२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अलबिदा आनन्ददेव

अलबिदा क. आनन्ददेव भट्ट। भट्ट सर एउटा महाग्रन्थ हो। यो ग्रन्थ अध्यताका उचाइ र आग्रह अनुसार पढिनेछन्। उनी नेपाली वामपन्थी आन्दोलनमा एउटा अग्लो बौद्धिक, सांस्कृतिक सक्रियतावादी र प्रतिबद्ध माक्र्सवादी नाम हुन्। उनको साहित्यिक साधना र कर्मबारे चर्चा नगरी भट्टग्रन्थ पढ्दा म मूलतः चार विषयमा मात्रै केन्द्रित हुनेछु ।

१) योग्य शिक्षक  

नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका पक्षधर भट्ट सरले कलेजमा शिक्षक मात्र नभई जीवन र जगत्लाई बुझ्न सक्ने विद्यार्थी पनि उत्पादन गरे। चेतना भरे। क्याम्पसबाट सीधै वासस्थान नफर्की समाजमा पुग्थे। नौला विचारका नौला मान्छेमा चेतना भर्ने भट्ट सरले जहाँजहाँ अध्यापन गरे, त्यहाँ नौलो जनवादी क्रान्ति पक्षधर कार्यकर्ता उत्पादन गर्दै जीवनभर बौद्धिक र सांस्कृतिक योद्धा रहे।  

सानैदेखि भट्टलाई सुनेँ। काभ्रेमा जन्मी र चेतनाको कुर्कुरै बैँससँगै किशोरावस्था बित्यो। पञ्चायतीकालमा सत्ताले गरेको आदेशमा मात्र सोच्न हुकुम हुन्थ्यो। प्रवासमा चेतनाले मस्तिकलाई अझ खजमज्यायो, तिखार्‍यो। चितवन, भण्डारा एउटा माहाविद्यालय नै बन्यो। पश्चिम नेपाल विशेष गरेर बाँके–बर्दिया शेष युवापन र प्रौढता बिते र बित्दैछन्। जहाँ जान्छु त्यहाँ भट्ट सरका भूमिका र योगदान सुन्छु। अझ जनयुद्ध क्रममा देशलाई नांगा आँखा र खुला मस्तिकले हेर्ने, छाम्ने र सुमसुम्याउने मौका मिल्यो। 

किताबमा पढेको भूगोल, इतिहास र सामाजिक शिक्षाभन्दा त देश र समाज फरक पो रहेछ। किन समाजमा विभेद हुन्छ ? किन र कसरी मान्छे त्यसको प्रतिकार गर्दा रहेछन् भन्ने हेर्न र बुझ्न समेत पाइयो। पुग्ने थलोमा त्यहाँको प्रतिरोधी आन्दोलन, किताबमा रहेका सिद्धान्त दिमागमा उतार्ने प्रथम प्रहरका व्यक्तित्वका भूमिका खोतल्थँे। ओझेल पारिएका र इतिहासले वाणी नपाएका नायकका चिहान खोतल्थेँ। प्रशिक्षित अगुवासँग जिउँदा मान्छेका बात मारिन्थ्यो। धेरैजसो अग्रपंक्तिमा भट्ट सर भेटिन्थे।  

उनी निर्धारित पाठ्यक्रम र कलेजका कक्षा कोठामा मात्र सीमित थिएनन्। विश्वविद्यालयमै मात्र कैद हुने प्राध्यापक भएनन्। उनी त बौद्धिक गुरिल्ला थिए। मान्छेका दिमागमा बसेको विश्वास र त्यसले पैदा गर्ने आग्रह, आग्रहले पैदा गर्ने भूमिका फेर्न औधि मुस्किल हुन्छ। पुराना विश्वास त्याग्नु र नयाँ स्विकार्नु भनेको सँघार काट्नुजस्तै हो।योग्य शिक्षकले मात्रै सँघार कटाउन सक्छ। ज्ञान र शिक्षा वर्चश्वशाली तप्कामा सीमित रहेका बेला महान् शिक्षकले मात्र भुइँमान्छेमा नयाँ चेत फैलाउने जोखिम उठाउने गर्छन्, त्यस्तै शिक्षकमध्ये हो– आनन्ददेव भट्ट।  

२) असल सल्लाहकार

जनयुद्धको भूमिकाबाट मनोयुद्धको आर्कमा आउँदा सोच अनुसारको कर्म गर्ने बौद्धिकसँग भेट गर्ने र सिक्ने हुटहुटी चल्यो। विद्रोहले समाज र पार्टीमा नयाँ सपना देखाउँदा चौतर्फी महत्वाकांक्षा पलाए। इतिहासले संघार नै छिचोलेर गणतन्त्रात्मक मुलुक बनेको थियो। कित्ताबन्दीकै आधारमा आग्रह मौलाउँदा सोचका पनि पक्षधरता हुन्छ नै। वामपन्थी संवेदनशील बुद्धिजीवीले जनयुद्धलाई कसरी हेरेका छन् भनेर केही नाम टिपेँ। त्यसमा भट्ट सर पहिलो लहरमा थिए।  

