१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

महिलासँगै परदेशिएका कथा

नेपालको सामाजिक/आर्थिक संरचना र परम्परागत मान्यताको जगनै यस्तो छ कि आममध्यमवर्गीय महिला हत्तपत्त स्वनिर्भर बन्न चाहँदैनन्। भोक लागेको बेलामा खान र समयअनुसार सामान्य जीवन धान्न पुग्ने महिलाहरू रोजगारी वा स्वरोजगारीमा नेपालमा आफैँ उत्प्रेरित भएका पाइँदैन्।

पारिवारिक माहोल, पारिवारिक विरासत वा अभावले मात्र महिलाहरू कामको खोजीमा बाहिर निस्केका पाइन्छ। अझ वैदेशिक रोजगारीमा जाने कुरा त दुःख, अभाव र चुनौती नआइ आमनेपाली महिलाले सोच्न पनि सक्दैनन्। उच्च,उच्च मध्यम र मध्यम परिवारबाट त अदक्ष कामदारका रूपमा विदेश जाँदैनन् भनेपनि हुन्छ। निम्न मध्यम वर्ग तथा न्यून वर्गका महिला नेपालमा विकल्प नभएरमात्र जानेहुन्।

आमरूपमा कुरा गर्दा एकातिर शिक्षित तथा धनाढ्य परिवारका पहिला आत्मनिर्भर हुन रुचि राख्छन् कि त न्यून आर्थिक अवस्था भएका महिलालाई अर्थोपार्जनको बाध्यताले श्रम बजारमा डोर्‍याउँछ। अन्तर्राष्ट्रिय संघसंस्थाका स्वदेशी तथा विदेशी अवसरहरूमा पनि अधिकांश उच्चवर्गकै प्रभुत्व छ। विदेशमा पढ्नजाने पनि दुईवटा वर्ग छ।

एउटा आफ्नो रुचिको विषय खोजेकै देश र विश्वविद्यालयमा आफ्नै खर्चमा वा छात्रवृत्तिमा पढ्ने र विज्ञता/दक्षताअनुसारकै काम गर्ने। यो पनि अपवादबाहेक उच्च र उच्च मध्यम परिवारबाटै प्रतिनिधित्व गर्छ। र, अर्को मध्यम तथा निम्न मध्यम वर्गीय परिवार छ जसमा छोरा या छोरी बाह्रपास गरेपछि अमेरिका, बेलायत, जापान, अस्ट्रेृलिया, युरोपका विभिन्न मुलुक अथवा कोरिया तथा अन्य जुनसुकै देशका जस्तासुकै विश्वविद्यालयमा पढ्ने बहानामा छिर्ने र वैधानिक अवैधानिक, शरणर्थी जुनसुकै अवस्थामा जस्तासुकै सर्त स्वीकारेर उतै वस्ने। पढेलेखेका आत्मनिर्भर र उच्च दक्षता राख्ने महिलासमेत विदेशिएको केटो खोजेर विदेश पलायन हुने सोचाइ छ नेपालमा।

विदेश जानु र उतै सेटल हुनुको उच्च सामाजिक मान्यताका कारण नेपालमा आमनेपालीको बुझाइ यस्तो छ कि आफ्ना हरेक आर्थिक, सामाजिक र व्यक्तिगत समस्याको समाधान विदेश गएपछि हुन्छ। तर त्यहाँ गएपछि तिर्नुपर्ने सामाजिक, आर्थिक, मानसिक, भावनात्मक, शारीरिक र श्रमको मूल्यको कसैलाई हेक्का हुँदैन। ‘नेपाल गयो, कपालसँगै’ भन्ने उखान छ। यसको अर्थ जहाँ गए पनि भाग्य आफूसँगै जान्छ भन्ने हुन्छ। यसर्थ एकखालको दुःख, पीडा, हिसांबाट मुक्ति पाउन विदेशिएको वर्ग अर्को दुःखको दलदलमा फसेको वा पुरानै दुःख झन सघन भएका उदाहरण प्रशस्तै छन्।

यस पृष्ठभूमिमा महिला दिवसको सेरोफेरोमा आज म नेपालको दुःख छल्न विदेशिएका महिलाले विदेशिँदा पनि नेपालको नियतिबाट उन्मुक्ति नपाएका केही प्रतिनिधि कथाहरू भन्छु। जसले पक्कैपनि सहअस्तित्वका लागि लडिरहेका योद्घाहरूलाई झक्झक्याउँछ।

महिलाको सामाजिक, आर्थिक, मनोवैज्ञानिक दयनीयता देखाउन बलात्कार, हत्या, एसिड प्रहार, बोक्सी र बेचिएका कथामात्र होइन, उसले दशनङ्ग्रा खियाएको सम्पत्तिमा धरिएका दागा, अरूको चाहनाअनुसार प्रयोग नहुँदा लागेको लाञ्छना, महिला श्रमिक मरेपछि उसका छोराछोरीले पाउने क्षतिपूर्तिमा परिवारका सदस्यको लुछाचुँडी र वैदेशिक रोजगारीमा गएको लोग्ने मरेपछि श्रीमतीले पाउने क्षतिपूर्तिमा परिवारको छिनाझप्टी जस्ता घटनाले पनि महिलाको वास्तविक अवस्था बुमmाउन सहयोग गर्छन्।

