६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

देउवासामु चुनौतीका चाङ

नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले नेतृत्व चयनमा भएको मतदानमा आफ्ना प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई एकै चरणमा पराजित गरी पार्टीको प्रमुख कार्यकारी पदमा पुग्न सकेनन्।प्रथम चरणको मतदानमा ११ मत अपुग भएपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गर्‍यो । दोस्रो चरणमा निर्वाचन भएर नेतृत्व चयन भएको यो कांग्रेसको इतिहासमा पहिलो घटना थियो । दोस्रो चरणको निर्वाचनमा पहिलो चरणबाट बाहिरिएका कृष्णप्रसाद सिटौलाले प्राप्त गरेको मध्ये सभापतिका प्रत्यासी सिटौला तटस्थ रहँदारहँदै पनि करिब ६० प्रतिशत मत देउवालाई प्राप्त भयो । दोस्रो पटक प्राप्त मतलाई लिएर 'देउवाको दियोमा सिटौलाको तेल' भनेर पनि अर्थ लगाइयो । यसरी कडारूपमा भएको प्रतिस्पर्धाले देउवालाई आगामी दिनमा पार्टी हाँक्न सोचेजति सहज नहुने देखिँदैछ ।

२०३९ सालमा बीपी कोइरालाको निधनपश्चात् निरन्तरता पाएको नेतात्रयको अवधारणाले कांग्रेसको १३औँ महाधिवेशनपछि पनि निरन्तरता पाएको छ । सभापति पदका प्रत्यासीत्रय देउवा, संस्थापन पक्षका पौडेल र तत्कालीन महामन्त्री सिटौलालाई प्राप्त मतले उनीहरूलालाई नेतात्रयको अवधारणामा पुर्‍याएको हो । सुशील कोइरालाको निधनपश्चात् कार्यबाहक सभापति बन्न पुगेका पौडेल र वरिष्ठ नेता देउवा सभापति पदका स्वाभाविक उम्मेदवार मानिए । तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र बनी शान्ति प्रक्रिया र पछिल्लो समयमा संविधान निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरी राष्ट्रिय राजनीतिमा थप उचाई निर्माण गरेका सिटौलासमेतले देशव्यापी सञ्जाल निर्माण गरी सभापतिमा लड्न पुगे । कोही स्वाभाविक र कोही आफ्नै बुतामा मैदानमा उत्रिएर हैसियत निर्माण गरेकाले पनि कांग्रेसमा पुनः नेतात्रयको अवधारणा स्थापित बन्न पुग्यो । कार्यकर्ताद्वारा स्थापित मतकै आधारमा पुनः पार्टी नेतात्रयकै अवधारणा पार्टी सञ्चालनमा जाने देखिन्छ ।

निर्वाचनको मैदानमा तीन वटा प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएकाले नेतादेखि कार्यकर्ता तहसम्म विभाजित रहे । उनीहरूलाई एकीकृत बनाउनु देउवाका लागि चुनौतीपूर्ण छ । महाधिवेशनको समाप्तिसँगै ६० र ४० को भागबण्डाको अन्त्य भएको भनिए पनि १२औँ महाधिवेशनमा पनि त्यसै भनिएको सम्झना हुन्छ । अहिले केन्द्रीय समितिमा सभापति देउवाको सुविधाजनक बहुमत देखिए पनि उनीसँगै रहेका सदस्यहरू नीति, सिद्धान्त, विधि, विचार र व्यवहारबाट सँगै रहेको नभई नेतृत्वमा पुग्ने स्वार्थका कारण सँगै रहेकाले उनीहरू कुनबेला कोसँग गठजोड गर्न पुग्छन्, ठेगान छैन । तसर्थ, आफूसँग रहेको बहुमतको गुट (समूह) भत्किएर बहुमत नै गुम्ने खतरा पनि छ । कांग्रेसभित्र नीति, विचार र सिद्धान्तका खातिर राजनीति गर्ने, विचारउपर बहस गर्ने परम्पराको लगभग अन्त्य भैसकेको छ ।

महाधिवेशनका प्रत्यासी द्वय पौडेल र सिटौलालाई सँगै हिँडाउन पनि सहज देखिँदैन । हुन त संस्थापनको पगरी गुथेर चुनावी मैदानमा उत्रेका पौडेल संस्थापनका नाममा टिक्न सक्लान् या उनमा राजनीतिक विचलन आउला, त्यो हेर्न बाँकी नै छ । हेर्न बाँकी नै रहने क्रममा सभापतिका अर्का प्रत्यासी सिटौला पनि छन् । दायाँ र बायाँ जुझारु युवा गगनकुमार थापा र उमाकान्त चौधरीलाई लिएर विचार समूहका नाममा चुनावी मैदानमा त सिटौला उभिए, अब आगामी दिनमा पनि प्राप्त मतको कदर गर्दै कांग्रेसभित्र प्राप्त भूमिकाको भरमा परिवर्तनलाई संस्थागत गर्न दृढतापूर्वक उभिन सक्लान् या नसक्लान्, त्यो भविष्यले बताउला । अहिलेलाई भने उनीहरूलाई सँगै हिँडाउन देउवा सफल होलान् या चुक्लान् भन्ने नै हो ।

