२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

तराई : नेपालको सास

नेपालको अस्तित्वमै तराईको राजनीतिक, सांस्कृतिक तथा सामाजिक आदि विषयका पनि आफ्नै घनिभूत तथा अविभाज्य महŒव छ। नेपालको भौगोलिक तथा आर्थिक दृष्टिबाट भने तराई नेपालको सास हो।यही सासलाई नेपाल शरीरबाट काटेर निकाल्ने प्रयास (इन्दिरा गान्धी डक्ट्रिन) सोनिया राजमा विकसित भएको हो 'एक मधेस एक प्रदेश'को नारामा। परन्तु, नेपाली जनतालाई आफ्नै एकाघरका परिवार ठान्ने करोडौँ भारतीयको आवाज बोेकेर मोदीभाइको आगमनपछि भने यो नारा धिमा हुँदै गएको देखिन्छ। जनआन्दोलनपछिको देशको दिशाहीनताका बेला अचानक लहानबाट माओवादीसँग ठक्कर लागेर जन्मेको हो मधेसी आन्दोलन। उक्त आन्दोलनमा 'तराईबासी पहाडी जनता' माथि 'तराईबासी मधेसी' राजनीतिकर्मीहरूले भारत विभाजनकालमा पाकिस्तानका हिन्दुमाथि गरिएजस्तै कार्यको सानो ट्रेलरको उपयोग गरेर उपेन्द्र यादव (पूर्वएमाले तथा पूर्वमाओवादी) अचानक मधेसी जनताका हित गर्ने एकमात्र 'मसिहा' बन्न पुगेका हुन्।

तराईबासी जनताबीच मधेसी र पहाडियाको घृणित खाडल खनेर उठाएको नारा एक मधेस एक प्रदेशलाई प्रारम्भमा मधेसी हितकारी तथा पहाडियाबिरुद्ध सम्भि्कयो। त्यसैकारण 'पहाडिया तराईबासी'का बिरुद्ध 'मधेसी तराईबासी'ले मुक्ति नाराका रूपमा यसलाई लिएका थिए। परन्तु, सयौँ वर्षदेखि स्थापित गाउँघरका शोषक शासक पन्चेत मन्डल, ठाकुर साहब, जमिनदार साहब, सेठ महाजन, पण्डितजी, मुल्लाजी तथा सीमानाका डाकु साहबका प्रतिलिपि पात्र उपेन्द्रलगायतका मधेसी नेताहरू रहेका प्रमाणित हुन समय लागेन। हरतरहबाट शोषित मधेसी जनताको खुनको उपयोग नेतागणले सत्ताका लागि गरेको भन्ने पनि बुझे तराईका सबैले।

एक मधेस एक प्रदेश भनेको पनि मैथिली र भोजपुरीभाषी बाहुल्य क्षेत्र कोशीदेखि पर्सासम्मका उनै जमिनदार नेता, मालिकवर्गले उक्त कोर मधेसलाई काठमान्डुजस्तै सत्ता केन्द्र बनाइ झापादेखि कन्चनपुरसम्मका थारु, अवधि, मुसलमान र दलितमाथि यही नाराका माध्यमबाट शासन गर्ने कुटिल खेल रहेको बुझे। हुनत मैथिली उच्चताबोधले भोजपुरीलाई देहाती (गाउँले)भाषाको नाम दिएर हेप्ने र तुच्छ बनाइने तथ्यबारे बाल्यकाल वीरगन्जमा बिताएको यसै पंक्तिकारलाई थाहा छ। मधेसभित्रै दलित, महिला, मुसलमान, थारु, गरिब तथा पिछडा जातमाथि कथित उच्च जात र सम्पन्न वर्गबाट कथित गाउँ पन्चेत, पण्डित, मुल्ला, ठाकुर साहब, बनिया तथा अपराधी डाँकुका रूप धारण गरेर आजका दिनसम्म निरंकुश शासन गरी नै रहेका पीडा पोखेका थिए जनताले गत चुनावमा। तिनै स्थानीय शोषकका कारण देशको सबैभन्दा बढी सुविधाप्राप्त यस क्षेत्रका जनता साक्षरता तथा सूचकांकमा सुदूरपश्चिमसमान छन्। दोषी केन्द्रलाई बनाइए पनि तथ्यांक प्रष्ट बोल्छ कि, केन्द्रका अपार स्रोत तथा दिल्ली र बिहारसमेतका असंख्य सहयोगको कोशी नदी नै बग्दा पनि सुकेर सुख्खा रोटी बनेका छन्, आममधेसी। ठीक विपरीतमा देखिन्छन्, पुरीझँै डम्म फुलेका नेता, साहू, पण्डित मालिकहरू। टाढा अर्थात् काठमान्डुको शोषक देखाएर नजिकका शोषकहरूले तराईबासीलाई केही समय मर्न मार्र्न उक्साए पनि धेरै दिन घृणाले मात्र पेट नभर्ने बोध भइसकेको छ।

