५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

अभिभावकले उठाउनुपर्ने प्रश्‍न

अचेल विद्यार्थी विद्यालय बिदा हुने दिनको प्रतीक्षा गरेर बस्छन्। अकस्मात विद्यालय बिदा हुने समाचार सुन्दा विद्यार्थी हर्षले विभोर हुन्छ। उसको खुसीको सीमा रहन्न। यसको कारण के हो? विद्यार्थीलाई विद्यालय एउटा जेलजस्तो लागिरहको छ। विद्यार्थीलाई शिक्षक जेलभित्र यातना दिने अधिकारीजस्तै लागिरहेको छ।  तिनलाई पुस्तक एउटा कठोर दण्ड लागिरहेको छ। यो शैलीको शिक्षा प्रणालीप्रति विद्यार्थीको आपत्ति छ। उसको असन्तुष्टि छ। शिक्षक र अभिभावकबाट भने भयभित छ, त्यसैले यो असन्तुष्टिलाई उसले प्रत्यक्ष अभिव्यक्त गर्नसक्दैन। तर, ऊभित्रको यो असन्तुष्टि विभिन्न रूपमा प्रकट भैरहेको देख्नसकिन्छ। 
मनोविज्ञान भन्छ– १०/१२ वर्षसम्मको व्यक्तिको उमेर जीवनकै सार्वाधिक महत्वपूर्ण उमेर हो। यो बेलामा व्यक्तिमा हुने मानसिक र बौद्धिक विकासले पूरा जीवनमा प्रभाव पार्छ। यो बेला सिकेको ज्ञानको छाप जीवनभर रहन्छ। अतः यो संवेदनशील उमेरलाई परिवार र विद्यालयले बच्चाको दु्रत मानसिक विकास हुनेगरी सक्रिय पार्नु आवश्यक छ। तर, यसको विपरित परिवार र विद्यालयले केवल किताबी तथ्य, तथ्यांक र सूचना जबर्जस्ती रटाउनमा बढी गर्व गरेको देखिन्छ। निजी विद्यालयले तुलनात्मकरूपमा शिक्षाको नाममा विद्यार्थीमाथि अझ बढी अनावश्यक दबाब दिइरहेको छ। कलिला विद्यार्थीको मौलिकता, क्षमता र प्रतिभा शिक्षाको जाँतोमा पिसिएर नष्ट भैरहेको छ। किताबी शिक्षाको भारले बच्चामा बौद्धिकता विस्तार हुने ठाउँ साँघुरिन पुगेको छ। विद्यार्थीको दृष्टिकोण संकुचित बनेको छ। बच्चाको उमेरको ख्याल नगरी अनावश्यक संख्यामा किताबको भार बोकाएर उसको उठ्न खाजेको व्यक्तित्वलाई जानीनजानी थचार्ने कोसिस भएको छ। बच्चाको दिमाग स्मृतिको भण्डारगृह बनेको छ। तथ्य र सूचनाको भण्डारले मस्तिष्क कम्प्युटर बनेको छ, सिर्जनात्मक होइन। 
सरकारी विद्यालयको पाटो अलि बेग्लै छ। त्यहाँ विद्यार्थीको समग्र उन्नतिबारे ध्यान दिनु उतिसारो आवश्यक ठानिँदैन। सरकारी विद्यालयका शिक्षकलाई 'समय कटाउनु, मानो पकाउनु' बाहेक अरु टन्टा छैन। त्यसकारण सरकारी विद्यालयको सन्दर्भ यहाँ नउठाउँ। निजी विद्यालय विद्यार्थीको खास विकासलाई ध्यानमा राखेर शैक्षिक कार्यक्रम तर्जुमा गर्दैनन्। यस्ता विद्यालय अभिभावकबाट उठाउने पैसाले चल्नुपर्ने हुन्छ। त्यसैले जसरीतसरी अभिभावकलाई खुसी पार्नु विद्यालयको मूल उद्देश्य हुन्छ। अर्थात् निजी विद्यालयले अभिभावकलाई खुसी पार्नेगरी शैक्षिक कार्यक्रम लागु गर्छन्। शिक्षकले विद्यालयको निर्देशन पूरा गर्नेगरी शिक्षा दिन्छ। विद्यार्थीको रूचि, चाहना र प्रतिभामाथि बेवास्ता भएको छ। फरकफरक प्रकृति, प्रतिभा र क्षमता बोकेका विद्यार्थीलाई सबै विषय अनिवार्य गरी एउटै कोठामा कोचेर सिकाउनु शिक्षा प्रणालीको गम्भीर त्रुटि हो।