जनयुद्धमा समावेश भएका अधिकांश नेता र अगुवा कार्यकर्ताका पुस्तक त्यसवेलासम्म बजारमा छ्यालब्याल भइसकेका थिए। गम्भीर युद्धकथा र कविता पनि थिए। सबैभन्दा ज्यादा पत्रिका र रेडियो माओवादी सँगै थियो। अब त ती कथामा रहे। खगेन्द्र संग्रौलाकै शब्दमा भन्नुपर्दा– सबभन्दा ज्यादा लेखिने र सबभन्दा कम पढिने माओवादी कित्ताका लेख र पुस्तक हुन् ।’ मनोयुद्धको आर्कमा माओवादीतर्फ योग्य र बौद्धिक सिपाही कम थिए। युद्ध मैदान, युद्धका समय र मौसम अनुसार योद्धा र हतियार छान्नु सेनापतिको काम हुन्थ्यो। सिंहदरबारकोे म्याराथुनमा सामेल भएपछि जसोपर्ला त्यसै टर्ला भनेर त्यता ध्यान दिइएन।  

भट्ट सरसँग सशरीर भेट झांगिँदै गए। गौरवताका धरहरा ढल्दै थिए, आदर्शले गिज्याइरहेको थियो। के तिमीहरूले नै यत्रो जनयुद्ध त लडेकै हौ ? समय र समाजले प्रश्न उठाइरहेको बेला थियो। भलाकुसारी हुँदै गए। वैचारिक प्रतिक्रान्तिको समयमा अनुभवको सँगालो अग्लो बौद्धिकसँग भेटिनु गर्विलो क्षण हुन्थ्यो नै। बूढो शरीर, तरुणो दिल र दिमाग। अध्ययन गरेर नअघाउने समालोचकीय चेत। सपनाले व्यावहारिक रूप लिइरहेका बेला परिवर्तनले संस्थागत रूप लिओस् भन्ने सावधानी राख्दै खुसी नै देखिनुहुन्थ्यो। चेहरामा शालीनता र चमक थियो।  

एउटा कुशल समालोचक, असल सल्लाहकारले भने, ‘हामी त जनयुद्धका किनाराका साक्षी मात्र रह्यौँ, तपाईं त महासमरमा हेलिएको हो। हामीजस्तालाई जनयुद्धको वास्तविक विवेचन र गम्भीर साहित्य पढ्ने धोको छ, के त्यता काम त गर्दै हुनुहुन्छ ?’

– गर्दैछु, तर विचारलाई पठनीय बनाउन औधि गाह्रो पर्दो रहेछ। यहाँको कुराले प्रोत्साहित भएको छु।  

‘अँ, म तपाईंलाई पढ्छु तर तपाईंका लेख, लेख भएका छैनन्। लेख्न थाल्दा आफ्ना पाठक को हुन्, कसलाई र किन लेख्दैछु भनेर हेक्का राख्नुपर्छ। तपाईंका भाषा सरल र सहज छैनन्, जटिल छन्। गम्भीर कुरा पनि सरल भाषामा लेख्न र भन्न सकिन्छ नि ।’

त्यो म र मजस्ता लेखकलाई गम्भीर सल्लाह थियो। गुरुवाक्य। ओहो कति सरल र सहज तरिकाले कटुआलोचना गर्न सकेको !  

३) प्रतिबद्ध बुद्धिजीवी  

भट्ट सर र भट्टहरूबारे सोच्दा किन यस्ता कुलीन, धनाढ्य, पढेलेखेका र बुद्धिको महामन्डी, बजारको चकाचौँधमा सजिलै बिक्न सक्ने ‘उम्दा माल’ परिवर्तनको आन्दोलनमा होमिएर दुःखकष्ट उठाउँछन् ! बौद्धिक चेत बन्छन् ! यिनीहरूलाई के पुगेको थिएन र प्रतिबद्ध बुद्धिजीवी बन्छन् ! समयसँगै त्यसका उत्तर पाउँदै गइयो– जन्मका लागि कसैले पनि आफ्नो वर्ग, कोख र भूगोल छान्न सक्दैन तर आफ्नो सोचमाथिको रजाइँ आफैँ गर्न थालेपछि भने कर्ममाथि हैकम जमाउन पाउँछ।  

जाग्राममा आशा हुन्छ, त्यही निद्रामा भने सपना हुन्छ। जबसम्म हामी जीवन र जगत्लाई वैज्ञानिक तरिकाले बुझ्दैनौँ, तबसम्म हामी अज्ञानी नै हुन्छौँ। अझ समालोचना/आलोचना लेख्न त सार्वजनिक चुनौती दिनु हो, चाटुकारिता कोही पनि सहजै गर्न सक्छ। वर्ग र चिन्तन रूपान्तरण गर्ने हिजाका नायक कर्कलाको डाँठझैँ गलेका बेला आफ्ना विश्वास र भूमिकाको निरन्तरता र पक्षधरता उनको परिचय बन्यो। उनले सोच र कर्मको मूल्य तिरे। चिन्तन र कर्मलाई एकाकार गराउन प्रतिबद्धताले मात्रै सक्छ। त्यो प्रतिबद्धता ट्रेडमार्कसँग मात्रै नभई विचारसहितको संगठनसँग हो। समयमै समयलाई चिन्ने सोच बनाए, जनमत सिर्जना गर्न बौद्धिक कर्ममा आयु खर्चिए। आँधीबेरीका विरुद्ध विचारलाई नवमान्छेको दिमागमा राख्न सफल हुँदै गए। 

