैले नेताहरुले अहिले एक आपसमा हिलो छ्यापाछ्याप गर्ने होइन राष्ट्रिय सहमती निर्माण गरी जनताको एजेण्डा सम्बोधन गर्ने हिसावले निकास खोज्नु जरुरी छ। नेतृत्व वर्गले यतिबेला पार्टीमुखीभन्दा पनि जनतामुखी राजनीतिक कार्यशैली अंगिकार गर्नुपर्छ। जनताको धैर्यतालाई मजाकको विषयवस्तु बनाउँदा नेताहरूले विश्वसनीयता गुमाउदै जाने छन्। जनताको साथ र समर्पणले निरङ्कुशताका जञ्जिरहरु तोडिइ लोकतान्त्रिक गणतन्त्र आएको कुरालाई नेतृत्वले भुल्नुहुँदैन। जनता धेरै पटक आशावादी बने। तर, उनीहरूको आशामाथि नेताबाट भने विश्वासघात भइरहेको देखिन्छ। त्यसले गर्दा जनताको सपना अधुरै रहदै आएको छ। यसैको कारण नेताहरुप्रति जनताको आक्रोश बढ्दै छ। यो मर्म र भावनालाई नेतृत्वले बेलैमा बु‰न सकेनन् भने नेतृत्वप्रति जनताको विश्वास समाप्त हुने छ।

प्रकाशित: ४ पुस २०६९ २२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App