८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

जिउँदै जलाइएका महिला

रिहाना शेष ढपाली अहिले नयाँ जीवन जिउँदै छिन्। बाँके लक्ष्मणपुरकी २५ वर्षिया रिहानाले मृत्युलाई पनि जितिन्। तथापि, मृत्युसँगको लडाइँले भने उनलाई झस्काइरहन्छ। पति फरिद शेषले गत चैत ३ गते रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए।  विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको निहुँमा उनीमाथि त्यस्तो दुर्व्यवहार गरिएको थियो । सासु, ससुरासमेतको उक्साहटमा रिहानालाई उनका पतिले जलाएको पुष्टि भइसकेको छ। शरीरको तल्लो भाग पूरै जलेर सख्त घाइते रिहानालाई औषधीउपचारको साटो २ दिन थुनेर राखियो। माइतीपक्षले थाहा पाएपछि घटना सार्वजनिक भयो। रिहानाको पेटमा रहेको बच्चासमेत खेर गयो। सहृदयी व्यक्ति र संघसंस्थाको पहलमा ६ महिना काठमाडौँमा उनको उपचार भयो। पूर्ण निको हुने दिनको प्रतीक्षामा रहेकी रिहाना आफ्नो पुनर्जन्म भएको बताउँछिन्। दोषी पति र सासु, ससुरा अझै फरार छन्। ज्यान मार्ने उद्योगअन्तगर्त मुद्दा दर्ता गरेको बाँके प्रहरीले खोजतलासको लागि हरप्रयत्न गरिरहेको बताउँदै आएको छ। 
जयसपुर–२ निवासी चाँदनी (चन्दा) सल्मानीलाई उनको देवरले जलाइदिए। दाजु, भाइको विवादमा देवर सद्याम सल्मानीले आफ्नै भाउजु र भतिजा, भतिजीमाथि पेट्रोल खन्याइदिए। घरमै सुतिरहेका भाउजु र ३ नाबालकलाई आगो लगाइँदा बाबु मेराज र आमा नुरजहाँ मुकदर्शक बने। घाइतेलाई स्थानीय भेरी अञ्चल अस्पताल हुँदै राजधानी पुर्यााइयो। कान्ति बाल अस्पतालमा उपचारकै क्रममा निर्दोष ३ वर्षीय रियाजुल र ५ वर्षिया मर्यमको मुत्यु भयो। घटनासँग कुनै सरोकार नभएका भतिजा, भतिजीले आफ्नै काकाको हातबाट मुत्युवरण गर्न पर्यो । अहिले सद्याम पुर्पक्षका लागि कारागारमा छन् भने सासु, ससुरा अदालतको आदेशपछि धरौटीमा छुटेका छन्। 
यस्तै खासकारकाँदो –२ निवासी हेमकुमारी धोवीले पतिलाई बचाउन खोजिरहँदा आफूलाई भने जोगाउन सकिनन्। गत असोज २६ गते आगोले जलेर सख्त घाइते २५ वर्षिया धोवीको केही दिनअघि उपचारकै क्रममा राजधानीमा मृत्यु भयो। खाना पकाउँदै गर्दा आगो लागेको बताए पनि घटनास्थलको अनुसन्धानमा त्यस्तो नदेखिएपछि प्रहरीले श्रीमान् गयाप्रसादलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। 
जलाइएका हृदयविदारक यी प्रतिनिधि घटना बाँके जिल्लाका हुन्। महिलामाथि घरेलु हिंसाको जगजगी भइरहेका बेला बाँकेमा भएका पछिल्ला घटनाले सिंगो मुलुकको ध्यान तानेको छ। वैशाख महिनायताको अवधिमा मात्रै महिलामाथि ७ वटा आगलागीका घटना भएका छन्। यस्तै प्रकृतिका तर सार्वजनिक हुन नसकेका (शंकास्पद/रहस्यमय) घटना जोड्ने हो भने यो संख्या अझै बढ्ने देखिन्छ। गुपचुप त कति छन्, त्यसको कसले लेखाजोखा गर्ने? अहिलेसम्म सार्वजनिक भएका आगो लगाइएका घटनाबाट मुस्लिम र मधेसी महिला बढीमात्रामा पीडित देखिएका छन्। यी समुदायका महिलामाथि भएका घरेलु हिंसाका घटना सकभर बाहिर आउँदैनन्। अहिलेसम्मका घटनाको प्रकृति हेर्दा जलाउने कार्यमा श्रीमान् वा परिवारका सदस्य नै संलग्न रहेको