२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सार्वभौमसत्ताको अर्थ

नेपाली कांगे्रसको दाबी छ– जहानियाँ पारिवारिक शासनबाट नेपाली प्रजाका हातमा शासन ल्याउने हामी हौँ। त्यसलाई प्रजातन्त्रको नाम दिन रूचाउँछ ऊ। २०४६ सालको परिवर्तन ल्याउनेमा पनि उसकै दाबी छ। नेपाली जनतालाई हामीले सार्वभौम बनायौँ भन्छ।२०६३ को परिवर्तन ल्याएर गणतन्त्र ल्याउने पनि भन्छन्, राजा हटाएर हामीले सही अर्थमा जनतालाई सार्वभौम बनायौँ। जनयुद्धवाले माओवादी त आफैले नै गणतन्त्रमार्फत् जनतामा सार्वभौमकिता ल्याएको दाबी गर्छ। मधेसी आन्दोलनकै कारण नेपाल संघीय राज्यमा परिणत भएको र संघीयताको अर्थ काठमाडौँ केन्द्रित सार्वभौमिकता आममान्छेमा पुगेको दाबी गर्छन् खाँटी नेपाली नेता उपेन्द्र यादवहरू तथा नवनेपाली राजेन्द्र महतोहरू। परन्तु ६३ को परिर्वतनले नेपालको सार्वभौमसत्ता दिल्ली दरवार, लैनचौर तथा 'र'का जुनियर अधिकारीका हातमा पुगेको आशंका मनमा उत्पन्न भइरहेको तथ्यको प्रमाण स्वयं भुक्तभोगी जनता नै छन्। भारतको एक प्रान्तीय सरकार जत्ति पनि स्वायतत्ता सिंहदरवारको सरकारसँग नरहेको हुँदा नेपाल वास्तवमा अहिले अघोषित 'कोलोनाइज्ड'को अवस्थामा रहेकोले के साँच्चिकै ती परिवर्तनहरूले जनतालाई सार्वभौम बनाएका छन् कि भइरहेको सार्वभौम नै हराउँदै गएको हो?

सवाल यो छ कि, जनता सार्वभौम खासमा कहिले भए? मेरो मूल्यांकन छ, ३४७ वर्षअघि विसं १८२५ मा कुमारी जात्राका दिन माजू (कुमारी)का हातबाट टीका लगाएर पृथ्वीनारायण नेपालका राजा भएका दिनबाट जनतामा राज्यको सार्वभौमसत्ता हस्तान्तरण भएको हो। (सदर) नेपाल राज्य त्यसभन्दा पहिले मल्ल राजाहरूको पारिवारिक सम्पत्ति थियो। जसको अंशबण्डा भाई–छोराहरूमा स्वयं राजाहरूले नै गर्ने हुँदा उपत्यका कैयौँ राज्यमा स्थापित थियो।

राज्य भनेको के हो? विश्वको इतिहासमा राज्य भनेको राजाको सम्पत्ति हो। नेपालमा पनि हरेक राजाका सम्पत्ति मानिन्थे पृथ्वीनारायणअघि। जनतामा राजाको अधिकार पाएर सम्पत्तिको उपभोगमात्र गर्ने अधिकार थियो। जनताले कुनै पनि समय कुनै पनि राज्यमा गएर सेवा गर्थे। मेरै पुर्खारू काशीराम र परशुराम एकै समय पाटन र भक्तपुरका सेनापति थिए भने गोर्खा राज्यका योद्धा भएर बाघ भीमसिंह, बडाकाजी अमरसिंह आदि कीर्तिपुर, पलान्चोक आदिमा काठमाडौँ–भक्तपुरे राजाविरुद्ध लड्थे। अर्थात् जनताको राज्य थिएन, राज्य राजाको मात्र थियो। सार्वभौमसत्ता राजामा थियो, जनताको थिएन।

सार्वभौमसत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जंगल, प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्तित्व नै नस्वीकार्ने अवधारणा मधेसी मोर्चाहरूले ल्याएका बेला नेपाली जनताको सार्वभौमसत्ता भूमिमा नभई जनसंख्यामा सीमित छ भन्ने विवाद पनि आएको छ। परन्तु सत्य केे हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।

