५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

लोकतान्त्रिक समाजवाद नै किन?

दुनियाका महान् चिन्तकहरु आइन्स्टाइन, बर्टेन्ड रसेल र ओशो रजनीशदेखि बीपी कोइरालासम्मले आफ्नो जीवनभर वैयक्तिक स्वतन्त्रताको पक्षमा जोडदार वकालत गरे। आइन्स्टाइनको भनाइ थियो– 'स्वतन्त्रता सिर्जनशीलताको आधार हो। व्यक्तिगत, राजनीतिक र व्यावसायिक स्वतन्त्रतामा कुनै पनि सत्ताले बाधा पुर्‍याउनुहुँदैन।'
दुनियाँको कुनै पनि महाज्ञानी व्यक्ति स्वतन्त्रताको विपक्षमा हुनै सक्दैन। किनकि स्वतन्त्र वातावरणविना व्यक्तिभित्र ज्ञान र प्रतिभाको शक्तिशाली बिस्फोट असम्भव छ। स्वतन्त्रताको ग्यारेन्टी लोकतान्त्रिक राज्य व्यवस्थाले गर्छ। लोकतन्त्रले प्रत्येक व्यक्तिको जीवनको सम्मान गर्छ। प्रत्येक व्यक्तिको जीवन मूल्यवान छ भन्ने कुरामा विश्वास राख्छ। व्यक्तिभित्र निहीत सबै प्रकारका सम्भावना बाहिर निकाल्न स्वीकृति दिन्छ।कुनै पनि खालको अधिनायकवाद सिर्जनाको सत्रु हो। त्यो व्यवस्थाभित्र पनि सिर्जना त हुन्छ तर त्यो सिर्जना त्यहाँको अधिनायकवादी सत्तालाई समर्थन गर्ने गरी सिर्जित भएको हुनुपर्छ। यदि कुनै कला, विज्ञान वा साहित्यको सिर्जना त्यस्तो सत्ताको विरुद्धमा गयो भने सर्जकको ज्यानसमेत खतरामा पर्न सक्छ। यसर्थ निरंकुश व्यवस्थाभित्र सिर्जना गर्न चाहने व्यक्तिले डराइ–डराइ सिर्जना गर्न खोज्छ। जसका कारण सुन्दर सिर्जना हुनै सक्दैन। भयरहित वातावरणमा मात्रै शक्तिशाली सिर्जना हुने हो।
विश्वमा कहलिएका ज्ञानी व्यक्तिमध्ये सायद कार्ल मार्क्स मात्रै त्यस्ता व्यक्ति हुन् जसले अधिनायकवादको पक्ष लिए। कम्युनिष्ट पार्टीको घोषणपत्रमा मार्क्स गर्वका साथ सर्वहारा वर्गको मुक्तिको नाममा सर्वहारा वर्गको अधिनायकवादको पक्षमा उभिए। तर एक ठाउँमा उनको आफ्नै एउटा भनाइ रहेछ– 'समानतासँग स्वतन्त्रता साट्न भने मिल्दैन।' के उनी पनि साँच्चै स्वतन्त्रताको पक्षमा थिए त? यदि थिए भने किन उनले ठाउँठाउँमा अधिनायकवादको पक्षमा वकालत गरे? विश्वभर उनका अनुयायी किन मार्क्सवाद भन्दै बन्दुकको आडमा एकदलीय अधिनायकवाद स्थापना गर्न तम्सिए? कार्ल मार्क्स जस्तो मान्छे मजदुर र किसानलाई मुक्त गराउने नाममा कसरी अधिनायकत्वको पक्षमा खडा भए आश्चर्य लागेको छ। दुनियाका महान् व्यक्तिहरुले गर्ने गल्तीमध्ये सम्भवतः मार्क्सको पनि त्यो एउटा गल्ती हुनुपर्छ। श्रमिक वर्ग अत्याधिक शोषणमा परेको पाएपछि सायद उनले स्वतन्त्रताको महानतालाई कम मूल्य दिए तर यदि आज कतैबाट मार्क्स टुप्लुक्क यस धर्तीमा आइपुगे भने उनले आफ्नो विचारलाई सम्भवत परिमार्जन गर्नेछन्। किनकि आजको समय ऊनको समयभन्दा बिलकुल भिन्न भइसकेको छ।
मार्क्सका पालामा जस्तो किसान र मजदुर चरम शोषित अवस्थामा छैनन्। धर्तीका अधिकांश मान्छे निर्विकल्प स्वतन्त्रताको पक्षमा छन्, लोकतान्त्रिक पद्धतिमा रमाइरहेका छन् केही अज्ञानी व्यक्तिको झुण्ड वा संगठनबाहेक। ऊनले अनुमान गरेजस्तो अमेरिका, इङ्ल्यान्ड वा जर्मनीमा सशक्त सर्वहारा क्रान्ति भएको छैन। बरु उनको अपेक्षाविपरित सर्वहारा क्रान्ति जबर्जस्तीरूपमा गराइयो तत्कालीन कृषिप्रधान रसिया, चीन जस्ता मुलुकमा। २२/२३ वटा मुलुकमा स्थापित कम्युनिष्ट सत्ता आज खास चार वटा मुलुकमा मात्र सीमित छ। क्रान्तिको समयमा लाखौं मानिस मर्नुपर्योू। के मार्क्सले यस्तो सोचेका थिए? उनको अनुमान थियो– पुँजीवाद उत्कर्षमा पुगेपछि क्रान्ति स्वस्फूर्तरूपमा घट्नेछ यसको सफलताका लागि स–सानो धक्का दिनुपरे पनि ठूलो संख्यामा मान्छे मर्नुपर्दैन। हाल कम्युनिष्ट सत्ता स्थापित मुलुक पनि पुँजीवादकै बाटोमा हिँडेका छन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई मन नलाई–नलाई भए पनि एकपछि अर्को गर्दै स्वीकार्न बाध्य बनेका छन्। स्वतन्त्रताबिना आफ्को सत्ता लामो समय टिक्न सक्दैन भन्ने कुरा अब उनीहरुले बुझ्न थालेका छन्। यसैले पनि मार्क्स पहिलेका आफ्ना कैयौं विचारमाथि पुनर्लेखन गर्ने बाध्यतामा पर्नेछन्।