पाइएको प्रहरीको तथ्यांक छ। वास्तविकता सार्वजनिक गरे उपचार नगरिदिने, घर निकाला गरिदिने र विष पिलाएर मारिदिने जस्ता धम्की दिएर पनि घटना सामसुम पार्ने प्रयत्न गरेको पाइन्छ। परिवारका अग्रजले नै घटना लुकाउने, संलग्नलाई कारबाहीको साटो उन्मुक्ति दिने प्रपञ्च रच्ने, पीडितलाई उपचार/न्यायको सट्टा थप मानसिक दबाबमा राख्ने गरेको पाइएको प्रहरीकै भनाई छ। अधिकांशः घरेलु हिंसाको घटना सोही समुदायका मानिस बसेर दबाबमा मिलाउने गर्ने गरिएको पनि देखिन्छ। घटना सार्वजनिक हुँदा परिवार र समाजकै इज्जत घट्छ भन्ने मानिसकता पनि धेरैको रहेको छ। महिलामाथि आगो लगाउने जस्ता जघन्य अपराध किन? केका लागि गरिन्छन्? गराइन्छन्? भन्ने कुराको ठ्याक्कै जवाफ पाउन कठिन छ। तथापि, विशेषगरी दाइजो, अंश र घरायसी झगडा नै मुख्य कारण देखिएको छ। बालविवाह, बहुविवाह, अनेमल विवाह, पुरुष (पति)माथिको परनिर्भरता, धार्मिक कट्टरता, पारिवारिक कलह, लागु औषध, मद्यपान, गरिवी र फितलो कानुनी कारबाही आदि पनि घरेलु हिंसाका प्रमुख कारण हुन्। तराई–मधेसमा दाइजो प्रथाका कारण छोरीबुहारीमाथि विभिन्नखालका हिंसा भइरहेका छन्। शक्ति, इज्जत, प्रतिष्ठासँग जोडेर हेरिने दाइजोले छोरा–छोरीबीच विभेद सिर्जना गरेको छ। दाइजो नल्याएको वा कम ल्याएको भन्दै श्रीमान् र परिवारका सदस्यले नै शारीरिक/मानसिक हिंसासँगै ज्यान लिनेसम्मका अपराध निरन्तर भइरहेको छ। 
कुनै मानिसलाई आगो लगाई मार्न खोजेको, तर नमरेको अवस्थामा ५ वर्षदेखि १२ वर्षसम्म कैदसजायको व्यवस्था ज्यानसम्बन्धी महलको दफा १५ मा रहेको छ भने मृत्यु नै भएमा सोही महलको दफा १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने व्यवस्था छ। तर यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन। विभिन्नखालका दबाब, साक्षी, प्रमाणको अभावजस्ता कारणले पनि दोषीले उन्मुक्ति पाइरहेका छन्। 
हाम्रो समाजमा जघन्य हिंसालाई पनि आपराधिक घटनाका रूपमा नहेरिनु/नलिइनु प्रमुख चुनौती रहेको छ। यस्ता घटनालाई कानुनी प्रक्रिया या दायरामा ल्याइनु, पीडितलाई न्याय, पीडकलाई कारबाही एवम् सामाजिकरूपमै निरुत्साही गरिनु आवश्यक छ। तर त्यसका लागि प्रहरी प्रशासनलगायतका संयन्त्रको पहलले मात्र पुग्दैन। घरेलु हिंसा न्यूनीकरण गर्न समाजका अगुवाको अहम् र प्रभावकारी भूमिका रहन्छ। घरेलु हिंसाविरुद्ध समाजका हरेक तह र तप्काका व्यक्तिलाई संगठित गर्दै अधिकार र न्यायका पक्षमा अग्रसर गराइनु पर्छ। किनकि यस्तो हिंसा कुनै एउटा जात, समुदाय, क्षेत्रको मात्र मुद्दा नभई साझा समस्या हो। प्रहरी प्रशासन पनि बेलैमा जिम्मेवार र जवाफदेही भएको देखिन्न। अधिकांशः घटनामा ‘पर्ख र हेर' को मानसिकतामा रहने प्रहरी चर्को दबाबपछि मात्रै चलमलाउँछ। ढिला हुँदा प्रमाण नष्ट पारिनुका साथै कुनै न कुनै खालको क्षति भइसकेको हुन्छ। प्रहरीलाई मात्र दोष देखाएर पनि हुँदैन। बेलैमा सम्बद्ध निकायलाई सही सूचना दिने, आवश्यक सहयोग गर्ने काम गर्नु जरुरी छ।

प्रकाशित: २९ कार्तिक २०७१ २१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App