पार्टीभित्र विचारको बहस सुन्न नपाएको लामो समय भइसक्यो । जीवन्त संगठनमा विचारको बहस महŒवपूर्ण मानिन्छ । आजका मितिमा र खासगरी परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको परिमार्जन र पुनव्र्याख्या जरुरी छ । पार्टीभित्र केवल गुटबन्दीमात्रै मौलाएको देखिन्छ । अर्कातिर अहिले विचारभन्दा पनि पैसा र पद बलवान भएर आएको छ । यो प्रवृत्तिले पार्टीलाई क्षयीकृत गराउँदै लगेको छ । गुटबन्दीको अन्त्य गराउलान् देउवाले वा आफ्नो स्थायी पुरानै गुटमा रमाउलान्, त्यो पनि हेर्न बाँकी नै छ । समयसँगै पार्टीको नीति, सिद्धान्त र विचारमा परिमार्जन नगर्ने हो भने यथास्थितिमै पार्टीलाई राख्दा पार्टी राजनीतिमा जीवनको ऊर्जा खर्चिने युवाको आकर्षण घट्दै जानेछ । त्यतिमात्र नभई क्रियाशील सदस्यता प्राप्त गर्नासाथ महाधिवेशन प्रतिनिधि बनी एकै पटक केन्द्रीय समितिमा चुनाव लड्न पुगेका नवजवानलाई प्रशिक्षणसमेत नदिने हो भने कांग्रेसलाई तिनै प्रतिनिधि बोझ बनेर निस्कने छन् । यतातिर नवनिर्वाचित सभापति र केन्द्रीय समितिको ध्यान पुग्छ–पुग्दैन ?

सभापति देउवासामु चुनौतीका चाङै छन् । धर्मको नाममा शीर उठाउने प्रयत्न गर्नेदेखि अनेकथरिलाई जोरजम्मा गरेर पार्टी सभापति पद प्राप्त भएको छ उनलाई । उनीहरूको पदीय व्यवस्थापन गर्न नसक्दा आफ्नै पदमाथि धावा बोल्नेछन् भन्ने राम्रै हेक्का देउवालाई छ । तसर्थ, आफैभित्र रहेकाको व्यवस्थापन नै देउवाका मूल चुनौती हुन् । आफूलाई सभापति बनाउन लागेका र संस्थापनको नाममा चुनावी मैदानमा उत्रिएकाबाहेक वैचारिक धारको नेतृत्व गर्ने समूहको व्यवस्थापनसमेतको चुनौती देउवासामु छन् । विगतमा शान्ति प्रक्रिया र संविधान निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेकादेखि पहिलो चरणको नतिजा प्रकाशित हुनासाथ प्राप्त परिणामका आधारमा राजनीतिक निर्णय लिएर प्राप्त मतको सम्मान गर्न नेताद्वय देउवा र पौडेललाई आग्रह गर्दै एकताको सन्देशयुक्त परिपक्व वक्तव्य जारी गर्ने सिटौलालाई समेत कसरी सँगै हिँडाउलान् ?

क्रियाशीलता, वरिष्ठता र सम्भावनाको उचित मूल्यांकन गरेर जिम्मेवारी बाँडफाँट गर्न नसक्ने हो भने पार्टी पुनः ६० र ४० बाट ५८ र ४२ को खेलमा फस्ने निश्चित छ । कम्तीमा आजका मितिमा देउवाबाट गरिएको आशा भनेको 'तेरो' र 'मेरो' को अन्त्य नै हो । त्यो कति सम्भव होला ? तीनतीन पटक मुलुकको प्रधानमन्त्री भैसकेका देउवा व्यावहारिक लचकताकै कारण नेपाली राजनीतिमा सफल छन् । हुन त, सबैलाई रिझाउन खोज्दा देउवाले प्रकाशमान सिंह, बलबहादुर केसी, डा. नारायण खड्कालगायतलाई हिजैका मितिमा गुमाएका छन् भने सभापति बन्न खुमबहादुर खड्का, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, लक्ष्मण घिमिरे र कुलबहादुर गुरुङलगायतको आज बैशाखीरूपी टेकोको सहयोग लिनुपर्ने बाध्यता आयो । यसलाई आमकार्यकर्ता एवं राजनीतिक विश्लेषकले अर्थपूर्णरूपमा लिएका छन् । अर्कातिर गुटका नाममा गुमाएका र पाएकाहरूको व्यवस्थापन नै आज उनको थप चुनौती हो ।

