४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

'दासढुंगा'मा सेन्सर

दासढुंगा काण्डमाथि अनुसन्धानमा आधारित फिल्म 'दासढुंगा' सेन्सरबोर्डको अनुसन्धानमा गाँजिदै गएको समाचार आएको छ। मन्त्रालय धाउँदाधाउँदै र फिल्म रिलिजको अनुमति कुर्दाकुर्दै थाकेका निर्माता अपिल विष्ट दिक्क छन्। आयोग र सरकारी रिपोर्टहरूकै आधारमा फिल्म बनाएको दाबी छ अपिलको। तर सेन्सरबोर्डले पटकपटक संवाद र दृश्य हटाउन भनेपछि उनी निराश र हैरानमात्र छैनन् 'दासढुंगा' अब 'ओखलढुंगा' बन्ने व्यंग्यात्मक अभिव्यक्ति दिँदैछन्। सेन्सरबोर्ड र निर्माता समूहबीच विधा नछुट्टिएको, वैदेशिक सम्बन्ध, पार्टी र परिवारको अनुमति लिनुपर्ने/नपर्ने जस्ता विषयमा असहमति देखिएको खबर छ।


के रहस्यको उजागरण अनिष्टको आगमन हो? रहस्यको उपासक र रहस्यको उजागरकबीच सम्बन्ध पहिल्यैदेखि द्वन्द्वात्मक छ। प्रचीन ग्रीक पुराणमा एउटा कथा छ, 'प्यान्डोराको बाकस'। प्रमिथसले आगो चोरेर मानिसलाई सुटुक्क दिए। जियसले प्रमिथसलाई चट्टानमा उत्तानो पारेर बाँधेर उसको कलेजो चिललाई दिनभरि ठुँग्न लगाए। रातभरि बढेको प्रमिथसको कलेजो प्रत्येक दिन चिललाई खुवाइन्थ्यो। विद्रोही प्रमिथसको यस अग्निकाण्ड मानव सभ्यताको विकासक्रममा महत्वपूर्ण मानिन्छ। जियसलेे मानवलाई पनि सजाय दिन प्यान्डोरा नामकी यौटी केटीलाई आकर्षक बाकस दिए। उनलाई यसभित्र के छ भनेर कहिल्यै नहेर्नु भनिएको थियो। प्रमिथसको भाइसँग विवाह गरेकी प्यान्डोराको उत्सुकता क्रमशः बढ्दै गयो। रहस्य बु‰न कौतुहल यति बढेछ कि उनी बाकस नखोली बस्नै सकिनन्। जब उनले बाकस खोलिन्, मानिसले सोच्दै नसोचेको अनिष्टको आँधी संसारभरि फैलियो। मानवले त्यसपछि बढी कष्ट भोग्नु पर्‍यो। हुन त त्यस बाकसभित्र पिँधमा 'आशा' पनि थियो भनिन्छ। तर सामान्य अर्थमा यस कथाले रहस्य खोतल्नु भनेको अनिष्टलाई आमन्त्रण गर्नु हो भन्ने बोध गराउँछ।


एक्काइसौँ शताब्दीमा विज्ञानले अधिकांश रहस्य खुलाइसक्यो। खुल्न बाँकी पनि क्रमशः खुल्दैछन्। तर हाम्रो देशमा काण्ड धेरै भए, रहस्य खुल्न भने धेरै बाँकी छ। विदेशी प्रभुको अगाडि हाम्रा नेता लम्पसार पर्छन् भन्ने अभिव्यक्ति तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै व्यक्त गरे। तर को कसरी विदेशी प्रभुसामु लम्पसार परेका छन् भन्ने स्पष्ट रहस्य खुल्न सकेको छैन। गम्भीर काण्डहरू अझै रहस्यमय नै छन्। के नेपाली काण्डको रहस्य प्यान्डोराको बाकसजस्तै हो जुन उजागर भएमा अनिष्टको आँधीबेहरी आउनेछ? राजा वीरन्द्रको वंशै नास हुनेगरी दरबार हत्याकाण्ड भयो। चार दिनमा नेपालले तीन राजा पाएको इतिहास बन्यो। सायद विश्व राजनीतिमा केही शताब्दीकै सबैभन्दा संवेदनशील घटना हो। यसबारे जेजस्ता प्रतिवेदन आए पनि जनता त्यसलाई मान्न तयार छैनन्।


दासढुंगा काण्डलाई पनि जनता दुर्घटना मान्न तयार छैनन्। काण्डहरू रहस्यमय बन्दै गएपछि जनताले यसलाई सामान्य दुर्घटनामात्र मान्ने कुरा पनि भएन। सबै प्रमाण नामेट पारेर दासढुंगा घटनालाई पनि दरबार हत्याकाण्डजस्तै थप रहस्यमय बनाइएको छ। होइन भने दासढुंगा दुर्घटना स्थललाई पार्क र सिँढीमा किन रुपान्तरण गरियो? चालक अमर लामाको पनि किन रहस्यमय हत्या भयो? मदन भण्डारी र जीवराज आश्रित चढेको जिप जस्ताको तस्तै म्युजियममा राख्ने भने पनि किन राखिएन? एउटै घटनाको प्रत्यक्षदर्शी भनिएकी सुन्दर लामाकी आमाको बयान किन सुन्न पाएनन् जनताले? झन्झन् रहस्यमय बनाउँदै लगिएको दासढुंगा काण्डको कथा कहाँ पुगेर अन्त्य होला? प्यान्डोराको बाकसजस्तै यसको रहस्य खुल्दा अनिष्टै होला वा त्यसभित्र नवीन इतिहासको आविष्कारको पनि आशा गर्न सकिन्छ? पुस २५ गते प्रचण्डले सार्वजनिकरुपमै दासढुंगाकाण्डबारे प्यान्डोराले छस्स रहस्यमय बाकस खोलेर बन्द गरेको जस्तै गरी बोले। दासढुंगाकाण्डको रहस्य खुल्यो भने के कस्तो अनिष्टको आँधी आउला? रहस्यको बाकस बोकी बसेकाहरू नै जानून्।


चाहेर वा नचाहेर समयको छालसँगै रहस्यको पोको प्यान्डोराको बाकसजस्तै खुल्नेछन्। समय र इतिहासको छिद्रबाट अनुसन्धानकर्ताले चियाएर हेरिरहेछन् र नयाँ इतिहासले जन्म लिनेछ। ढिलोचाँडो रहस्य खुल्छन्, र खुल्नुपर्छ। खोजकर्ता र सर्जक स्वतन्त्र भएर अनुसन्धान वा सिर्जना गर्न पाउनुपर्छ। ऐतिहासिक रहस्यमाथि केन्द्रित फिल्म 'दासढुंगा'ले सेन्सरसीपको दलन झेल्नपर्नु विडम्बना हो। रहस्यलाई अझै प्यान्डोराको बाकस र अनिष्टको बिम्ब बनाइराख्नु समभावना र सिर्जनाको ढोका थुन्नुजस्तै हो।

प्रकाशित: ८ माघ २०६६ ००:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App