अधिकांशः अभिभावक भ्रमित छन् र ठान्छन् परीक्षाको परिणाममा राम्रो प्रतिशत देखिनु आफ्नो बच्चा प्रतिभावान भएको प्रमाण हो। यो भ्रमबाट ग्रस्त अभिभावकले कुनै पनि मूल्यमा आफ्नो बच्चालाई राम्रो प्रतिशत ल्याउनसक्ने बनाइदिन विद्यालय तथा शिक्षकलाई अनुरोध गर्छन्। विद्यालयले त्यस्तो अनुरोध स्वीकार्छ र विद्यार्थीमाथि निरंकुश शैली अपनाएर भए पनि अभिभावकको चाहना पूर्ति गर्नतिर लाग्छ। देशमा ज्यादै थोरैमात्रै त्यस्ता अभिभावक होलान्, जसले मेरो बच्चालाई बलपूर्वक शिक्षा कोच्ने कष्ट नगर्नुहोला भनेर अब्राहम लिंकनलेझैँ विद्यालयलाई आग्रह गर्छन्। यसखालको चेतना अभिभावकमा आउनथाल्ने हो भने हालको भन्दा अर्थपूर्ण शिक्षा प्रणाली अपनाउन सम्बन्धित निकाय बाध्य हुनेछ। तर, यस अपेक्षाविपरित आफ्ना बच्चाको स्वतन्त्र समय घटोस् भनेर अभिभावक सानै कक्षादेखि ट्युसनको व्यवस्था गरिदिन तयार देखिएका छन्। 
निजी विद्यालय अभिभावकको यो अन्धोपनबाट फाइदा उठाएर प्राथमिक वा निम्नमाध्यामिक तहबाटै बिहानबेलुका थप कक्षा सञ्चालन गरी केही आर्थिक लाभ बटुल्ने प्रयासमा छन्। माध्यमिक तहका विद्यार्थीलाई बिहानदेखि साँझसम्म कठोर अनुशासनको आडमा पुस्तक रट्न बाध्य तुल्याइएको छ। विद्यार्थीले एउटै विषय एक दिनमा ३/४ पिरियडसम्म पढ्नुपर्ने अवस्था छ। भोलिपल्ट यही प्रक्रिया दोहोरिन्छ। अभिभावकहरू यस्तो प्रक्रियालाई मौन समर्थन गरिरहेका छन्। शिक्षाको नाममा विद्यार्थीको मानसिकतामाथिको यो अतिक्रमण हो। यस्तो अवस्थाबाट गुजि्रएको विद्यार्थीमा कालान्तरमा शिक्षाप्रति नै घृणा पैदा नभए अरु के होला? सामान्यतया विद्यालयले विद्यार्थीको बहुआयामिक विकासको लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने हो। तर, यो सजिलो काम होइन। अधिकांशः निजी विद्यालयसँग यस्ता कार्यक्रम प्रभावकारी ढंगबाट संञ्चालन गर्ने भौतिक स्रोत पनि छैन। धेरै निजी विद्यालयको आफ्नै भवनसमेत छैन। 
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ ले निर्देशन दिन्छ– 'प्रत्येक विद्यालयमा पर्याप्त खेल मैदान हुनुपर्छ। विषयअनुसार छुट्टाछुट्टै प्रयोगशाला हुनुपर्छ। उपयुक्त वाचनालय हुनुपर्छ। विद्यालय हाताभित्र हरियाली वातावरण हुनुपर्छ। प्रत्येक विद्यालको आधारभूत तहका लागि कम्तीमा एक हजार र माध्यमिक तहका लागि कम्तीमा १५ सय विभिन्न विधाका पुस्तक हुनुपर्छ।' तर, धेरैजसो विद्यालयमा पुस्तकालयका नाममा केही दर्जन कोर्सका पुस्तकबाहेक अन्य केही