६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

कस्तो नीति, कस्तो नेता?

मुलुक इतिहासकै जटिल मोडमा उभिएका बेला युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन ११-१३ मा वुटवलमा भइरहेको छ। अराजकता, हत्या, हिंसा, बलात्कार, महँगी र भ्रष्टाचार चुलिएका बेला भइरहेको यस अधिवेशनको आफ्नै महत्व छ। त्यसमाथि बारम्बारको बन्द-हडताल, दलहरूबीच आपसी घृणा, अविश्वास, आन्तरिक मतभेदजस्ता विषयवस्तुको पृष्ठभूमिमा हुन गइरहेको यो महाधिवेशनलाई सबैले चासोसाथ लिएका छन्। राज्यका अंगहरू कमजोर बन्दै गएको र सर्वसत्तावादी चिन्तन तथा प्रवृत्ति हावी भइरहेको अवस्थामा भइरहेको महाधिवेशनले कस्तो युवा नीति पारित गर्ला? विगतको वस्तुनिष्ठ समीक्षा गरी कस्तो कार्यदिशा तयार गर्ला? कस्तो नेतृत्व चयन गर्ला? यो बहसको विषय भएको छ।
युवाहरू सामाजिक परिवर्तनका संवाहक हुन, राजनीतिक परिर्वतनका सारथी पनि हुन्। हरेक निर्णायक आन्दोलनको नेतृत्व युवाहरूले नै गरेका छन्। देशमा पाँच दशकमा प्रायःजसो राजनीतिक उथलपुथल र परिवर्तन ल्याउने घटनाक्रम तथा आन्दोलन युवाहरूबाटै भएको देखिन्छ। तर, लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासमेत राज्यले युवाहरूको उर्जाशील शक्तिलाई व्यवस्थापन गर्न सकेको छैन। हरेक राजनीतिक पार्टीहरूले युवाहरूको त्याग, बलिदान र समपर्णलाई पदमा पुग्ने भर्या ङ बनाएका छन्। हरेक पार्टीमा युवाहरूलाई हेर्ने दृष्टिकोणमा संकीर्णता र अविश्वास छ। थुप्रै युवाहरूलाई पार्टीको जिम्मेवारीबाट टाढा राखिएको छ। नीति निमार्ण गर्ने निर्णायक ठाउँमा युवाहरूलाई अवसर दिँदै दिइन्न। नीति निमार्णमा युवाहरूको उपस्थिति भएन भने के युवानीति बन्न सक्ला? कदापि सक्दैन।
युवाहरूलाई जिम्मेवार नागरिकको रूपमा विकास गरी ऊर्जाशील, सिर्जनशील, सीपयुक्त बनाई उत्पादनमुखी बनाउन उनीहरूको ज्ञान, सीप र क्षमताको कदर गर्नुपर्छ। हरेक क्षेत्रमा युवाहरूको प्रवेश घट्दै गएको छ। पार्टीमा युवाहरूको प्रवेश यसरी नै घट्दै गयो भने अबको एक दशकमा राजनीतिक पार्टीहरू युवाविहीन बन्ने निश्चित छ। त्यसैले त आजका युवाहरूमा जताततै असन्तुष्टि छ, आक्रोश छ। त्यो आक्रोशको ज्वालाले कति बेला विष्फोटको रूप लिने हो, थाहा छैन। तसर्थ युवा श्रम र श्रमिक आन्दोलनका सन्दर्भमा प्रदीप ज्ञवालीले भनेझैं युवाको सर्वांगीण विकासमा लगानी बढाउँदै राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्न राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्न सक्नुपर्छ।
युवा परिचालन र सहभागिताका लागि परिवार तथा समाजसँग मिलेर काम गर्न राज्यले उपयुक्त नीति तथा संरचना व्यवस्था गर्नुपर्छ। युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रूपमा विकास गरी राष्ट्रिय स्वाधीनता रक्षा गर्नसक्ने बनाउनुपर्छ। राष्ट्र विकासमा युवा ज्ञान, सीप र क्षमताको उपयोग गर्ने वैज्ञानिक अन्वेषण र अनुसन्धानमा युवालाई प्रोत्साहन र प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई संवैधानिक ग्यारेन्टी गर्ने नीति बनाउन यो महाधिवेशन केन्द्रित हुनु जरुरी छ।
त्यसका लागि नेतृत्व वैचारिक संघर्षशील र जिम्मेवार हुनैपर्छ। संगठन भन्ने कुरा बुद्धि, विवेक, साहस र धर्यले चल्छ, विचारले चल्छ नि कि मुडभेडले! यतिबेला युवा संघमा बाहुबल र डनवादी चिन्तन बढ्दै जानु, विचार तर्क र विवेकशील पक्ष कमजोर बन्नु युवा संघभित्रका गम्भीर चुनौतीहरू हुन्। यस्तो अवस्थामा युवा आन्दोलनलाई सार्थक तुल्याउन वैचारिक निष्ठा चाहिन्छ। जबसम्म वैचारिक कार्यकर्ता निमार्ण गर्न सकिँदैन, तबसम्म संगठनभित्र अराजकता, उदण्डता, र बाहुबल हावी भइरहन्छ। वैचारिक, सैद्धान्तिक र राजनीतिक संघर्षको नाममा डनवादी शैली स्थापित गर्दै जाने हो भने संगठन कुनै न कुनै दिन समाप्त नहोला भन्न सकिँदैन। विगतमा केही हदसम्म माओवादीको डर-धम्की र त्रासलाई निस्तेज पार्न युवासंघले भूमिका निर्वाह गरेकै हो। तर, त्यसैको ब्याज भजाएर एमालेलाई टिकाएको भन्ने मनोविज्ञान अतिवादी हो। अबका कार्यकर्ताहरू वैचारिक बन्नैपर्छ। बाहुबलकै भरमा राजनीतिक खाल धान्न पाइने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ। आमसमुदायले खोजेको युवा संघ सामाजिक सुरक्षाको प्रत्याभूति दिनसक्ने रहरलाग्दो र भरलाग्दो संगठन हो। तर, डरलाग्दो होइन। क्षमता र कुशलता युवा आन्दोलनको लागि मस्तिष्क हो, इमानदारी श्वासप्रश्वास हो भने विचार चाहिँ मुटुको धड्कनजस्तै हो।
अन्त्यमा, पछिल्ला दिनमा युवा संघमा गलत मनोविज्ञानको विकास हुन पुगेको साँचो हो। जोसँग शक्ति, पद र पैसा छ, राजनीतिमा तिनैका कुरा बिक्ने प्रवृत्ति हावी भएको छ। त्यसको गम्भीर प्रभाव युवाहरूमा देखिन पुगेको छ। नेताहरूको निर्जीव गोटी बनेर कमिटीमा आउने र रातारात धनी बन्ने मनोविज्ञानले युवाहरूलाई गलत बाटोतिर डोर्यारउन पुगेको छ। चन्दा असुल्ने फिरौती, ठेक्कापट्टा सजिलो माध्यम बनेका छन्। टेन्डर खोलिएका ठाउँमा युथ फोर्सको बिल्ला लगाएर लाभ लिने प्रवृत्तिको विकास भएको छ। यो महाधिवेशनले त्यस्ता गलत चिन्तनको अन्त्य गर्नु जरुरी छ।

प्रकाशित: १२ फाल्गुन २०६९ २३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App