कुनै पनि अधिनायकवादको उद्देश्य हुन्छ– मानिसको विचारलाई आफूअनुकूल ढाल्न बाध्य पार्ने। सन् १९२२ मा मुसोलिनी इटालीको प्रधान मन्त्री बनेपछि सबै क्षेत्रमा फासिष्ट व्यक्ति नियुक्त गरे। विद्यालय र विश्वविद्यालयमा फासिष्ट शिक्षकले फासिष्ट शिक्षा दिने भए। प्रत्येक विद्यार्थीले मुसोलिनीको प्रशंसा गर्नुपर्ने भयो। फासिष्ट पत्रिकाबाहेक अन्य पत्रिका बन्द गराइए। नागरिकको सोचलाई संकुचित पार्ने यी र अन्य कूटनीति अपनाइए। विरोधी जतिलाई सखाप पारियो। जर्मनीमा हिटलरले पनि चान्सलर बनेपछि यस्तै शैली अपनाए। सन् १९४९ पछि चिनिया क्रान्तिपछि माओले पनि त्यस्तै गरे। चीनका विद्यार्थीले माओका कृति अनिवार्य पढ्नुपर्ने भयो। विद्यार्थीलाई मार्क्सवादी शिक्षा अनिवार्य गरेर उनीहरुको सोचलाई एकतर्फी बनाउन लागियो। सांस्कृतिक क्रान्तिको नाममा देशभर अन्य लेखकका पुस्तक जलाइयो। धर्म, दर्शन र अध्यात्मका पुस्तकमाथि प्रतिबन्ध लगाइयो। यसरी शिक्षामाथि आक्रमण गरेर व्यक्तिका सिर्जनात्मक सम्भावनाको मृत्यु गराइन्छ। मनुष्य जिन्दगीलाई मूल्यहीन ठानिन्छ। तर मनुष्यको एउटा स्वभाव हुन्छ– अपमानविरुद्ध प्रतिरोध गर्ने। ढिलो वा चाँडो यस्तो व्यवस्थाको विरुद्ध ज्वाला दन्किन थाल्छ। उकुसमुकुस र छटपटीको यस्तो अवस्थाबाट मान्छे मुक्त हुन चाहन्छ। यसैले विश्वभरका तानाशाहको सत्ता केही समयपश्चात नै पतन भएको देखिन्छ। हाल कायमै रहेका केही ठाउँमा पनि पतन हुने क्रम जारी छ।
मदन भण्डारी बडो बुद्धिमान थिए। उनले यस तथ्यलाई राम्रोसँग बुझे। र, नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व रक्षाका लागि आफ्नो सिद्धान्तमा लोकतन्त्र जोडे। नेपालमा कम्युनिष्ट पार्टीले आज जुन लोकप्रियता हासिल गरेका छन् त्यसको कारण लोकतन्त्र स्वीकार्नु थियो। एकदलीय व्यवस्थाको सपना बोकेर युद्ध थालेको अहिलेको एमाओवादीले पनि ढिलै भए पनि लोकतन्त्रको अनिवार्यता बुझ्ने हिम्मत गरेको छ।
हो, लोकतन्त्रले प्रत्येक व्यक्तिको क्षमताको कदर गर्छ। यसले बुद्धलाई आफूसँगको ज्ञान समाजभर वितरण गर्न अनुमति दिन्छ। एडिसनलाई प्रयोशालाभित्र वा बाहिर कुनै पनि आविष्कार गर्न अवरोध खडा गर्दैन। सेक्सपियरलाई कुनै पनि प्रकृतिको कृति रचना गर्न भय देखाउँदैन। तर यो नै सबै चीज होइन। यहाँ सक्नेका लागि मात्रै सबै अवसरका बाटो खुला हुन्छन्। सबै व्यक्तिको क्षमता समान ढंगको पनि हुँदैन। चलाख व्यक्तिले निर्धो व्यक्तिलाई दमन गर्छ, गरेको छ। धनी र गरिबबीचको लामो दूरी अझ तन्किँदै गएको छ। मनुष्यबीचको यो विशाल दूरी कम गराउने व्यवस्था हो समाजवाद। लोकतन्त्रले बढी अधिकार दिन्छ, समाजवादले बढी दायित्व बोध गराउँछ। लोकतन्त्र एकलकाटेपनामा केन्द्रित हुन्छ भने समाजवादले सामूहिकतामा जोड दिन्छ। आज कोही बढी खाएर मर्ने र कोही खानै नपाई मर्नुपर्ने अवस्था छ। गरिबका बालबच्चा कुपोषणको सिकार भएका छन्। मानिसको सामूहिक विकास, सामूहिक उपभोग, करिब समान आर्थिक हैसियत र समान अवसरको ग्यारेन्टी गर्छ समाजवादले। समाजवादी लोकतन्त्र एउटा उत्कृष्ट राजनीतिक व्यवस्था हो। जहाँ व्यक्तिको सिर्जनात्मक विकास र सबैका लागि समान अवसरको सुनिश्चितता सँगसँगै हुन्छ। बीपीले चाहेको लोकतान्त्रिक समाजवाद पनि सम्भवतः यही थियो।

प्रकाशित: १६ भाद्र २०७१ २०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App