कृत्रिम डर पैदा गर्ने शक्तिविरुद्ध मान्छेमा रहेको असीम क्षमता बोध गराउने बाटो रोजेपछि मात्रै थोरै मान्छे व्यक्तिबाट व्यक्तित्वमा फेरिन्छन्। एकाध दिन वा वर्ष निष्ठाको सोच राख्नु, पछ्याउनु अनुयायी हुनु सामान्य कुरा हो, तर विचारले निर्देशन गरेको ८५ वर्षको जिन्दगी बिताउनु चानचुने कुरा होइन। अधिकांश बुद्धिजीवी प्रतिकूलतामा आदर्शको झन्डा उठाएर क्रान्तिका हुँकारलाई वाणी दिँदै भीडलाई मान्छेमा फेर्न, कायरलाई बहादुर बनाउन र भुइँमान्छेलाई नायकमा र्फेर्न लाग्छन्। तर समय र परिस्थितिसँगै आफैँ फेरिँदै जाँदा जे विषयको ऊ प्रवक्ता बनेको थियो, कालान्तरमा त्यसैको महादुश्मनसम्म समेत बन्न पुग्छ। मन्डीमा सहजै बिक्री समेत हुन्छन्। संसारकै उदाहरणजस्तै नेपाली कम्युनिस्ट आन्दोलनको नांगा यस्ता चित्र र चरित्र २०१२ देखि २०७६ सम्म छताछुल्ल भए।  

४) चुनावमा सामेल नभएको भए हुन्थ्यो  

जनयुद्ध चलिरहेका वेला भट्ट सर पुर्खौली थलो बैतडीमा संसदीय चुनावमा हेलिए। एक प्राज्ञिक व्यक्तित्वलाई चुनावी तिकडम थाहा नहुनु स्वाभाविकै थियो। अर्कातर्फ सामन्ती संस्कृतिमा बाहुनकुलको कुलीन सहरियाले कम्युनिस्ट पार्टीको झन्डा उठाउनु त्यो समाजका लागि हस्तक्षेप पनि भयो। त्यो समाजमा अपाच्य र युद्धको ललकार समेत थियो। चितवन, धरान, धनकुटाजस्तो उनको कर्मथलो नभई बैतडी त पुर्खौली थलो मात्र थियो। 

सामान्यजनलाई भट्ट सरको उचाइको मर्म थाहा नहुनु स्वाभाविकै हो। बाँदरलाई के थाहा अदुवाको रस ! नेपालकै एउटा अग्लो बौद्धिक व्यक्तित्वलाई बैतडीको चुनावा २०५१ र ०५६ मा हराइयो। संसद्मा लैजानै थियो भने एमालेले राष्ट्रियसभामा लैजान सक्थ्यो। तर, आलोचनात्मक चेत भएका र पार्टीमा गुटको पछ्यौरी नओढेका वास्तविक बुद्धिजीवीसँग त शक्ति आतंकित हुन्छ नै। भट्ट सरको योग्यता, दक्षता, आवश्यकता भनेको अझ साहित्य, संस्कृति र कला क्षेत्रको प्रज्ञा प्रतिष्ठानको नेतृत्व हुन सक्थ्यो। उनले पनि किन चुनाव स्विकारे, बुझ्न सकिएन।  

प्रश्न एमाले मात्रै हैन, त्यस्तै नेपाली कांग्रेसले गरेको ‘सम्मान’ पनि नियालौँ– तीन देश सिंगापुर (जापान), भारत (अंग्रेज) र नेपाल (राणाशाही)ले फाँसीका सजाय घोषणा गरेका जनमुक्ति सेनाका संस्थापक उपाध्यक्ष दिलमान सिंह थापालाई नेपालगन्ज नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवारी दिलाएर हरायो। प्रतिरोधी आन्दोलनका प्रतीक बनेका रूपचन्द विष्ट र पद्मरत्न तुलाधरले विजय प्राप्त गरे पनि गम्भीर खाले साहित्यकार, विचारक र व्यक्तित्वले संसदीय चुनावी अभ्यासमा यस्तै नियति व्यहोर्नुपर्छ। भारतकै उदाहरण हेरौँ– मणिपुरको स्वाभिमानका लागि विश्वख्यिात अर्थात् १५ वर्ष सत्याग्रही इमाम शर्मिला चमुले मात्र संसदीय चुनावमा ९२ मत पाइन् भने विख्यात साहित्यकार प्रो. रघुवीर सहायको (फिराख गोरखपुरी) र फणिन्द्रनाथ रेणुले समेत धरौटी बचाउन सकेनन्। त्यो अवस्था भट्ट सरले पनि व्यहोर्नुपर्‍यो ।

प्रकाशित: १५ भाद्र २०७८ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App