लोग्नेले छोराछोरी र आफूलाई वेवास्ता गरी उतै सेटल हुन विदेशिएपछि छोराछोरी र आफ्नो उज्ज्वल भविष्यको लागिभन्दै दुईटी नावालक छोरी माइतीमा छाडेर कोरिया गएकी एक महिला गएको महिना नबित्दै मेसिनमा चेपिएर मृत्यु भयो। नेपालमा रहेका उनका घरतिरका आफन्त र विदेशमा रहेका श्रीमान्ले उसको दुर्घटनावापत आउने क्षतिपूर्तिमा दाबी गरे।

यो थाहा पाएर दुईटी नावालक नातिनी पालेर बसेका उनका बुबाले नातिनीहरूले क्षतिपूर्ति पाउनुपर्ने भनी मुद्दाहाले, अदालतले क्षतिपूर्ति श्रीमान् र छोरीहरूलाई गरी तीन भाग लगाउनू भन्ने आदेश गर्‍यो। घटना भएको पाँच वर्ष पूरा भइसक्दा पनि घरपक्षको एकलौटी दाबी र तीनभाग लाग्ने ग्यारेन्टी गरिएको कागजको अभावमा सुन्दर भविष्यको सपना सुनाएर विदेशिएकी आमाले मृत्युवरण गरेरै भएपनि आउने पढ्ने खर्च छोरीहरूले अहिलेसम्म पाएका छैनन्।

बाँच्दा नचाहिएकी स्वास्नीको शरीरको मूल्यचाहिँ मरेपछि पनि सबै आफैँलाई चाहिएको छ। माइतीले खान्छन् भन्ने रिसले नाबालकप्रति समेत गैरजिम्मेवार हुने पुरुषको अहंकार र बलमिच्याइँले महिलाप्रतिको असंवेदनशीलताको दृष्टान्त दिन्छ।

करिब तीनवर्षअघि मृत्यु भएका एक नेपाली पुरुषकी नेपालमै रहेकी श्रीमती कोरियाबाट आउने क्षतिपूर्ति दाबी गर्ने कागजात बनाउन नसकेर क्षतिपूर्ति चाहिएन भन्दै छोराछोरी लिएर गाउँ नै छाडेर हिँडिछन्। दुईवर्षसम्म क्षतिपूर्ति दाबी नगरेको फाइल देखी खोजी गर्दा पैसा लिएर यो पोइल जान्छे, क्षतिपूर्ति हामीले पाउनुपर्छ भन्दै घरतिरकाले नाता प्रमाणित गर्ने कागजात बनाउन असहयोग गरेकाले उनले मन मारेर छाडिदिएको कुरा थाहा भयो। यसपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा निज मृतककी श्रीमतीसँग सम्पर्क गरी स्थानीय प्रशासनको सहयोगमा कागजात बनाइ भर्खरै क्षतिपूर्ति दाबी गरिएको छ।

यी त भए मर्ने र मर्नेकी विधवाका गुमनाम कथा। बाँचेर संघर्ष गर्नेको कथा पनि कहाँ कम निसास्सिँदो छ र?रक्सी खाएर भएकोे जायजेथा सबै सकेर लोग्नेले घर न घाटको बनाएपछि किशोर छोराछोरीलाई माइती र छरछिमेकको जिम्मामा छाडेर विदेशिएकी एक महिलाले तनाव र एक्लोपनमा मायाभरिएको मीठो बोलीलाई विश्वास गरिन्।

यहाँको कमाइले नेपालमा केही लगानी गर्ने संयुक्त योजना बन्यो। हतास मनस्थितिमा कसैको साथले मान्छे पग्लिन्छ। दुवैको सहमतिमा अन्तरङ्ग समय पनि बिते। सुखद पलहरू सम्झनाका लागि मोबाइलमा कैद पनि भए। दुवैले एकअर्काका परिवारसँग साथी भनेर चिनाजान पनि गरे/गराए।  

यति मीठो मित्रतामा अविश्वास तथा लेनदेनमा प्रमाणको होस कहाँ हुन्छ र? सम्बन्ध बढ्दै गयो। कारोवार बढ्दै गयो। जब प्रतिफल र हिसाबको कुरा निस्कियो, चोटमा दबाई बनेको बोली र व्यवहार एकाएक बदलियो। अन्तरंग क्षणका फोटाहरू महिलाका परिवारमा पुग्यो। उनलाई चरित्रहीन भनेर सामाजिक सञ्जालमा प्रचार गरियो। तर महिला परिपक्व र पढेलेखेकी भएकाले उनले हार मानिनन्।

