२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

राजनीतिक जडताको यात्रा

सबै नीतिको चालक, पालक, निर्देशक र प्रबन्धक राजनीति हो। त्यसैले राजनीतिलाई आवश्यकताको पूर्ति र शंका समाधान गर्ने विज्ञान मानिन्छ। महान् चिन्तक क्याट्लिनले शक्तिको विज्ञान राजनीति हो भनेर धेरैअघि पुष्टि गरेका थिए। राजनीतिमा नैतिकताको जलप लगाउँदै बीपी कोइराला पनि यो निर्क्याेल गर्दै बोले- 'राजनीति नैतिकताको व्यापक रूप हो।' नैतिकताको व्यापक रूप त्योबेला राजनीतिमा बिम्बित हुन्छ, जुनबेला 'राजनीति' आदर्श, सिद्धान्त र सुविचारबाट आलोकित भइरहन्छ। राजनीतिले नै अन्ततः विभिन्न सामाजिक समूहको आर्थिक, सांस्कृतिक, सामाजिक र अन्य सम्बन्धलाई प्रतिबिम्बन गर्ने ताकत राख्दछ। त्यसैले त यो सबै नीतिको राजा वा महानायक बनेको हो। भारतका राष्ट्रपिता गान्धीले राजनीतिलाई 'महाधर्म' भनेरै किटिदिए, किनकि यसभित्र आदर्शको ज्योति, सिद्धान्तको मोती र विचारको गतिमान चरित्र समाहित हुन्छन्। त्यसको परख गर्ने क्षमता राजनेतामा हुनुपर्छ।

सामान्यतया आदर्श भन्नाले कुनै पनि वस्तु वा क्रियाको पूर्णता र उत्तमताको खास नमुना वा स्तर भन्ने बुझिन्छ। भारतीय स्वतन्त्रता संग्रामका क्रान्तिकारी नेता सुभाषचन्द्र बोसले एक प्रसंगमा भनेका थिए— 'संसारमा सबै कुरा क्षणभंगुर छन्, केवल एउटै वस्तु 'आदर्श' कहिल्यै नष्ट हुँदैन, आदर्श नै हाम्रो समाजको आशा हो।' विडम्बना! हिजोआज आदर्शलाई अव्यावहारिक र देखाउने दाँतमात्र हो भन्ने भीडको बोलवाला बढेको छ। त्यसैले परमार्थी वा भलाइका कुरा गर्दा 'यो आदर्श नछाँट्नोस्' भनेर हप्काउँछन्। यसरी आदर्शलाई कपोलकल्पित, स्वैरकल्पना, जीवनमा उत्रिननसक्ने कुरा भनेर खेदिन्छ। आदर्शको शाब्दिक अर्थ ऐना हो। ऐनाले जसरी हाम्रो यथार्थ बिम्ब बिम्बित गर्छ, आदर्शले पनि त्यही धर्म रूचाउँछ। त्यसैले यथार्थलाई आदर्शले गहन ढंगमा ग्रहण गरेको हुन्छ। गान्धी त्यसै भएर यो निर्क्योलमा पुगे— आदर्शविहीन मानिस नाविकरहित डुंगासमान हुन्छ। यसबाट यो बुझिन्छ कि आदर्शविहीन जीवन पद्धति संयमहीन दैनिकी, चालकरहित गाडी र प्राण नपसेको देहजस्तै हो।

धेरैअघि पूर्वीय चिन्तक व्यास, कौटिल्य अनि पश्चिमी महापण्डित सुकरात र प्लेटोलगायतले पनि राजनीतिमा आदर्श अपरिहार्य तŒव भनेर ठूला पुस्तक नै पस्किए। आजको नेपालको राजनीति आदर्शबाट निर्देशित र नियन्त्रित हुन छोडेर 'जता मल्खु उतै ढल्कु' भन्ने नियतिमा फस्न पुगेकै कारण यो दुर्दशा निम्तिएको हो। वास्तवमा आदर्शभित्र नै 'स्वप्नशील दूरदृष्टि' लुकेको हुन्छ। बीपीले आफ्नो समयमा १५ वर्षपछिको नेपालको कल्पना, नेल्सन मन्डेलाको महान् फड्को आदर्शकै धरातलमा बुनिएका उदात्त लक्ष्य हुन्।

