२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

एसएलसी 'टिप्स'

परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आगामी चैत्र ५ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा बढीमा ५ लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी हुनेछन्। यस वर्ष परीक्षालाई थप व्यवस्थित बनाउन परीक्षामा संलग्न जनशक्तिको पारिश्रमिकदेखि सुरक्षाकर्मीको संख्यासम्म बढाइएको छ। तर परीक्षार्थीलाई परीक्षा दिन सहज लाग्ने वातावरण बनाउन भने चासो राखिएको देखिँदैन।




एसएलसी परीक्षाको ८० वर्ष लामो इतिहासमा विसं १९९८ सालमा सबभन्दा बढी ७७.७८ प्रतिशत र २०३८ सालमा सबभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ। एसएलसी परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ प्रतिशत देखिन्छ। भएको पाइन्छ। शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धि सन्तोषजनक नहुनु चिन्ताको विषय हो। विद्यार्थीले निम्न उपाय अपनाइए परीक्षा अझ सहज र प्रतिफलमुखी हुनसक्छ।

- परीक्षाका समयमा स्वास्थ्यप्रति चनाखो हुनुपर्दछ। स्वस्थ आहारविहार र सहज परिश्रममा ध्यान दिनुपर्छ।

- एसएलसी परीक्षालाई हाउगुजी नठानी सहज रूपमा परीक्षामा सम्मिलित हुनेे मनःस्थिति बनाउनुपर्छ।

- बढी थकाइ लाग्नेेगरी अनिदो बसेर पढ्दा स्मरण शक्तिमा ह्रास आउनसक्छ। शारीरिक तथा मानसिक थकानले गर्दा जाँच राम्ररी दिन सकिँदैन।

- अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमकै अध्ययन गर्नेगराउने तर्फ शिक्षकविद्यार्थी दुवैले ध्यान दिनुपर्छ। कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन्।

- गाह्रो लागेको विषयलाई बढी महत्व दिएर दैनिक समय तालिका बनाई सबै विषय नियमित अध्ययन गर्ने।

- सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने।

- पहिलेका प्रश्नको उत्तर लेख्ने र विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिने।

- राम्रोसँग जाँच दिन्छु र राम्रै नतिजा आउँछ भन्ने विश्वास एवं मनोबल राखेर परीक्षाहलमा प्रवेश गर्ने।

-विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नुभन्दा पहिल्यै तयार गर्ने।

- परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा पहिले नै थाहापाई राख्ने।

- प्रवेश पत्र तथा उत्तर पुस्तिकामा लेखिएका निर्देशन परीक्षाको घन्टी नबज्दै पढ्ने र पालना गर्ने।

- प्रश्नको उत्तर यकिन भएपछि त्यसको प्रकृति, अंकभार तथा समयमा समेत ध्यान दिई मौलिकता झल्किने गरी बँुदागतरूपमा सफा र शुद्ध उत्तर लेख्ने।

- सबै प्रश्नका उत्तर लेखिसकेपछि समय बचेमा उत्तरहरूलाई पुनः सरसर्ती पढ्ने र छुटपुट भए सच्याउने।

एसएलसी परीक्षालाई उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महŒव हुन्छ। छोराछोरीलाई अनावश्यक दबाब नदिने, तिनको आहारविहार स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सजिलो बनाइ दिने एवं मर्यादितरूपमा परीक्षा दिन प्रोत्साहित गर्नु असल अभिभावकको जिम्मेवारी हुन्छ। एसएलसी परीक्षा अभिभावकको पनि जाँच हो।

त्यस्तै विद्यालयले विद्यार्थीको रुची र क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने क्षमता विकास गराउनुपर्छ। विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति एवं क्षमताका आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाए समग्रमा विद्यालयकै उपलब्धि उच्च हुने मानिन्छ। एसएलसीलाई विद्यालयकै उत्कृष्टताको कसी मानिन्छ।

प्रश्न पत्र वैज्ञानिक, वस्तुनिष्ठ तथा स्तरीय भए पनि परीक्षाको नतिजामा असर पर्छ। व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं तिनले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरको निर्क्योल गर्छ। यसप्रकार एसएलसी परीक्षा प्रत्यक्षरूपमा विद्यार्थीका लागिमात्र भएजस्तो लागे पनि परोक्षरूपमा राज्यले अपनाएको विद्यालय शिक्षासम्बन्धी योजना नीतिनियम, कार्यक्रमआदि पनि जाँच्ने कसी हो।

विगतका एसएलसी नतिजालाई सरसर्ती हेर्दा हालको टिठलाग्दो शैक्षिक उपलब्धिमा सुधार गर्न गम्भीरतापूर्वक आआफ्नो जिम्मेवारी र जवाफदेही वहन गर्न ढिलो भइसकेको देखिन्छ। परीक्षालाई मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्न ंसबै क्षेत्रबाट इमानदारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न सकेमा आगामी दिनमा एसएलसी फलामे ढोका हैन सुनौलो ढोका बन्न सक्छ। एसएलसी परीक्षाको उपलब्धि स्तरका आधारमा विद्यार्थीको भाग्य र भविष्यको मार्गचित्र जो कोरिन्छ। विद्यार्थीले कर र डरले हैन रहर मानेर परीक्षा दिने वातावरण बनाऊँ।

प्रकाशित: १ चैत्र २०७१ २२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App