पार्टीको आन्तरिक व्यवस्थापनसँगै संविधान जारीपश्चात् देखिएको समस्या र त्यसको समाधानमा कांग्रेस सभापतिले खेल्ने भूमिका पनि चुनौतीका रूपमा अगाडि आएका छन् । संविधानको कार्यान्वयन, संविधान संशोधन, आफ्नै महामन्त्रीद्वारा व्यक्त संविधानमा उल्लेख भएविपरीतको अभिव्यक्ति, जारी संविधान र सीमाअवरुद्धपश्चात्को राजनीतिक घटनाक्रम, भूकम्पले थिलथिलो अर्थतन्त्रलगायत विषयमा नेपालको जेठो र आजका मितिमा ठूलो रहेको पार्टीले खेल्ने भूमिका तय हुन बाँकी छ । त्यसको संयोजन र कार्यान्वयनमा चयन गरिने पात्रसमेतको चुनौती नवनिर्वाचित देउवासामु छ । उल्लिखित विषयवस्तुमा पट्यारलाग्दो तरिकाले उनी अल्मलिएलान् होला या फटाफट निर्णय लेलान्, चाँडै थाहा हुनेछ । अहिलेलाई एउटैमात्र कुरा भन्न सकिन्छ ठीक–बेठीक जे भए पनि उनमा निर्णय गर्ने क्षमता भने प्रशस्त छ ।

पार्टी टुटफुटको अनुभव संगाली पहिलो पटक पार्टीको सर्वोच्च पदमा पुगेका देउवा सत्तामा आँखा नलगाइ बस्न सक्लान् भन्नेमा कमैलाई पत्यार छ । सन् १७६८ मा बृहत् गोर्खा राज्यका रूपमा नेपाल अस्तित्वमा आएयता राणा, शाह, पञ्चायत, संसदीय व्यवस्था हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । मुलुकमा विभिन्न कालखण्डमा सिस्टममा त परिवर्तन भयो, तर नेपाली समाजको संरचनामा आधारभूत परिवर्तन हुन सकेन । अहिले जनताले चाहेको उपल्लो व्यवस्था पाएका छन् । त्यसको व्यवस्थापन अझ परिवर्ननसँगैको व्यवस्थापनलाई संस्थागत गर्नेमा सभापति देउवा लाग्नुपर्ने हुन्छ । तर, उनको समूहमा मुलुकलाई उल्टो बाटो हिँडाउन खोज्नेहरू पनि प्रभावकारी भएकाले परिवर्तनको व्यवस्थापन, संविधानको कार्यान्वयनमै कार्यकालभित्र जटिलता थपिने हो कि भन्ने आशंका जन्मिएको छ । राजनीतिक संघर्ष र उमेरका आधारमा समकालीनहरूभन्दा ज्यादा नै अवसर प्राप्त गर्दै आएका भाग्यमानी देउवाका आगामी दिन सुखदभन्दा पनि चुनौतीपूर्ण बढी देखिन्छ ।

सभापति देउवाका मूल्यांकनका दिन सुरु भएका छन् । बीपीले कांग्रेस पार्टी स्थापना गरी २००७ सालमा प्रजातन्त्र र २०१५ सालमा एकमना सरकार निर्माण गरेर जनताको नजरमा जननिवार्चित सरकारको छाप छोडेर गए । २०१७ सालमा राजाद्वारा सिस्टममाथि नै धावा बोलेपछि २०४६ मा गणेशमान सिंहको नेतृत्वमा मुलुकमा परिवर्तन सम्भव भयो । जब २०४६ मा परिवर्नन भयो, कृष्णप्रसाद भट्टराइको नेतृत्वमा सरकारमात्र निर्माण भएन, नेपाली जनतालाई उनले प्रजातान्त्रिक संविधानसमेत दिए । नेपालमा प्रजातन्त्र पटकपटक राजाद्वारा नै खोसिने भएपछि गिरिजाप्रसादको नेतृत्वमा २०६२–६३ को आन्दोलनको ज्वारभाटाले दरवारलाई नै किनारा लगाइदियो । मुलुकमा गणतन्त्र स्थपना भयो । त्यसपछि सुशील कोइरालाको नेतृत्वमा मुलुकले लोकतान्त्रिक संविधान पायो । नेपाली कांग्रेसको अगुवाई र कांग्रैसकै नेतृत्वमा मुलुकमा ठूलाठूला परिवर्तन सम्भव भएको छ । अब इतिहासमा अंकित हुने काम गर्ने पालो देउवाको हो । कम्तीमा आजका मितिमा परिवर्तनलाई संस्थागत गर्ने काम कुशलतापूर्वक सम्पन्न गरे भनेमात्र पनि इतिहासमा देउवाको नाम स्वर्णीम अक्षरले लेखिनेछ ।

प्रकाशित: ९ चैत्र २०७२ २१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App