राजनीतिमा चाहिने अर्को महŒवपूर्ण पक्ष 'सिद्धान्त' हो। सिद्धान्त भनेको संसारको परिवर्तन क्रममा स्थापित मान्यता हो। विचार, तर्कवितर्कका संवादात्मक उपागम, अनुभव र अभ्यासका भट्टीमार्फत् खारिएर सिद्ध प्रमाणित हुँदै आएका सूत्र नै सिद्धान्त हुन्। यतिखेर हाम्रा राजनीतिक दल आफूलाई सिद्धान्तका सबल अनुयायी हुँ भनेर प्रचारात्मक जेहाद त छेड्छन् किन्तु धरातलमा भने चुकेको चुक्यै छन्। सिद्धान्तवादीमा त मन, बचन र काममा एकरूपता हुनुपर्छ। तर दुर्भाग्य हामीकहाँ घोषित सिद्धान्तका स्वर्णिम अक्षरलाई धातुबाट खसाली 'प्लास्टीकीकरण' का धरापमा लल्याकलुलुक पारेर सिद्धान्तको स्पिरिटलाई इतितसत् गरिएको छ। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद त्यसैगरी जनतन्त्र, जनजीविका, नौलो जनवाद, जेजे सिद्धान्त फलाके पनि मुठ्ठीभरका सम्भ्रान्त नेताकै रजाईं चलेको छ। त्यसैले हामी यतिखेर एक व्यक्तिको (राजाको) तानाशाहीबाट मुक्त भएर सम्भ्रान्त वा कुलीनतन्त्र जसलाई नेतातन्त्र भन्न पनि सकिन्छ त्यसैबाट प्रताडित छौँ। केही शीर्षस्थ ठालू नेता नै निर्णय निर्माणका ठेकेदार बनिरहेका छन्।

संविधान सभामा जनताका प्रतिनिधि निरीह बनेर जागिरे जीवन बिताउनु भनेको सिद्धान्तमा पहिरो जानु हो। पार्टी सिद्धान्त र घोषणापत्र अलपत्र बनाएर मुठ्ठीभरका शीर्षहरूको हैकम, सनक, अहंको तुष्टि र आवेगको मुष्ठीमा सबै बन्दी बन्नु किमार्थ सिद्धान्तको राजनीति होइन। नेताहरू आफ्ना कुरा लागु हुञ्जेल एकछिन तुष्ट हुने र त्यो नहुने बित्तिकै रुष्ट बन्ने चरम् सामन्तवृत्तिबाट ग्रस्त छन्। यस्तो सिद्धान्तहीन राजनीतिले वर्तमान संक्रमणको डुंगा पार लाउनसक्छ? नेपालको पक्षप्रतिपक्ष राजनीतिलाई यही अस्थिर बनियाँवृत्तिले गाँजेको गाँज्यै छ। जबसम्म जनता निर्णय निर्माणमा जीवन्तरूपमा सहभागी हुन सक्तैनन् तबसम्म 'जनतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, न्यु डेमोक्य्रासी' जस्ता शब्द ओठे स्तवनमात्र हुन्।