मल्ल राजाहरूले छोराहरूमा अंशबण्डा गर्दा जनतालाई सोधिएको थियो त? न त लिच्छवी राजा शिवदेव प्रथमले बहिनीको छोरा भान्जा अंशु वर्मालाई राज्य जनमत गरेर दिएका हुन्! बाल्टिक राज्य लाटभिया र इस्टोनिया पनि दाइजोमै दिइएका हुन्। विशाल र सुसंगठित खस राज्य पन्ध्रौँ शताब्दीमा टुक्रिएर बाइसे–चौबिसेमा परिणत हुँदै जानुका कारणमध्ये एक भाइ–छोरामा भागबण्डा नैे हो। चिनियाँ साम्राज्य, जापानी साम्राज्य, मंगोलिया, दक्षिणपूर्वी एसिया, अरब तथा अफ्रिकाहरूमा भाइ–छोरामा राज्यको अंशबण्डा गर्दा जनताको स्वीकृति लिइएन। किनभने, जनतासँ भूमिमाथिको अधिकारै थिएन। भारतको इतिहास त झन् राजाहरूको सम्पत्तिको अधिकार र कब्जा तथा जनतामाथिको शोषणको कथामात्र हो। धेरै पुरानो कुरा के गर्नु, अस्ति भर्खरमात्र ब्रिटिसले भारत छोड्दा ब्रिटिस साम्राज्ञीको सार्वभौम अधिकार भएका राज्यहरूमात्र भारतीय कांग्रेसलाई जिम्मा लगाउन सम्भव थियो। ब्रिटिसले नजितेका नेपालजस्ता नेटिभ स्टेट्स भनिने ५६३ राज्यका राजामा सार्वभौमसत्ता रहेको हुँदा माउन्ट बेटनले फकाएर ती राजाहरूले भारतीय युनियनमा समाबेस हुन्छाँै भनी हस्ताक्षर गराएपछि मात्र पाकिस्तान र इन्डियन युनियनको जन्म भएको थियो। त्यसबेला राजाकै दस्तखत प्रयोग भएको थियो, जनमत या सहमति मागेका थिएनन् माउन्ट बेटनले। किनभने, राज्य सिद्धान्तको आधारमा सार्वभौमसत्ता राजामा निहित थियो। ४७ पछि मात्र पहिलो पटक भारतवर्षमा सार्वभौमसत्ता जनताका हातमा राजाका हातबाट हस्तान्तरण भएको हो। बल्लभभाइ पटेलको मागअनुसार नेपाल पनि भारतीय युनियनमा मिल्ने अवस्था आएको भए नेपालमा जनमत गरेर निर्णय लिइने थिएन, राजा त्रिभुवनको ठाडो दस्तखतबाट नेपाल स्वतन्त्र भारतको एक राज्य कायम हुने थियो। किनभने, ब्रिटिस सोचअनुसार अन्य राज्यमा झैँ नेपालमा पनि सार्वभौमसत्ता राजाका हातमा थियो। कस्मिरका राजा र हैदरावादका निजामले नमानेका कारण ती दुवै राज्य स्वतन्त्र रहे। हैदरावादमा भारतीय सेनाले हमला गरी कब्जा गरेको थियो भने कस्मिरमा पाकिस्तानी सेनाले हमला गरेको थियो। कस्मिरी राजाले भारतीय युनियनमा मिल्छु भनेपछि मात्र कस्मिर भारतको अंग बनेकैले भारतीय भूमि बनेको हो। राजाले त्यसबेला पनि जनमत लिएका थिएनन्, कस्मिरमा। न त हैदरावादका निजामले भारतीय युनियनमा मिल्न नचाहँदा जनताको आदेश सुनेका थिए।

यी विभिन्न उदाहरण र तर्कका बीच मूल मुद्दामा म आउन चाहन्छु। मेचीदेखि गण्डक क्षेत्रसम्म नेपाल राज्य स्थापित भइसकेपछि राज्यको कुनै टुक्रा अंशमा लिएर नयाँ राज्य बनाउने पैतृक अधिकार बताउँदै पृथ्वीका भाइहरूले अंश मागे। पृथ्वीको जवाफ थियो, 'राज्य भन्या कुरा भाइभाइना (ना) बाँडिने कुरा होइन..... राज्य त जनताको हुन्छ..... राजा त त्यसको रखवाला हुन्छ, पालक हुन्छ र रक्षक मात्र हुने हो।' उक्त घटनापछि भाइहरू रिसाएर बैरीका साथ मिल्न गए पनि ...राज्यको सार्वभौमसत्ता जनतामा रहन्छ राजामा हैन' भन्ने पृथ्वीको सिद्धान्तमा परिवर्तन आएन। त्यसपछिका कुनै पनि राजाले राज्यको टुक्रा कसैलाई दाइजो, अंशबण्डा दिनेबारे सोच्दै सोचेनन्। यसरी विश्वमै पहिलो पटक करिब अढाई सय वर्षअघि सार्वभौमसत्ता जनतामा निहित हुन्छ भन्ने सिद्धान्त राजा पृथ्वीनारायणले नेपालमा स्थापित गरे।

अन्त्यमा अढाई सय वर्षअघि सार्वभौम बनिसकेका जनताको सार्वभौमसत्ता विदेशी राजधानी तथा विदेशी सरकारका हातमा हस्तान्तरण हुन पुगेकाले आज राज्य मानसिक, राजनीतिक, भौतिक तथा आर्थिकरूपमा कोलोनाइज्ड भइसकेको परिस्थिति र मनस्थितिकै कारण पृथ्वीनारायण आतंककारी बनाइएका छन्! राष्ट्रवादको नारा उचाल्ने दल र नेता तथा बुद्धिजीविहरूले राष्ट्रका जननी पृथ्वीनारायणको नाम सुन्न नचाहे पनि नेपाल निर्माण गर्ने तथा राजाको हातको सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्ने राजा पृथ्वीनारायण धमिलो हुनै सक्दैनन्।

...राज्य अविभाज्य हुन्छ, विभाज्य हुन्न' भनेर भाइहरूलाई भन्ने व्यक्तिको भनाइ यसबेला राज्य विभाज्य हुनुपर्छ, जनता विखण्डित हुनुपर्छ भन्ने नेता र दलहरूका लागि बिषसरह हुने नै भयो। आजको रुसमा पिटर द ग्रेट पूजनीय छन्, भारतमा अशोकचक्र सरकारको चिह्न बनेको छ, त्यसैले रुसी र भारतीय राष्ट्रवाद धेरै उच्च छ। पृथ्वीनारायण वहिष्कृत गरिनुको लक्ष्य नेपाललाई विभाज्य बनाउने एजेन्डाकै निरन्तरता होइन कसरी भन्ने?

प्रकाशित: ६ माघ २०७२ २१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App