६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

मीठो स्याउ, अमिलो मन

शुक्रबारको दिन डेरामा फर्कंदा घरपेटीको छोरा, उनी जुम्लाको मेरो सानो साथी, पारसले आफ्नो स्याउको बगैंचाबारे कुरा गर्दैथियो। मैले तत्कालै उनलाई भोलि बिहानै उसको स्याउ बगैंचा घुम्न जाने प्रस्ताव राखें। हाम्रो योजना तुरुन्तै बन्यो।शनिबारको दिन बिहान साढे छ बजे नै मेरो सानो साथी पारस र म चिया खाएर बगैंचा जाने बाटो समायौं। बाटोमा हिलो होला भनी दुवैले गमबुट लगाएका थियौं। बगैंचा हेर्ने मनमा अनेक उत्ताल तरंग र स्याउ आफँै टिपेर खाने लालसाका साथ मालाभिडदेखि ठाडो उकालो चढ्न थाल्यौं। मलाई पारसको पाइला भेट्टाउन मुस्किल भइरहेको थियो। नाङ्गो डाँडोको त्यो उकालोमा नाकबाट मात्र नभ्याएर सास छिटोछिटो मुखबाट भित्र–बाहिर गर्न थालेको थियो। तरै पनि बीचबीचमा धेरै पटक रोकिएर सासलाई निकास दिनुपर्योट। यही बेला पछाडि फर्केर हेर्दा खलङ्गा बजार, तिला खोला, एयरपोर्ट, डाँडाहरू साह्रै सुन्दर देखिएका थिए। त्यहीँ बसेर हेरिरहुँ जस्तो। 
नाङ्गो डाँडो छिचोलेपछि सल्लाको जंगलभित्र छिर्यौं । म भने बाटोमा भेटेजति स्याउको भारी लिएर फर्केका महिलासँग बोल्दै गएँ। पारसका सबै आफन्तको उतैतिर बगैँचा र जग्गा रहेछ। उनी भेटेका महिलाको साइनो देखाउँदै जान थाले। माथि बगैंचाबाट तल झर्नेमा केटाहरू २–४ जनामात्र खाली थिए बाँकी सबै महिला, युवती तथा साना नानीहरूसँग आफूभन्दा ठूला भारी थिए। बिहान ७ बज्दा ८० किलो जतिको स्याउ टिपेर, भारी बनाएर तल झरिसकेकाहरू कति बेला उठेर गएका होलान्? जुम्लामा गरिखाने महिला एक जना पनि मोटोघाटो देखिनँ। मात्र ४०–४५ किलोका महिलाले आफूभन्दा ठूलो ८० किलोको भारी कसरी बोक्न सके? अचम्म लाग्यो। त्यो पनि ठाडो ओरालो, त्यत्रो भारीले थिच्ने गरी कसरी झरे होलान्? जिउ नै सिरिङ्ग भयो। फेरि अँध्यारैमा जंगल जाँदा विशेषगरी नानी तथा युवती कत्तिको सुरक्षित हुन्छन् होला भन्ने पनि लागिरह्यो। विस्तारै पारसलाई सोधेँ– यहाँ डरलाग्दो हुँदैन? उनले बालसुलभ हिसाबले सहजै उत्तर दिए– यहाँ कहिलेकाहीँ भालु आउँछ अरु डर हुँदैन। मलाई लाग्यो– महिलालाई जनावरको भन्दा ठूलो डर त राक्षस स्वभावका मान्छेको पो हुन्छ भन्ने कुरा पारसले कहिले बुझ्ला? अनि चूपचाप उनलाई पछ्याएँ।
पछि थाहा पाएँ, महिलाको महिनावारी हुँदा २ दिनसम्म फलफूलको बोट छुन नहुने रहेछ, बिरुवा तथा रुख सुक्ला भनेर। त्यसैले त्यो बेला केटाहरू वा साथीहरूले फल टिपिदिँदा रहेछन् तर महिनावारी हुँदा पनि भारी भने बोक्न हुँदोरहेछ। स्याउ टिप्न गएका केटाहरू पनि भारी बोक्दा अरुले गिज्याउँछन् भनेर खाली फर्किएको देखेर गाली पनि गरेँ। शनिबारको दिन फुर्सदका केटाहरू २–४ जना मिलेर सँगै भारी बनाएर महिलालाई सहयोग गर्ने हो भने अरुले पनि गर्न थाल्थे। यो मौसममा खलंगाबाट जुनै दिशातिर लागे पनि स्याउका ठूला ठूला भारी बोकेका महिला मात्र भेटिन्छन्। लाग्छ– जुम्लामा पुरुष नै छैनन् अथवा महिलाले झैं पुरुषमा ८० किलो भारी बोक्ने बर्कत पो छैन कि?