मान्छेलाई रोटी र धोती तथा छानो र रोजगारी नै चाहियो। सिंहदरबार कब्जा गरेर रिसोर्टमा लन्च र राजदूताबासको डिनरले अघाएका (एक भारतीय नेताले भनेझैँ) प्याम्पर्ड (फुर्काइएका) चाइल्ड अर्थात् मधेसी दलका ठालु नेताहरूबाट गरिबलाई समृद्धि प्राप्त हुने कुरै थिएन र भएन पनि। तराईका नेपाली खाँटी मधेसी भोका छन्, नांगा छन्, बेरोजगार छन्, अरबमा मरिरहेका छन्। पन्चेत मण्डलहरूको कंगारु कोर्टका धनीमुखी फैसलाबाट दासदासी बनिरहेका छन्। परन्तु, एक मधेस एक प्रदेशवाले यादव र ब्राह्मण तथा कायस्थ बनिया जातका नेता मालिकहरूसँग थारु, मण्डल, मुसहर र बेचन जातलगायतका पिछडाका लागि रोटी र धोती तथा मानिस हुनुको साधारण सम्मानसमेतको कुनै एजेन्डा छैन। बीसौँ लाख (गैरनेपाली)ले नागरिकता पाउँदा तराईका सबैभन्दा पुराना नेपाली (मधेसी)ले पनि नागरिकता पाउन् भन्नेतर्फ मधेसी नेताले कुनै प्रयत्न गरेनन्। पाँच–सात पुस्तादेखि खुनले भूमि सिँच्ने मधेसी नेपालीलाई नागरिकता नदिने प्रमुख जिल्ला अधिकारीले भारतमै नागरिकता कायम रहेका धनी सुमंगल झा, सन्तोक सिन्हा तथा मनोज यादवहरूलाई सहज दिए नागरिकता! यिनै झा, सिन्हा तथा यादव दुई–तीनवर्षपछि मन्त्री बनेर त्यही प्रजिअको सलाम खाने जाल बुनिरहेका हुन्छन्। आम तराईबासी मैथिली, भोजपुरी, अवधि तथा थारूलगायतको पीडा राजनीतिक हैन, आर्थिक हो, पहाडका अन्य आमनेपालीजस्तै। जसको झलक मधेसका सर्वसाधारणले एक मधेस एक प्रदेशको नारामा भेटेका छैनन्।

त्यसैकारण एक मधेसवाला दलहरूलाई पछिल्लो चुनावमा सत्ताकेन्द्रमा पुग्नै नसक्ने गरी हुत्याइदिए जनताले। यही कोर मधेसकै ४८ निर्वाचन क्षेत्रमा एक मधेसको नारा नमान्ने नेपाली कांग्रेसलाई २३ सिट दिएर आमजनताले उपेन्द्र यादव र राजेन्द्र महतोका दललाई लोप्पा ख्वाए। जनता आर्थिक उन्नति चाहन्छन्, दक्षिणतिर भइरहेजस्तै, न कि पहाडिया मधेसीबिच मारकाट। यही मारकाटको उपयोग गरेर नेताहरूले राजपाठका लागि लैनचौरलगायतका 'पूजापाठ' गरेका पनि मधेसी जनतालाई बुझ्न समय लागेन। तर, कांग्रेस र एमालेले पनि तराईबासी मधेसी जनताको आर्थिक उन्नतिको चाहना, सामाजिक भेद र शोषणबाट मुक्तिको चाहना राम्ररी बुझ्न सकिरहेको छैन। सत्ताका लागि धम्क्याउन उपयोग गरिँदै आएका विभाजनको नारालाई तराईको एकमात्र माग भन्ने भ्रममै दुई ठूला दल परेका कारण अहिले कोर मधेसको ८ जिल्लाको एक प्रदेश बनाएर नेताका मुख थुने पनि जनता भोलिपल्टैदेखि बोल्न थालेका छन्। ती भन्न थालेको छन्, हामीलाई पहाडसँग मिसाएर एक बनाऊ। पहाडबिनाको मधेस, करङबिनाको मासु हो। नेता सरिता गिरीले त चीन र भारत दुवैतिर जोडिएको प्रदेश बन्नुपर्छ भनेर चुनौती दिइसकेकी छन्– समतलको मात्रै अलग एक मधेस एक प्रदेश बनाउने नारामा जनतालाई मर्न लगाउने नेतालाई।