नेपाली समाज, एनआरएनए, राजदूतावास सबैतिर हारगुहार गरिन्, बैेकिङ्ग कारोवारको प्रमाण देखाइन्, अस्पष्ट कारोबारलाई म्यासेन्जरका कुराले पुष्टि गरिन् र चारैतिरबाट च्यापेपछि ती पुरुषले महिलाको अधिकांश पैसा तिरे। अर्की महिलाको संवेदनासँग खेलेर आफ्नो स्वार्थ पूरा गर्ने, स्वार्थ पूरा हुन छाडेपछि महिलाको बदनाम गर्ने, नेपाली समाजको प्रवृत्ति, नेपालीहरू जहाँ जहाँ पुगेका छन् त्यहाँ पुर्‍याएकै छन्।

यौनलाई महिलाको इज्जत र पुरुषको प्रतिष्ठाको पुरातन सामाजिक मान्यता दिमागमा बोकेर हिँड्नेले यौनको उपयोग गरी महिलालाई कठिन श्रम र एक्लोपनको विरक्ततामा सहानुभूतिको माध्यमबाट आर्थिक तथा शारीरिकलाभ लिएका कथा विदेशमा अनगिन्ती छन्। किन विश्वास गरेको त, किन पैसा दिएको त, किन शरीर नै सुम्पिएको त भनेर प्रतिप्रश्न गरी महिलालाई गलत देखाउने नेपाली समाजको मानसिकता र आग्रह÷पूर्वाग्रह नराखी कुरा सुनिदिने निकाय तथा व्यक्तिको अभावमा उनीहरू खुलेर कुरा गर्नसमेत सक्दैन्। यौनको अत्यन्तै जटिल सामाजिक बुझाइका कारणले पनि महिलाहरू न्याय माग्न हिच्किचाउँछन्।

सम्बन्धमा रहेका एक जोडी, लगभग विवाहकै लागि अघि बढिरहेको थियो। केटीको भनाइअनुसार केटा केही अवधि विनासूचना सम्पर्कबिहीन भयो। यस्तो अविश्वासिलो मान्छेसित सम्बन्ध नगाँस्ने विचारले केटी अघि बढिन्। एक वर्षपछि केटो फेरि सम्पर्कमा आयो। पूर्ववत् सम्बन्धमा रहन आग्रह गर्‍यो। केटीले मानिनन्। अनिसुरु भयो केटीको चरित्रहत्याको शृखंला। केटाको तर्फबाट फोटो, भिडियो र म्यासेज नपुगेका कुनै केटीका आफन्त थिएनन्।हावा नचली पात हल्लिँदैन भनेर केटीका आफन्तले उल्टै केटीलाई नै अविश्वास गर्न थाले। उनले अत्यन्तै दबित स्वरमा भनिन्– मैले एकपटक त आत्महत्याको प्रयास पनि गरेँ

एउटै ओछ्यानमा बसेका दुईजनाको फोटोमा एकले त्यसलाई भजाउने र अर्कोका लागि त्यही आत्महत्याको कारक बन्ने सामाजिक मानसिकताबाट नेपालमा जति महिला पीडित छन्, विदेशमा पनि हाम्रा छोरीचेली नेपाली युवाहरूबाटै शोषित पीडित बनेका छन्।

नेपालमा पारिवारिक हिंसा खप्न नसकेर केही गरेर देखाउँछु भन्दै विदेशिएका कति महिला यहाँ बिरामी, दुर्घटना भएर बेखर्ची भएपनि चन्दा उठाएर उपचार गरेको भेटियो तर खुच्चिङ्ग र तिरस्कारको पात्र हुन नेपाल फर्किन नचाहेको देखिन्छ।कोरियामा अधिकांश महिला कृषिमा छन्। कृषिमा बाह्रदेखि पन्ध्र घण्टा काम गर्नुपर्छ।काममा फोन उठाउन पाइँदैन।

नेपालबाट लोग्नेले फोन गर्दा उठाएन भने कोसित थिइस् भन्छ। तनावले सोह्र दिन भयो निन्द्रा नलागेको भन्ने एकजना बहिनीले परामर्शको क्रममा थाहा भयो– अहिलेसम्मको कमाइ सबै पठाइसकिछन्, अब म आफैँ राख्छु भन्दा लोग्नेलाई खरो भएको रहेछ।

जुनसुकै अवस्थामा विदेशिएका महिला हुन्, हिँड्नेबाटो फरक होला, बस्ने घर फरक होला, केही बढी स्वतन्त्रता होला। केहीले उन्मुक्ति पनि पाएका होलान् तर धेरैका दुःखका कथाले परदेशमा समेत साथ छाडेका छैनन्। नेपाली महिलाका उत्पीडन र हिंसाका कथा पितृसत्ताको ह्याङ बोकेको नेपाली मानसिकता जहाँ जहाँ पुगेको छ त्यहाँ पुगेकै छ। प्रगतिमा बात लाउने, दुःखमा सहानुभूति देखाएझैँ गरी कुत्सित उद्देश्यले नजिकिने, महिलालाई जसरी पनि कमजोर, गलत देखाउन प्रतिस्पर्धा गर्ने पितृसत्ताको अहंकारी सोच नेपालीनागरिकसँगै परदेशिएको छ।

(नेपाली राजदूतावास सउलमा श्रम काउन्सेलरका रूपमा कार्यरत)

प्रकाशित: २४ फाल्गुन २०७८ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App