हामी माथि लाग्दै गयौँ, डाँडाको माथि सानो चौर जस्तो मजाको ठाउँ आयो। त्यसलाई “घाम ताप्ने” भन्दा रहेछन्। शायद जाडोमा त्यहाँ घाम ताप्ने गर्छन् होला सबै। डेढ घण्टा हिँडेपछि बल्ल “मेलखाने” पुग्यौं जहाँ पारसको बगैंचा छ। त्यहाँ स्याउ फलेको देखेर मेरो त आँखा ठूलो भई सासै अड्कियो। रुखबाट लगातार ४ दाना स्याउ टिपेर खाएँ, पेटै भरियो। बोटले थाम्नै नसकेर भुइँमा लत्रेको रातै स्याउका बुटाहरू देखेर यति खुसी लाग्यो कि काठमाडौंका परिवार, साथीहरू सम्झन थालेँ। र, त्यहीँबाट फोन गर्दै स्याउको वर्णन गर्न थालेँ स्याउ टिप्दै खाँदाको रमाइलो।
जुम्लाको मीठो स्याउ त खाएँ त त्यही स्याउले जुम्लामा महिलाको कार्यबोझ बढाएको देख्दा छिनमै मन खिन्न भयो। स्याउ हुन्थेन भने अँध्यारोमै उठेर स्याउ टिप्न टाढा टाढा बगैँचासम्म जाने र आफूभन्दा ठूलो भारी बोक्ने गर्नुपर्थेन होला जस्तो लाग्यो। खैर, महिलाले यसरी पसिना बगाएर कमाएको पैसामा कति प्रतिशत महिलाको आफ्नो नियन्त्रण हुन्छ होला? निश्चय पनि बहुसंख्यक पुरुषले स्याउबाट आएको आम्दानीमाथि नियन्त्रण राख्दा हुन्। ती महिलाले दुःख गरेको देख्दा, एउटा ज्यामीलेभन्दा बढी (ज्यामीले ८ घण्टामात्र काम गर्छ) काम गर्नुपरेको देख्दा मन साह्रै निचोरियो। पुरुषले बाहिर चिया पसल वा कतै मनोरञ्जनमा भुल्नुको साटो महिलाको काँधमा काँध मिलाउने हो भने महिलालाई पनि अलि हल्का हुने थियो। घर पनि सुन्दर हुन्थ्यो। आखिर महिला पनि त मानव शरीर धारी नै हुन्। बाटोमा एउटी महिलालाई “कत्ति ठूलो भारी बोकेको” भन्दा उनको जवाफ थियो– “हाम्रो शरीर रबरको हो नि।” यो उत्तरले सिधै मेरो मनमा मात्र नभई आँखामा समेत आक्रमण गरेको थियो अनि मेरो दिमागले भन्यो– तिमी रबरको होइन, इस्पातकी हौ।
पारसकी आमाले हिजोमात्रै २.५ क्वीन्टल स्याउ बेचेको सुनाएकी थिइन्। हेर्दै ट्वाक्क भाँच्चिएला जस्ती लिखुरी मम्मीले महिनावारी भएको बेला यत्तिका स्याउ बोक्दा उनको जीउ के भयो होला? पक्कै पनि उनले कमाएको पैसा त घरै लग्छिन्, बाहिर एक कप चियासमेत नखाएर। यो आम्दानीले पुरुषलाई निकै सजिलो बनाएको हुँदो हो तर उनी बिरामी परिन् वा ओखतीमूलो गर्नुपर्यो वा रुखो खाना र कामको बोझले पाठेघर खस्यो भने त त्यसरी दुःख गरी कमाएको पैसा त अस्पताल पो जाला भन्ने सम्झेर डर लाग्यो। म यही भावनामा पौडँदै थिएँ, पारसले दिदी स्याउ टिपेर लानूस् कोठामा खानलाई भन्दा झसंग भएँ। मेरो मन त्यसै ती बाटोमा भेटिएका महिलाको स्याउ भारीले अमिलो भइसकेको थियो। त्यसैले मैले पारसलाई भनेँ– “हेर रुखमा भएको जहिले टिपे पनि हुन्छ, महिलाको मेहनत परेको खेर फाल्नुहुँदैन” भन्दै उसको मम्मीले भुइँमा छुटाएर गएको र अलि अलि दाग भएर छाडेका स्याउ जम्मा गर्न थालेँ। रुखको पनि माटोमा लत्रेको मात्र स्याउ टिपेर सानो झोला बनाएँ। पारस छक्क पर्योम। उसको पनि सानो भारी थियो। अब हामी दुवै गफ गर्दै फर्कन थाल्यौं। लाजै मर्दो, हामीलाई ती सानो झोला पनि भारी लागेको थियो।
घर आइपुग्दा पारसको मम्मीलाई मैले बोटको स्याउ बचाएर भुइँको माटो लागेको स्याउमात्र ल्याएको र त्यसको कारण जुम्लामा महिलाको दुःख देखेर हो भनी सुनाउँदा उनी साह्रै भावुक भइन्, निशब्द भई “च्व.. च्व..” मात्र गरिन्। मेरो भने जुम्लाको मीठो स्याउ खाए पनि मनचाहिँ अमिलो भइ नै रह्यो।

प्रकाशित: २९ भाद्र २०७१ २१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App