राजनीतिमा 'विचार' माछा र पानी, शरीर र छायाजस्तै अन्योन्याश्रित तŒव हो। विचारको उत्पत्ति गहिरो सोचाइ, चिन्तन मनन, बुद्धि र विवेकबाट निस्कने सार हो। यो सिद्धान्तमुखीभन्दा बढी कार्यपरक र अनुभूतिमा आधारित हुन्छ। त्यसैले त विचारको दीप निभ्दा आचार वा बानीव्यवहार अपांग बन्नपुग्छ। सुविचारभित्र न्याय, दर्शन र विवेकजस्ता ऊर्जाशील पक्ष रहन्छन्। यसैले विचारको धारावाहिकता नभएको राजनीति जसको लठ्ठी उसैको भैँसी भन्ने कुविचारबाट ग्रस्त हुन्छ। त्यसै भएर इमर्सन जस्ता विचारक बोले— 'विचारभन्दा ठोस वस्तु ब्रह्माण्डमा केही छैन।' हुन पनि हो 'विचार' सबैतिर विचरण गरेर समयलाई दिग्दर्शन गर्ने क्षमता राख्ने चिन्तनशील भावको प्रवाह हो। विचार सन्दर्भमा चर्चित राजनेता जोन एफ केनेडीको भनाइ यस्तो छ- 'मान्छे आफै मरणशील छ, संसारका राष्ट्रहरू उँधो—उँभो लाग्नसक्छन्, तर विचार भने बाँचिरहन्छ।' यसरी विचारको अमरतालाई उनले पुष्ट्याइँ दिई विचारमा मृत्युहीन धैर्य शक्ति हुने कुरा औँल्याए।

सर्वहारावर्गको अधिनायकत्वलाई संवरण गर्न रुचाउने माओले पनि भन्न बाध्य हुनुपर्योम– 'सयौँ फूल फुलाऊ र सयौँ विचारको मन्थन गर।' त्यसैले चरम अनुदारवादीदेखि परम उदारवादी शासकसम्मले राजनीतिमा विचारको बीज हुनु पर्ने कुरालाई स्वीकारेका छन्। विडम्बना! नेपालका दल आफूलाई गान्धी, मार्क्स, माओ, लेलिन, स्तालिन, बीपीजस्ताका अनुयायी हुँ भने पनि यो १० वर्षको समयलाई सिंहावलोकन गरेर हेर्दा क्रमशः वैचारिक धरातलबाट स्खलित हुँदै हामीबाट म भन्नेमा केन्द्रित भएका छन्। यसलाई राजनीतिमा आएको वैचारिक त्रासदी भन्न सकिन्छ। त्यसमा पनि माओवादीहरू त आदर्श भत्किएर, सिद्धान्त हप्किएर अनि विचार उप्किएर जड्यन्त्रजस्तै भैसके। विगतमा भएका सबै निर्णय भुल, त्रुटि, गल्ती, अक्षमता लघुदृष्टि हो भनी आत्मालोचनाको लघुताभासमा पश्चात्ताप गरिरहेका छन्। पहिलो संविधान सभाको त्यत्रो ठूलो दल आज चिराचिरामा विभक्त भएर दर्शन, सिद्धान्त र विचारको त्रिवेणीबाट धेरै पर हुत्तिएको छ। त्यसैले त एकथरी माओवादी संविधान सभा निल्नु न ओकल्नु भएर दिग्भ्रमित हँुदै रुवाबासी र हाहाकार मच्चाएर आन्दोलनको मोर्चातिर भासिएको छ। अर्काेथरी माओवादी त्यत्रो राजनीतिक अभ्यासमार्फत् ठडिएको सम्प्रभू संविधान सभालाई ढालेर सर्वपक्षीय सभाको मागमा आन्दोलनका कागजी चित्र कोरेर तर्साउँदै छ।

सत्ताधारी दलहरू जो आफूलाई लोकतन्त्रका पक्का सिपाही भन्छन्, उनीहरूमा पनि जनउत्तरदायीपन छैन। शासकीय अहंकै नशामा आदर्श, सिद्धान्त र विचारलाई दलनमलन गरिरहेका छन्। दलभित्र गुटउपगुट हुर्काउनु, भागबन्डामा राम्रा पाखा पारेर हाम्रा अझ मेरा भित्र्याउनु, दलमा पैसावाल र बाहुबली हावी हुनु र जुझारु स्वाभिमानी किनारा लाग्नु मूल्यमान्यताबाट राजनीति तल जानु हो। समग्रमा नेपालको राजनीतिक नेतृत्व आदर्शको आलोकबाट पर, सिद्धान्तको लोकबाट तल र विचारको गतिशीलता बिर्सिएर जडतातिर यात्रा गरिरहेको छ।

प्रकाशित: ६ फाल्गुन २०७१ २२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App