६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

अपांगता र भूकम्पपछिको कठिनाइ

भूकम्पमा परी मर्ने त मरिगए, बाँचेकालाई पनि पर्नु पीर पर्योद घर भत्केकाले। त्यहाँमाथि जेनतेन कमाएको धन र जोडेको अन्नपात पनि पुरियो। मृत्युलाई छल्दै सुरक्षित तथा खुला चौरमा त कहिले खुला आकाशमुनी बस्न बाध्य भए। धेरै रात त राहतस्वरूप प्राप्त पालमुनी नै बित्यो। यसर्थ भूकम्पले बेसहाराहरुको सहारा खोसिदियो। कैयौँ बालबालिका टुहुरा भए। कतिपय सहाराबिहीन भए भने कतिपय अपाङ्गता बन्न पुगे।यही कारण अन्य जस्तै अपाङ्गता भएका व्यक्ति पनि घरबारबिहीन भएका छन्। आफन्त गुमाउनुपरेको छ। घाइते भएका छन्। प्राकृतिक विपत्तिको समयमा कठिनाइ त सबैलाई हुन्छ नै तर पनि अपाङ्गताको प्रकार र शारीरिक अवस्थाअनुसार अन्य व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्ति बढी पीडित हुन पुग्छन्। उनीहरु सुरक्षित स्थानसम्म पुग्न सक्दैनन् जसले गर्दा शारीरिक अवस्थाका कारण ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्छन्। उदाहरणका लागि काभ्रेकी पूर्णमाया घलेलाई लिन सकिन्छ। भूकम्प जान थालेपछि अन्य व्यक्ति झटपट सुरक्षित स्थानमा गए तर ह्विलचियर प्रयोग गर्ने उनी भने जान सकिनन्। अनि आफ्नै घरले थिच्यो। एकमात्र सहारा ह्विलचियर नै भाँचियो। धन्न, पुरिएकी छोरीको उद्धार गर्न बाबु सफल भए। उनी बाँच्न त बाँचिन तर आफ्ना दैनिक क्रियाकलाप आफँै सञ्चालन गर्न सक्दिनन्।

अर्को एउटा घटना हेरौँ– भूकम्प आउँदा दीपेन्द्र शाक्य र उनकी आमा मैया टिभी हेर्दै थिए। बाहिर निस्कन नपाउँदै घर ढल्यो र दुवैलाई थिच्यो। दीपेन्द्रका दाजु त्यही समय आइपुगेकाले दुवैलाई उद्धार गर्न भ्याए। उनीहरु विपत्तिबाट बाँच्न त सफल भए कहाँ बस्ने, के खाने जस्ता चिन्ताले सताइरहेको छ। यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन्। भूकम्पले अपांग बनाएका तथा पहिलेदेखि नै अपांगता भोगिरहेकाहरुको जीवनचर्या अहिले झनै कष्टकर बन्दै गएको छ जसप्रति कसैले सोचेको देखिन्न।

भूकम्पका कारण कतिपय अपाङ्गता भएका व्यक्तिका सहयोगी सामग्री पुरिए भने कतिपयका घर भत्किए। कतिका भाडामा बसेका कोठासमेत बस्नै नहुने गरी चर्किएका, भत्किएका छन्। भाडामा पनि कोठा पाउन कठिन देखिएको छ। राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार वैशाख १२ को भूकम्पमा ३५ जना अपाङ्गता भएका व्यक्तिको मृत्यु भएको छ भने १५ सयभन्दा बढीको घर पूर्णरूपमा क्षति भएको छ। त्यसैगरी नेपाल स्पाइनल कर्ड इन्जरी पुनर्स्थापना केन्द्र साँगाका अनुसार भूकम्पपछि उक्त केन्द्रमा करिब १ सय जना घाइते आएका छन् जसमध्ये ९७ जनामा मेरुदण्ड पक्षघात भएको पाइएको छ। यो तथ्यांकले पनि भन्छ कि भूकम्पपछि अपाङ्गताको संख्या निकै बढेको छ।

भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिको अस्थायी बासास्थानका लागि अपाङ्गतासम्बन्धी काम गर्ने केही संघ/संस्था, जस्तै– अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धति केन्द्र काठमाडौंले नेपाल रेडक्रस सोसाइटी र अन्य सहयोगी संघ/संस्थाको सहयोगमा जावलाखेलको फुटबल मैदानमा र नेपाल अपाङ्ग महिला संघ र राष्ट्रिय अपाङ्ग कोषको समान्वयमा भृकुटीमण्डपमा अस्थायी शिविर सञ्चालन गरिएको थियो। यस्ता शिविरमा पिउने पानी, शौचालय, सरसफाइ गर्न, लुगा धुन, नुहाउनेलगायत समस्या छ। त्यसमाथि दिउसभरको चर्को घाम र रातिको हावाहुरी अनि पानीले समस्याको आकार थपेको छ। यो अवस्थामा भूकम्पपीडित अपाङ्गता भएका व्यक्तिलाई पर्नुसम्म समस्याले पिरोल्नु स्वाभाविक हो। आफ्नो घर जाउँ भने घरै छैन, कतिका त आफन्तसमेत छैनन् न त भए पनि त्यहाँसम्म पुग्ने भौतिक संरचना नै छ। सहयोगी सामग्रीको उस्तै समस्या छ। त्यसैले यति अपांगता भएका व्यक्ति भूकम्पको नराम्रो मार खेप्न बाध्य छन् तर उनीहरुका बारेमा विशेष र गम्भीर प्रकारले सोचिदिने काम भने कतैबाट पनि देखिएको छैन।

प्रकाशित: ३ भाद्र २०७२ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App