गिरीले जे बुझिन् पृथ्वी नारायणले त्यही बुझेर आफ्नै ससुरालीमा अनेक नाटकीय विवाद सृजना गरेर यही भित्री मधेससम्म तथा पूर्वमा चौदन्डी राज्यमा आक्रमण गरी किराँत र तराई क्षेत्र कब्जा गरेका थिए। उपत्यकाका मल्लहरूले त्यो बुझेनन्, व्यापारमात्र बुझेर रसुुवासम्मका व्यापारिक मार्ग कब्जा गरी ल्हासासम्म पुग्दा पनि आँगननजिकको मधेसतिर हेरेनन्। अंग्रेजले पनि तराई नेपालको सास भन्ने बुझेरै सुगौली सन्धिमा पूरै तराई कब्जा गरे। काठमाडौंले पनि यही बुझेकाले भीमसेन थापाकै समयमा फेरि पश्चिम नयाँ मुलुकबाहेक मेचीदेखिका तराई भूभाग फिर्ता लिएका थिए। त्यसपछि यो सत्य इन्दिरा गान्धीले बुझिन्। र, माओवादी सशस्त्र द्वन्द्व तथा जनआन्दोलनपछि उत्पन्न नेपालको अस्थिरता बुझेरै सोनिया राजमा फेरि नेपालको सासनली अर्थात् समतल भागलाई चटक्कै छिनाएर कोर मधेसका नेताहरूबाट मेचीदेखि कालीसम्म शासन गर्ने योजना बुनिएका थिए मधेस आन्दोलनको आगोको रापमा। पहिलो चुनावमा त्यही रापमा पाकेको रोटीलाई मधेसी दलका नेताहरूले सत्ता र सम्पत्तिका लागि खुबै उपयोग गरे। अनि देखाइदिए चुनावमा मधेसी जनताले यी नवमधेसी मालिकहरूलाई! जनता उस्तै हुन्छ पहाड होस् कि मधेस या लिम्बुवान जहाँ पनि। कहिलेकाहीँ बहकिन्छ, तर सम्हालिन जान्दछ।

पहाडबिनाको ८ जिल्लावाला राज्यले मुख्यमन्त्री, सांसद तथा मन्त्री बन्ने अवसर त दिन्छ, डेढ–दुई सय मालिकलाई तर बाँकी लाखौँ मधेसी कि त कतारमा, कि त मर्ने हतारमा पुग्नेछन्। हुन त अहिले चुरे पनि मागिँदै छ। म त भन्छु– काठमान्डुवाला क्षेत्रमै यो प्रदेश जोडिनुपर्छ। र, राजधानी निजगढदेखि वीरगन्जसम्मका इलाकामा विकास गरिनुपर्छ। देशको राजधानी काठमान्डु उपत्यकालाई विशेष प्रशासनिक क्षेत्र बनाएर केन्द्रमुनि राखिनुपर्छ मेयरबाट सन्चालित हुनेगरी। भ्रम छरिएको छ, वीरगन्ज नाकाबाट आउने राजस्वबारे। देशभित्र आउने राजस्व प्रदेशको हुँदैन, केन्द्रको हुन्छ भन्ने तथ्यले गर्दा यो मधेस राज्य सुदामा बन्नेछ। र, सुदामासित हुने उही कनिकामात्रै त हो। किन्तु काठमान्डुबासी तथा पहाडिया नेपालीले बुझ्नुपर्छ तराईका नेपाली तथा नेपाली मारवाडीसमेतलाई खाँटी नेपाली नमानेर सामाजिकरूपमै गरिँदै आएको खुला हेपाहा व्यवहारले असाध्यै दुखाएको छ। भारतीय प्रशान्त तामाङलाई शीरमा राख्ने र नेपाली उदितनारायण झालाई भिरमा ठोस्ने प्रवृत्ति घृणित जातिवाद नभए के हो त? मधेसको यही पीडाले जन्माएको हो मधेसवाद।

प्रकाशित: ३२ श्रावण २०७२ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App