भेटिन्नन्। प्रयोगशालाको व्यवस्था निकै कमले मात्र गरेका छन्। कक्षाकोठा र शौचालय सँगै जोडिएको भेटिन्छ। अनि विद्यार्थी भर्ना गर्ने बेलामा विद्यालयले पुस्तकालय शुल्क भनेर पैसा असुल्छ। प्रयोगशाला भनेर पनि रकम लिन्छ। अतिरिक्त क्रियाकलाप झारा टार्ने ढंगबाट सञ्चालन हुन्छ। विद्यार्थीको चौतर्फी विकास दोस्रो नम्बरमा परेको छ। मुनाफा आर्जन गर्नु पहिलो उद्देश्य भएको छ। खुला अर्थतन्त्रको अभ्यास गर्दै गरेको देशमा मुनाफा आर्जन गर्न खोज्नु लगानीकर्ताको अधिकार हो। यद्यपि, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रमा लगानीकर्ताले बढी जिम्मेवारी बोध गर्नु आवश्यक छ। गुणस्तरीय सेवाको साथमा सुहाउँदो मुनाफा आर्जन गर्नुलाई आलोचना गर्न मिल्दैन। 
निजी विद्यालयले बेरोजगारीको चुलिँदो बृद्धिदरबाट फाइदा उठाएर सस्तो मूल्यमा शिक्षकको श्रम किन्ने काम गर्दै आएका छन्। अधिकांशः विद्यालयमा प्राथमिक तहमा पढाउने शिक्षकको पारिश्रमिक काठमाडौँको सामान्य घरमा लिइने दुई वटा कोठाको मासिक भाडाबराबर होला। शैक्षिक संस्थाभित्र हुने यो बौद्धिक शोषणमाथि कसले हस्तक्षेप गर्ने? अपमानित शिक्षकले पूर्णरूपले खटेर शिक्षा दिनुपर्छ भन्ने आवश्यकता ठान्दैन। यसको असर विद्यार्थीमाथि पर्छ। 
देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने आधार तयार पार्नु विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य हो। तर, आज निजी विद्यालयमा पढ्दै गरेको एक किशोर वा किशोरीको सपना केही वर्षभित्र युरोप वा अमेरिकाको कुनै देश प्रवेश गरेर जीवन बिताउने भन्ने छ। निजी विद्यालयले अंगे्रजी शिक्षाको बलमा विदेशिने जनशक्ति तयार पारिरहेका छन्। यहीँ बसेर केही गर्ने हो र गर्न सकिन्छ भन्ने आत्मविश्वासको खडेरी छ। विद्यालयले यो कुरा सिकाएको पनि छैन। किताबी रटानले विद्यार्थीको सोच संकुचित बन्दै गएको छ। 
यसर्थ शिक्षाभित्रको यो संकीर्णता हटाउन अभिभावकले समेत आफ्नो दृष्टिकोण परिवर्तन गरेर विद्यालयलाई प्रश्न गर्नुपर्ने बेला भएको छ। आफ्नो बच्चालाई शिक्षा दिने शिक्षक विद्यालयले दिने मासिक वेतनबाट कत्तिको सन्तुष्ट छ? विद्यालयभित्र किताबी रटानबाहेक अन्य सिर्जनात्मक कार्यक्रम कत्तिको सञ्चालन हुन्छन्? विद्यालयभित्र पुस्तकालय, प्रयोगशाला, खेल मैदानलगायतका पक्ष कत्तिको मजबुत अवस्थामा छन्? केवल परीक्षामा सबै विद्यार्थी पास गराउनसक्नु नै विद्यालय सफल हुनु हो भन्ने भ्रमबाट विद्यालय मुक्त छ कि छैन? अभिभावकले यस्ता प्रश्न उठाउन सुरु गरेको क्षणबाट विद्यालय सार्थक शिक्षाका लागि सोच्न बाध्य हुनेछ।

प्रकाशित: १८ मंसिर २०७१ २१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App